बिहीबार, वैशाख १३, २०८१

एनआरएनए विवाद सुल्झाउन यि हुन् परराष्ट्र मन्त्रीलाई सहमतिका लागि बुझाएका बुँदा

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ कार्तिक २६ गते १०:३१

विभिन्न देशहरुमा देखिएको प्रतिनिधि र सदस्य विवादका कारण रोकिएको गैर आवासीय नेपाली संघको अधिवेशन र निर्वाचन प्रकृया अगाडि बढाउनका लागि काठमाडौंमा उपलब्ध पूर्व अध्यक्ष सहित वर्तमान अध्यक्ष कुमार पन्तको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कालाई दुबै पक्षलाई मान्य हुने गरी तयार गरिएको डेढ पेज लामो सहमतिको खाका बुझाएको छ ।

टोलीले प्रतिनिधि छनोटमा विवाद देखिएका विभिन्न नौ देशमा रहेका असमझदारीहरुलाई दुबै पक्षले मान्ने गरी सहमती पत्र बुझाएको हो । यसका लागि अध्यक्ष कुमार पन्तले तिन साता अघी गठन गरेको एउटा अनौपचारिक कार्यदलले काम गरेको थियो ।

वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठ सम्मिलित सो कार्यदलमा उपाध्यक्ष मन केसी, प्रवक्ता डीबी क्षेत्री र यादव पण्डित थिए । उनीहरुले तीन साता लगाएर समस्या र समाधानका उपाय किटान गरी गत मंगलवार अध्यक्ष पन्तलाई हस्तान्तरण गरेका थिए । जसअन्तर्गत न्युजिल्याण्डको राष्ट्रिय परिषदमा ९ सय हाराहारिमा सदस्य दावी गरिएकोमा लगभग चार सय सदस्य संख्या सदर गरिएको छ । रसियामा ९ सय भन्दा बढी सदस्य संख्या दावी गरिएकोमा ८ सय ९९ मात्रा सदर भएको छ । यि दुबै देशमा बद्री केसी पक्षले ति सदस्यहरु दावी गरेको थियो ।

त्यस्तै बेलायत, अमेरिका र अष्ट्रेलियाले निर्वाचन बिना प्रतिनिधि नामावली पठाएको विषयमा भविष्यमा नजिर नहुने गरी सदर गरिने परराष्ट्र मन्त्री खड्कालाई बुझाईएको सहमती पत्रमा उल्लेख गरिएको छ । गैर आवासीय नेपाली श्रोतका अनुसार यि तीनवटै देशबाट संघमा योगदान पुर्‍याएका तर प्रतिनिधि नबनाइएका देशबाट करिव २० जना नयाँ प्रतिनिधि थपिने छन् ।

त्यस्तै विवादमा तानिएका जर्मनी, पोर्तुगल, साइप्रस लगायतका देशहरुमा पनि त्यहाँको राष्ट्रिय परिषदले सिफारिस गरेका प्रतिनिधिहरुको सुचिलाई सदर गर्दै लगभग दुई दर्जन प्रतिनिधि हटाउने र त्यसमा नयाँँ प्रतिनिधिहरु थपिने छन् । यि देशहरुमा कुल आचार्य पक्षको बहुमत रहेको बताइन्छ ।

जापानको विवादका विषयमा भने यसअघिको कार्यदलले छानविन गरेको रिपोर्टको अध्ययन पछी आइसीसीले छुट्टै कार्यदल बनाउने र त्यो कार्यदलको आधारमा यदी विद्यार्थीहरु मतदान प्रकृयामा सामेल भएको देखिएमा पुन: मतदान गरिने छ । सो कार्यदलले जापान मात्र नभएर अन्य देशहरुको पनि अध्ययन गर्ने छ । “यदि विद्यार्थीहरु रहेको पाइएमा ति देशमा समेत पुन: निर्वाचन गरिने छ” एनआरएन श्रोतले भन्यो ।

श्रोतका अनुसार बिहीवार भएको परराष्ट्रमन्त्री सँगको छलफलमा नोभेम्बर ३० देखी नै निर्वाचन प्रकृया शुरु गर्ने सहमती भएको छ । एक जना पूर्व अध्यक्ष भन्छन “केही साथीहरुले असहमती जनाएका र हालसम्म परराष्ट्र मन्त्रालयले उठाएका सरोकार र समाधानका सबै उपायहरु हामीले मन्त्री ज्युलाई बुझाएका छौं । अब छिट्टै नै सबै कुरा सामान्य रुपमा शुरु हुन्छ ।”

परराष्ट्रमन्त्री खड्काले बिहिवार पाएको पत्र आफूले अध्ययन गर्ने र सरोकार वाला समुह तथा मन्त्रालयका अधिकारीहरुसँग सल्लाह गर्ने । तर संघले आफ्नो कार्यक्रम अगाडि बढाउन भनेको वार्तामा सहभागि एक सदस्यले बताए ।

संघका एकजना पदाधिकारी भन्छन्- “परराष्ट्रले उठाएका सबै बुँदाहरुलाई हामीले सम्बोधन गरेका छौं । अब निर्वाचन प्रकृया शुरु हुन्छ ।”

तर अध्यक्षका प्रत्यासी कुल आचार्यले भने सहमतीका बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने- “के र कस्तो सहमती भयो भन्ने बारेमा मलाई कुनै जानकारी छैन । यस बारेमा मसँग कसैले केही कुरा गरेको छैन ।”

एनआरएनए केन्द्रले तयार पारेको मतदाता सूचीको सत्यतथ्य पुरै तीन हप्ता लगाएर कुल आचार्यका तर्फबाट मन केसी, यादव पण्डित र केन्द्रिय समितिका तर्फबाट मध्यमार्गी भूमिका खेलेका कोषाध्यक्ष महेश श्रेष्ठले कम्प्युटर प्रणालीको सत्यतथ्य जाँच गरेका थिए । दुबै पक्षका प्रतिनिधीले जाँच गरेकाले अब यो मतदाता सूचीमापनि विवाद नहुने बताइएको छ । तथापी कुल आचार्य पक्षबाट परराष्ट्र मन्त्रालयमा सत्र वटा उजुरी परेका छन । उनिहरुको आफ्ना सबै उजुरिमा सम्बोधन हुनुपर्ने माग छ । तर बिहिवार परराष्ट्र सँगको भेटघाट पछी आइसीसीले यसै हप्ता काठमाडौंमा पत्रकार सम्मेलन गरेर निर्वाचनको मिती घोषणा गर्ने तयारी गरेको छ ।

तपाइँको प्रतिक्रिया