शनिबार, वैशाख १५, २०८१

‘कुकुरको पूजा गर्ने देशमा जन्मेका हामी मान्छेले मान्छेको पूजा गर्न सिकौं’ डा. योगी

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ कार्तिक १९ गते २२:०७

पूर्वीय सभ्यताका ज्ञाता तथा विश्व ओमकार एकता महाअभियानका संयोजक डा. चिन्तामणि योगीले एनआरएनए संसारभरिका नेपालीलाई जोड्ने सामाजिक, सांस्कृतिक माध्यम भएको बताएका छन् ।

तिहार, नेपाल संवत्, छठ तथा ल्होसारको अवसरमा टिम कुलद्वारा शुभकामना आदानप्रदान गर्न शुक्रबार आयोजित खुला डबलीलाई सम्बोधन गर्दै योगीले भने, ‘हाम्रो वेद, बुद्ध, मुन्धुम दुनियाँलाई बुझाइदिऊँ । तिहारमा दिदीबहिनीले आर्शीवाद दिने परम्परा छ । नेवार परम्परामा म्ह पूजा भैरहेको छ । तिहारले दिएको सबैभन्दा ठूलो सम्बन्ध सुसम्बन्ध हो । यमराज पनि थकित भएको बेलामा सुस्ताउन, गुनासो पोख्नका लागि बहिनी यमुना कहाँ जानु परेको थियो । हामी सबै कुरा नारीबाट पाउँछौं । कुनै पनि दिदी बहिनीको चित्त दुखाउने काम गर्नु हुदैन” योगीले भने ।

‘श्री अर्थात् ऐश्वर्य र समृद्धि देउ’ भन्दै खेलिने द्यौसी, देउसीरेले जातीय, क्षेत्रीय, साम्प्रदायिक, सामाजिक सद्भाव वृद्धि गरेको उनले बताए । जुनसुकै देश बसे पनि नेपालीहरु जोडिने माध्यम भनेको संस्कृति र परम्परा नै भएको उनले स्पष्ट पारे ।

“मादल घन्किएपछि नाच्न चाहने, तीजमा दिदीबहिनीहरुले रातो साडी लगाउन चाहने हाम्रो संस्कृति हो,” योगीले भने ‘चाहे बर्मा, थाइल्याण्ड, देहरादून होस् चाहे युरोप, अमेरिका वा अष्ट्रलिया होस् । हाम्रो टोपी, साडी, चोली, गुन्यु छुट्नु हुँदैन । ’

तिहार चाड एउटा सहअस्तित्वको पर्व पनि भएको डा. योगीले बताए । उनले तिहारको महत्वलाई स्पष्ट गर्दै काग, कुकुर, गाई, गोबर्द्धन, भाइको पूजा गर्नुका अर्थ सहअस्तित्व भएको व्याख्या गरे । ‘जहाँ सहअस्तित्व हुन्छ, त्यहाँ सबैको कल्याण हुन्छ । सेवाको मार्गमा हिडौं । कसैले कसैको अस्तित्व, पहिचानलाई मेटने कोशिस गर्नु हुँदैन । कुकुरको पूजा गर्ने देशमा जन्मेका हामी मान्छेले मान्छेको पूजा गर्न सिकौं’ डा. योगीले भने । तिहारले श्रद्ध र सुस्वास्थ्यको पनि सन्देश दिने उनले स्पष्ट पारे । तिहारको सुसम्बन्धलाई पश्चिमी मुलुकमा समेत अनुसन्धान गर्दै जान थालेको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सन् २०२१-२३ कार्यकालका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले हाल रोकिएको संघको दशौँ महाधिवेशन तथा चुनाव तत्काल गर्न माग गरे । “आफुले गर्नु पर्ने काम नगरेर, अरुलाई दोष लगाउन खोज्दा चुनाव अनिश्चित बन्न पुगेको छ । जति सक्दो चाँडो दशौँ महाधिवेशन र चुनाव गराउनुपर्छ भन्ने हाम्रो माग छ’ उनले भने, ‘यसका लागि जस्तोसुकै सहयोग गर्न हामी तयार छौं ।’

संघका कोषाध्यक्ष महेश श्रेष्ठले एनआरएनमा अहिले अन्यौल र असमझदारी बढेको बताए । ‘एनआरएनमा एउटा संकट छाएको छ । निर्वाचन समयमा गर्न नसकिएको स्पष्ट छ । यस्तो बेला मेरै गोरुको बाह्रै टक्का नगरी सबै मिलेर निर्वाचन छिट्टो गर्ने सहमति गरौँ” श्रेष्ठले भने।

त्यसैगरी एनआरएनएका युरोपका संयोजक नारायण आचार्यले सबैलाई संवेदनशील र निश्वार्थ भएर संस्थालाई जोगाउन आग्रह गरे । आजसम्मका गतिविधि हेर्दा नोभेम्बरभित्र चुनाव हुने छाँट नदेखिएको बताउँदै आचार्यले भने “संस्था हाम्रै मुठ्ठीमा हुनुपर्छ भन्ने सोंच त्यागेर अघि बढ्नुपर्छ । सबै गैरआवासीय नेपालीहरुले छानेर आउने नेतृत्वलाई चयन गरेर इमान्दार प्रतिबद्धता व्यक्त गर्न आग्रह गर्छु” उनले भने ।

कार्यक्रममा गायिका देविका केसी, एनआरएन आइडलमा टप टेनमा पुगेका गायक कृष्ण खवास, हास्यव्यंग्यकर्मी हिमेश पन्त लगायतका कलाकारले प्रस्तुति गरेका थिए ।

तपाइँको प्रतिक्रिया