शनिबार, मंसिर १८, २०७८

जनावरमा बाघ, खानामा सुसी : युरोपभरि जापानी खाना बनाउँदै नेपाली

नेपालप्लस संवाददाता २०७८ कार्तिक २३ गते १:०१

नवलपरासीका शिव रिजाल ईटालीको होटेल भिक्टोरिया प्यालेस कातोलिकामा सुशी सेफको काम गर्छन् । स्विजरल्याण्डको लुजेर्नस्थित बिजनेस एण्ड होटेल म्यानेजमेन्ट विश्व बिध्यालयबाट पाकशिक्षामा स्नातक र पछि स्विजरल्याण्डकै जेनेभास्थित वर्ल्ड युरोप युनिभर्सिटी बाट बिजनेश एडमिन्स्ट्रेसनमा स्नातकोत्तर गरेका उनको काम उच्च स्तरिय ब्यापारिक भ्रमण र सम्मेलनमा आउने ग्राहकलाई जापानी खाना सुसीको प्रवन्ध मिलाउनु हो । बाँकी समय सुसी कसरि बनाउने भनेर सिकारु कुकहरुलाई प्रशिक्षण दिनु हो ।

स्पेनको बार्सिलोनामा अर्का नेपाली बिजय शर्मा दर्पणपनि सुसीकै सेफ छन् । उनको कामपनि सुसीका नयाँ नयाँ मोडेल निकाल्नु हो । सुसी बनाएर बेच्नु हो । यस अघि उनलेपनि जेनेभाकै विश्व प्रसिद्द सुसी चेन सुसी सपमा यो पेशा सिकेका थिए । दर्पणसँगै उनको जापानी रेस्टुरेन्टमा अन्य छ जना नेपालीपनि सुसीनै बनाउँछन् ।

स्पेनमा लगभग २०० जना नेपालीले सुसी बनाउने काम गरिरहेको बिजय शर्मा दर्पण बताउँछन् । भन्छन् “स्पेनमा ७०, ८० जना नेपालीले त सुसी बनाउने एउटै खाध्य कम्पनीमा काम गर्छन् । सुसी बनाउनेहरुको माग दिनदिनै बढ्दो छ ।”

नेपालमा हुँदा सुसीको नामै नसुनेका र जापानी खाना कस्तो हुन्छ नदेखेका नेपालीपनि युरोपमा आएर सुसी रेस्टुरेन्टका सन्चालक र कुक बनेका छन् । सुसीका नेपाली सेफ र रेस्टुरेन्ट सन्चालक अहिले युरोपका बिभिन्न मुलुकमा छन् ।

पोर्चुगलमापनि नेपालीहरुले सुसी बनाउने, सुसीकै रेस्टुरेन्ट सन्चालन गरिरहेका छन् । दिपक कुँवरले पोर्चुगलको पर्यटकिय क्षेत्रमा दुई वटा सुसी रेस्टुरेन्ट चलाइरहेका छन् ।

युरोपमा सबैभन्दा बढी सुसीको आकर्षण भने पछिल्लो समयमा बेल्जियममा बढीरहेको छ । नेपाली ब्यवशायी संघ बेल्जियमका महासचिव मदन दवाडीको भनाईमा बेल्जियममा करिब २०० वटा सुसी रेस्तुरेन्ट नेपालीले चलाएका छन् । कोरोना महामारीकै बेला करिब १३० वटा सुसी रेस्टुरेन्ट त नेपालीलेनै खोले ।

मदन दवाडी भन्छन् “कोरोनाको महामारीका बेला नेपालीले बेल्जियमका गाउँ गाउँमा सुसी पुर्‍याए, कामदारपनि साहु बने । यहाँ सुसीको लोकप्रियता बढाउनुमा नेपालीको ठूलो हात छ ।”

सुसीनै किन ?

शिव रिजालको भनाईमा जापानमा यहि खाना खाएर जापानीहरुको आयु लामो भएको हो भन्ने स्पष्ठ भएपछि यो खाना स्वस्थकर हुन्छ भन्ने विश्वभरि फैलियो । त्यसपछि सुसीको आकर्षण बढ्दै गएको हो ।

यस्सो कतै उभिएर खान मिल्ने, रेस्टुरेन्ट होस् वा बारमापनि तयार पार्न सकिने, सानो ठाउँमै बनाउन सकिने, बोक्न हल्का, झोल धेरै नहुनाले नचुहिने, स्न्याक्सको रुपमापनि खान मिल्ने, झोलमा राखेरपनि खान स्वादिस्ठ, मिठो, स्वस्थ र बोक्नपनि सजिलो सुसी प्रसिद्द हुनुका थप कारण हुन् । सुसी एकै ब्यक्तिले मात्रै बनाउँदापनि निक्कै ब्यापार गर्न सक्छ । सानै लगानीमापनि राम्रै ब्यापार हुनेगरि चलाउन सकिन्छ ।

आधुनिक युग सुहाउँदोगरि जापानी सुसीलाई फास्टफूडमा लगिदिएकालेपनि सुसी प्रसिद्द भएको भनाई धेरैको छ ।

सुसी मन पराउनुको अर्को कारण जापानी, चिनिया र अझ पस्चिमाहरुले मुखले भन्दा पहिले आँखाले खाने भएकालेपनि हो । सुन्दर खाना मिठो लाग्न पहिले आँखाले खानुपर्छ । अर्थात् आँखालाई मन पर्‍यो, स्वादिष्ठ लाग्यो, खाउँखाउँ लाग्यो भने बल्ल मुखले रुचाउँछ भन्ने चलन पस्चिमाहरुमा छ ।

सुसी बिभिन्न रङ, बिभिन्न आकारका फूलका गुच्छा जस्ता, कुनै प्रसिद्द कलाकारले बनाएका चित्रकला जस्ता हुन्छन् । हेर्दै खाउँ खाउँ लाग्ने देखिन्छ ।

“पाक शिक्षा भनेकै कला हो । झन सुसी त अझ बढी कला हो । यसमा हरियो, रातो, पहेंलो, फुस्रो, घिउ रङ हुन्छ । हरियो, रातो खुर्सानी, सालमोन वा दोराद माछा, धनिया, काँक्रो, चिज, कालो र सेतो तिलले बिभिन्न रङ दिन्छ । हेर्दै खाउँ खाउँ लाग्ने देखिन्छ” शिव रिजाल भन्छन् “यो फ्युजन सुसी धेरैजसो युवा पिंढीले बढी रुचाउँछन् भने परम्परागत सुसी बुढापाकाको रोजाईमा बढी पर्छ ” ।

पहिले जापानमा खेतवारीमा काम गर्न जाँदा खेतैमा माछा मार्ने चलन थियो । घरबाट अलिकति भात लिएर गयो, त्यहि माछा र भात डल्ला पारेर खाने चलन बस्यो । हुँदाहुँदा यो खाना बिस्तार हुँदै गएको हो ।

आठौं शताब्दीतिरबाट दक्षिण एशियामा शुरु भएको सुसी रुचाईनुका कारणपनि विशेष छन् । भातमा कार्बोहाईडेड, थोरै अमिलो, गुलियो अनेक स्वादमा ढालेर अमेरिकीहरुले सुसीको फ्युजन गरिदिए । त्यसपछि सुसी जुनसुकै स्वाद मन पराउनेलाईपनि बनाउन थालियो । सुसीका बिभिन प्रकार मध्ये गोरु, खसी, कुखुराको मासु रार वा शाकाहारीकालागिपनि बनाउन थालियो । घ्युफल (आभोकाडो), काँक्रो, अनार, ओ मेगा तिन, माछा, तेल, धनिया, आँप, पुदिना आदि अनेक फलफुल राखेरपनि सुसी बनाइन्छ । सुसी बनाउँदा काँचो माछा, काँचै मासु वा पाकेको, तारेको, भुटेको जुन सुकै स्वादमापनि ढाल्न सकिन्छ । आभोकाडोले क्यान्सर रोक्न सहयोग गर्छ भन्ने विश्वाशलेपनि सबैभन्दा बढि आभोकाडो राखेको सुसी खाने गर्छन् ।

‘सुसी बनाउँदा ठिक्कको वातावरणमा बनाउन पाइन्छ । ठूला ठूला चुलोमा आगोको रापमा बस्न पर्दैन । शरिर स्वस्थ हुने, धेरै नथाकिने भएकालेपनि सुसी बनाउने इलममा नेपालीको आकर्षण बढेको हो’ शिव रिजाल भन्छन् ।

दिपक कुँवरको भनाईमा सुसीको प्रचलन जापानमा इदो कालमा शुरु भएको हो । अहिले सुसीमा भेनेगर राखेर स्वाद नबिग्रिने, लामो समय सम्म ताजा राख्ने र थोरै अमिलो अमिलो स्वाद पारिन्छ । तर त्यो अमिलो स्वाद बनाउन पहिले जापानीहरुले ‘ल्याक्टो फर्मेसन’ गर्थे ।

अहिले जतिपनि सुसी बिश्वमा प्रचलित छ त्यो प्राय फ्युजन गरिएको सुसी हो । यसलाई फ्युजन गर्ने काम अमेरिकीहरुले गरेका हुन् । “परम्परागत सुसीलाई फ्युजन गरेपछि सुसी विश्वमै स्थापित भयो” दिपक कुँवर भन्छन् ।

यो खानाको परम्परागत नाम सुसी भएपनि हाल यसलाई नारेसुसी भनेरपनि चिनिन्छ ।

त्यसो त सुसीको उत्पत्ती चीनबाट भएको र पछि जापानीहरुले आफ्नो देशमा स्थापित गराएको भन्ने भनाईपनि छ ।

ईदो कालमा क्रिषकहरुले खेतमा काम गर्दा गर्दै टप्प टप्प टिपेर फोहोर नलाग्ने गरि साना मसिना एक एक गाँस हुने डल्ला बनाएका थिए । त्यसलाई खेतबारीका साना छेस्काले क्वाप्क्वाप्प घोचेर खान्थे । पछि १९ औं शताब्दीमा निगिरी सुसी भन्ने बनाए । सन् १९२३ मा जापानमा भूकम्प गएको बेला खाने कुरो भएन । कुनै ब्यक्तिले मोबाईल सुसी बनाएर सडकमा बेच्न लगे । उसले भातको डल्ला हिमालका चुचुरा जस्तो बनाएर त्यसमाथि माछाका टुक्रा टक्क टक्क राखेको थियो । त्यो सुसी खाएपछि उक्त ब्यक्तिसँगै सुसीपनि प्रसिद्द भएको भनाईपनि केहिको छ ।

तर यो खानाको अर्को रोचक पक्ष के छ भने सुसी बनाउने सामाग्रि एकै देशबाट मात्रै आउँदैन । यसमा प्रयोग गरिने सालमन माछा युरोपका ठण्डी मुलुक स्विडेन, नर्वेबाट वा अमेरिकाको खासगरि अलास्काबाट आउँछ । आभोकाडो दक्षिण अमेरिकी मुलुक कोस्टारिका, ब्राजिलतिरबाट ल्याइन्छ । यसका केहि सामान चीन र केहि जापानबाट आउँछन् ।

‘बिभिन्न देशको खानेकुरा खान पाइने भएकोलेपनि मानिसहरुको रुची बढेको हुनसक्छ’ दिपक कुँवरको भनाई छ ।

महिलालाई बन्देज

जापानमा महिलालाई भने सुसी बनाउन दिइँँदैनथियो । किन ? यसको पाटो रोचक छ । एउटा कारण त महिलाहरुले अत्तरको प्रयोग गर्ने भएकालेपनि हो । मुख्य त, महिलाका हात पुरुषका भन्दा ताता हुनाले हो । सुसी चिसो खानामा पर्ने हुनाले महिलाका न्याना हातले बनाउँदा माछा बिग्रिन्छ भनेरपनि महिलालाई सुसी बनाउन नदिएको भनाई सेफहरुको छ । चिसो खाना भएकाले सुसी बनाउनेहरुले हरेक केहि मिनेटको अन्तरालमा अहिलेपनि चिसो पानीले हात भिजाउने गर्छन् ।

अन्य कारणहरुमा महिलाका हात साना हुन्छन् । माछा काट्दा चिप्लिएर हात काट्ने डर उत्तिकै हुन्छ । घरपरिवार धान्ने, केटाकेटी हेर्ने, खान पकाउनुपर्ने हुनालेपनि महिलालाई सुसी बनाउन नदिएको हुनसक्ने बिजय शर्मा दर्पण सुनाउँछन् । “माछा चिप्लो हुन्छ । धारिला चक्कुले माछा काट्दा हात काट्यो भने घरमा काम गर्न र वालवच्चा हेर्न गाह्रो होला भनेरपनि हुनुपर्छ” दर्पण भन्छन् ।

नेपाली नाममा सुसी

सुसीको फ्युजन गरिएसँगै नेपालीलेपनि नेपाली नामका अनेक थरि फ्युजन सुसी बनाउन थालेका छन् । ति प्रसिद्द हुँदै गएकापनि छन् । लिटल बुद्द, पुमरी पोके, पुमरी रोल नाममा सुसी बनाएका छन् । यसरि नेपाली नाममा सुसी बनाउने काम स्विजरल्याण्डको जेनेभामा शिव रिजाल, दिपक कुँवर र उनका साथीहरुले शुरु गरेका थिए ।

‘फ्युजन सुसी भनेर विश्वले बनाउन लागेपछि हामीलेपनि आफैंले स्रिजना गरेका सुसीलाई किन नेपाली नाम नदिने भनेर नेपाली नाममा बनाउन थाल्यौं । हामीले बनाएका पुमरी, लिटल बुद्द जस्ता सुसी प्रसिद्द भएका छन्” शिव रिजाल भन्छन् ।

सुसी प्रसिद्द बनाउने जिरो

आधुनिक युगको वा हालको फ्युजन सुसीलाई विश्वभरि प्रसिद्द बनाउने काम जापानी सेफ जिरो ओनोले गरेका हुन् । हाल उनी ९६ वर्षका भए र अझैपनि उनको सुसीको फ्युजन ब्राण्ड ‘जिरो ड्रिम्स अफ सुसी’ प्रसिद्द छ । परम्परागत सुसीलाई ‘ग्यास्ट्रोनोमी’ मा लैजाने काम जिरोले गरेका हुन् । उनका दुई छोरानै सुसीका सेफ छन् । उनको सुसी चाख्न अमेरिकी पूर्व राष्ट्रपती ओबाक बारामासमेत पुगेका छन् । उनका बारेमा फिल्म, डकुमेन्टी बनेका छन् । पुस्तक लेखिएका छन् । बिश्व प्रसिद्द अखबार, पत्रीकाहरुमा सयौं लेख रचना प्रकाशित छन् । उनलाई सुसीका भगवान, पिता (गड फादर) समेत भनिन्छ ।

फ्युजन सुसीका गड फादर जिरो । फोटो-जापान वेभ म्यागाजिन

फ्युजन सुसी परिचित भएको २५, ३० वर्ष मात्रै भयो होला । तर यो विश्वभरि प्रसिद्द भैसकेको छ । परम्परागत सुसी मात्रै चल्ने जापानमापनि हाल फ्युजन सुसी लोकप्रिय बनिसकेको छ । शिव रिजाल भन्छन् “जनावरमा बाघ भनेजस्तै खानामा बाघ सुसी भैसक्यो । फ्युजन सुसी चलेको २५, ३० वर्ष भयो होला विश्वनै खाइसक्यो । ”

यसैसित संवन्धित यो रिपोर्टपनि

कोरोना महामारी, बेल्जियमका नेपालीलाई स्वर्णकाल !

तपाइँको प्रतिक्रिया

फेसबुक