शनिबार, मंसिर १८, २०७८

मैले देखेका देवकोटा सौखिन र सम्पन्न थिए, सुनेका देवकोटा चाहिं गरिब

नगेन्द्र राज शर्मा२०७८ कार्तिक १४ गते २२:०१

वरिष्ठ साहित्यकार नरेन्द्र राज शर्मा

म काठमाडौंको मान्छे । काठमाडौंमा आएर बिभिन्न ठाउँमा डेरा गरेर बस्थें पहिले । बा, काकाहरुसित बस्थें म । मैतिदेवीमा घर बनाउनुभयो हाम्रो बाहरुले । लक्ष्मी प्रसाद देवकोटाको छिमेकमा । हामीले त्यहाँ घर बनाएको २००२, २००३ सालमा हो । मेरो काकाहरु ईन्द्रराज शर्मा, भरतराज शर्माहरु साहित्यकार भएको नाताले र साहित्यकार रोचक घिमिरेको बुवापनि साहित्यकार भएको हुनाले उहाँहरुको देवकोटासित आउने जाने, संगत थियो ।

हामी मैतिदेवी बस्दा अहिले जस्तो घरैघरले भरिएको थिएन । खालि खेत थियो । हामी छोराछोरीहरु आउने जाने, खेल्ने गर्थ्यौं । मलाई २००२ देखि २०१०, २०११ सालसम्मको कुरो याद छ । उहाँ २०१३ सालमा मन्त्री हुनु भो । त्योबेला सम्मको कुरा हो । त्यसपछि मपनि बनारस गएँ । भेटघाट छुट्यो । त्यसपछि देवकोटाको दर्शननै पाइन मैले । २०१६ सालमा त बितिहाल्नुभयो उहाँ ।

अमर न्यौपानेलाई देखेपछि मैले एउटा कुरा के सम्झिएँ भने जीवा लामिछानेको कार्यक्रममा एक पटक अमरजी र ध्रुव सापकोटाले जीवा लामिछानेको संस्थाबाट संयुक्त रुपमा पुरस्कार पाउनुभएको थियो । अमरजीको बारेमा त ठिकै लेखे । ध्रुव सापकोटालाई भने कान्तिपुरले ‘नेपालगञ्जका ध्रुव सापकोटा’ भनेर लेख्यो । उसले त लेख्यो लेख्यो । त्यसपछि जेजतिले लेखे सबैले नेपालगञ्जको ध्रुव सापकोटा भनेर लेखे । ईतिहासै नेपालगञ्ज भयो । तर उनले नेपालगञ्ज देखेकै छैनन् । उनी काभ्रेका मान्छे हुन्, काठमाडौंमा बस्ने ।

मैले भन्न खोजेको के भने साहित्यमा कस्तो चलन छ भने कसैले केहि भन्दिएपछि लहरै लाग्ने । सत्य के हो थाह नहुने । कहाँसम्म भने कतिपय साहित्यकारलाई कस्तो लाग्छ भने शशी भण्डारी जस्तो महिलासित मिल्ने नाम भएको पुरुषलाईपनि महिला साहित्यकार भनेर लेखिदिए । र त्यसपछि सबैले त्यहि माने । दुई चार जना त्यस्ता उदाहरण छन् कसैले खण्डन गरेनन् ।

कसैले धोति मात्रै लगाएर, ओढ्नी ओढेर बसेको बेला देवकोटालाई घरमा भेटे । अनि सोधे ‘ओए देवकोटा बाजे यस्तो जाडोमा धोती मात्रै लगाउनुभएको छ ?’ उनको ब्यवहार अलि ठट्यौली थियो । ‘छैनन् लुगा बाबु’ भन्दिए देवकोटाले । अनि ‘देवकोटा त गरिब रैछन्, लुगानै रैनछ यिनको’ भन्ने ठाने । त्यसरि देवकोटा गरिब भन्ने हल्ला चल्यो ।

त्यस्तै, क्रिष्णचरण सिं प्रधान, डा बासुदेव त्रिपाठीले कुनै साहित्यकारलाई यस्तो भन्दिएपछि त्यसमा टसमस नभइ त्यो सहि होकि होइन भनेर कसैले खोजेन । त्यहि पत्याए । त्यस्तै मलाई लाग्छ, लक्ष्मी प्रसाद देवकोटालाईपनि कसैले यि गरिब थिए भन्दियो । सबैले गरिब गरिब गरिब भन्दिए । कसैले हेर्ने बुझ्ने कोसिस गरेनन् ।

म देवकोटाको त्यहि प्रसंग भन्छु । देवकोटा गरिब थिएनन् । यो तर्क म कसरि दिन्छु भने देवकोटाका दाजुभाई, लेखनाथ, मधुसुदन, गोपी र माधव गरेर चार, पाँच जना कोहिपनि गरिब थिएनन् । एउटै अंश पाएका हुन् । मैतिदेवी जस्तो काठमाडौंको ठाउँमा तिन चार रोपनीको कम्पाउण्ड, तिन चार तले घर छ । त्यति मात्रै होइन, उहाँकोमा जर्सी गाई पाल्थे । दुध खान्थे आफैं गाइ पालेर । नोकरचाकर हुन्थे । घरमा भात पकाउने बाहुनी दुइ वटी हुन्थे । पालो गरेर पकाउने । त्यति सौखिन थिए । मान्छेले गरिब भन्दिन्छ बा !

मैले देखेको अर्को कुरा, त्यो बेला काठमाडौंमा फलफूल खाने चलन थिएन । फलफूल खाने भनेको काँक्रो र काफल खान्थे यहाँ । खर्पनमा डुलाउँथे कसाईहरुले । पान पसलमा सुकेका स्याउ, सुकेकै अनार पाइन्थ्यो । त्यो बिरामीले खान्थे । यात राणा परिवारले मात्रै खान्थे । र सिजनमा मधेशीले या त काँठतिरबाट भोटेहरुले डोकामा ल्याउँथे । यहाँका सम्पन्न मान्छेहरु चारवटा आँप पाकेटमा बाँधेर हिँड्थे । अहिले जस्तो प्लास्टिकका झोलाको चलन थिएन । हाम्रो बाहरुले पनि चार पाँच वटा आँप पाकेटमा बाँधेर ल्याउनुहुन्थ्यो र त्यहि खान्थ्यौं । देवकोटा बाजेको मैले के देखें भनें त्यो आँपको डोको बिसाएर बसेकोलाई ‘ल यो डोको बोकेर हिँड, ज्यालासमेत दिन्छु’ भनेर डोकैसमेत ल्याउँथे । र त्यसलाई पछि पछि लगाएर साईकल डोर्‍याउँदै आउँथे उनी । त्यसरि आँप किन्थे । मेरो मतलव त्यस्ता सौखिन थिए उनी ।

मैतिदेवी जस्तो काठमाडौंको ठाउँमा तिन चार रोपनीको कम्पाउण्ड, तिन चार तले घर छ । त्यति मात्रै होइन, उहाँकोमा जर्सी गाई पाल्थे । दुध खान्थे आफैं गाइ पालेर । नोकरचाकर हुन्थे । घरमा भात पकाउने बाहुनी दुइ वटी हुन्थे । पालो गरेर पकाउने । त्यति सौखिन थिए ।

खर्पनमा काउली डुलाउँथे यहाँ । बारीबारीमा हुन्थ्यो काउली । उनले खर्पनै किन्थे । आफूले खान होइन । गाईलाई खुवाउन । त्यस्तो मान्छेलाई गरिब भन्ने ?

गरिब हुने कुनै कारणनै छैन । बाउ बाजेको सम्पत्तीपनि उत्तिकै थियो । सबैलाई थाह छ, विहान उज्यालो भएदेखि अँध्यारो भएसम्म ट्युसन पढाउन बाध्य थिए । पैसावालहरुले आएर खल्तिमा पैसा हाल्दिई हाल्दिई कर गरिगरि पढ्थे उनीसँग । उनलाई फूर्सद हुँदैनथ्यो । फेरि जागिरपनि थियो । उनी त्रिचन्द्र कलेजमा पढाउँथे । कसरि गरिब हुने ? उनका गरिबीका कुनै लक्षण थिएनन् । सान, सौख, स्वभाव उस्तै थियो । राम्रो लगाउँथे । मिठो खान्थे । मैले देखेको बेलायती ट्वीडको ओभरकोट लाउँथे । बेलायती कस्मिरा भन्थे त्यो बेला यहाँ ।

देवकोटा साईकल चढ्थे । साईकल चढ्नुपनि अहिलेको कार चढ्नुभन्दा कम थिएन । त्यति मात्रै होइन । एक दिन के भो, देवकोटा बाजेको साईकल हरायो । थोत्रो साईकल थियो । कहाँ राख्या थिए कुन्नि । त्यो बेला काठमाडौंमा साईकल चोरी हुने अवस्था त थिएन । तरपनि उनको हरायो । अर्थात् उनले कहिँ राखे, बिर्सेर हिँडे । साईकल त हरायो । मेरो अन्दाज, एकसुरे मान्छे, कहिं राखे बिर्सिए । अत्यन्त एकसुरे । ‘लौ साहिँला बाजेको साईकल हरायो रे’ भनेर टोलभरि हल्ला चल्यो । पाँच सात दिनपछि त नयाँ साईकल चढेर आए । त्यो बेलामा पाइने बेलायती र्‍याली साईकल। त्यो बेलैमा त्यो साईकल चार पाँच सय पर्थ्यो । सात दिनमा र्‍याली साईकल किन्न सक्ने मान्छे ।

त्यो बेलाको चार पाँच सय भनेको धेरै ठूलो कुरो हो । भन्न खोजेको के भने यि सबै कारणले देवकोटा गरिब थिए भन्ने कहिँपनि देखिँदैन । यत्ति हो कि उनको ब्यवस्थापकिय अवस्था चाहिं ठिक थिएन । आम्दानी र खर्चको कुनै हिसावकिताब थिएन । उधारो खान्थे हिंड्थे । भन्नुस् त, गरिवलाई उधारो दिन्छ ? कसैलेपनि दिँदैन । पैसा तिर्थे बेला बेलामा र पो उधारो दिन्थे ।

एक दिन के भो, देवकोटा बाजेको साईकल हरायो । त्यो बेला काठमाडौंमा साईकल चोरी हुने अवस्था त थिएन । तरपनि उनको हरायो । मेरो अन्दाज, एकसुरे मान्छे, कहिं राखे बिर्सिए । ‘लौ साहिँला बाजेको साईकल हरायो रे’ भनेर टोलभरि हल्ला चल्यो । पाँच सात दिनपछि त नयाँ साईकल चढेर आए ।

हामी मासु किन्न जान्थ्यौं क्रिष्ण र म । देवकोटाबाजेलाई खसीको टाउको खानुपर्थ्यो । हाम्रा घरमा मासु किन्दा दुई चार पाउ किन्ने चलन थियो । अथवा बिसौली । देवकोटालाई सिंगै टाउको चाहिन्थ्यो अथवा धार्नी मासु ल्याउनुपर्थ्यो । डिल्लीबजारमा एउटा कि दुई वटा मासु पसल थिए । ‘साहिंला बाजेले पठाको’ भनेपछि केहि सोधपुछ नगरि एक धार्नी मासु दिएर पठाउँथे हामीलाई ।

महिना पुगेपछि देवकोटाले कहिल्यै हिसावकिताब गर्थेनन् । हिसाब किताब हेर्दैनथे । जति भन्यो उति खल्तिबाट झिकेर दिन्थे । मासुमा मात्रै होइन । दाल, चामल, रासन किन्ने पसलमा होस्; अथवा उनको चुरोट किन्ने पसलमा होस् । साईकलबाट यस्सो खुट्टो बंग्याएर सडकमा उभिएपछि पसलेले हत्तपत्त उठेर, दुई चार वटा सुपारी र ल्वाङसुकमेल, चुरोट गोजीमा हालिदिन्थे । गरिबलाई त्यसो गर्छ ब्यापारीले ? आयो भनेपनि पन्छाउँछ । त्यसकारण सानदार, सौखिन, नवाब जस्ता थिए मैले देखेका देवकोटा । मैले सुनेको देवकोटा चाहिं गरिब थिए । कहाँबाट कसरि ताल मिल्छ ?

छोरीहरुपनि राम्रो लगाउने, मिठो खाने, सम्पन्न थिए । सबैतिर सम्पन्नता थियो । मलाई लाग्छ, केदारमान ब्यथितजी वा कसैले धोति मात्रै लगाएर, ओढ्नी ओढेर बसेको बेला देवकोटालाई घरमा भेटे । अनि सोधे ‘ओए देवकोटा बाजे यस्तो जाडोमा धोती मात्रै लगाउनुभएको छ ।’ उनको ब्यवहार अलि ठट्यौली थियो । ‘छैनन् लुगा बाबु’ भन्दिए देवकोटाले । अनि ‘देवकोटा त गरिब रैछन्, लुगानै रैनछ यिनको’ भन्ने ठाने । अथवा केहि भयो । त्यसरि देवकोटा गरिब भन्ने हल्ला चल्यो ।

पछि क्यान्सर भएपछि पनि गरिबीले औषधी खान नसकेको जस्तो कुरा धेरै ठाउँमा मैले सुनें । यो होइन । एक त त्यो बेलामा अहिलेको जस्तो औषधीनै निक्लेको थिएन । अर्को दुई चार सय हुनु र नहुनुले केहि फरक पर्दैनथ्यो । वास्तवमा औषधीनै थिएन अहिलेको जस्तो । क्यान्सर लागिसकेपछि अहिले पनि त जति खोलो बगाएपनि को बाँच्या छ र ? तपाईहरुलाई थाह छ, मेरै भाई जगदिश घिमिरे मेरै अगाडि क्यान्सरले पलपल पलपल गर्दै बिते । पैसाको खोलो बगाएर उसले एक दुई वर्ष आयु लम्ब्यायो । त्यत्ति हो । त्यसकारण मैले भन्न खोजेको, देवकोटा गरिब थिएनन् ।

क्रमश :

(नेपालप्लसले शनिवार नेपालका साहित्यिक पत्रकार, वरिष्ठ साहित्यकार नगेन्द्र राज शर्मासित महाकवी लक्ष्मी प्रसाद देवकोटा जयन्तिका अवशरमा देवकोटाबारे प्रत्यक्ष छलफल कार्यक्रम राखेको थियो । देवकोटाको आँगनमै खेल्नुभएका, देवकोटा र उहाँको परिवारसित प्रत्यक्ष हेलमेल गर्नुभएका शर्माले छलफलमा ब्यक्त गर्नुभएका भनाई यहाँ सामान्य सम्पादन गरेर राखिएको हो-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक