शनिबार, मंसिर १८, २०७८

शनिवार- साहित्य / सृजना / नियात्रा

असम साहित्य सम्मेलनः एक ऐतिहासिक महोत्सवको सम्झना– ङ

डा. गोबिन्द राज भट्टराई२०७८ कार्तिक २० गते ६:०१

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, १४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १७ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १८ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १९ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २१ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २७ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २८ औं भागकालागि यहाँ क्लिक गर्नुहोला, २९ औं भागकालागि यहाँ क्लिक गर्नुहोला, ३० औं भागकालागि यहाँ क्लिक गर्नुहोला, ३१ औं भागकालागि यहाँ क्लिक गर्नुहोला )

असमीया संस्कृतिमा देश निर्माण गर्नसक्ने सबै तत्व नै निहीत रहेका पाइन्छन् । वैज्ञानिक घडेरीमा प्रतिष्ठा गरिएको सत्र (मठ) को अमूल्य सम्पदा ‘बरगीत’ नृत्य, नाटक, भाओना छन्, स्वमहिमाले जगत् जित्ने लोकसंस्कृतिका अति मूल्यवान मणिमाणिक्य छन्, लुगामा सपना रच्नसक्ने सिपालु ‘बुनकर’ छन् । सर्वमोठमा कालजयी असमीया संस्कृतिमा समाज संगठित गर्नसक्ने तथा जातिलाई शक्तिवान बनाउने सबैखाले सम्पदा सञ्चित छन् ।

के कुरो हामी अस्वीकार गर्न सक्तैनौँ भने गत केही दिनबाट हाम्रो जातीय जीवनलाई दुष्कृतिको कालो बादलले ढाक्दैछ । बन्दुकबारुद, हत्या, अपहरण, अत्याचार, बलात्कार र दुर्नीतिले समाजको शरीर खोक्रो पार्दैछ । जनगणको जीवन संत्रास, आतङ्क तथा सुरक्षाविहीनताले विपर्यस्त पारेको छ । सामाजिक विच्छिन्नतावाद, राजनीतिक विच्छिन्नतावाद (अलगाववाद), उग्रवादीले सृष्टिगरेको संत्रासवादले असममा एक भयंकर परिस्थिति बनाएको छ । त्यसैमाथि ठाउँठाउँ हुने भ्रातृत्वघाती संघर्षले जातीय जीवनमा एक अमंगल संकेत लिएर देखापरेको छ । युगौँको ऐक्यमिलनको रस्सी बारम्बार छिनाउने प्रयास गरिँदै छ ।

सर्वाेपरि आज अवाञ्छित बाह्य अपसंस्कृतिको ग्रासमा परी संस्कृतिका कला लक्ष्मीको मौलौ नै थर्थर काम्दैछ । बाहिरको एक झोक्का प्रवल दूषित बतासले असमीया संस्कृतिको निजस्व, रूप–माधुर्य र प्रवाहमान धारा विषाक्त बनाएको पाइन्छ । यस प्रसंगमा के पनि सही हो भने सबै संस्कृतिको स्वस्थ परिवर्तनका निम्ति अन्य संस्कृतिको प्रभाव पनि प्रयोजनीय हुन्छ । ज्योतिप्रसादले भनेका छन् —
रूपान्तरे हे जगत् धुनिया करे
सेये मोर गायत्री मन्त्र
(अर्थात् परिवर्तनले जगतलाई राम्रो पार्दछ र त मैले यसका निमित गायत्री मन्त्र दिँदैछु)

तर संस्कृतिको परिवर्तन गर्ने प्रभाव वाञ्छनीय र ग्रहणयोग्य हुनु आवश्यक छ । बाहिरबाट आएको संस्कृतिको सबै प्रभाव हेरिविचारी कति ग्रहण गर्ने र कति वर्जन गर्ने कुरामा ध्यान दिई अघि बढ्दा हाम्रो संस्कृतिलाई अघि बढाएर लान सक्छौँ । यो काम गर्दा हामीले आफ्नो संस्कृतिको मौलिकता अक्षत राख्नु पर्दछ । यसका लागि सबै स्तरका सबै सचेत संस्कृतिकर्मीको निष्ठा र एकाग्रताले कर्मक्षेत्रमा ब्रती हुनु पर्दछ ।

प्राचीन कालबाटै नारी र पुरुष एउटै समाजका बासिन्दा भए तापनि साहित्य सृजनाको क्षेत्रमा पुरुषको वर्चस्व बढी रहेको पाइन्छ । यसको मुख्य कारण पुरुष–प्रधान समाज व्यवस्था हो । यो व्यवस्थामा नारी जीवन रक्षणशीलता, नियम नीतिको कठोरता, निरक्षरता, गार्हस्थ कर्मको भारी जस्ता सयवटा बाध्यताले भरिएको छ ।

त्यसर्थ के भन्न चाहिरहेका छौँ भने निवर्तमानको दुर्याेगपूर्ण परिस्थितिमा हामी चुप्प लागेर बस्न सक्तैनौँ के कारणले भन्दा भने सबै जाति र संस्कृतिका क्षेत्रमा यस्तो दुर्याेग आउँछ नै । अनि फेरि प्रहार जति तीव्र हुँदैछ त्यसको प्रतिरोधको शक्ति पनि उति नै प्रबल हुन्छ । यो प्रतिरोध गर्ने शक्ति हामीले संस्कृतिबाटै लिनु पर्छ । दुष्कार्य समाप्त पार्न कार्यकारी र फलदायक उपाय अवलम्बन गर्नु पर्दछ ।

दुष्कार्य समाप्त पार्नका साथै संस्कृतिको शुभ शक्तिलाई समाजको रूपान्तरण र उत्तरणका निम्ति निरन्तर व्यवहार गर्नु पर्दछ । संस्कृतिलाई सारथि बनायौँ भने मात्र हामी जातीय जीवनको दुर्याेग समाप्त गर्न सक्छौँ । साथै हाम्रो जीवन पनि अर्थपूर्ण र आनन्ददायक बनाउन सक्छौँ । असमीया सँस्कृतिमा निहीत समन्वयको मन्त्र र सार्वजनीनताको कुरो हामीले फेरि उल्लेख गर्दै, हिंसाको साटो अहिंसा, शान्ति, प्रेम, सहयोगिता र सर्वाेपरि मानव धर्मको आधार सुदृढ गर्ने प्रयास गर्नुपर्दछ । आज जुन दुष्कृतिले चारैतिर घनघोर अँध्यारो छाएको देखिन्छ त्यसका विरुद्ध सामाजिक जीवन आलोकमय पार्न संकल्पबद्ध भई सुदूरप्रसारी दृष्टि र रचनात्मक परिकल्पना लिएर अघि बढ्नु पर्दछ । असमीया संस्कृतिको मौलिकता र महत्व अक्षत राखी समाजको दूषित परिवेश नष्ट गरी त्यसको ठाउँमा शान्ति, प्रेम, करुणा, क्षमा र सहिष्णुताको बीउ हृदयहरूमा रोप्नु पर्दछ । यो काम गर्दा युगौँदेखि गौरवका साथ शिर ठड्याइरहेको सत्र (मठ) संस्कृति, लोक संस्कृति, क्रिस्चियन संस्कृति, जनजातीय संस्कृति, इस्लाम संस्कृति, मन्दिर देवालय संस्कृति, गुरुद्वारा संस्कृतिका बीच सूक्ष्म ऐक्य र स्नेहको बन्धन अटूट राख्नसके एक जीवित जातिका रूपमा हामी यस संसारमा रहन सक्नेछौँ । अनि बल्ल संस्कृतिको मंगलमय शक्तिले अस्त्र र दुष्कृतिको शक्तिलाई परास्त गरी सबैका लागि आस्थाको वाणी सञ्चार गर्न सक्नेछौँ । हिंसा प्रतिहिंसालाई जलाञ्जली दिई मानिसको हृदयको शुभ चेतना जगाउन सक्नेछौँ । तब बल्ल यो कालरात्रिको अन्त भई नयाँ बिहान हुनेछ । शुभवार्ता लिई आकाशभरि शान्तिका परेवा फेरि उड्नेछन् । रक्तस्नाता यस धरामा अमृत आनन्द शक्तिको मन्दाकिनी धारा बग्नेछ ।

नारी साहित्य— प्राचीन कालबाटै नारी र पुरुष एउटै समाजका बासिन्दा भए तापनि साहित्य सृजनाको क्षेत्रमा पुरुषको वर्चस्व बढी रहेको पाइन्छ । यसको मुख्य कारण पुरुष–प्रधान समाज व्यवस्था हो । यो व्यवस्थामा नारी जीवन रक्षणशीलता, नियम नीतिको कठोरता, निरक्षरता, गार्हस्थ कर्मको भारी जस्ता सयवटा बाध्यताले भरिएको छ । जसलेगर्दा युगौँबाट नारी सृजनामूलक काममा ऐकान्तिक रूपमा लागिपर्न बाधाको सम्मुखिन हुँदै आएका छन् । हाम्रो समाज व्यवस्था निर्मम रूपमा पुरुषतान्त्रिक भएकाले नारीको सामाजिक, अर्थनैतिक, सांस्कृतिक, बौद्धिक रूपमा विकासको सुअवसर सुविधा सीमित रहेको पाइन्छ । यस्ता समस्याहरू बीच पनि नारीले आफ्नो सृजनशीलताको परिचय दिइरहेका छन् ।

प्रत्येक जातिको दर्पण–छायाको रूपमा विश्वका विभिन्न देशको साहित्यले युगौँबाट पुरुषका साथै नारीले आफ्नो साहित्यिक योगदानलाई आफ्ना छातीमा स्थान दिएर ऐश्वर्यशाली बनेका छन् । यो कुरामा असमीया साहित्य पनि व्यक्तिक्रम हैन केवल पत्नीको दायित्वपालन, गर्भधारण, सन्तान पालनपोषणका साथै प्रत्येक नारी आफ्नो देश, जाति, समाज र कलासंस्कृतिप्रति उत्तिकै दायबद्ध रहेका पाइन्छन् । यस प्रसङ्गमा असमीया मौखिक साहित्यको कुरो उल्लेख गर्न सकिन्छ जहाँ निरक्षर नारी मनका आशा आकाङ्क्षा, दुःख, पीडा, हर्ष विषाद अभिव्यक्त छन् ।

पुरुषकाझैँ नारीलाई समअधिकार र मर्यादा प्रदान गर्ने कुरामा जसरी पुरुषप्रधान समाज उदासीन रहेको पाइन्छ त्यसरी नै नारीहरू लेखिकाका रूपमा अवतरित भई प्रसिद्धी र सम्मानको अंशीदार हुने कुरामा पनि आवश्यक बौद्धिक र सांस्कृतिक परिवेश बनाइदिन पनि आग्रही देखिँदैनन् ।

सत्रौं शताब्दीमा असममा नव वैष्णव (भारतवर्षभरि नै भक्ति आन्दोलनका रूपमा प्रसिद्ध) धर्मले एक गौरवमय अध्याय लेखेको समयमै असमको काव्य जगतमा अवतरित भएकी प्रथम कवयत्री हुन्— पद्मप्रिया । भवानीपुरका गोपाल आताकी पुत्री पद्मप्रिया एक नाम मात्रै नभएर एक युगान्तकारी आन्दोलन, एक युगान्तकारी स्वर बनेकी छन् । उनैले असमीया साहित्यमा एक सुनौलो अध्ययन प्रारम्भ गरेकी हुन् ।

परवर्ती समयमा अरुणोदय पत्रिकामा मिसनरी नारीहरूको योगदानका पछिल्लो पर्यायमा प्राक जोनाकी युग, जयन्ती र रामधेनु युगमा उनीहरूको योगदान दह्रिलो हुँदै गयो । युद्धोत्तर (द्वितीय विश्वयुद्ध) आधुनिक युगदेखि निवर्तमानसम्म सुदीर्घकालमा नारीहरूका साहित्यिक योगदानले उनीहरूको योग्यता चिन्हित भएको पाइन्छ । पुस्तक प्रकाशनका साथै विभिन्न पत्रपत्रिका र अखबारमा कविता, कथा, नाटक, निबन्ध र उपन्यास आदि प्रकाशित गराएर आफ्ना अमूल्य योगदान दिइरहेका छन् । भारतीय साहित्यको सर्वाेच्च पुरस्कार ज्ञानपीठ डा। मामनी रयछमजस्ती लेखिकाले प्राप्त गरेर गौरवान्वित बनेकी छन् । अन्तर्राष्ट्रिय पर्यायमा पनि असमका लेखिकाहरू प्रसिद्ध भएका छन् । यसरी स्वीकृति भेटे पनि सामग्रिकरूपमा असमका लेखिकाहरूको योगदानको मूल्याङ्कन नहुनु अत्यन्त दुर्भाग्यजनक कुरा हो । जुन समाजमा नारीको शैक्षिक, सांस्कृतिक र बौद्धिक विकासका निम्ति सुअवसर सुविधा र सम्भावना थोरै छ त्यो समाजमा बौद्धिक उत्कर्ष र सृजनाको विकासका निमित्त एक प्रेरणादायक परिवेशको आशा गर्न सकिँदैन ।

पुरुषकाझैँ नारीलाई समअधिकार र मर्यादा प्रदान गर्ने कुरामा जसरी पुरुषप्रधान समाज उदासीन रहेको पाइन्छ त्यसरी नै नारीहरू लेखिकाका रूपमा अवतरित भई प्रसिद्धी र सम्मानको अंशीदार हुने कुरामा पनि आवश्यक बौद्धिक र सांस्कृतिक परिवेश बनाइदिन पनि आग्रही देखिँदैनन् । त्यसर्थ अनेक प्रतिभासम्पन्न लेखिकाका जीवनभरि गरेको साहित्य साधनाबारे समालोचकहरूको निर्विकार र पक्षपातपूर्ण व्यवहारले गर्दा सारा जातिकै लागि क्षतिकारक बनेको कुरा यहाँ व्याख्या गरिरहन परोइन । सम्मान पुरस्कारका कुरामा पनि निर्णायक मण्डलमा पनि धेरजसो पुरुष भएकाले नारीलाई उनीहरूको प्राप्य मिल्दैन । स्तरीय निर्णयलाई परै राखी व्यक्तिगत निर्णय र परिचितलाई अग्राधिकार दिई लेखिकाहरूको सृजना अवहेला गर्नु त नियम नै बनिसकेकोे छ । यति मात्र नभएर कतिपयले लेखिकाका पुस्तकको नामसमेत उल्लेख नगर्नु एक चिन्तनीय विषय बनेको छ ।

साहित्यमा नारी हृदय र नारी स्वभावको जुन विकास देख्न पाइन्छ त्यो कति पुरुष लेखकहरूको कल्पना र कति नारी चरित्रको यथार्थ अभव्यिक्ति हो । यो कुरो आजको शिक्षा विस्तारको युगमा मौलिक प्रभावशाली नारी लेखक ननिस्किएसम्म सधैँका निम्ति समस्या नै बनिरहनेछ ।

एक थरीले साहित्य सृजनामा लिङ्ग आधारित विभाजन उचित हैन भन्छन् । तर वास्तवमा के देखिन्छ भने पुरुष शासित समाजमा अन्यान्य क्षेत्रझैँ नारी सधैँ अवहेलित र प्राप्य मर्यादा प्राप्त गर्नबाट वञ्चित हुँदै आएकी छ । साथै धेरै पुरुष लेखकले समय समाज र परिवेशको परिप्रेक्षमा नारी चरित्रको चित्रण नगरी स्वेच्छाले आफूखुशी गरेको देखिन्छ । यसबारे पण्डितप्रवर डा. वाणीकान्त काकतीज्यूको भनाइ उल्लेखनीय रहेको छ । उनले भनेका थिए— साहित्यमा नारी हृदय र नारी स्वभावको जुन विकास देख्न पाइन्छ त्यो कति पुरुष लेखकहरूको कल्पना र कति नारी चरित्रको यथार्थ अभव्यिक्ति हो । यो कुरो आजको शिक्षा विस्तारको युगमा मौलिक प्रभावशाली नारी लेखक ननिस्किएसम्म सधैँका निम्ति समस्या नै बनिरहनेछ ।

के कारणले भन्दा भने नारीमनका कुराहरू नारीले मात्र विश्वसनीय र मनोरञ्जक रूपमा व्यक्त गर्न सक्छन् । यस प्रसंगमा आजभन्दा केही दशक अघि असममा गठित भएका दुई वृहत संस्था सदौ असम लेखिका समारोह र सदौ असम लेखिका संस्थाको उल्लेख गर्नु आवश्यक ठहरिन्छ । स्वाधीनता आन्दोलनका बेला असमका गाउँहरूमा बनिएका महिला समितिका शाखाहरूझैँ लेखिकाहरूप्रति गरिएको धेरै दिनको अवहेलना र वञ्चनाले मानौँ यी दुईवटा संस्थाले प्रमाणित गरेका छन् । बेलाबेला प्रकाशित पुस्तकहरमा पनि लेखिकाका पुस्तकको यथार्थ मूल्याङ्कन सटिक रूपमा नभएको कुरा आज सबैले जान्दछन् ।

यस प्रसंगमा कुनै बादविवादमा नगई के चाहिँ भन्न सकिन्छ भने यी दुवै संस्थाले लेखिकाको स्वाधीनता आन्दोलन र सृजनामूलक प्रतिभा विकासको आन्दोलनलाई एकत्रित गरी पुरुषप्रधान संस्थाका धेरै दिनका अवहेला र उपेक्षाको योग्य प्रत्युत्तर दिई एक सामाजिक र युगउपयोगी कर्तव्यपालन गरेका छन् । असम र असमबाहिर पनि शाखा खोलेर यी दुवै संस्थाले साहित्यसृजन गरी चर्चा गर्नका निम्ति असमका लेखिकाहरूलाई उत्साह र प्रेरणा प्रदान गरी एक प्रशंसानीय र आशावादी काम गराएका छन् भन्ने विश्वास गरिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक