बिहीबार, वैशाख १३, २०८१

कोरोना खोप नलगाएकालाई अष्ट्रियामापनि रेस्टुरेन्ट, कफी सप पस्न प्रतिबन्ध

नेपालप्लस संवाददाता२०७८ कार्तिक २१ गते १९:२३

Image source- coe.int

कोरोना संक्रमितको संख्या फेरि बढे लगत्तै अष्ट्रियाले कोरोना खोपको पूर्ण मात्रा नलगाएकाहरुलाई रेस्टुरेन्ट, कफी सप, हजाम पसलहरु प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।

अस्ट्रियाले शुक्रबार भनेको छ ‘काफे, रेस्टुरेन्ट र हजामहरूमा प्रवेश गर्न कोविड १९ विरुद्ध पूर्ण रूपमा खोप नलगाइएकाहरूलाई प्रतिबन्ध लगाएको छ । किनकि संक्रमणको दर एक वर्ष पहिलेकै अवस्थामा पुगेको छ । सरकारले कोरोनाको सुई लिन अस्विकार गरेकाहरुलाई सुई लिन मनाउनपनि संघर्ष गरिरहेको छ ।

अस्ट्रियाको लगभग ६४ प्रतिशत जनसंख्याले कोविड-१९ विरुद्ध पूर्ण रूपमा खोप लगाएको छ । त्यो युरोपेली संघको औसत लक्ष्य अनुरुप हो । तर पश्चिमी यूरोपमा कोरोना बिरुद्दको खोप लगाएका सबैभन्दा कम दर भएका मुलुक मध्ये एक हो । धेरै अस्ट्रियालीहरू खोपको बारेमा शंकालु छन् । जस्तै संसदमा तेस्रो-ठूलो पार्टी द फ्रीडम पार्टी अफ अष्ट्रियानै खोपको बिरुद्द छ ।

अन्य युरोपेली मुलुकमा झैं अष्ट्रियामा पनि नयाँ दैनिक संक्रमण बढ्दै गएको छ । शुक्रबार बढेर ९,३८८ पुगेको थियो । यो एक वर्ष पहिले भएको ९,५८६ जना संक्रमित संख्याको नजिक छ । यति ब्यक्ति संक्रमित हुँदा दोस्रो लकडाउन घोषणा गरिएको थियो ।

“कोरोना संक्रमणको विकास असाधारण छ । गहन उपचार कक्षका ओछ्यान हामीले अपेक्षा गरेको भन्दा धेरै छिटो भरिंदै गएको छ” चान्सलर अलेक्ज्याण्डर शालेनबर्गले सोमबार लागू हुने नयाँ स्वास्थ्य मापदण्ड र उपायहरूको बारेमा पत्रकार सम्मेलनमा भने ।

नयाँ मापदण्डमा होटेल, रेस्टुरेन्ट, कफी सप, हजाम पसलमा कोरोनाको सुई नलगाउनेलाई प्रतिबन्ध लगाउने र अब कार्यक्रम गर्दा २५ जनाभन्दा बढीलाई एकै ठाउँमा जम्मा हुन रोक लगाउनेसमेत हो ।

कोरोना संक्रमितको संख्या अहिले युरोपभर बढिरहेको छ । तर मध्य र पूर्वी युरोपमा अहिलेनै धेरै समस्या देखिएको छ जहाँ खोप लगाएकाहरुको दर पनि युरोपेली युनियनको औसत मापदण्ड भन्दा कम छ ।

तपाइँको प्रतिक्रिया