शनिबार, वैशाख ८, २०८१

युरोपमा कोरोना संक्रमण बढ्दै जाँदा नेदरल्याण्ड्सद्वारा आंशिक लकडाउन घोषणा

नेपालप्लस संवाददाता२०७८ कार्तिक २७ गते १२:५९

Image credit- Dutch Cycling Embassy via twitter

युरोपेली मुलुकमा कोरोना भाईरस तिब्ररुपमा फैलिँदै गएपछि नेदरल्याण्ड्सले आंशिक लकडाउन घोषणा गरेको छ ।

युरोपेली युनियनले युनियनका १० देशमा कोरोनाको संक्रमण तिब्र भएको भन्दै चिन्ता ब्यक्त गरिरहेका बेला नेदरल्याण्ड्सले आंशिक लकडाउनको निर्णय गरेको हो ।

डच प्रधानमन्त्री मार्क रुटेले कोरोना भाइरस संक्रमणको तिब्रतालाई रोक्न रेस्टुरेन्ट, पसल र खेलकुद कार्यक्रमहरूलाई लक्षित गरी कम्तिमा तीन हप्ताको तालाबन्दी घोषणा गरेका हुन् ।

युरोपेली युनियनको रोग अनुगमन एजेन्सीले २७-सदस्यीय ईयु समूहका १० देशहरूमा कोरोना संक्रमणको धेरै उच्चता रहेको भन्दै चिन्ता ब्यक्त गरेको छ । युरोप भरिनै महामारीको अवस्था बिग्रँदै गइरहेको इयुले बताएको छ ।

एजेन्सीको साप्ताहिक जोखिम मूल्याङ्कनमा रोग नियन्त्रणका लागि युरोपेली केन्द्रले बेल्जियम, बुल्गेरिया, क्रोएसिया, चेक गणतन्त्र, इस्टोनिया, ग्रीस, हंगेरी, नेदरल्याण्ड्स, पोल्याण्ड र स्लोभेनियालाई चिन्ताको उच्चतम श्रेणीमा सूचीबद्ध गरेको छ ।

डिसेम्बर २०१९ मा चीनमा देखा परेदेखि कोरोना भाइरसले ५० लाख भन्दा बढी मानिसको ज्यान लिइसकेको छ र विश्वभर आर्थिक विनाश निम्त्याएको छ ।

अहिले विशेषगरी जर्मनी र मध्य तथा पूर्वी युरोपमा महामारीको स्थिति तीव्र रुपमा बिग्रिरहेको छ । खोप नभएका मानिसहरु बढी प्रभावित भएका छन् ।

आफ्नो देशमा आंशिक तालाबन्दीको घोषणा गर्दै नेदरल्याण्ड्सका प्रधानमन्त्री रुट्टेले ‘राष्ट्रको संकटलाई टार्न केही हप्ताको कडा लकडाउन आवस्यक रहेको’ बताएका छन् । “किनभने भाइरस जताततै, देश भर, सबै क्षेत्र र सबै उमेरहरूमा छ” उनले भनेका छन् ।

डच सरकारले सेप्टेम्बर २५ मा कोविड संक्रमणलाई कम गर्न अपनाएका अधिकांश उपायहरू हटाएपछि कोरोना संक्रमण बढिरहेको छ । बिहीवार र शुक्रबार १६,००० भन्दा बढी ब्यक्तिमा संक्रमण भएको छ ।

बार, रेस्टुरेन्ट, क्याफे र सुपरमार्केटहरू शनिबारदेखि अर्को तीन हप्ताको लागि बेलुका ८:०० बजे बन्द गर्नुपर्ने नियम आजै घोषणा गरिएको छ । गैर अत्यावश्यक सामानका पसलहरू साँझ ६:०० बजे बन्द गर्नुपर्ने डच सरकारले सार्वजनिक गरेको छ ।

मानिसहरूले घरमा चार जना आगन्तुक मात्रै निम्त्याउन सक्ने छन् । अत्यावस्यक अवस्थाका बाहेक अन्य कर्मचारीले घरबाटै काम गर्नुपर्ने छ ।

सार्वजनिक कार्यक्रमहरु पनि खारेज गरिनेछ । तर अर्को हप्ता नर्वेसँग हुने नेदरल्याण्ड्सको घरेलु विश्वकप छनोट फुटबल खेलहरू बन्द ढोका पछाडि खेल्नुपर्ने छ । विद्यालयहरु भने खुल्ला रहने छन् ।

उक्त घोषणापछि आक्रोशित सयौं प्रदर्शनकारीहरू हेगमा भेला भएर बिरोध गरेका थिए । प्रहरीले उनीहरूलाई तितरबितर पार्न पानीको फोहोरा हानेको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक