शनिबार, मंसिर १८, २०७८

काठमाडौंको तिनकुनेकै हालतमा त्यो बेला पेरिसको चक्रपथ

अनुराधा पौडेल / पेरिस२०७८ कार्तिक १६ गते २२:५५

Image Credit-photo-paysage.com

पेरिसको ३५ किमि लामो चक्रपथ ५३ मिनेटमा फन्को लगाइन्छ । जब तपाईं पों आमों भन्ने पुलमाथि आइपुग्नुहुन्छ त्यहाँ एक फलामे ब्लक देख्नु हुन्छ । सन् १९७३ मा यही पुलको एक टुक्रोलाई क्रेनले जोडेको थियो र आजको पेरिसको चक्रपथ निर्माण पूरा भएको थियो ।

सन् १८८९ मा पेरिसमा विश्वव्यापी प्रदर्शनी भयो । यो प्रदर्शनीमा पहिलो पटक इन्धनबाट चल्ने मोटरको नमुना राखिएको थियो । जसका निर्माणकर्ता थिए, जर्मनीका दुई प्राविधिक विज्ञहरु देम लेर मोर्टन र बेन्ज ।

यही नमुनालाई पछि फ्रान्सको ‘पान हार्ड एन्ड लेभासर’ भन्ने कम्पनीले विकास गरे । यही प्रविधिलाई विकसित बनाएर यो कम्पनीले गाडी बनाउने सपना देख्यो । यही समयमा फ्रान्समा ‘पजो’ भन्ने कम्पनीले पानीको बाफबाट चल्ने इन्जिनको आविष्कार गर्ने प्रयास गरिरहेको थियो । उता लुइस रनो भन्ने २१ वर्षे जवानले कुनै हल्लाखल्लाबिना आफ्नो सवारी आफैं बनाएर गुडाइसकेका थिए । यी तीन कम्पनीहरुमा कसले राम्रो गाडी बनाउने भन्ने प्रतिस्पर्धा थियो, सन् १९ सयको आसपासमा ।

रनोले बनाएको पहिलो गाडी साइकल जस्तो थियो । यसका पाङ्ग्राहरु साइकलका टायरजस्ता थिए भने माथि सानो टेल्लर थियो । त्यसबेला पेरिसमा घोडा गाडा गुड्थे । तर, यिनैलाई विस्थापित गरेर यी तीनथरि कम्पनीका आआफ्ना मोडलका सवारीहरु गुड्न थालेपछि पेरिसमा आधुनिक बाटोहरु बनाउने कल्पना गर्न थालियो ।

दोस्रो विश्वयुद्धमा जर्मनीको सर्मानक पराजयपछि पेरिसबाट जर्मनहरु फर्किए । उनीहरु गएपछि यो योजना पुन: दराजमै थन्कियो । सन् १९५० मा आइपुग्दा पेरिसको हालत ठीक अहिलेको काठमाडौंको तीनकुने जस्तो भयो ।

सन् १९०८ सम्म आइपुग्दा फ्रान्सका यी तीन गाडी निर्माता कम्पनीहरुले ३५ हजार चार पाङ्ग्रे सवारी निर्माण गरेर फ्रान्सलाई सवारी निर्माणका क्षेत्रमा विश्वमा नम्बर एकमा उभ्याएका थिए ।

आफैं नम्बर एक बनेको फ्रान्सको बाहिरी क्षेत्रमा पर्याप्त मोटरबाटोहरु बन्दै गए । तर, राजधानी सहर खुम्चिराख्यो । सन् १८०४ मा ऊ बेलाका फ्रान्सेली राजा लुइसले फनक्कै पारेर अग्ला पर्खालहरुले पेरिस घेरेका थिए । पर्खाल बाहिर खाल्डै खाल्डा थिए भने त्यो भन्दा ३०० मिटर जग्गा खाली राखिएको थियो र पेरिसभित्र छिर्न लगभग तीस ठाउँमा द्वारहरु अर्थात् ‘पोख्त’ बनाइएको थियो । आज पर्यन्त यी पोख्त अर्थात द्वारहरुका नाम अहिलेसम्म कुनै परिवर्तन भएको छैन । जस्तै ‘पोख्त त भेर्साइ’ भनेपछि यो भेर्साइ दरबार जाने द्वार हो भन्ने बुझिन्छ ।

सन् १९१५ पछि पहिलो विश्वयुद्धमा पेरिस तहसनहस पार्न जर्मनीमा तोपहरु प्रयोग भए, जसका कारण अधिकांश ठाउँमा पर्खाल भत्किए । विश्वयुद्ध सकिएपछि सन् १९२० र १९४० का बीच पर्खाललाई जरैदेखि भत्काइयो र त्यहाँ पेरिसको चक्रपथ निर्माणको परिकल्पनाका साथ एक अध्ययन गरियो ।

फेरि दोस्रो विश्वयुद्धमा फ्रान्सको राजधानी पेरिस जर्मन नाजीहरुको कब्जामा गयो । नाजीहरुले पहिल्यै सकिएको अध्ययनलाई पेरिसको वास्तविक चक्रपथ निर्माणको योजनामा बदले । यो बाटोको न्वारान उनीहरुले नै गरेर नाम राखे, ‘बुल्भार्ड द पेरिफेरिक द पारी’ ।

गहिरो ठाउँ र अग्ला भवन भएका कारण सडकलाई तीन तलामाथि पुल बनाएर उठाइयो । यो पुलमा डटपेनमा प्रयोग हुने तारजस्तो लचकदार तारहरुको प्रयोग गरिएको छ । थिच्दा दब्ने र छाड्दा उठ्ने ।

दोस्रो विश्वयुद्धमा जर्मनीको सर्मानक पराजयपछि पेरिसबाट जर्मनहरु फर्किए । उनीहरु गएपछि यो योजना पुन: दराजमै थन्कियो । सन् १९५० मा आइपुग्दा पेरिसको हालत ठीक अहिलेको काठमाडौंको तीन कुने जस्तो भयो । अब भने त्यही थन्केको योजनालाई मूर्तरुप दिनैपर्ने बाध्यता सरकारमाथि आइलाग्यो र सन् १९५४ देखि यसको निर्माण थालियो ।

निर्माण त थालियो । तर पहिल्यै खाली भएको ३०० मिटर जग्गामा सुकुम्बासीका बस्ती यत्रतत्र फैलिइसकेका थिए । युद्धले टाटपल्टेको सरकारले छाप्रा हटाउनेभन्दा पनि बस्ती नबिगारीकन बाँकी बसेको १०० मिटर जग्गामा सडक लग्ने योजना बनायो र यसको मुख्य विशेषता यस्तो बनाइयो कि सबै सवारीको गति अनिवार्य एउटै होस् । चक्रपथ छिर्दा र बाहिरिँदा कुनै झन्झट नहोस् ।

एउटै गतिमा सवारी गुडाउन सडक धेरै ओरालो र उकालो हुनुहुन्थेन । त्यसैले सडकलाई उकाल्न परे चार मिटर र झार्न परे पनि जम्मा चार मिटर मात्र हुने गरी सडक बिस्तार थालियो । यो योजना अनुसार जम्मा १० प्रतिशत बाटो पूरा भयो । बाँकी ४० प्रतिशत सडक पाखा-पखेरा र तालमुनिबाट सुरुङ बनाएर लगियो भने ५० प्रतिशत बाटोलाई पुल, फ्लाइओभर या बाटो परिवर्तन गर्न मिल्ने चोकहरु बनाएर बिस्तार गरियो ।

यो चक्रपथले पेरिसका धेरै महत्त्वपूर्ण ठाउँहरु छुन्छ । यहाँ कठिनाइ पूर्वक सम्पन्न गरिएका चार क्षेत्रहरु ‘पोर्त द भेर्साइ’, ‘पार्कदेफ्रान्स’, ‘लाकसुपेरियर’ र ‘पोंआमों’ नजिकको बेर्सिको एसन्जरबारे (गन्तव्य परिवर्तन गर्ने सकिने एक वा बढी घुम्ती मार्गहरु) केही जानकारी बाँडिंदैछ ।

पेरिसको चक्रपथ निर्माण १३ वर्षमा पूरा भएको हो । तर, ‘पोख्त द भेर्साइ’ को इत्रुको सडक खण्ड बन्न मात्रै ६ वर्ष लाग्यो । यो ठाउँमा विशाल अन्तर्राष्ट्रिय प्रदर्शनी कक्ष तथा अग्ला भवनहरु पहिलेनै बनिसकेका थिए । गहिरो ठाउँ र अग्ला भवन भएका कारण सडकलाई तीन तलामाथि पुल बनाएर उठाइयो । यो पुलमा डटपेनमा प्रयोग हुने तारजस्तो लचकदार तारहरुको प्रयोग गरिएको छ । थिच्दा दब्ने र छाड्दा उठ्ने । सडक निर्माणमा बडा-बडा लठ्ठामा बनाइएका घुमाउरा यस्ता खालका तारहरुको प्रयोग फ्रान्समा पहिलो पटक परीक्षण गरिएको थियो । यति खण्डको यात्रा गर्दा हामीलाई भवनको छत-छतै झलुंगोमा बसेर गुडेको अनुभव हुन्छ ।

यो बाटोबाटै उत्तर पश्चिम लागेपछि ‘पार्क द फ्रान्स’ भन्ने ठाउँमा आइपुगिन्छ । जहाँ अचेल कतारीहरुको स्वामित्वमा रहेको पेरिसको प्रसिद्द फुटबल क्लब ‘पारिसँजेर्मा’ अर्थात् पिएसजीले प्रयोग गर्ने रंगशाला छ । यो रंगशाला बनेको क्षेत्रमा कुनै बेला फ्रान्सका राजा र राजकुमारहरुले सिकार गर्ने, खेल खेल्ने र आराम गर्ने गर्थे । सन् १८९७ अर्थात् नेपोलियन शासन कालमा यो क्षेत्रमा एक रंगशाला बनाइयो र नामै दिइयो ‘पार्क द फाँस’ अर्थात् राजकुमारहरुको पार्क । सन् १९३२ मा ४० हजार क्षमताको भव्य रंगशाला बनाएर यसको दोस्रो पटक उद्घाटन गरियो । तर पेरिसको चक्रपथ यही रङ्गशाला मुनि हुँदै जाने भएपछि यसलाई पुन भत्काइयो । पछि सुरुङ खनेर बाटो बनाइयो भने माथि रंगशाला ।

ताल मुनि सुरुग खनेर बाटो बनाउनु बढी जोखिम भएकाले तालको करोडौँ-करोड लिटर पानी पम्प गरेर सेन नदीमा फालियो । पछि सडक बनाइसकेपछि त्यहाँमाथि सिमेन्ट र फलामे स्ल्याबहरु हालेर ताललाई पुरानै आकार र प्रकारमा फर्काइयो ।

सुरुङ बनाएर असरल्ल छाडेपछि रंगशाला नै नबन्ने स्थिति देखिन थाल्यो । किनभने रंगशाला सञ्चालनमा आउन थालेको जम्मा ३५ वर्षमै यसलाई भत्काइएको थियो र लगानिकर्ताहरुको पैसा डुबेको थियो । पेरिसका सडकमा रंगशालाको माग गर्दै नारा जुलुस हुनथालेपछि फेरि पेरिस नगरपालिकासहित अरु लगानीकर्ताहरुको सहयोगमा ५० हजार मानिस अट्ने क्षमताको नयाँ रंगशाला बनाइयो । यो फ्रान्सको पाँचौं ठूलो रंगशाला हो ।

यो ठाउँ कट्नासाथ ‘व्वा द बुलोन्य’ आइन्छ जुन पेरिसको फोक्सो अर्थात् वन क्षेत्र हो । यहाँ एक ताल छ । ताल मुनि सुरुग खनेर बाटो बनाउनु बढी जोखिम भएकाले तालको करोडौँ-करोड लिटर पानी पम्प गरेर सेन नदीमा फालियो । पछि सडक बनाइसकेपछि त्यहाँमाथि सिमेन्ट र फलामे स्ल्याबहरु हालेर ताललाई पुरानै आकार र प्रकारमा फर्काइयो । यो ताल मुनि गुड्दा हामीलाई तालमुनि छौँ भन्ने नै आभास हुँदैन ।
यही बाटोबाट आइफल टावरको मनोरम दृश्य देख्न सकिन्छ । दक्षिण एसियाली पसलहरु रहेको क्षेत्र ‘पोर्त द लाशापेल’ र फ्रान्सको सबैभन्दा ठूलो रंगशाला ‘स्ताद द फ्रन्स’ जाने अर्को सडक पनि यहीबाट छुटिन्छ ।

यहाँबाट अगाडि बढ्दा ‘पोर्त द बान्योले’ भन्ने ठाउँ आउँछ । यहाँ एक भव्य व्यापारिक भवन छ र भवनमा २ हजार २ सय पार्किङ स्थल छन् । नयाँ एसजरहरु बनाएर अहिले यो ठाउँलाई निकै आधुनिक बनाइएको छ । यहाँबाट अगाडि बढेपछि ‘पोर्त द बेर्सी’ आइन्छ ।

यही बेर्सी भन्ने ठाउँमा एक पुल छ जसलाई पोंआमों भनिन्छ । पोंआमोंको दुवैतर्फ फ्लाइओभर छन् भने एक भागमा एसंजर पनि छ । एसंजरबाट २२ वटा सहायक बाटोहरु निस्केका छन् । निर्माणका बेला यो एसंजर युरोपको नम्बर एकमा पर्थ्यो । अर्थात् सडक निर्माणमा यस्तो प्रविधिको प्रयोग पहिलो पटक फ्रान्समा गरिएको थियो । यही एसंजर र पुल मुनि सेन नदी बग्छ । रातमा बत्तीका छायाहरु नदीमा पर्दा यो भाग बढो मनमोहक देखिन्छ । यहाँ फ्रान्सको अर्थमन्त्रालयको भवन पनि छ र एक भागमा रेलवे लाइनहरु पनि छन् । असाध्यै जटिल इन्जिनियरिङ संरचना यहाँ देखिन्छ ।

सडक पूरै क्यामेराको निगरानीमा छ । जमिन मुनि प्रत्येक ५ सय मिटरमा इलेक्ट्रोम्याग्नेटिक सेन्सरहरु बिच्छाइएको छ, जसले कुन खण्डमा कति किमि प्रतिघन्टाका दरले सवारी गुडिरहेछ हिसाब निकाल्छ । कुनै कारणबस ट्राफिकजाम भयो भने के कारणले जाम भएको हो भनी पत्ता लगाउन क्यामेरा जुम गरेर हेरिन्छ र आकस्मिक सेवा दिनुपरे २० मिनेटभित्रै सम्बन्धित स्थानमा प्रहरी पुग्छ र मानिसको ज्यान जानबाट जोगाइन्छ ।

सन् १९७० मा बेर्सीको पोआमोंको निर्माण पूरा भएपछि चक्रपथको बाटो निर्माण पूरा भएको थियो । यो पुलमा सिमेन्ट र फलामका स्ल्याबहरु एकपछि अर्को गर्दै जोडिएको छ । यही पुलको अन्तिम टुक्रो जोडेको दृष्य त्यो बेला टेलिभिजनमा देखाइएको थियो र ठूलो संख्यामा नागरिकहरु त्यो बाटोको सफल निर्माणको अन्तिम दृष्य हेर्न सहभागी भएका थिए ।

सन् १९७३ को अप्रिल २५ का दिन यो सडकको उद्घाटन भयो । निश्यय नै युरोप भरिको उदाहरणीय यो बाटोको प्रशंसा गर्दै उ बेलाका फ्रान्सेली प्रधानमन्त्री पियरमेस मेयरले भनेका थिए, ‘यो एक सफलताको कथा र आधुनिकताको परिचय हो । यो बाटो निर्माणमा गर्व गर्छु । अब दैनिक १ लाख ६० हजार सवारी यो बाटोबाट गुड्न सक्नेछन् ।’

निश्यय नै यो एक सफलताको कथा थियो । तर निर्माणको दुई वर्षमै यो बाटोमा अत्यधिक ट्राफिक जाम र दुर्घटना हुन थाल्यो । फेरि यो बाटोलाई गतिशील राख्न नयाँ प्रविधि अपनाइयो जस अनुसार एक नियन्त्रण कक्ष स्थापना गरियो । क्यामेरा र सेन्सरहरु जोडियो । आकस्मिक टेलिफोन लाइन र आकस्मिक मार्ग बनाइयो । यति बेला यो ट्राफिक कक्ष २४ सै घन्टा खुला रहन्छ । २३० प्रहरी र प्राविधिकहरुले यहाँ काम गरिरहन्छन् । सडक पूरै क्यामेराको निगरानीमा छ । जमिन मुनि प्रत्येक ५ सय मिटरमा इलेक्ट्रोम्याग्नेटिक सेन्सरहरु बिच्छाइएको छ, जसले कुन खण्डमा कति किमि प्रतिघन्टाका दरले सवारी गुडिरहेछ हिसाब निकाल्छ । कुनै कारणबस ट्राफिकजाम भयो भने के कारणले जाम भएको हो भनी पत्ता लगाउन क्यामेरा जुम गरेर हेरिन्छ र आकस्मिक सेवा दिनुपरे २० मिनेटभित्रै सम्बन्धित स्थानमा प्रहरी पुग्छ र मानिसको ज्यान जानबाट जोगाइन्छ ।

अचेल यो सडकमा ७० किमि प्रतिघण्टाका दरले सवारी गुडाउन पाइन्छ । दैनिक २ लाख ५० हजार सवारी गुड्छन्, यतिबेला यहाँ । भविष्यमा गतिलाई ५० किमिमा सीमित पार्ने र साइकल पनि चलाउन सकिने योजना परिकल्पना गरिएको छ ।

पेरिस आइपुग्ने ६ ठूला राजमार्ग र ६६ वटा सहायक बाटोहरु यही चक्रपथमा मिसिन्छन् । आगलागीका बेला जोखिम नहोस् भनी सुरुङमा आकस्मिक कक्ष र आकस्मिक कक्षभित्र छिरेपछि बाहिर निस्कन सकिने ढोकाहरु राखिएको छ ।

चक्रपथमा कम्तीमा ६३ वटा पहेंलो रंगका टेलिफोन बुथहरु छन् । ३४ हजार ७४७ वटा त बत्ती मात्रै जडान भएको यो सडकमा कुनै मर्मत सम्भारको काम गर्नुपर्दा रातमा सडकका केही खण्डलाई बन्द गरेर काम फत्ते गरिन्छ । यति ३५ किमि सडकका लागि फ्रान्समा एक मात्र विशेष ट्राफिक नियम छ, त्यो हो दाहिनेबाट आउने सबै सवारीलाई प्राथमिकता दिनुपर्छ । त्यसैले यो सडकमा छिरेपछि बीचको लेन लिनु बुद्धिमानी हुन्छ । सडकको चौडाइअनुसार बाटो तीन चार लेनका छन् । रातको समय र सप्ताहन्त बाहेक यो सडक अत्यन्त व्यस्त रहने भएकाले तोकिएको गतिमा सवारी चलाउन कठिनाइ महसुस हुन्छ ।

पेरिस आइपुग्ने ६ ठूला राजमार्ग र ६६ वटा सहायक बाटोहरु यही चक्रपथमा मिसिन्छन् । आगलागीका बेला जोखिम नहोस् भनी सुरुङमा आकस्मिक कक्ष र आकस्मिक कक्षभित्र छिरेपछि बाहिर निस्कन सकिने ढोकाहरु राखिएको छ ।

यो बाटोमा चाप अत्यधिक भएकाले अहिले दोस्रो चक्रपथको पनि परिकल्पना गरिएको छ जसलाई राजमार्ग ८६ नामकरण गरिएको छ । यसको पनि धेरै खण्ड विस्तार भइसकेको छ भने केही हिस्सालाई जोड्ने र फराकिलो बनाउने काम हुँदैछ ।

चक्रपथ निर्माण भन्ने कुरा बाटो बनाएर मात्र हुँदैन । त्यसलाई कति लेनको बनाउने कतिसम्म व्यवस्थित गर्ने विकास गर्दा कत्रा-कत्रा संरचनाहरु भत्काउने र निर्मित संरचनाले कति समय थेग्नसक्ला भन्ने निर्क्यौल गरेर मात्रै बनाउनुपर्ने रहेछ भन्ने कुरा यसको इतिहास पढेर थाह हुन्छ । एकपटक बनाउँदा जति दु:ख थियो अहिले त्यसको दु:ख यो बाटोको प्रयोगले बिर्साएको छ । बाटो बनाउनु जति महत्त्वपूर्ण छ यसको मर्मत संभार र रेखदेख पनि उति नै महत्त्वपूर्ण हुने रहेछ भन्ने कुरा पनि गहिराइमा पुग्दा थाह हुन्छ । पेरिसको चक्रपथ भन्नु पेरिसको एक नवपहिचान हो र आधुनिकताको परिचय हो ।

पेरिस आउँदै हुनुहुन्छ भने रोमान्चक यो सडकमा एक पटक गुडेर जानुहोला र दैनिक २ लाख गाडी गुड्ने सडक कति व्यवस्थित छ भन्ने कुरो आफ्नै आँखाले हेर्नुहोला ।

स्रोत : कर्म

तपाइँको प्रतिक्रिया

फेसबुक