सोमबार, मंसिर १३, २०७८

“एनआरएनएको नेतृत्व सिमित मान्छेको हातमा गयो” संस्थापक खड्का

नेपालप्लस संवाददाता२०७८ मंसिर १ गते ९:२३

दिपक खड्का गैर आवाशीय नेपाली संघका संस्थापक हुन । तर संघ गठन भएको एक दशक नबित्दै यिनको सकृयतामा कमी हुँदै गयो । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य (कार्यालय सिड्नी शहर) को अवैतनिक नेपाली महावाणिज्यदूत समेत रहेका खड्काले संघले आफ्नो उद्देश्य छोड्न थालेपछी रुची कम हुँदै गएको बताए । संघ भित्र अहिले देखिएको विवादका बारेमा यि संस्थापक के भन्छन् । नेपालप्लसले खासगरेर यिनै विवादहरुको सेरोफेरोमा कुराकानी गरेको थियो । उनले भने- ‘अहिले गैर आवाशीय नेपाली संघमा नेपाली राजनीतिको ऐना प्रतिविम्वित भएको छ ‘।

 गैर आवाशीय नेपाली संघ भित्र अहिले देखिएको माहौलले संघलाई कुन दिशा तर्फ लैजाँदै छ ?

हामीले गर्नुपर्ने कुरा गरेका छैनौं र नगर्ने कुरा गरेका छौं कि जस्तो लाग्छ । म संघमा प्रत्यक्ष सहभागि नभए पनि बाहिरबाट पर्यवेक्षण गरिरहेको छु । खासमा मेरो मान्यता के हो भने जो साथीहरु यसमा लागिरहनुभएको छ उहाँहरुलाई विश्वास गर्नुपर्ने हो । हामीले जुन उद्देश्यले संघको स्थापना गर्‍यौं र अहिलेको अवस्थासम्म आइपुग्दा यो संस्था विश्वब्यापी रुपमा निकै फराकिलो भएको छ । यो खुशीको कुरा हो । तर यो बिचमा यसलाई अलिकति संरक्षकत्व प्राप्त नभएको हो या नयाँँ साथीहरुले नबुझेको हो यसमा अली बढी राजनीति भयो जस्तो लाग्दछ । ब्यतिगत रुपमा राजनीति गर्नु सामान्य कुरा हो । किनभने हामी सामाजिक प्राणी हो । राजनीतिक वा धार्मीक विश्वास हुनु सामान्य हो । तर अहिले संस्था जुन उद्देश्यका लागि स्थापना गरिएको थियो त्यसभन्दा बाहिर गयो । बढी राजनीति भयो ।

नयाँँ आएका अभियन्ताहरुलाई तपाईंहरुले अली राम्ररी मार्गदर्शन गर्न नसक्नुभएको हो ?

अँ त्यस्तै पनि केही हुन सक्दछ । मलाई अहिले कस्तो लाग्दछ भने नेतृत्व सिमित मान्छेको हातमा भयो । हामीले गतिलो उत्तराधिकारी बनाउन सकेनौं । केहि गलत भयो । मान्छेको बुझाई पैसा हुनेले मात्र संघमा काम गर्न सक्छन भन्ने छ । अनी पैसा हुने साथीहरुले पनि पैसाले जेपनि गर्न सक्छौं भन्ने सोचाइ बढेको हो कि ? यो साँच्चिकै वहस गर्नुपर्ने विषय हो । यसलाई कसरी अहिलेको माहौलबाट बाहिर निकालेर शुरुको एनआरएनए जस्तै पवित्र बनाएर अगाडि बढाउन सकिन्छ भन्ने तर्फ सबै जना लाग्न जरुरी भएको छ ।

ति विषयमा वहस गर्नुपर्ने तपाईं जस्तो मान्छे किन निष्कृय भएको त ?

होइन म निष्कृय भन्दा पनि मैले साथीहरुलाई विश्वास गरेर हो । साथीहरु लागिरहनु भएको थियो । उहाँहरुले राम्रै गर्नुहुन्छ भन्ने अनुमानले म संघको पदाधिकारी नभएर बसेको मात्रै हो । बाहिरबाट गर्नुपर्ने र सहयोग गर्नुपर्ने सबै काम मैले गरिरहेको हुन्छु । यो संस्था ब्यापारिक, राजनीतिक, धार्मिक र नाफारहित उद्देश्यका लागि स्थापना भएको हो । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने कुरा केही हदसम्म अगाडि पनि बढ्यो । तैपनि रफ्तार पाएन । उद्देश्यमा अली अली तोडमोड गरिएको हो कि ? हामीले गर्नुपर्ने कुराहरु गरिरहेका छैनौं र नगर्नुपर्ने कुराहरु अली बढी गरिरहेका छौं जस्तो लागिरहेको छ । म बाहिर बसेपनि संस्थासँग नजिक नै छु । तर यस्ता कुराहरु सधैं हामीले गरेर साध्य हुँदैन । यो त नयाँँ आउने मान्छेले अगाडि बढाउँदै लैजाने कुरा हो । उहाँहरुलाई गाइड गर्दै लैजाने कुरा हो । तर एक पटक अध्यक्ष भए पछी वा पदाधिकारी भए पछी अली हाइफाइ हुने भयो । त्यहाँ हुने पुग्ने बित्तिकै आफ्नो यथार्थ ठाउँँ नै बिर्सेको हो कि जस्तो लाग्छ ।

संस्था अली बढी ब्यापारिक भयो भन्ने कुरा पनि छ नी ?

ब्यापारी पनि कस्तो हुनु पर्दथ्यो भने सामुहिक लगानी नेपालमा भित्र्याउनका लागि सहयोग गर्ने । अझ भन्ने हो भने हामी जस्तो विकशित मुलुकहरुमा बसेकाहरुले सबै अवशरहरु हामी आफैंले लिनुपर्ने छैन । खाडी मुलुकमा काम गर्नेहरु हेर्नुहोस् त कति धेरै रगत पसीना बगाएर बस्नु भएको साथीहरु हुनुहुन्छ । उहाँहरुको कल्याणका लागि हामीले केही गर्नुपर्ने हो । मैले धेरै अघि एउटा अवधारणापत्र पनि प्रस्तुत गरेको थिएँ जसमा मेरो कस्तो अवधारणा थियो भने खाडी मुलुक अथवा वैदेशिक रोजगारमा जाने साथीहरुले जुन किसिमले पैसा तिरेर जानुहुन्छ त्यस्ता एजेण्टहरुबाट अलिकती लेवी उठाउने र जाने मान्छेहरुबाट पनि केही पैसा उठाउने, उनिहरुले काम गर्ने कम्पनीसँग पनि उठाउने र एउटा ठूलो कोष बनाउने । अनी कल्याणकारि काममा त्यही कोष प्रयोग गर्ने । यसले के गर्छ भने सबैलाई अपनत्व महसुस हुन्छ । हरेक मान्छेलाई आफू कहिं न कहिं जोडीएको अनुभव हुन्थ्यो । त्यहि रकमलाई हामीले सामुहिक लगानिको रुपमा पनि प्रयोग गर्न सक्दथ्यौं । यहि अवधारणा अनुसार नेपाल सरकारले पनि पैसा उठाउन थालेको हो जस्तो लाग्छ । तर त्यो करोडौं रुपैयाँ त्यत्तिकै थन्किएको छ । त्यो पैसाले के गर्नुपर्दथ्यो भने बैदेशिक कामदारको रुपमा गएका बहुमत साथीहरुको अनुभवलाई समेटर त्यस्तै खालको उद्योग बनाएर विदेशबाट उहाँहरु फर्के पछी त्यहाँ आवद्द गराउने सोचाइ भएको भए के हुन्थ्यो भने हामीले आधी पैसामा त्यही सामान बेच्न सक्दथ्यौं । तर खै ? एनआरएनका साथीहरुको यती धेरै पहुँच छ त्यसलाई प्रयोग गरेर नेपाल र नेपालीको उन्नतिको लागि लाग्नुपर्ने ठाउँमा आफू आफूमै लडेर, आपसमै राजनीति गरिरहँदा बितृष्णा मलाई मात्रा होइन धेरै साथीहरुलाई भएको छ ।

अहिले एनआरएन भित्र जुन खालका समस्या देखिएका छन् यसले संस्था नै विघटनको नजिक पुग्यो भन्न थालिएको छ । त्यहि अवस्था हो ?

त्यस्तो नहोला । किनभने त्यहाँ बस्ने साथीहरु पनि त्यो स्तरमा हुनुहुन्न होला । अनी फेरी एक दुइ जनाले विघटन गरेर हुने कुरा पनि होइन । यती ठूलो संस्थालाई एक दुई जना वा एक दुइ वटा समुहले बिघटन गर्न खोजेर विघटन हुने अवस्था त म देख्दिन । तर यस्तो किचलो भएपछी अगाडि बढ्न सकिंदैन । हामीसँग कती मुद्दा छन्, नागरिकताका कुरा, लगानीका कुरा अन्य सामाजिक कामका कुरा । तर नेतृत्वको लागि यसरी लडिरहे पछी त के मतलव भयो र ! हामीले नेपालको राजनीतिलाई पनि सँगै ल्याएका छौं । कती विडम्बनाको कुरा हुर्नुस त ।

यो संस्थाको नेतृत्वमा पुग्ने जुन लडाईं चलिरहेको हुन्छ यो ‘ एक्स्पोजर’का लागि मात्रै हो कि आर्थिक फाईदाका लागि हो ?

म त्यो ठाउँमा पुगिन । तर मैले देख्दाखेरी ‘एक्स्पोजर’ का लागि मात्रै हो जस्तो लाग्दैन । यसमा अन्य कुनै चाख वा स्वार्थ छ कि जस्तो पनि लाग्न थाल्यो । नत्र पटक पटक त्यहिं पुग्ने चाहना नहुनुपर्ने हो । त्यहाँबाट अरु कुनै फाईदा लिन्छन् कि भन्ने शंका हुन थाल्यो । यसै त ‘एनआरएनए भनेको पैसा हुनेहरुको मात्र संस्था हो’ भनिन्छ । त्यसमा पनि खाली त्यस्तै किसिमको वातावरण बनेको हो कि ?

एनआरएनमा संरक्षक परिषद भन्ने एउटा अवधारणा छ अथवा यस्तो अवधारणा ल्याइयो । यो कस्तो हो ?

मलाई ब्यक्तिगत रुपमा सोध्नुहुन्छ भने संरक्षक परिषद बनाएर कसैलाई सम्मान गर्नु छुट्टै कुरा हो । तर संरक्षक परिषद नै सर्वोपरी हुने हो भने यसले संस्थालाई राम्रो गर्दैन । संस्थामा जाने मान्छे भनेको आफ्नो एउटा दृष्टिकोण, अवधारणा, योजना लिएर गएको हुन्छ र उसको त्यो अवधारणा (भिजन) लाई लागु गर्ने अवशर दिनुपर्दछ । अब नेतृत्वलाई गाइड गर्ने संरक्षक परिषदले भनेको छ जहाँँ उनिहरुकै बिचमै हानाथाप छ । म त संरक्षक परिषदमै पनि राजनीति जस्तो देख्छु । केही गर्छु भन्ने ब्यक्तिले अवशर पाउनुपर्ने हो । सधैं उनै मान्छे नै कुनै न कुनै रुपमा रहिरहने हो भने त नेपालको राजनीति जस्तो भैहाल्यो नि ।

संरक्षक परिषदको अवधारणा किन आयो त ?

साँच्ची नै मलाई खास जानकारी छैन । तर यसमा दुइवटा कुरा हुन सक्दछ- एउटा, राम्रो सोचले आउने नयाँँ नेतृत्वलाई केही गाइड गर्ने हुनसक्दछ । अर्को कुरा के हुन सक्दछ भने पुरानाहरुको आफू कुनै न कुनै भूमिकामा रहिरहने चाहना । हरेक कुराहरुको एउटा समयसिमा हुन्छ । सधैं मेरो गोरुको बाह्रै टक्का भन्छन नि ! सधैं मैले मात्रै जानेको छु, मैले भनेको मात्रै गर्नु पर्दछ भनेपछी त विकासको प्रकृया नै बन्द भयो ।

संरक्षक परिषद भित्रै शक्ति संघर्ष जस्तो देखियो । नत्र शायद अहिलेको विवाद मिल्थ्यो होला नि होइन र ?

हो त । त्यस्तै भए जस्तो लाग्छ मलाई । मैलेमात्र होइन एनआरएनलाई अवलोकन गर्ने धेरै मान्छेहरुले तपाईंले उठाएको कुरा नै सही हो भन्छन् ।

अहिलेका विवाद समाधान गर्नका लागि के के उपाय हुन सक्छन् जसले एनआरएनए लाई फेरी एकजुट गराओस !

एकदम सामान्य, सजिलो छ । दुबैपक्ष एकै ठाउँँमा बसेर छलफल गर्ने हो भने समस्या समाधान नहुने भन्ने कुरै छैन । एउटा एक ठाउँँमा जाने अर्को अरु कुनै ठाउँमा जान्ने अनी तेस्रो पक्षलाई आवद्द बनाउनाले झन तनाव बढ्छ । त्यसकारणले जो जोलाई चित्त बुझेको छैन एक ठाउँँमा बसेर छलफल गर्ने हो । समाधानका लागि कतिपय ‘लेनदेन’ का कुराहरु पनि हुन्छन् । कुनै गलत कुरा छन् भने त्यसलाई समझौता गर्नुपनि हुँदैन । तर ‘रे’ र ‘अरे’ को हल्लामा मात्र भरोसा गर्नु हुँदैन । यदि यसरी मिलेन भने एनआरएनका धेरै शुभचिन्तकहरु छन् तिनिहरुलाई राखेर पनि कुरा गर्न सकिन्छ । यसरी छलफल गर्‍यो भने अन्त कहिं जानुपर्ला जस्तो मलाई लाग्दैन ।

यस्तो छलफल गराउन तपाईंको के भूमिका हुन सक्ला ?

भूमिका त सबैको हुन सक्दछ । मेरै भूमिका हुन्छ भनेर त म भन्दिन । तर हरेक क्षेत्रबाट केहि मान्छेहरु राखेर कुराकानी गर्‍यो भने यो नमिल्ला जस्तो लाग्दैन । यो यसरी किन लम्बिइरहेको छ मलाई अचम्म लागिरहेको छ । यती धेरै पवित्र उद्देश्य बोकेको संस्थालाई केही मान्छेको ब्यक्तिगत स्वार्थका लागि यसलाई बन्दी बनाउनु हुँदैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक