शनिबार, मंसिर १८, २०७८

मरेपछी देश फर्किने भयानक सपना

गुमनाम परदेशी२०७८ कार्तिक २१ गते २०:१३

म काठमाडौंको छिचोल्नै नसकिने धुलोलाई छोडेर हिंडेको थिएँ । दुर्गम गाउँमा रगतको खोलो बगेको थियो । राजाधानीमा ज्यान बचाउन सकिन्छ कि भन्ने धेरैको आशा हुन सक्थ्यो सायद । त्यसैले काठमाडौंमा धुलोका मसिना कण जस्तै मान्छे थिए । धुलो र मान्छे बराबर । मलाई कस्तो लागेको थियो भने राजाधानी पुगेपछी मान्छे बन्न सकिन्छ । तर भएन, म पनि धुलो बनें । पानीले पखालिएर किनारमा अड्किएको इत्रुको धुलाको कण । चरणाम नाङ्गो । त्यसपछी म हिंडे । कहाँँ पुगिन्छ होला यसरी हिंडेर, तै पनि हिंडे । जहाँँ पुगे पनि के भो र भन्ने भो ।

जर्मनीको फ्र्यांकफोर्ट उत्रिंदा भर्खर उज्यालो हुँदै थियो । मलाई अघी नै निद्राले छोडेको हो । बिहानको चार बजे नै जहाजको झ्यालबाट तलको जमीन उज्ज्यालो देखियो । चार बजे बिहान कसरी उज्यालो हुन्छ र ! अचम्म ! जहाज फ्रायांकफोर्टको बडेमानको विमानस्थलमा ओरालो लाग्नै लाग्दा मेरा मसिना सपना शहर भरी छरिए । कुनै दिन यि सपना उम्रेलान भन्ने भो ।

जयश्री खोलापारी हाम्रो एउटा बारी थियो । पुर्वबाट उर्लँदै आउने नारायणी र उत्तरको जंगलबाट मात्तिएर बग्ने जयश्री खोलाको बिचमा तिखौरो परेको थियो हाम्रो बारी । जेठका चर्का घाममा भरर उम्रेका मकैका नावालक टुसालाई सिमलको रुखमा उक्लिएर धित मरुन्जेल हेर्थ्यौं हामीले । यस्तो लाग्दथ्यो, ति मकैका टुसा नभएर हाम्रो जिन्दगी उम्रिंदैछ । पछी त्यो बारी नारायणीले बगायो । एउटा बर्खा हाम्रो जमिन उखेलेर नारायणी अलप भयो । खै किन रिसायो नारायणी त्यसरी । फ्र्यांकफोर्ट तँ चाँही नरिसाएस नि म सँग” !

जहाज जमिनमा रोकियो । मेरा सपनाहरु शहरभरी छरिए । मैले यो शहरमा छरेका सपना उसरी नै उम्रिउन, तिनै मकैका टुसा जस्तै । त्यो दिन मलाई लिन आएको मान्छेले दिनभरी शहरका राता घरहरुमा चक्कर मार्यो । “यो शहर यस्तै छ सर, घर परिवारको सम्झना आइरहन्छ”- त्यो मान्छेले भन्यो । म बोलिन । होला, आत्मा चलुन्जेल याद रहिरहन्छ । उ तिनै सम्झनालाई जिउँदो बनाउने अभियानमा घुमिरह्यो ।

यो जमिन सानो भयो अब, पृथ्वीलाई ठुलो बनाउन सकिंदैन ? पृथ्वीलाई तन्काउन मिल्ने भए तिर्सना मेट्ने घाटहरु बन्द हुने थिए शायद । ‘मलाई कफिसपमा छोडिदिनुस जाने बेलामा यही बाट लिएर हिंड्नुहोला’ मैले भने । उनी फेरी कुलेलाम ठोके । यो शहरमा हरेक मान्छेका अनगिन्ती चाहना सँगसँगै हुर्किएका छन । सबैका अलगअलग चाहना । उसको सम्झना मेट्ने चाहना, सपना उमार्ने मेरो चाहना । बिहान मसँगै जहाजबाट उत्रिएका ठिटाहरुको चाहना झन छुट्टै होला ।

आखिर यो पुरै संसार उस्तै हो । देश नछोडिकन संसार बुझिन्न, जब संसार बुझिन्छ देश धेरै टाढा पुगिसकेको हुन्छ । दुई दशक पछी म टाढा पुगेको देशलाई हेरिरहेको छु ।

हो त ति केटाहरु पुलिसको केरकारमा परेका थिए । नक्कली भिसा थियो रे तिनिहरुको । जहाज चढे देखीनै ति सबै केटाहरु चुपचाप थिए । तिनिहरुले रातीसम्म बात मारेनन । एक दुई पटक म बोल्न खोजेको थिएँ, चासो दिएनन । बिहान निस्किने बेलामा जर्मन पुलिसले भनेको सुनियो ‘फेक भिसा’ । मलाई जहाँँ सम्म लाग्छ सपनाका हजार थरी विउ लिएर युरोप आएका ति केटाहरु सम्वभत: त्यहीबाट फर्काइए । मैले तिनिहरुलाई पिर्लिक्क हेरेर निस्किएँ । मलाई थाहा छैन जर्मनीमा मेरो बसाइको लम्बाई ।

मैले कफीको लामो सुर्की ताने ! सुरुप्प …….! उता बसेको एउटा गोराले मलाई ट्वाल्ल हेर्यो, म अली असभ्य देखिएँ कि कुन्नी । ह्या जे सुकै सोचोस्, मैले कफी पिउने आफ्नो ताल छोडिन । मेरो असली स्वभाव यस्तै हो । स्वभाव परिवर्तन हुन समय लाग्छ । मान्छेको स्वभाव भनेको कटुसको बुटो होइन जो हरेक वर्ष नयाँँ पालुवा पलाएर पुराना झर्दै जान्छन । दिनभरी मैले ति ठिटाहरुलाई सम्झी रहें । तिनिहरुका पनि उस्तै सपना थिए होला मेरा जस्तै । म निस्किने बेलामा एउटा गहुँगोरो केटाले मलाई कारुणिक आँखाले हेरेको थियो । मिलेको भए हात समातेर सँगै बाहिर ल्याउने थिएँ । नक्कली भिसामा कसरी उडेका थिए ति ।

अली अघीसम्म काठमाडौंमा कस्तो चलन चलाएका थिए दलालले भने कुनै अर्कै मान्छेको भिसा लागेको पासपोर्ट कसैको फोटो टाँसेर पठाउने गरेका थिए । ति केटाहरु पनि त्यस्तै भिसामा पो परे कि ! मलाई गन्तब्यमा पुगे पछीको धेरै अबेरसम्म तिनै केटाहरु आँखामा नाचिरहे । जर्मनीमा आधा दशक बिताएपछी ति आधा दर्जन केटाहरु फेरी सम्झनामा आए । मेरा सपना मुर्त हुन सकेनन् ति फर्किए होलान त्यही दिन । तर त्यो एक्कैछिन अथवा आउने केही अन्तराललाई नसम्झने हो भने ति केटाहरु फरक्क देशमा फर्किएर पक्कै पनि जिन्दगीको पानस जोगाए । हामीले त हार्‍यौं, हाम्रा बाले खोजेको अलीकती उज्ज्यालो आकाश अन्धकार भयो ।

“लोकले थाहा पाइसकेको छ । अब त कसरी फर्किनु र खोइ । अनी देश फर्केर के गर्ने । कसरी अनुहार देखाउने ! बरु मरे पनि यतै मर्ने हो”- दुई महिना अघी मात्र हो ति युवकले भनेको ।

एक पटक नारायणी उर्लेर घरसम्म आयो । हामी सबै कटेरामा बस्यौँ रातभरी । बारीमा उम्रिन लागेका हाम्रा बाका सपना पखालेर नारायणी ओरालो लाग्यो । मलाई बाका सपनाले सधैंभरी कोपरिरह्यो । काठ्माडौंमा पनि फुल्न सकेनन् । मलाई थाहा छ, हामी धेरैले किन फुलाउन सक्दैनौं हाम्रा सपना । तै पनि म हारें । त्यो धुलो, गिरिजा प्रसाद कोइरालाको कुटील राजनीति- हामीहरु कसरी उम्रिन सक्थ्यौं । आखिर यो पुरै संसार उस्तै हो । देश नछोडिकन संसार बुझिन्न, जब संसार बुझिन्छ देश धेरै टाढा पुगिसकेको हुन्छ । दुई दशक पछी म टाढा पुगेको देशलाई हेरिरहेको छु । नाइटक्लवको बाहिर पट्टी आफ्नो हुर्किएको छोरोलाई पर्खीइरहेको उमेर ढल्किंदै गरेको बाउलाई हेरिरहेको छु । आफ्नी छोरीको विहे गर्न चर्च जाँदै गरेकी आमालाई हेरिरहेको छु । देश साँच्चै नै टाढा पुगिसकेछ ।

म फ्र्यांकफोर्ट शहरमा उत्रिएको ठ्याक्कै दुई दशक पछी त्यही विमानस्थलमा करिव पाँच दर्जन नेपाली अलपत्र परेको समाचार आयो । केही सँग मेरो संपर्क पनि भयो । घुमाउरो बाटोबाट अमेरिका जान खोजिरहेका रहेछन । काठमाडौं-दुबइ, दुबइ-मस्को, मस्को-फ्र्यांकफोर्ट, फ्र्यांकफोर्ट-मेक्सिको सिटी । त्यसपछी पैदल अथवा बस चढेर अमेरिका पस्न हिँडेका तिनिहरु त्यहीँ अड्केछन् । जापानको नक्कली भिसामा मेक्सिको हिंडेका । एक जनालाई मैले भनें- “पैसा फसेको छैन भने भो नजानुस्, फर्किनुस आफ्नै देशमा । ज्यानलाई किन जोखिममा पार्नुहुन्छ !”

“लोकले थाहा पाइसकेको छ । अब त कसरी फर्किनु र खोइ । अनी देश फर्केर के गर्ने । कसरी अनुहार देखाउने ! बरु मरे पनि यतै मर्ने हो”- दुई महिना अघी मात्र हो ति युवकले भनेको । अहिले प्राय: सबैको अवस्था अज्ञात छ । के विदेशबाट फर्किनेहरुलाई देशले मायाँ गर्दैन र ?

म उदेक लाग्दोगरी हाम्रो राजाधानीको आँखा पुरिने धुलोलाई सम्झिरहेको छु । हाम्रो बारीमा उम्रिएका सबै बतिला सोहोरेर लैजाने नारायणीलाई हेरिरहेको छु । तैपनि हामीले त्यो धुलो, उर्लिंदो नारायणीको भेल सबैलाई मायाँ गरेका छौं । हामीलाई देशले किन मायाँ गर्दैन । मरेपछी देश फर्किने सपनाहरु भयानक हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक