शुक्रबार, वैशाख १४, २०८१

कोरोना खोप नलगाउनेहरुलाई बर्लिनका रेस्टुरेन्ट, बार र जिम प्रवेश निषेध

नेपालप्लस संवाददाता / जर्मनी२०७८ कार्तिक २५ गते १२:२७

जर्मनीको राजधानी बर्लिनले सोमबारदेखि खोप नभएका मानिसहरूलाई इनडोर डाइनिंग (होटेल, रेस्टुरेन्ट, बार, जिम र हजाम) हरूमा प्रवेश गर्न अस्वीकार गर्ने भएको छ । कोरोना भाईरस संक्रमण अत्यधिक बढेपछि त्यसलाई रोक्नकालागि बर्लिन शहरले समाजिक सुरक्षाका पेचहरु कस्न लागेको हो ।

प्रान्तिय शहरहरुमा नयाँ नियमहरू लागू गरिएको छ । त्यस अन्तर्गत पूर्ण रूपमा खोप लगाएका व्यक्तिहरू र कोरोना लागेर निको भएको प्रमाण देखाउन सक्नेहरूले मनोरञ्जन सुविधाहरू लिनसक्ने छन् । त्यसैगरि प्रान्तले चयन गरेका अन्य सूचिक्रित क्षेत्र, स्थलहरुमा प्रवेश गर्न सक्छन् । जर्मनीमा त्यसलाई ‘२जि’ प्रणाली भनेर चिनिन्छ ।

यो कदम कोरोना भाइरसबाट बढ्दो संख्या र अस्पतालमा गम्भिर हेरचाह कक्षहरूमा बढ्दो दबाबको प्रतिक्रिया स्वरुप आएको बर्लिनको उपल्लो सिनेटले बुधबार साँझ एक प्रेस विज्ञप्ति मार्फत् सार्वजनिक गरेको छ ।

फुटबल खेलहरू, २,००० भन्दा बढी आगन्तुकहरू भएका थिएटरहरू, सङ्ग्रहालयहरू र खुला आकाशमुनि गरिने बाहिरी कार्यक्रमहरू सबै खोप नगरिएका वयस्कहरूका लागि सीमित गरिने छ ।

नाबालिगहरू र स्वास्थ्यका कारणले खोप लगाउन नपाउने व्यक्तिहरूलाई नयाँ प्रतिबन्धहरूले प्रभावित पार्ने छैन । तिनीहरूका लागि कोरोनाको नकारात्मक परीक्षण पर्याप्त हुनेछ ।

आफ्ना कर्मचारीहरूलाई घरबाट बढी काम लगाउन र कार्यालयमै उपस्थित भएर गरिने कामलाई ५० प्रतिशतमा सीमित गर्न पनि प्रोत्साहित गरिएको छ ।

रोबर्ट कोच इन्स्टिच्युटका अनुसार बुधबार लगभग ४० हजार नयाँ ब्यक्तिमा कोरोना भाईरस संक्रमित भएको रेकर्ड गरिएको छ । यो हालसम्मकै उच्च हो ।

यो वृद्धि जर्मनीमा कम खोप लगाउनुलाई दोषी ठानिएको छ । जर्मनीमा हालसम्म कुल जनसंख्याको करिब ६७ प्रतिशतले मात्रै पूर्ण खोप लगाएका छन् ।

जर्मनीका केही अस्पतालहरूले कोरोना भाइरस बिरामीहरूको द्रुत रूपमा बढ्दो संख्याका कारण अत्यावस्यक बाहेक अन्य शल्यक्रियाहरू स्थगित गर्न थालेका छन् ।

चान्सलर एन्जेला मर्केलले संघीय सरकार र क्षेत्रीय नेताहरू बीच कोरोना सक्रमणबारे समन्वयात्मक उपायहरूमा सहमत हुन तत्काल बैठक आह्वान गरेकि छन् ।

” हामीसँग कामचलाउ सरकार छ वा हामी गठबन्धन वार्ता गरिरहेका छौं भनेर भाइरसले वास्ता गर्दैन” उनले एक पत्रकार सम्मेलनमा भनिन् “जर्मनीको हालको खोप दर भाइरसको द्रुत फैलावट रोक्नको लागि पर्याप्त छैन” उनले चेतावनी दिइन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक