शनिबार, मंसिर १८, २०७८

सुख पाउन हिँडेको नेपालीलाई विदेशमापनि दुखै

नेपालप्लस संवाददाता२०७८ कार्तिक २६ गते १८:४२

वसाई सर्नकालागि सुटकेश कसेर बसेका रायन सुवेदी

एक दशक भन्दा बढी समय अष्ट्रियामा बिताएका रायन सुबेदी झिटिझाम्टा कसेर नर्वे हिंडे । त्यति लामो समय बिताएको देश । सबै त्यागेर हिंड्दा मन अमिलिएको थियो । तर आफ्नो जन्मभूमी छोडेर धनकै लोभमा हानिएका नेपालीलाई धन कमाउने लोभ, सोख र रहरले तान्नेनै भयो । त्यहि धनको लहरोले उनलाईपनि नर्वे पुर्‍यायो ।

‘अष्ट्रियामा २००० युरो मासिक कमाउनुहुन्छ । नर्वे आए मासिक ५००० युरो च्याप्प च्याप्प’ भनेर आफन्तले दिनदिनै सुनाउन थालेपछि उनको मन भड्किन थाल्यो । त्यसपछि यता हानिए रायन सुबेदी । भन्छन् “धनको पछाडी लाग्न मन लाग्दो रैछ ।”

नर्वेको आकर्षण उनमा बिछट्टैको थियो । ‘रातभरि घाम लाग्ने देश हो नर्वे’ भन्ने सुन्दै आएका थिए उनले । ‘अरे यार रातभरि घाम लाग्दा त्यो दिनको उज्यालो कहाँ जान्छ ? त्यो रातभरि घाम लागेको लाग्यै गर्दा सूर्य सर्दैन ? एकातिर रातभरि घाम लाग्दा अर्कोतिर के रातको रात हुन्छ ? दिनभरि घाम लागेको लाग्यै हुँदा मान्छे कतिखेर कसरि सुत्छन् ?’ यस्ता धेरै प्रश्न उनका मनमा उब्जिएका थिए । र त उनलाई नर्वेको आकर्षण थियो ।

युरोपका १६, १७ देश घुम्दापनि नर्वे पुग्न नपाएको धङधङी झनै बाँकि थियो । कागजी प्रक्रिया ट्याक्क मिलेर पत्नी अष्ट्रिया आईन् । पत्नीलाई मिल्ने समाज नभेटिएको, अष्ट्रियामा मन नखुलेको अर्को गुनासो थपियो । अष्ट्रियामा संगतको अभावले ‘होमसिक’ नै बने । यहि मेसोमा मावली दाईले हौस्याए ‘बहिनीलाई संगत हुन्छ । ३००० युरो खर्च गरेपनि मासिक २००० युरो जोगिन्छ, यतै आओ ।’

“नेपालमा दुख पाइने भयो भनेर सुख पाउन यता हिँडियो । यता आएपछि झन दुख । नेपालीको जिन्दगी दुखैमा बित्ने भयो”

अष्ट्रियाको नेपाली समाजबाट टाढा हुन मन लागिरहेको । पत्नीकालागि संगत नमिलेको । उता कमाईपनि दह्रो हुने । हातका पाँच औंला गन्दा सकारात्मकनै सकारात्मक देखिए । ‘आ जाम तनी’ भन्दै बाटो लागे ।

“अष्ट्रियामा ‘फुलटाईम’ काम गरेजति पैसा नर्वेमा ‘पार्ट टाईम’ गर्दानै कमिने रैछ । संगतपनि यता राम्रो लाग्यो । जे त पर्ला भनेर हामी नर्वे सर्‍यौं’ रायन सुवेदी सुनाउँछन् ।

सुबेदी नेपालीहरुका एक प्रतिनिधी पात्र मात्रै हुन् । युरोप, अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा आदि मुलुकमा यता र उति बसाई सरिरहने नेपाली सयौं छन् ।

स्विजरल्याण्डलाई स्वर्ग जस्तै ठान्ने नेपालीको संख्या निकै छ । तर त्यहिंबाट बसाई सरेर अन्यत्र पुग्ने नेपालीपनि निकै छन् । स्विजरल्याण्डबाट ईटहरीका दिपक खतिवडा पोर्चुगल बसाई सरेका छन् । त्यसैगरि अर्का नेपाली दिपक कुँवरपनि स्विजरल्याण्डबाट बसाई सरेर पोर्चुगलमा रेस्टुरेन्ट ब्यवशायी बनिरहेका छन् ।

दिपक खतिवडा पोर्चुगलको जिन्दगी धेरै सजिलो भएको बताउँछन् । काम गर्नुपर्ने सरकारले तोकेको समय पनि कम हुनाले पोर्चुगलमा काम गर्दा तनाब हुन्न । सुविस्ताले काम गर्न पाइन्छ ।

“नेपालीले पासपोर्ट भएपछि गोरेको जत्तिकै अवशर आउँछ भन्ने ठान्छ । कमाउन हिंडेको हुनाले आम्दानी मात्रै हेर्छ । तर आम्दानी र खर्चको अनुपात नहेर्दा अन्तिममा दुख पाउँदो रहेछ”

खतिवडा भन्छन् “स्विजरल्याण्डमा धेरै ब्यस्त भएर तनावमा काम गर्नुपर्छ । यहाँ काम गर्ने घण्टानै कम छ । पोर्चुगलको हावापानी न्यानो छ । खान बस्न सस्तो पर्छ । सिप हुनेले कामपनि राम्रै पाउँछ । पैसा जोगाउन सजिलो छ । पोर्चुगलमा आनन्द छ ।”

तर अचम्म लाग्न सक्छ, कोहि पोर्चुगल गइरहेका छन् । कोहि पोर्चुगलबाट बाहिरिईरहेका छन् । कसैलाई स्विजरल्याण्ड जान मरिहत्ते छ । कोहि वाक्क भएर स्विजरल्याण्ड छोडिरहेको छ ।

ईटालीबाट बेलायत बसाइ सरेका विशाल तामाङ युरोपेली सेन्जेन भिसाका मुलुक भन्दा उता बेलायतमै रमाईरहेका छन् । उनले केहि समय अघि बताएका थिए “बेलायत भनेको बेलायतनै हो । यहाँको शिक्षा विश्वभरि मान्यताप्राप्त छ । अंग्रेजी भाषामा पढेका वालवालिका विश्वभरि सजिलै बिक्छन् ।”

बेलायतमा धेरै नेपालीको बसोबास भएकाले संगतकालागिपनि बेलायत सहज हुने भनाई तामाङको थियो ।

रुसमा ईन्जिनियरिङ सकेर ब्यापारमा जमेका ख्यातिप्राप्त ब्यवशायी जीवा लामिछाने रुसबाट ब्यवशायको सिलसिलामा जर्मनी सरे । एनआरएनएकि उपाध्यक्ष रबीना थापालेपनि जापानमा केहि वर्ष बिताएर अमेरिका बसाई सरिन् । जर्मनीमा दुखजिलो गरेर केहि वर्ष अडिएका एनआरएनएका सल्लाहकार कुल आचार्य जर्मनीमा असहज भएपछि बेलायत सरेका थिए ।

बिदेशबाट हेर्दा युरोप, अमेरिका, जापान र बेलायत, अष्ट्रेलिया गयो । ओहो अब त लाख लाख महिनै पिच्छे कमाउन थाल्छ भन्दै औंला गन्न थाल्छन् परिवारले । तर यता आएपछि धेरै नेपालीलाई सहज हुन्न । यसरि बसाई सराई गर्ने कहानी अधिकांश नेपालीको हो । राम्रो भविष्य, नेपाली समुदायसितको सामिप्यता र गतिलो कमाईको खोजिमा नेपालीहरु बसाई सरिरहन्छन् ।

तर कतिपय नेपालीहरु भने ब्यापार र पढाईको लागिपनि बसाई सर्ने गर्छन् । त्रिभुवन विश्वविध्यालयमै प्रथम भएपछि सरकारी सुविधामा एक वर्ष जापान पढ्न गएका गैर आवासीय नेपाली संघका केन्द्रिय महासचिव डा हेम राज शर्मा पढाईकै सिलसिलामा पाँच पटक बसाई सरे । जापानमा स्नातकोत्तर गरेका उनी ईटालीमा फेरि स्नातकोत्तर गर्न गए । त्यहाँबाट फेरि पिएचडीका लागि जर्मनी आए । जर्मनीमा पिएचडी गरेका उनी फेरि जापान गएर पाँच वर्ष बिताए ।

समय र परिस्थितिले उनलाई फेरि घुमाउँदै ल्यायो । वालवच्चालाई जापानी भाषामा बाटो देखाउन सकिने क्षमता थिएन । काम चलाउ जापानी भाषाले नपुग्ने । फेरि मन बदलेर उनी बेलायत आए । पढाईकै कारणले उनलाई धेरै देशको चक्करमा घुमाईराख्यो ।

भन्छन् “पढाईको अवसर जताजता मिल्यो म उतै उतै लागें । अन्त्यमा परिवारलाई सजिलो, वालवच्चाको पढाईलाई जापानी भाषामा मागनिर्देशन गर्न सकिन्न भन्ने लागेर भाषाकै कारण म बेलायत सरें” ।

रुसमा ईन्जिनियरिङ सकेर ब्यापारमा जमेका ख्यातिप्राप्त ब्यवशायी जीवा लामिछाने रुसबाट ब्यवशायको सिलसिलामा जर्मनी सरे । एनआरएनएकि उपाध्यक्ष रबीना थापालेपनि जापानमा केहि वर्ष बिताएर अमेरिका बसाई सरिन् । जर्मनीमा दुखजिलो गरेर केहि वर्ष अडिएका एनआरएनएका सल्लाहकार कुल आचार्य जर्मनीमा असहज भएपछि बेलायत सरेका थिए । तर त्यहि बेलायतमा टिक्न नसकेर सयौं नेपाली युरोपका अन्य मुलुकतिर बसाई सरेका छन् ।

युरोप आइपुगेपछि जर्मनी, नेदरल्याण्ड, बेलायत, नर्वे, स्विजरल्याण्ड लगायतका देशमा स्थायि बसोबासको कागज बनाउन मुस्किल छ । त्यस्ता नेपाली तुलनात्मक रुपमा सजिलो मानिएका स्पेन, ईटाली र पोर्चुगल पुग्छन् ।

यसरि बसाई सर्नुको अर्को कारण के हो भने नेपालीहरुलाई पहिले भाषाले पर्खालको काम गरिदिन्छ । अड्काएको महसुस हुन्छ । यो कठिन अवस्थामा आफ्नै समुदाय खोज्छन् ।

नेपालीले जुन देश राम्रो भनेर सुनायो त्यहि देश जान्छन् । बसाई सरेको देशमा पुगेपछि छोडेको देशसित तुलना गर्छन् । गएको देशमा घर, मासिक तलब नभई डेरा पाइन्न । वाक्क भएपछि अर्को देश जाँदा सहज हुने ठान्छन् । अर्को ठाउँ गयो त्यहाँपनि मिल्दैन । भाषाले उत्तिकै सताउँछ । नेपालीहरु फेरि कहाँ सस्तो छ भनेर खोज्दै हिंड्छन् । कतिपय चिनजानका नेपालीले त ‘यता राम्रो छ आउनुस्’ भन्दै बोलाउँछन् । अलिअलि भएको पैसापनि खर्च हुन्छ । त्यहाँपनि निराशा हुन्छ । फेरि अर्को ठाउँ जान्छन् ।

नेपालीको अर्को समस्या आफू बसेको मुलुकको पासपोर्ट पाउनुपनि हो । पासपोर्ट बनेपछि आशापनि चुलिन्छ । नेपालीले कमाई, खर्च र जिवनस्तर हेर्दैनन् । “नेपालीले पासपोर्ट भएपछि गोरेको जत्तिकै अवशर आउँछ भन्ने ठान्छ । कमाउन हिंडेको हुनाले आम्दानी मात्रै हेर्छ । तर आम्दानी र खर्चको अनुपात नहेर्दा अन्तिममा दुख पाउँदो रहेछ” बेलायतबाट कागजी चक्करमा पोर्चुगलको लिस्बोन पुगेका सजन न्यौपाने भन्छन् ।

उनको अनुभवले भन्छ- बेलायतमा सामान्य घर भाडा करिब एक हजार पाउण्ड पर्छ, मासिक । मासिक तलब १४ सय पाउण्डजति आउँछ । अंग्रेजी सजिलो, काम जतिपनि पाइन्छ भनेर बेलायत जान्छन् । तर बेलायतको सामान्य कमाईले टिक्नै गाह्रो हुन्छ । ”

“बेलायतमा लण्डन बाहिर बस्यो कामको अवशर कम हुने । लण्डन आसपास बस्यो कमाईले कोठा भाडा तिर्नै नसकिने । लण्डन लण्डन भन्दै गएको सपना त्यसै चकनाचुर हुँदो रैछ” न्यौपानेको आफ्नै भोगाई हो यो ।

यसरि बसाई सरिरहनु नेपालीको नियती र बाध्यता दुबै हो । विध्यार्थी भिसा होस् वा पर्यटक भिसा । तालिमकालागि लिएको अल्पकालिन भिसा होस् वा डन्कि भिसा (एशिया, अफ्रिका हुँदै गधालाईझैं दलालले हिंडाएर युरोप ल्याईदिने) । युरोप आइपुगेपछि जर्मनी, नेदरल्याण्ड, बेलायत, नर्वे, स्विजरल्याण्ड लगायतका देशमा स्थायि बसोबासको कागज बनाउन मुस्किल छ । त्यस्ता नेपाली तुलनात्मक रुपमा सजिलो मानिएका स्पेन, ईटाली र पोर्चुगल पुग्छन् । कागज बनिसकेपछि ति देश कमजोर जस्तो लाग्छ । कुन देश राम्रो हुन्छ भनेर खोज्दै हिँड्छन् । त्यसपछि यता राम्रो होला कि उता राम्रो होला भनेर बसाई सरिरहन्छन् ।

“नेपालमा दुख पाइने भयो भनेर सुख पाउन यता हिँडियो । यता आएपछि झन दुख । नेपालीको जिन्दगी दुखैमा बित्ने भयो” सजन न्यौपानेले एकै स्वासमा सुनाए ।

तपाइँको प्रतिक्रिया

फेसबुक