शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए निर्वाचनबारे प्रधानमन्त्री पत्नी र कोषाध्यक्ष श्रेष्ठबिच छलफल

नेपालप्लस संवाददाता / टोकियो, जापान२०७८ मंसिर २ गते १९:५५

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को पछिल्लो अवस्थाका बारेमा संघका कोषाध्यक्ष महेश श्रेष्ठले उपचारको क्रममा जापान पुगेकी प्रधानमन्त्री पत्नी आराजु देउवालाई भेटेका छन् ।

पछिल्लो पाँच महिना देखि बिभिन्न कारणले एनआरएनको अधिवेशन र चुनाव विवादित बनेको छ भने संघले आगामी ६ महिनाका लागि आफ्नो कार्यावधि थपेको छ । अझै पनि अधिवेशनको मितिको टुङ्गो भने लागेको छैन ।

एनआरएनको प्रतिनिधि चयन, बिद्यार्थीले भोट खसालेको, राष्ट्रिय परिषद निर्वाचनमा धाँधली भएको लगायत विषयमा संस्थापना इतर पक्षले नेपालको परराष्ट्र मन्त्रालयमा १९ वटा उजुरी हालेको छ । तिनै उजुरिलाई आधार मानेर प्रधानमन्त्री पत्नी देउवाले संघको अधिवेशन हुननदिन भूमिका खेलेको र चुनाव रोक्न परराष्ट्र मन्त्रालयमा दवाव दिएको भन्ने आरोप लाग्दै आएको छ । माथिल्लो तहका कतिपय अभियान्ताले समेत यस विषयमा प्रश्न उठाईरहेका छन ।

भेटका क्रममा आफूले गैर आवाशिय नेपाली संघको पछिल्लो अवस्थाका बारेमा छलफल गरेको श्रेष्ठले बताए । उनले भने “उहाँको चाहना पनि संघको निर्वाचन समयमै हुनुपर्छ भन्ने छ । उहाँ निकै सकारात्मक हुनुहुन्छ ।”

प्रधानमन्त्रीपत्नी आराजु देउवासँगको भेट पछि एन आर एन एका कोषाध्यक्ष महेश श्रेष्ठले उत्साहित हुँदै भने “अब चुनाव तोकिएको समयमै हुन्छ । हामीले अर्को महिना नकट्ने गरी चुनाव गराउँछौ ।”

उनका अनुसार शुक्रवार बस्ने निर्वाचन समितिको बैठकले निर्वाचनको मिति टुङ्गो लगाउने छ । एनआरएन संस्थापना पक्षले डिसेम्बरको २० तारिखसम्म चुनाव गराउन आफूहरु तयार रहेको निर्वाचन समितिलाई जानकारी दिएको छ ।

“हामीहरु आफ्नो तर्फबाट तयार छौं । मिति भने समितिले अनुकुलता हेरेर निधो गर्छ” श्रेष्ठले भने ।

उपचारको क्रममा जापान पुगेकी आराजु राणा विहिवार नै नेपाल फर्किएकि छन् ।

तपाइँको प्रतिक्रिया