बिहीबार, वैशाख १३, २०८१

महाकवी देवकोटाको घर भत्काउनु नियतनै खराब

नगेन्द्र राज शर्मा२०७८ मंसिर १ गते २१:५८

वरिष्ठ साहित्यकार नरेन्द्र राज शर्मा

देवकोटा खुशि भएका क्षणपनि छन् । उहाँ खुशि हुँदा बेला बेला हाम्रो घरमा आउनुहुन्थ्यो । त्यो बेला फोनसोन थिएन । आएपछि झ्वाट्ट आउने गर्नुहुन्थ्यो । धोती र गन्जी लगाएर बिहान ८, ९ बजेदेखि आएपछि ‘साहिंला बाजे आज भान्छा यहिं गरौं है?’ भनेर मेरो बा, काकाले सोध्नुहुन्थ्यो । ‘हुन्छ’ भन्नुहुन्थ्यो देवकोटाले । मासु किन्न जानुपर्‍यो । पकाउनुपर्‍यो । त्यो बेला भात पाकुन्जेल पासा खेल्न जान्थे । त्यो त्रिपासा जित्दा दंग पर्नुहुन्थ्यो । त्यो बेलामा गदगदाएर हाँसेको देखेको हो । त्यो पासाले ट्वाक्क हिर्काएर खाँदा खित्का छोडेर हाँसेको मैले त्यहि बेला देखेको हो, अरुबेला देखिन । अरुबेला असाध्यै गम्भिर मुद्रामा हुनुहुन्थो उहाँ त ।

देवकोटा दुखि भएको नियाल्न, बुझ्न सक्ने मेरो क्षमता नै थिएन । किनकि म त त्यो बेला बच्चै थिएँ । हाँस्या देख्दा, पासा खेल्या देख्दा पो रमाइलो लाग्थ्यो । मान्छे कति दुखि छ, गम्भिर छ भनेर नाप्ने दिमाख कहाँ थियो र ! हामी त केटाकेटी न थियौं ।

अहिलेका १४, १५ वर्षका मान्छे बिछट्ट जान्ने छन् । मोबाईल, टिभीसिबी केकेले । म त ३०, ३५ वर्षको हुँदापनि बच्चा थिएँ जस्तो लाग्छ । केहि बुद्दिनै थिएन, यादै थिएन । त्यसकारण देवकोटा सुखि हुनुहुन्छ कि ? दुखि हुनुहुन्छ कि भनेर सोच्ने, बिचार गर्ने अवस्थानै थिएन । त्यति बुद्दि मेरो थिएन । हाँसेको सम्झिन्छु । त्यो हात्तीको दाह्राको पासा टड्यांग खाएपछि फालेर ओ गर्दै हाँस्ने गर्नुहुन्थ्यो । त्यो चाहिं देखेको हो ।

अमर न्यौपानेको जिज्ञासा- हामीले पढ्दाखेरि के सुनेको भने देवकोटाले प्रकाशकसित अग्रिम पैसा लिनुभएको थियो । त्यो पैसा तिर्नुछ भनेर प्रकाशकले सम्झाएपछि उहाँले एकरातमै कुन्जिनी खण्डकाब्य प्रकाशकलाई बुझाएर त्यो पैसा तिर्नुभएको थियो भनेर हामीले पढेका थियौं । त्यो बेला किताबको बजार थियो ? किताब बुझाउनुभन्दा पहिल्यै लेखकलाई पैसा दिने प्रकाशकहरु थिए त्यो बेलामा ?

……………………

मलाई त थाह छैन । उहाँको सबैभन्दा बिकेको मुनामदन सरकारी संस्थाले छाप्थ्यो । कहाँ प्रकाशक थिए त्यो बेला ? एउटा रत्न पुस्तक भण्डार थियो । त्योपनि धेरैपछिको कुरो हो । पैसा दिएर किताब छाप्ने प्रकाशकनै थिएनन् । नेपाल भाषा प्रकाशिनी समितिले छाप्थ्यो । र पैसाको लेनदेन यदि हुन्थ्यो भने ऊ पक्षबाट हुन्थ्यो देवकोटाबाट हुँदैनथ्यो । उसले दिए लिनुहुन्थ्यो । नदिए नलिने बानी थियो । देवकोटाले मोलमोलाइ गरेर किताब छापेको मलाई थाह छैन । त्यो संभवनै छैन । त्यो बेलामा चलननै थिएन । कति थिए र ? पछि पाठ्यक्रममा परेपछि हजारौं लाखौं बिक्न थाले । त्यो त धेरै पछिको कुरा । देवकोटाको किताब त देवकोटा बितेपछि बढी बिके । देवकोटा हुन्जेल खासै बिक्दैनथे । पढ्ने संस्क्रितिनै थिएन । दुई चार जना पढ्न सौखिनलाई देवकोटाले आफैं दिनुहुन्थ्यो । पाठ्यक्रममा भएपछि विध्यार्थीले किन्न थाले ।

अमर न्यौपाने–

हाम्रो महाकवी र पुस्कर शमशेर अनि बालकृष्ण शमको दाई पुस्कर शमशेर र बालकृष्ण शमको संवन्ध कस्तो थियो हजुरले थाह पाउँदाखेरि ? सुलोचना महाकाब्यमा पुस्कर शमशेरसँग बाजीपनि परेको थियो । त्यसमा बाजी परेर देवकोटाले १० दिनमा लेख्नु भएको थियो ।

——-

संवन्ध नराम्रो थिएन । राणाहरुले हेप्न खोज्थे । देवकोटालाई अलि असह्य हुन्थ्यो । उहाँले चुनौति स्विकार गरेर लेख्नुहुन्थ्यो । जवाफ फर्काउन नसक्ने । राणाहरुलाई जवाफ फर्काउने चलनपनि थिएन त्यतिबेला । नत्र खोरमा हालिदिन्थे । वालकृष्ण शमको त अलि नक्कलिनै हो नी । देख्न मात्रै त्यस्तो छ । उनको धेरै कुरो छ । किनभने त्यो नेचुरलपनि थियो । त्यो बेलाको अवस्थानै त्यस्तो हो । किनभने राणा परिवारकालाई सबैले हजुर हजुर भन्नपर्ने । पछि केदारमान ब्यथितजीले मात्रै उहाँलाई हेप्नु भो । त्योपनि धेरै पछिको कुरो हो ।

पहिले त कतिसम्म हुन्थ्यो भने राणा र हामी हिंड्ने बाटोनै फरक हुन्थ्यो । सिंहदरवार अगाडीको जुन पिच सडक छ त्यो बाटो राणा मात्रै हिंड्न पाउँथे । हामी तल खेतबाट हिंड्थ्यौं । कहिलेकाहिं यस्सो बाटोबाट हिंड्न मन लाग्थ्यो । पिट्थे राणाहरुले । राणाहरु त हक्की, क्रिकेट खेल्ने । ब्याटले हिर्काउँथे हामीलाई । हामी भाग्नुपर्थ्यो । त्यस्तो चलन थियो । त्यो बेलाको त्यो चलन स्वभाविक मानिथ्यो ।

भित्रि कुरो बुझ्ने मेरोपनि खुबी थिएन । बालकृष्ण शम, पुस्कर शमशेरको भित्रि संवन्ध बुझ्नलाई । बाहिर देख्दा केहि नराम्रो थिएन । राम्रै थियो ।

लक्षी प्रसाद देवकोटासित मागेपछि जेपनि दिनुहुन्थ्यो । कोट फुकालेरपनि दिनुहुन्थ्यो । मागेपछि नाई भन्न जान्नुभएकै थिएन । कसैले कोट मागेहोला त्यो एउटा उदाहरण मात्रै हो । नत्र उहाँसित पैसा माग्ने त थुप्रै हुन्थे नी । तर त्यो बेलामा ठूलो ठग हुँदैनथे । पाँच रुपियाँ, १० रुपियाँ, २० रुपियाँ माग्नेहरु हुन्थे । उहाँसित माग्दा उहाँको खल्तीमा भयो भने नाई भन्नुहुन्थेन । दानी भन्दापनि फोगी भन्छन् नी हो त्यहि हुनुहुन्थ्यो उहाँ । लुटाउने । त्यो उहाँको स्वभाव हो । स्वभावको जवाफ छैन ।

मैले बुझेको नेपालमा जति रचना भत्काउने र बनाउने छ नी त्यो पैसा खाने मेलो मात्रै हो । भत्काउँदापनि कमिशन खाने, बनाउँदापनि कमिशन खाने । देवकोटाको घर भत्काउनुपर्ने कुनै जरुरतनै थिएन । त्यसलाई त्यहिं राखेर बगलमा बनाएको भए भैहाल्थ्यो नी, जेजस्तो बनाएपनि । त्यो किन भत्काउनुपर्‍या थियो ?

२०७२ सालको भुइँचालो गएपछि म त्यो घर हेर्न गएँ । केहिपनि भएको छैन । त्यो घरलाई अहिले किन भत्काउनुपर्‍या छ ? त्यो घर भत्काउनु पटक्कै आवस्यकता थिएन । त्यो घरलाई ढलुन्जेल, लडुन्जेल त्यसै खडा रहनदिनुपर्थ्यो । र अर्को राम्रो बनाउने हो भने त्यहाँ तिन चार रोपनी जग्गा छ । जत्रो घर बनाएपनि बन्थ्यो त्यहाँ । अहिले बनाएको जस्तो तिन वटा घर बनाउने ठाउँ छ । त्यो भत्काउनु अलिकति नियतै खराब भन्छु म चाहिं । त्यो भत्काएको मलाई चित्त बुझ्या छैन । हाम्रो चित्त नबुझेर के हुन्छ र हाम्रो मुलुकमा ? सक्ने र बलियाले जे गरे गरे । भत्काउनै नहुने घर भत्काए ।

एउटा मान्छेलाई मारेर अर्को त्यस्तै बनाउँछु भनेर हुन्छ ? त्यस्तै हो देवकोटाको घर भत्काएर अर्को बनाउँछु भन्नु । भएकोलाई भत्काएर अर्को त्यस्तै बनाउने । त्यस्तो घर त बन्दै बन्दैन । त्योबेला माटोले, काँचो ईटले बनाएको छ । अहिले काँचो ईट र माटोले बन्छ घर ? अहिले सिमेट र कंक्रिटले घर बन्छ । त्यस्तो घर त बन्दै बन्दैन नी ! त्यो जालीझेली कुरा मात्रै हुन् । त्यो त नस्टनै गरेको हो ।

नेपाल सरकार भन्दिन म । सरकारमा बस्ने, तथाकथित केहि मान्छे । केहि मूर्खहरुले भत्काएका हुन् । देवकोटाको घर भत्काउनु कुनै जरुरत थिएन । भत्के भत्कियोस न । माटोको थुप्रोपनि पवित्र मान्थ्यौं हामी । टिको लगाउँथ्यौं टाउकोमा । यसरि भत्काईयो कि मैले यहिं बसेर भत्काईसकेपछि थाह पाएँ । गुपचुप गरेर पो भत्काएको छ । त्यो घर नभत्काउँदै भत्काउन लागे भन्ने थाह पाएको भए म साहित्यकारहरुलाई त्यहाँ लिएर गएर सुत्थें । नभत्काउ भनेर । मैले थाह पाउँदा त भत्काईसकेको रैछ ।

म जेजति देख्छु यहाँ, सधैं देख्छु बागमतीको किनारमा । म बागमतीको किनारमै बस्छु। हरेक पेटी बनाउँछन्, भत्काउँछन् । मेरो घर अगाडि चार पटक भत्काउने बनाउने गरेर बदलिसके । अहिले माटो थुपार्छन् । अर्को साल पर्खाल बनाउँछन् । फेरि अर्को साल भत्काएर बुट्टे पर्खाल लगाउँछन् । फेरि भत्काउँछन् । अर्कोतिर माटो थुपार्छन् । यि सब तमासा नेपालभरि भैराख्या छ ।

हाम्रो देश विकास भएको छ । सडक बन्या छन् । त्यो सडक बनाउनकोलागि होइन पैसा खान र खुवाउनकोलागि । ९० प्रतिशत खाएर १० प्रतिशत मात्रै काममा लाग्छ । दवकोटाको घर भत्किनुमापनि त्यहि छ । यो साहित्यकारले नै त भत्काएका छन् । एकेडेमीले भत्काएको छ । एकेडेमीमा साहित्यकार छैनन् । पार्टी कोटेड साहित्यकार छन् । पार्टी क्याडर साहित्यकार छन् । शुद्द साहित्यकार भन्दा पार्टीले छानेका । एउटा एकेडेमी गठन भयो फलानो फलानो पार्टीको मान्छे । मैले एउटा साहित्यकार थाह पाइन । मैले सोधें ‘यो चाहिं कहाँको ?’ ‘ईन्डियन दुतावासको कोटाबाट आएको’ भन्छन् । यस्ता त छन् । ईन्डियन कोटाबाट आएका छन् । प्रस्ट, खुला सत्य छ । फलानोको मान्छे, फलानोको सम्धी, फलानोको शिक्षक आएका छन् । फलानोको किचन क्याबिनेटको मान्छे आएका छन् । त्यस्ता साहित्यकारले देवकोटाको घर नभत्काए के भत्काउँछन् त ?

महाकवीबाट हामीले सबै कुरा सिक्ने । उनका अल्लारेपन र हावादारी कुरा बाहेक बाँकि सबै सिक्ने । उहाँको त्याग सिक्ने, उहाँको दानसिलता सिक्ने । उहाँको किताब पढेर त्यसबाट सिक्ने । सबैथोक सिक्ने । अलिकति उहाँको टाउको लुज थियो । त्यो मात्रै नसिक्ने ।

देवकोटाको अन्तिम अवस्थाबारे मलाई थाह छैन । किनभने त्यो बेला म बनारसमा पढ्थें । मैलेपनि सुनेको मात्रै हो । यहाँबाट बनारस धेरै टाढा थियो त्यो बेलामा । मैलेपनि सुनें मात्रै । त्यसबारेमा मलाई त्यतिसाह्रो ज्ञान छैन ।

देवकोटाको प्रतिभाको इर्ष्या त धेरैले गर्थे । रिस गर्थे होलान् । तरपनि मलाई लाग्छ, मरणासन्न अवस्थामा खास कसैले त्यस्तो रिस गरेका होइनन् । मान्छेले कुरा बढाउँछन् पनि । सानातिना कुरा होलान् । देवकोटालाई त्यस्तो नराम्रो कसैले गरेको जस्तो मलाई लाग्दैन ।

उनलाई किन साहिंला बाजे भनियो ? किनभने त्यो बेला बाहुनलाई बाजे भन्ने चलन थियो । उनका दुइ जना दाजु थिए । उनी साहिंला हुन् । त्यसकारण साहिंला बाजे भनेको । एउटा संस्क्रितिनै हो हाम्रो, साहिंला बाजे, माइला बाजे भन्ने । लक्ष्मी प्रसाद भनेर नाम बोलाउने चलन थिएन । पस्चिमी संस्क्रितिमा जस्तो नाम लिने चलन थिएन । आफूभन्दा ठूलाको नाम काढ्दैनथे । त्यो आदर गरेको हो ।

क्रमश :

(नेपालप्लसले कात्तिक १३ गते शनिवार नेपालका साहित्यिक पत्रकार, वरिष्ठ साहित्यकार नगेन्द्र राज शर्मासित महाकवी लक्ष्मी प्रसाद देवकोटा जयन्तिका अवशरमा देवकोटाबारे प्रत्यक्ष छलफल कार्यक्रम राखेको थियो । देवकोटाको आँगनमै खेल्नुभएका, देवकोटा र उहाँको परिवारसित प्रत्यक्ष हेलमेल गर्नुभएका शर्माले छलफलमा ब्यक्त गर्नुभएका भनाई यहाँ सामान्य सम्पादन गरेर राखिएको हो-संपादक)

पहिलो भाग

मैले देखेका देवकोटा सौखिन र सम्पन्न थिए, सुनेका देवकोटा चाहिं गरिब

दोस्रो भाग

कसैलाई ‘नाइ’ नभन्ने महाकवी देवकोटा

तेस्रो भाग

पत्नी, छोराछोरीलाई खबरै नदिई महाकवी देवकोटा लुसुक्क बनारस

तपाइँको प्रतिक्रिया