शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए महाधिवेशनको मिति तोक्न परराष्ट्र मन्त्रालयमा बिहिवार विशेष बैठक बस्दै

नेपालप्लस संवाददाता२०७८ कार्तिक २४ गते १९:५७

गैर आवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन के कसरि अगाडि बढाउने भन्ने विषयमा बिहिवार परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री डा. नारायण खड्कासहित एनआरएनएका पूर्व अध्यक्षहरु र वर्तमान अध्यक्ष कुमार पन्तसहितको विशेष बैठक बस्ने भएको छ ।

बैठकमा अध्यक्ष कुमार पन्तसहित पूर्व अध्यक्षहरु डा. उपेन्द्र महतो, जीवा लामिछाने, सचिवका हैशियतले गौरीराज जोशी र संभवत : भवन भट्टसमेत उपस्थित हुने छन् । भवन भट्ट ईमेरेट्समा भएकाले विहान समयमै आइपुगे बैठकमा सरिक हुने छन् ।

तर शेष घले भने यस अघिको बैठकमापनि उपस्थित नभएको र सम्पर्क गर्दा कुनै प्रतिक्रिया नजनाएकाले उपस्थित हुने संभावना न्युन छ । अर्का पूर्व अध्यक्ष देवमान हिराचन भने जापानमा भएकाले उपस्थित हुने छैनन् ।

एनआरएनएको रोकिएको महाधिवेशनलाई अब टुंगोमा पुर्‍याउन मिति तय गर्ने गरि वार्ता केन्द्रित हुने छ ।

यस अघिको वार्तामा परराष्ट्र मन्त्रालयले विध्यार्थी र छोटो अवधिकालागि काम गर्न गएकाहरुलाई समेत सदस्यता दिन नहुने विषयमा परराष्ट्र मन्त्री डा. नारायण खड्काले प्रश्न उठाएका थिए । त्यसमा अध्यक्ष पन्तले एनआरएनएको विधान बिपरित त्यस्ता ब्यक्तिहरु सदस्यतामा परेको भए सच्याउन तयार रहेको र के कति त्यस्ता ब्यक्तिहरु परेका छन् त्यसको छानबिन दुबै पक्ष सँगै बसेर गर्नसमेत सकारात्मक रहेको जवाफ परराष्ट्र मन्त्री खड्कालाई दिएको स्रोतले बतायो ।

स्रोतका अनुसार भोली परराष्ट्र मन्त्रालयमा मन्त्री डा. नारायण खड्कासित महाधिवेशन मोडेल, निर्वाचनको मिति लगायत, प्रतिनिधि छनौटका विषयमा प्रस्ताव सहित वार्ता हुने छ ।

यस अघि कुमार पन्तको आग्रहमा कोषाध्यक्ष महेश श्रेष्ठ, डिबी क्षेत्री, यादव पण्डित र मन केसीको अनौपचारिक समुहले तयार पारेको सुझावमा छलफल गरि त्यसलाई टुंगोमा पुर्‍याउने र महाधिवेशनको मिति तोक्ने कोसिस हुने छ ।

परराष्ट्र मन्त्रालयमा हुने वार्ता पछि विहिवारनै पूर्व अध्यक्ष र कुमार पन्त सहितको टोलीले महाधिवेशनका विषयमा छलफल गरि कुनै न कुनै एक साहसिक निर्णय गर्ने संभावनापनि स्रोतले नेपालप्लसलाई औंल्यायो ।

यसैबिच एक अर्को स्रोतका अनुसार प्रतिनिधी छनौट प्रक्रियामा धाँधली गरेको, अनलाईन भोटिङ पद्दतीमा धाँधली गरेको लगायतका विषय छानबिन गर्न मन केसी, यादव पण्डित र महेश श्रेष्ठलाई जिम्मा दिईएको थियो । उक्त टोलीले कम्प्युटर प्रविधीमा दर्ता गरिएका प्रतिनिधीहरुको नाम सत्य छ कि छैन भनेर प्राविधिक टोलीसहित दुई हप्ता लगाएर छानबिन गरेको थियो । टोलीले डाटा प्रोसेसिङ हेर्दा कुनै धाँधली भएको नभेट्टाएको र अब निर्वाचनमा लिएर जानुपर्ने भनाई राखेकोपनि नेपालप्लस स्रोतले उल्लेख गरेको छ ।

‘वार्ता सफल नभए, परराष्ट्रले लम्ब्याउने, रोक्ने आशय प्रकट गरे के हुन्छ त ?’ भन्ने नेपालप्लसको प्रश्नमा स्रोतले भन्यो “डेलिगेट्स डाटा हेर्न दियौं । एक एक जाँच गर्नुभयो प्राविधिक टोलीसहित । विवाद भएका ठाउँमा केहि भए सुधार गर्छौं भनेका छौं । सबै सहि देखिंदापनि महाधिवेशन रोक्ने कोसिस भैरहन्छ भने अब साहसिक निर्णय लिईने छ । महाधिवेशन अब लामो समय रोकिन्न, घोषणा हुन्छ ।”

तपाइँको प्रतिक्रिया