शनिबार, वैशाख ८, २०८१

युरोपमा पहिलो पटक अष्ट्रियामा पूर्ण लकडाउन, खोप अनिवार्य

नेपालप्लस संवाददाता२०७८ मंसिर ३ गते २२:०९

Image source- coe.int

अस्ट्रियाले आफ्नो सम्पूर्ण जनसंख्यालाई लकडाउनमा राख्ने भएको छ । कोरोना भाईरस पुन ब्यापकरुपमा बढेपछि त्यसको सामना गर्न पूर्ण लकडाउन गर्ने अष्ट्रिया युरोपमै पहिलो देश बनेको छ ।

अष्ट्रिय खोप अनिवार्य बनाउने पहिलो युरोपेली राष्ट्र समेत बनेको छ । आगामी फर्वरी १ देखि खोप लगाउन अनिवार्य गर्ने भनिएको छ ।

क्षेत्रीय गभर्नरहरूसँगको छलफलपछि शुक्रबार बिहान चान्सलर अलेक्ज्याण्डर शालेनबर्गले नयाँ उपायहरूको घोषणा गरेका थिए । “हामीले वास्तविकतालाई अनुहारमा हेर्नुपर्छ” उनले टायरोलमा पत्रकार सम्मेलनमा भने ।

गत सोमबारनै भियनाले खोप नगरिएकाहरूका लागि राष्ट्रव्यापी तालाबन्दी घोषणा गरेको थियो । त्यसलाई अब सबैकालागि भनेर लागु गरिएको छ । किनकि अस्ट्रियाले कोरोना भाइरसको चौथो लहरसँग लडिरहेको छ।

अष्ट्रियाको सार्वजनिक प्रशारक संस्था ओआरएफका अनुसार चान्सलरले भने “हामी पाँचौं लहर चाहँदैनौं। न त हामी छैटौं वा सातौं लहर नै चाहन्छौं।”

शालेनबर्गले लकडाउन सोमबारबाट सुरु भएर सुरुमा १० दिनसम्म चल्ने घोषणा गरेका छन् । अधिकांश पसलहरू बन्द हुनेछन् । सांस्कृतिक कार्यक्रमहरू रद्द हुनेछन्।

अस्ट्रियाका स्वास्थ्य मन्त्रीले स्कूल जानैपर्नेका लागि खुला राखिएपनि सबै अभिभावकहरूलाई सम्भव भएसम्म आफ्ना बच्चाहरूलाई घरमा राख्न आग्रह गरेका छन् ।

यस हप्ताको सुरुमा खोप नलगाइएकाहरुलाई तालाबन्दी घोषणा गरे अन्तर्गत १२ वर्ष वा माथिका मानिसहरूलाई काम, कक्षामा उपस्थित हुन, अत्यावश्यक किनमेल वा पैदल यात्रा जस्ता अत्यावश्यक गतिविधिहरू बाहेक बाहिर जान प्रतिबन्ध लगाइएको थियो ।

१० दिन पछि प्रभावको मूल्याङ्कन गरिनेछ र यदि भाइरसका संक्रमणहरू पर्याप्त रूपमा कम नभए लकडाउनलाई अधिकतम २० दिनसम्म लम्ब्याईनेछ ।

पछिल्लो तथ्याङ्कले हालैका हप्ताहरूमा अस्ट्रियामा कोभिड संक्रमण बढेको देखाउँछ । दैनिक संक्रमित संख्या नोभेम्बरमा तीन गुणा बढेर बिहीबार १५ हजार भन्दा बढी पुगेको छ । देशको प्रतिव्यक्ति संक्रमण दर यो वर्ष हालसम्मकै उच्च पुगेको छ ।

फर्वरी १ गतेदेखि खोप अनिवार्य

चान्सलरले कोभिड–१९ विरुद्धको खोप फर्वरी १ देखि अनिवार्य बनाउने निर्णय पनि सुनाए ।

“महिनासम्म मनाउने प्रयास गर्दागर्दैपनि हामीले पर्याप्त मानिसहरूलाई खोप लगाउन मनाउन सफल भएका छैनौं” शलेनबर्गले शुक्रबार सघन हेरचाह इकाईहरूमा ओभरलोडको गम्भिरतालाई उल्लेख गर्दै भने ।

युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल (ईसिडिसी) का अनुसार नोभेम्बर १९ सम्ममा अस्ट्रियाको ८९ लाख जनसंख्याको ६४ प्रतिशत भन्दा बढीलाई कोभिड विरुद्धको पूर्ण खोप लगाइएको थियो । यो पश्चिमी यूरोपको लागि औसत भन्दा धेरै कम हो । यद्यपि युरोपेली युनियनभित्रका देशहरुको स्तर हेर्दा ६५ दशमलव पाँच प्रतिशत हो ।

तथ्यांक अनुसार खोपले मृत्युलाई कम गरेको देखिन्छ । नोभेम्बर १४ सम्मको हप्तामा प्रति १० लाख जनसंख्यामा ३५ जनाको मृत्यु भएको थियो । गत वर्षको अन्त्यमा कोरोना प्रकोप शिखरमा पुगेको बेला त्यो संख्या १६९ थियो ।

“हामीसँग यस देशमा धेरै राजनीतिक शक्तिहरू छन् जसले खोपको कडा विरोध गर्छन्” चान्सलरले गुनासो गरे “हाम्रो स्वास्थ्य प्रणाली विरुद्धको आक्रमण हो त्यो”।

युरोपभरि कोरोना महामारीले फेरि संक्रमणको तिब्रता बढाइरहेको छ । धेरै देशहरूले बढ्दो संक्रमणसँगै पछिल्ला दिनहरूमा थप प्रतिबन्धहरू घोषणा गरेका छन् ।

जर्मनीका अधिकारीहरूले बिहीबार खोप नभएकाहरूलाई लक्षित गर्दै कार्यस्थल र सार्वजनिक यातायातमा उनीहरूको पहुँचलाई प्रतिबन्धित गरिदिए ।

चेक गणतन्त्र, स्लोभाकिया र ग्रीसले पनि हालका दिनहरूमा यस्तै उपायहरूको घोषणा गरेका छन् ।

संवन्धित रिपोर्ट

कोरोना खोप नलगाएकालाई अष्ट्रियामापनि रेस्टुरेन्ट, कफी सप पस्न प्रतिबन्ध

अस्ट्रिया र जर्मनी द्वारा कोरोना खोप नलगाएकाहरूमा नयाँ प्रतिबन्ध

तपाइँको प्रतिक्रिया

फेसबुक