बिहीबार, वैशाख १३, २०८१

“प्रधानन्यायधिस मात्र नभएर भाग दिने प्रधानमन्त्रीपनि उत्तिकै दोषी” कांग्रेस नेता कोइराला

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ कार्तिक १५ गते २२:४९

photo credit-The Himalayan Times

सर्वोच्च अदालतका प्रधानन्यायधिस चोलेन्द्र शम्शेर राणाले सरकार र संबैधानिक निकायमा भागवण्डा खोजेको विषयलाई लिएर अहिले सर्वोच्चकै न्यायधिश र बार एसोसिएसन आन्दोलनमा छन् । तर नेपालका राजनैतिक दलहरुले भने यस विषयमा खासै केही बोलेका छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको विषय भएकोले समस्याको समाधान पनि त्यहिंबाट हुनुपर्ने जिकिर गर्दै आएका हुन् ।

तर नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य शेखर कोइरालाले कार्यपालिकामा भाग खोज्ने प्रधानन्यायधिस मात्र नभएर भाग दिने पनि उत्तिकै दोषी रहेको बताएका छन् ।

नेपालप्लस सँगको संक्षिप्त कुराकानीमा कोइरालाले भने “भाग खोज्ने र भाग दिने दुबै दोषी हुन । दुबै पक्षले यो मामिलामा निकास दिनुपर्दछ ।”

‘दुबै दोषी छन भने प्रधानमन्त्रीको पनि राजिनामा माग्नु पर्‍यो नि’ भन्ने एक प्रश्नमा कोइरालाले भने- “यो राजिनामाको कुरा होइन र म राजिनामाको कुरा गर्दिन । तर शेरबहादुरजीले पनि स्पष्ठ गर्नु पर्‍यो यो ईश्यु होइन भनेर । प्रधानमन्त्रीले जनता माझमा भन्नुपर्‍यो नि कुरा के हो भनेर । यसरी अन्योल र लथालिंग बनाएर कसरी हुन्छ ।”

कोइरालाले देशलाई बन्दी बनाइरहन नहुने बताउँदै भने- “प्रधानन्यायधिशले छिटो भन्दा छिटो निकास दिनु पर्दछ ।”

नेपाली कांग्रेसभित्र कोइराला, गगन थापा लगाएत केही युवा नेताहरुले मात्र प्रधानमन्त्री देउवा र प्रधानन्यायधिशबिच भएको भनिएको भागवण्डाको बिरुद्दमा बोलेका छन् । तर पार्टीको पदाधिकारी तहका ब्यक्तिले यस विषयमा कुनै प्रतिकृया जनाएका छैनन् ।

तपाइँको प्रतिक्रिया