बिहीबार, वैशाख १३, २०८१

‘मन्त्री ज्यु कहिलेसम्म हाम्रा सन्ततीले उहि नियति, दुख भोगिरहने ?’

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ कार्तिक २९ गते १७:२२

प्रवाशमा रहेका नेपालीहरुले शिक्षा मन्त्री देवेन्द्र पौडेल समक्ष प्रवाशी नेपालीहरुका समस्या हल गर्न बिभिन्न गुनासा राखेका छन् ।

नेकपा माओवादी केन्द्रको फ्रान्सस्थित भात्रि संगठन जनप्रगतिशिल मञ्चले शिक्षा मन्त्री पौडेलसित पेरिसमा आइतवार साँझ राखेको भेटघाट कार्यक्रममा शुभकामना दिँदै पत्रकार अनुराधा पौडेलले फ्रान्सेली सेनामा थुप्रै नेपालीहरु सहभागि भएपनि फ्रान्स र नेपालबिच दुई पक्षिय संझौता नभएकाले बिभिन्न समस्या परेको बताइन् । संझौता नहुँदा भिन्न समस्या परेकाले त्यसमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकि थिईन् ।

उनले फ्रान्समा बिभिन्न विषयमा अध्ययन गर्न आउने विध्यार्थीहरुको संख्या बढ्दै गएको, तिनलाई भाषाको समस्या हुने गरेको, भिसाको समस्या रहेकोले सरकारले त्यसमा ध्यान दिन आग्रह गरिन् ।

(शिक्षा मन्त्री देवेन्द्र पौडेल (देब्रे) र फ्रान्सका नेपाली राजदूत दिपक अधिकारी । फोटो- नेपालप्लस)

नेपाली जनसंपर्क समिति फ्रान्सका अध्यक्ष सुधिर रानाले माओवादीले जनयुद्दकालमा निशुल्क स्वास्थ्य, शिक्षा र सुरक्षाको नारा दिएपनि माओवादी पटक पटक सरकारमा जाँदासमेत आफूले बिगतमा दिएका नारालाई कार्यावन्यनमा ल्याउन नसकेको अनुभव नेपालीले गरेको बताए । उनले भने “मन्त्रि ज्यु तपाईको पार्टीले हिजो शिक्षा, स्वास्थ्यको चर्को नारा दियो । पछि सरकारमापनि सहभागि पटक पटक हुनु भयो । तर सरकारमा सहभागि भएपछि भने बिगतमा बोले जसरि कार्यावन्यन गर्न सकिएको देखिएन ।”

उनले थपे “हाम्रा बाबु आमाले हिजो त्यहि शिक्षा, स्वास्थ्य, बाटोको समस्या भोगे । आज हामी त्यहि भोग्दै छौं । हाम्रा छोराछोरीलेपनि त्यहि भोग्दै छन् । कहिलेसम्म हाम्रा सन्ततीले उहि नियति, दुख भोगिरहने ?”

पेरिसको अन्तर्राष्ट्रिय तेक्वान्डो प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय रेफ्रीका रुपमा पेरिस आएका दिपेन्द्र ढकालले नेपालमा फ्रान्सेली दुतावास भएपनि भिसा लगाउन भारतको दुतावास पठाउँदा कम्तिमा चार हप्ता लगाइने हुँदा नेपालीले भिसा पाउन गाह्रो भएको समस्या सुनाए । उनले भने “निम्ता दिएपछि पनि हामीले भिसा माग्न ३० दिन लाग्छ । भिसाको प्रक्रिया लामो हुँदा नेपाली खेलाडीहरु छनौटमा परेरपनि आउन नपाउने स्थिति छ । अहिलेनै निम्ता पाएरपनि अन्य दुई जना नेपाली सहभागि हुन पाएनन् । सन् २०२४ मा पेरिसमा हुने ओलम्पिकमा छानिन सक्ने नेपाली भिसाकै कारणले नपाउने भए ।”

उनले देशमा खेलाडीहरुकालागि उचित प्रवन्ध, सेवा र सुविधा नभएकाले बिदेशी मुलुकमा खेल खेल्न आएका नेपाली बाध्यताले लुकेर यतै बसिदिने गरेको प्रसंगपनि सुनाए ।

शोभा गजुरेलले आफू र आफ्नो सिंगो परिवार दश वर्षभन्दा लामो जनयुद्दमा लागेकै कारण बाध्यताले बिदेशिनु परेको गुनासो सुनाईन् । उनले भनिन् “जनयुद्दमा योगदान गरेकैले राम्रोशित पढ्न पाइएन र बिदेशिनुपर्‍यो । हामी यतै दुखजिलो गरेर परिवार पालेका छौं । आखिर जनयुद्दका शहिदका परिवारले के पाए ? कम्तिमा शहिद परिवारकालागि त केहि गर्नुस् ।”

गैर आवाशीय नेपाली संघ फ्रान्सका कोषाध्यक्ष टिका अधिकारीले नेपालका मन्त्री, प्रशासकहरु निरन्तररुपमा बिदेश भ्रमण गर्ने गरेकोले तिनले यहाँ देखेभोगेका विकास, प्रविधी र संरचनाका कुरा आफ्नो पार्टी, मन्त्रीपरिषदमा राख्ने र छलफलको विषय बनाउने वा नबनाउने कुरोमा नेपालीको चासो सुनाए । उनले भने ‘विदेशमा भ्रमण गरेर गएपछि ति अनुभव आफ्नो पार्टी, मन्त्रिपरिषदमा राखेर छलफल गराउनुहुन्छ कि हुन्न ?’

गैर आवाशीय नेपाली संघ फ्रान्सका आइसिसी सदस्य अमर भण्डारीले मन्त्री, प्रशासकहरुले देश भन्दापनि पार्टी र कार्यकर्ता भनेर सोच्न नहुने बताउँदै भने “पार्टी भन्दापनि देश र जनतालाई ठूलो, प्राथमिकतामा राखेर हेर्नुपर्‍यो ।”

कार्यक्रममा नितेश पौडेल, लोक पुन मगर, ईन्द्र क्षेत्री, सुमित्रा बुर्लाकोटी, बिनोद बराल, शिवराम भण्डारी, राजेन्द्र कार्की लगायत दर्जन भन्दा बढी नेपालीले बिभिन्न जिज्ञासा राखेका थिए ।

(शिक्षा सचिव राम प्रसाद थपलिया। फोटो- नेपालप्लस)

नेपालीहरुका जिज्ञासाको जवाफ दिंदै शिक्षा सचिव राम प्रसाद थपलियाले हिजो भन्दा आज र आजभन्दा भोलीको भविष्य हेर्नुपर्ने बताए । उनले नेपालमा पढेलेखेर, शिक्षित र दिक्षित बनेर आएका नेपालीले यहाँ प्रगति गरेको देख्दा लोभ लागेको र त्यसले नेपालको शिक्षा बेक्कार थिएन भन्ने प्रमाणित गरेको बताए । उनले भने “तपाईहरु यहाँ आउनुभन्दा अगाडिपनि त तपाईहरुले गरेको काम अरु कसैले गर्थ्यो होला नी । तपाईहरुले ति काम यहिंका नागरिकसित प्रतिस्पर्धा गरेर लिन सफल हुनुभयो, यो नेपालकै शिक्षा र दिक्षाको प्रतिफल हो ।”

नेपाल सरकारले अहिले सम्पूर्ण बजेटको सबैभन्दा ठूलो भाग शिक्षामा खर्च गरेकोले नेपालको शिक्षा सुधारिँदै गएकोसमेत बताए ।

कर्णाली क्षेत्रका विध्यार्थीहरुलाई प्रति दिन प्रति बिध्यार्थी खाजा खर्च २० रुपैयाँ दिन थालेपछि बिध्यार्थीहरु स्कूल आउने क्रम बढेको भनाई उनको थियो ।

विध्यार्थीहरुको संख्या बढेपछि हाल ३० हजार शिक्षिका थप गरिएको, पहिले ६०० रुपियाँ मासिक पाउने शिक्षिकाहरुलाई स्थानिय र केन्द्रिय सरकार मिलेर मासिक १५ हजार रुपियाँ दिने गरेको समेत बताउँदै भने “एउटा विध्यालयबाट हाल १५ वटा पुगेको छ । शिक्षमा हामीले अथाह प्रगति गरेका छौं, त्यो अझै हुन्छ ।”

(युनेस्को नेपाल कार्यालयका उपमहासचिव डा रामबाबु अधिकारी। फोटो- नेपालप्लस)

युनेस्कोको नेपाल कार्यालयका उपमहासचिव डा. बाबुराम अधिकारीले पहिले केन्द्रिक्रित सरकार रहेकाले एक्लै निर्णय गरेको, त्यसो हुँदा शिक्षामा कम प्रगती भएको तर अहिले स्थानिय, प्रादेशिक र केन्द्रिय सरकार गरि तिन तहको रहेको हुँदा त्यसमा प्रगति भएपनि केहि कमजोरी रहेको औंल्याउँदै भने “तिन तहको सरकारकाबिच संयोजन हुनु आवस्यक छ ।”

(शिक्षा मन्त्री देवेन्द्र पौडेल । फोटो- नेपालप्लस)

प्रमुख अतिथिका रुपमा रहेका शिक्षा मन्त्री देबेन्द्र पौडेलले बिदेशमा बसेर नेपालीले भन्ने गरेको जस्तो देश बिकराल अवस्थामा रहेको, कुनै संभावनानै नभएको भन्ने स्थिति नरहेको बताए । उनले देशमा प्रचुर संभावनासमेत रहेको उल्लेख गरे ।

नेपालमा कोरोना संकटकालमा स्वास्थ्य, उपचार निकै न्युन रहेको आरोप नेपालीहरुले लगाएका थिए । तर शिक्षा मन्त्री पौडेलले कोरोना भाईरस महामारी नियन्त्रणमा नेपाल विश्वका १० उत्तम ब्यवस्थापक देशभित्र परेको दाबी गर्दै भने “हाम्रा डाक्टर, नर्सहरुले निकै मेहनत गरेर, ज्यानको बाजी लगाएर निकै राम्रो काम गर्नुभयो । हाम्रा चिकित्शकहरुले गरेको काम सम्मानयोग्य छ ।”

पौडेलले नेपाल एक ठूलो संभावनायुक्त देश भएकालेनै भारतीय ठूला ठूला कंपनी, लगानीहरु नेपालमा लगानी गर्न आएको उल्लेख गर्दै प्रवाशका नेपालीहरुलाईपनि आआफूले सक्ने क्षेत्रमा लगानी गर्न आव्हानसमेत गरे । उनले भने “आफ्नो आर्थिक हैशियत जति छ त्यहि अनुसार सानो ठूलो क्षेत्रमा लगानी गर्नुहोस ।”

उनले बिदेशका फराकिला सडक, ठूला अग्ला गगनचुम्वी भवन मात्रै हेरेर सबै यताको राम्रो तर नेपालको नराम्रो भनेर नबुझ्न आग्रह गर्दै भने “यताका जस्ता ठूला अग्ला भवन छैनन् होला । सडक साँघुरा होलान् । तर हामीकहाँपनि राम्र पक्ष छन् । यताका मानिसहरुपनि हाम्रो देशमा केहि सिक्न भनेर गैरहेका छन् ।”

तपाइँको प्रतिक्रिया

फेसबुक