शुक्रबार, वैशाख १४, २०८१

युरोपमा वायु प्रदूषणले वार्षिक तिन लाख भन्दा बढीको मृत्यु

नेपालप्लस संवाददाता२०७८ कार्तिक २९ गते २३:१५

युरोपमा वायु प्रदूषणले अझै पनि वार्षिक तिन लाख भन्दा बढीको ज्यान लिइरहेको छ ।

आँखाले झट्ट नदेखिने तर सुक्ष्म कण वायु प्रदूषणको कारणले गर्दा हुने अकाल मृत्यु युरोपमा वार्षिक १० प्रतिशतले घटेपनि अदृश्य प्रदुषणले अझै पनि वर्षमा तिन लाख सात हजारको अकाल मृत्यु हुने गरेको युरोपेली वातावरण एजेन्सी (ईईए) ले सोमबार जनाएको छ ।

ईईएका अनुसार यदि विश्व स्वास्थ्य संगठन (डब्ल्यु एच ओ) बाट दिईएको पछिल्लो वायु गुणस्तर दिशानिर्देशहरू युरोपेली युनियन (ईयु) सदस्यहरूले पालना गरेमा सन् २०१९ मा रेकर्ड गरिएको मृत्युको पछिल्लो संख्या आधामा कटौती हुन सक्छ।

दुई दशमलव ५ माइक्रोमिटरको सूक्ष्म कणसँग सम्बन्धित मृत्युहरू सन् २०१८ मा तिन लाख ४६ हजार अनुमान गरिएको थियो ।

त्यसपछिको वर्ष मृत्यु कम भएको देखिनुमा आंशिक रूपमा अनुकूल मौसमको कारण भनिएको छ । तर युरोपेली महाद्वीपमा वायुको गुणस्तरमा प्रगतिशील सुधार भैरहेको युरोपेली संघको वायु प्रदूषण तथ्यांक केन्द्रले उल्लेख गरेको छ ।

सन् १९९० को दशकको सुरुमा फोक्सोमा गहिरो रूपमा पसेका सूक्ष्म कणहरूले ईयूका २७ सदस्य राष्ट्रहरूमा करिब १० लाखको अकाल मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । त्यो संख्या २००५ सम्म चार लाख ५० हजारमा पुगेको थियो ।

सन् २०१९ मा सूक्ष्म वायु कणहरूले जर्मनीमा ५३ हजार आठ सय, इटालीमा ४९ हजार नौ सय, फ्रान्समा २९ हजार आठ सय र स्पेनमा २३ हजार तिन सय जनाको अकाल मृत्यु भएको थियो । त्यस्तै, पोल्याण्डमा ३९ हजार तिन सय जनाको मृत्यु भएको थियो । यो प्रति व्यक्ति जनसंख्याको युरोपमा उच्चतम संख्या हो ।

नाइट्रोजन डाइअक्साइडका कारण हुने मृत्युपनि निकै छ । त्यसमा मुख्यतया कार, ट्रक र थर्मल पावर स्टेशनहरूबाट हुने मृत्यु सन् २०१८ र २०१९ को बीचमा एक चौथाईले घटेर ४० हजार पुगेको छ ।

सन् २०१९ मा भू-स्तर ओजोनसँग सम्बन्धित मृत्युहरू पनि १३ प्रतिशतले घटेर १६ हजार आठ सय थियो ।

वायु प्रदूषण युरोपमा मानव स्वास्थ्यको लागि सबैभन्दा ठूलो पर्यावरणीय खतरा बनेको एजेन्सीले उल्लेख गरेको छ ।

वायु प्रदूषणको कारणले मुटुको रोग र धड्कनमा समस्या आउँदा धेरैजसो अकाल मृत्यु हुन्छ । त्यसपछि क्यान्सर लगायत फोक्सोका रोगहरू हुन्छन् ।

बच्चाहरूमा वायुमण्डलीय प्रदूषणले फोक्सोको विकासलाई हानि पुर्‍याउन सक्छ । श्वासप्रश्वासको संक्रमण निम्त्याउन सक्छ । र दम बढाउँछ।

वायु प्रदुषणको स्थिति सुधार भइरहेपनि ईईएले सेप्टेम्बरमा चेतावनी दिएको छ- अधिकांश ईयु देशहरू अझै पनि सिफारिस गरिएको प्रदूषण सीमा भन्दा माथि छन् । तिनीहरूले युरोपेली दिशानिर्देशहरू वा अधिक महत्वाकांक्षी विश्व स्वास्थ संगठनका लक्ष्यहरू पुरा गरेका छैनन् ।

संयुक्त राष्ट्र संघको स्वास्थ्य निकायका अनुसार वायु प्रदूषणका कारण विश्वभर वार्षिक ७० लाख मानिसको अकाल मृत्यु हुने गर्छ । अर्थात् वायु प्रदुषणका कारण धुमपान र खराब आहारकै स्तरमा ज्यान लिने गरेको छ ।

गत सेप्टेम्बरमा वायु प्रदुषणको डरलाग्दो तथ्याङ्कले गर्दा डब्ल्यूएचओलाई २००५ पछि पहिलो पटक प्रमुख वायु प्रदूषकहरूलाई नियन्त्रण गर्न कडा सिफारिस र केहि सीमाहरू जारि गरेको थियो ।

“अलि सफा हिटिङ प्रणाली, गतिशीलता, कृषि र उद्योगमा लगानीले सबै युरोपेली र विशेष गरी सबैभन्दा कमजोर मानिसहरूको लागि स्वास्थ्य, उत्पादकता र जीवनको गुणस्तरमा सुधार गर्दछ” इईए निर्देशक हान्स ब्रुइनिकले भनेका छन् ।

ईयुले सन् २००५ को तुलनामा २०३० सम्ममा कम्तिमा ५५ प्रतिशतले वायु प्रदूषणमा सुधार गरेर अकाल मृत्यु घटाउन चाहेको छ ।

वायु प्रदुषण हालको दरमा घट्ने क्रम जारी रहेमा सन् २०३२ सम्ममा यो लक्ष्य पुग्ने एजेन्सीको अनुमान छ ।

वृद्ध व्यक्ति वायु प्रदुषणप्रति बढी संवेदनशील हुन्छ र सहरीकरण बढ्दै जाँदा सामान्यतया धेरै मानिसहरू पिएम दुई दशमलव पाँच माइक्रोमिटरको सम्पर्कमा आउँछन् जुन सहरहरूमा बढी हुने गर्दछ” रिपोर्टमा उल्लेख छ ।

(एएफपी र फ्रंस २४ न्युजको सहयोगमा)

तपाइँको प्रतिक्रिया