शनिबार, वैशाख ८, २०८१

एनआरएनको राजनितिमा प्रधानमन्त्रीनै सकृय

नेपालप्लस संवाददाता२०७८ कार्तिक १७ गते १६:५६

‘अरुलाई कुन्नी केको रन्को, घर धनीलाई खानकै रन्को’ । नेपाली समाजमा खुबै चलेको यो आख्यान अहिले प्रधानमन्त्री शेर बहादुर देउवामा ठ्याक्कै मिलेको छ । किनभने संयुक्त राष्ट्र संघ विश्व जलवायु परिवर्तनको कुम्भ मेला स्कटल्याण्डको ग्लास्गोमा छ ध्यान, विश्वभरिका नेताहरुको । अहिले संयुक्त राष्ट्र संघको ध्यानपनि त्यति खिचिएको छ । प्रकृती, जिवजन्तु, मौसम बदली, वातावरणिय संरक्षणमा चासो राख्ने, कलम चलाउने प्र्विश्वभरिका नामी पत्रकार, योजनाविद, अभियन्ताहरु ग्लास्गोमा सम्मेलन शुरु हुनु हप्ता अघिनै पुगिसकेका थिए । र तिनको ध्यान यसमा कसरि बिपन्न देशहरुले आफ्ना एजेण्डा स्थापित गराउने, सुन्न लायक बनाउने भन्ने ध्याउन्नमै केन्द्रित थिए ।

तर हाम्रा प्रधानमन्त्री शेर बहादुर देउवा भने गैर आवासीय नेपालीको राजनितिमा केन्द्रित भए । उनले विश्व जलवायु परिवर्तन र त्यसबाट सिर्जित समस्या, देशका एजेण्डा नेपालीहरुलाई सुनाएनन्, एनआरएनको राजनितिमै भेटघाटलाई बढावा दिए । देशको प्रधानमन्त्रीका रुपमा आएपनि उनी देशका समस्त नागरिक, प्रवाशकैपनि सबैको प्रधानमन्त्री बन्न सकेनन् । आम नेपालीको त झन देउवा यस आघिपनि बन्न सकेकै थिएनन् । उनी नेपाली कांग्रेस, एउटा पार्टी र प्रवाशमापनि सिमित नेपालीको नारा बोक्ने नेता बने ।

देउवा कुनै दलका नेता होइनन् । उनी समग्ररुपमा नेपालका प्रधानमन्त्री हुन् । उनले बोल्ने भाषाले देशको प्रतिनिधित्व गर्छ । उनी जहाँ सहभागि हुन्छन् त्यहाँ देश पुगेको हुन्छ । आम नेपाली पुग्नुपर्छ । देशको सिमा, भूगोल, आम नेपालीका भावना समेटिनुपर्छ । त्यसैले उनका हरेक बोली, संलग्नता, ब्यवहारले देशको प्रतिनिधित्व गर्छ । तर देउवामा यो हेक्का रहेन । उनले देशको साझा प्रतिनिधि, मियो हुँ भन्ने हेक्का त राखेनन् नै, कम्तिमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा नेपालीले तिरेको कर खर्च गरेर आएको हुँदा आम नेपाली, राष्ट्रिय महत्वका विषयमा केन्द्रित हुनुपर्छ । सम्पूर्ण नेपालीको करमा राष्ट्रको प्रतिनिधित्व गरेको ब्यक्तिले एउटा गूट, कुनै पार्टीकालागि बिज्ञापन गर्दै हिँड्नुहुन्न भन्ने ख्यालसम्म गरेनन् ।

देउवाको दिमाख कति बिघ्न विभाजित रहेछ । उनी आफैंले बेलायत आएर नेपालीहरुलाई नेपालको राजनितिमा चासो नराख्न आग्रह गरे । बेलायतको नागरिक बनिसकेका नेपालीहरुलाई नेपालको विषयमा लगानी गर्न अर्थात् दामको मुठो बोकेर आउने बाहेक अन्य विषयमा चासो नराख्न पनि आग्रह गरे । तर नेपाली जनताले तिरेको करमा बेलायत आएर उनले एनआरएनएका अध्यक्ष पदका घोषित कांग्रेसी उम्मेदवारलाई जिताउन आग्रह गरे ।

प्रधानमन्त्री देउवा कतिसम्म हुस्सु र अदूरदर्शी देखिएभने उनले विदेशी पासपोर्ट लिएकाले नेपाली राजनितिमा चासो नराख्नु, मत हाल्ने लोभ नगर्नुसम्म भन्न भ्याए । तर बिदेशी भनिसकेका ति नागरिकले गरिरहेको राजनितिमा आफूले हस्तक्षेप गर्न पाइन्न, नेपालको प्रधानमन्त्रीले बिदेशीले गर्ने राजनितिमा बोल्न, प्रभाव पार्न हुन्न भन्ने चाहिँ भुले ।

उनले अर्को पाटोपनि भुले, जति नेपालीहरु नेपालको पासपोर्ट लिएरै बसेका छन् तिनलेपनि बिदेशको राजनितिमा चासो नराख्नु, हस्तक्षेप नगर्नु । हामीले जसरि हाम्रो मुलुकमा बिदेशी नागरिकको हस्तक्षेप स्विकार गर्दैनौं त्यसैगरि बिदेशी मुलुकमा पनि हाम्रा नेपाली नागरिकले हस्तक्षेप गर्न हुन्न भन्नुपर्थ्यो । तर भनेनन् । किनभने आफ्नो स्वार्थकालागि उनले नैतिकताका ति सबै पाठ कुल्चिए ।

नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाली जनसम्पर्क समिति युकेले नेपाली कांग्रेसलाई झण्डै आधा करोड रुपियाँ नेपाल पठाएको छ । यदि देउवा नैतिकवान हुन्थे भने उनले यो रकम लिन हुँदैनथ्यो । वा कम्तिमा उनले बिदेशी पासपोर्ट लिइसकेकाहरुले नेपालको राजनितिमा हात हाल्न हुन्न, बिदेशी नागरिकता लिएकाको पार्टी सदस्यता रहन्न, बिदेशीले नेपाली कांग्रेसको सदस्यता लिन मिल्दैन । त्यसैले बिदेशीको रकम लिन्नौं भन्नसक्नुपर्थ्यो । उनले त्यसो भनेनन् । जनसम्पर्क समितिको तर्फबाट बुझाएको रकम उनले हाँसीखुशि सदर गरे । उल्टो आफ्नो पार्टीलाई आर्थिक सहयोग दिएकामा धन्यावाद दिए ।

जलवायु परिवर्तनको अन्तर्राष्ट्रिय सम्मेलनमा आएका विश्वका अन्य नेता शेर बहादुर देउवा जसरि प्रवासमा कुनैपनि कार्यकर्ताका ढोका, रेस्टुरेन्ट, भात्रि संस्था चहार्दै हिँडेका छन् भने त्यस्तो मनकारि, खुला ब्यक्तिका रुपमा नेपालकै प्रधानमन्त्री शेर बहादुर देउवाको नाम आउँछ । र जम्मा ३,६०० ब्यक्तिले मतदान गर्ने प्रवासीको निर्वाचनमा ढोका चहारेर कसैकालागि भोट माग्नुपर्ने यदि यो विश्वमा कसैको अवस्था छ भने त्योपनि करिब तिन करोड जनसंख्याको प्रधानमन्त्री बनेका शेर बहादुर देउवाकै छ ।

देउवा जिम्मेवारी र भावनाका हिसाबले साझा, मियो बन्न नसकेपनि प्रतिनिधित्वका हिसाबले देशको मियो हुन् । मियोको काम प्रवासमा झैझगडा गरेका, बेमेल भएका, बिवादमा फसेका वा अन्य कुनै कमीकमजोरी गरेका नेपालीहरुलाई एउटै मालामा उनेर एकता गराउन सक्नुपर्ने हो । तर उनले त उल्टै पार्टी, समूह, वाद, राजनितिक बिचार र आस्थाका भरमा नेपालीहरुलाई फुटाउने काम गरेका छन् ।

समग्र नेपालीको लागि सामुहिक भावना, सामुहिक माया, सन्तुलित भूमिका खेल्नुपर्नेमा उनले एनआरएनए निर्वाचनकामा एक पक्षकालागि जसरि मत मागे अब उनी कम्तिमा आम प्रवासीका साझा प्रधानमन्त्री रहेनन् । उनी कुनै गूट, बिचार, बाद, चन्दा र झण्डाको प्रधानमन्त्री बनेका छन् । कुनै एक पक्षको ताबेदारी गर्ने उनीसित आम नेपाली भन्दै लगानी, सहयोग वा अन्य देशहितको सहयोग माग्ने नैतिकतापनि छैन ।

किनभने प्रवासका नेपालीहरुलाई झन फुटाउने काममा प्रधानमन्त्री संलग्न भएका छन् । प्रधानमन्त्रीलेनै कसैकालागि भोट माग्ने कामले नेपालीहरु पक्कैपनि अझै बिभाजित हुनेछन् । वा बिभाजित हुनै त्यसले बल पुर्‍याउने छ । प्रवासमा बसेरपनि देशमा कर तिरिरहेका नेपालीले आफू बिभाजित हुन कर तिरितिरि प्रधानमन्त्रीलाई लगानी गर्नुपर्ने यो बिडम्बना हो । किनभने प्रवाशका नेपालीलाई जुटाउने होइन कि फुटाउने काम उनले गरेका छन् ।

हुन त नेपालका राजनितिक दल, नेताहरुले प्रवासमा राजनिति गरेको यो पहिलो पटक होइन नै । यस अघिपनि राजनिति गरेकै हुन् । गरिरहेकै छन् । प्रवास संगठनहरु गठन भएकै छन् । तर नेपालको राजनितिमा प्रधानमन्त्रीकै तर्फबाट कुनै ब्यक्ति विशेषकालागि राज्यको खर्चमा बिदेश भ्रमण गरेर, नेपालीको करमा बिदेश घुम्दै भोट माग्ने, नेपाली फुटाउने, पार्टीको राजनिति गर्ने पहिलो प्रधानमन्त्री भने देउवानै बनेका छन् ।

दोषको भागि प्रधानमन्त्री बनेपनि केहि भाग यताका प्रवासी नेपाली र नेपाली दुतावास बेलायतलेपनि लिनै पर्छ । किनभने यस्ता बिवादित विषयमा उनीहरुले सचेत गराउनुपर्थ्यो । तर उनीहरुपनि नेपाली फुटाउ, नेपाली समुदायको बेइज्जतिमै रमाउमा लागे ।

तपाइँको प्रतिक्रिया

फेसबुक