सोमबार, मंसिर १३, २०७८

धर्म गुरु र धार्मिक ग्रन्थका अगाडि कसम खाएपछि मन्त्रीमण्डल गठन

देवमान हिराचन२०७८ मंसिर ४ गते १५:१५

एनआरएनएका तत्कालिन अध्यक्ष देवमान हिराचन सहित प्रमुख पार्टीका नेता एकातिर र सम्मुखमा छ जना धार्मिक गुरु

वि.सं. २०६७ पौष तेस्रो साता सम्ममाधव नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो । राजनितिक पार्टी, नेताहरुबिच कुरा नमिलेपछि प्रधानमन्त्री माधव कुमार नेपालले राजिनामा दिनु भयो । आठ महिना हुँदापनि नयाँ सरकार बनाउन सकेनन् । अचम्म भयो । नेता मिल्दैनन् । राजनितिक पार्टीहरु कतै सहमति गर्दैनन् । नेपालमा त्यो बेला नयाँ संविधान बनाउँदैपनि थियो । संविधान बनाउने विषयमापनि नेताहरु आफू आफूबिचमा झगडा गर्न थाले । नेपालमा सबै नेतालाई एकै ठाउँ ल्याएर सहमतिको प्रयास गराउनुपर्‍यो भन्ने सोचें । त्यसकोलागि ए उटा कार्यक्रम गर्ने योजना बनाएँ । त्यो बेला म गैर आवाशीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय अध्यक्ष थिएँ ।

नेपालका विभिन्न धार्मिक समुदायका उच्च, प्रसिद्द गुरुहरु कोको छन् खोज्नुस् भनेर मैले एनआरएनए केन्द्रिय सचिवालयका प्रमुख कार्यकारि अधिक्रित (सिईओ) लाई जिम्मा दिएँ । उहाँले एक जना गुरु मात्रै फेला पार्नुभयो । अरु गुरु जम्मा पार्न सक्नुभएन । बिकल्प त केहि सोच्नै पर्‍यो भनेर मैले चिनेको एक जना पत्रकार बहिनीलाई भनें ‘बहिनी, नेपालमा यस्तो खालको कार्यक्रम गर्नुपर्‍यो । यस्ता गुरु खोज्न सक्नुहुन्छ ?’ उनले तुरुन्तै जवाफ दिईन ‘म खोज्न सक्छु’।

त्यसको तिन चार दिन पछि त ‘ल ६ जना गुरु तयार हुनुभयो सर’ भन्दै मलाई फोन गरिन् जापानमा । मैले दुई तिनमै सबै मिलाएर काठमाडौं पुगें । सिफारिस गरिएका गुरुहरु सबै माथिल्लो तहका, वरिष्ठ गुरुहरु रैछन् भनेर मैले थाह पाएँ । गुरुहरु र मुख्य चार पार्टीका नेता राखेर मैले सोल्टी होटेलमा कार्यक्रम आयोजना गरें, २०६७ साल पौष २२ गते ।

त्यो कार्यक्रम बनाएपछि कोहिकोहि नेता आउन मानेनन् । ‘प्रचण्ड पनि ब्यस्त हुनुहुन्छ’ भने । तर ‘एनआरएनए’ को अध्यक्ष जस्तो ब्यक्तिले बोलाउँदापनि तपाईहरु नआउने कस्तो हो ? पछि देखौंला’ भन्ने जवाफ दिएपछि सुशिल कोइराला, झलनाथ खनाल, प्रचण्ड र उपेन्द्र यादव चारै जना आए । माधव नेपाल प्रधानमन्त्री र झलनाल खनाल एमालेका अध्यक्ष भएकाले खनाल आए, पार्टीको अध्यक्षको हिसाबले ।

नेताहरुलाई कसम खुवाउन राखिएका दाहिनेबाट शिवको फोटो, बाइबल, बुद्धको मूर्ति र कुरान

ति चार जना नेता एकातिर र अर्को तिर सामुन्नेमा ६ जना गुरुहरु राख्यौं । छेउमा बुद्दको मूर्ति, शिव भगवानको फोटो, बाईबल र मुस्लिमको कुरान राख्यौं । नेताहरुलाई ति सबैको अगाडि कसम खुवाउनकोलागि ।

कार्यक्रम शुरु भयो । मैले शुरुमा संवोधन गरें । यसको उद्देश्यपनि बताएँ । यि नेताहरुलाई सरकार बनाउने, सहमति गर्ने, निकास दिने कुरामा प्रतिबद्दता गराउनै पर्छ भनेर मैले पहिलेनै दुई वटा प्रतिबद्दता पत्र तयार पारेर लगेको थिएँ ।

माधव नेपालले राजिनामा दिइसकेका छन् । अर्को प्रधानमन्त्री चुनिएको छैन । पार्टीहरुको बिचमा झगडा परेर आठ महिनासम्म माधव नेपाललेनै चलाईरहनुभएको थियो । त्यसैले पहिलो, नेपालमा तुरुन्तै नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्ने र दोस्रो, नेपालमा संविधान छिटो बनाएर जारि गर्ने भनेर मैले प्रतिबद्धता राखें ।

गुरुहरुले आफ्नो कुरा भन्न थाल्नुभयो । उहाँहरुपनि भावुक, हर्षित हुनुभयो । किनकि नेपालकै वरिष्ठ चार जना नेता आएका छन् । त्यसैले आँखा चिम्लेर उहाँहरुले बोल्नुभयो । एक जना क्रिस्चियन गुरुले भन्नुभयो- एउटा गाउँमा दुई जनाको एक एक वटा छोरा जन्मिएछ । दुई जना मध्ये एक जनाको छोरो मर्‍यो । बच्चा जसको मरेको थियो त्यो आमाले मरेको बच्चा जिवित वच्चा भएकि आमाकोतिर राखिदिएर जिवित बच्चा आफ्नोतिर राखिछे । आमाले आफ्नो बच्चालाई त चिन्ने भयो । त्यसैले ‘यो मेरो बच्चा हो, उसले लगी’ भनेर मुद्दा भयो ।

मुद्दा फैसला हुँदा मरेको बच्चालाई मरेकै भनियो, जिवितलाई जिवितनै भनिने भयो । जसको बच्चा मरेको थियो त्यो बच्चाको आमाले ‘मरेको बच्चा मेरो होइन, जिवित बच्चानै मेरो हो’ भनेर छोड्दै छोडिन । फेरि मुद्दा भयो । ‘बच्चा यसैको हो’ भनेर छुट्याउन वकिललाई गाह्रो भयो ।

त्यसपछि वकिलले भन्यो- जिवित बच्चा लिएर आउ । त्यो बच्चालाई टाउकोदेखि पैतालासम्म फक्लक्क दुई चिरा पार्ने । अधा आधा लैजाउ’ वकिलले भने । वकिलले त्यसो भनेपछि जिवित बच्चाकी आमाले “मेरो छोरा त्यसरि दुई चिरा पारेट नकाटिदेउ, म उसैलाई दिन्छु” भनी । जो नक्कली आमा थियो उसलाई पो माया भएन । जसको खास बच्चा हो त्यो आमालाई त हत्या गर्नुभन्दा आफ्नो बच्चा बाँचोस भन्ने हुने भयो र पो ‘लैजाउ’ भनी ।

‘आफ्नो बच्चालाई जिवित राख्न त्यस्तो त्याग एउटी आमाले गर्न सक्छे भने देशको लागि पद त्याग्न नसक्ने कस्तो हो ? एउटा नेत्रित्व चुन्न आठ महिनासम्म नसकेर झगडा गर्दै बस्ने ?’ भनेर गुरुले भभन्नुभयो ।

अरु गुरुहरुलेपनि धार्मिक र नैतिक धेरै प्रसंग सुनाउनुभयो । त्यसपछि प्रचण्डजीले ‘हामीलाई हात खुट्टा बाँध्ने अनि तपाईहरु मिलेर जानुस् भन्ने ? कसरि जाने ?’ भन्नुभयो ।

‘त्यो त तपाईहरुलेमिलाउने कुरा हो’ गुरुहरुले भन्नुभयो । त्यसपछि प्रचण्डले त्यो प्रतिबद्दता पत्रमा हस्ताक्षर गर्न मान्नुभएको थिएन । किनकि कुनै पनि सहमति, प्रतिबद्दतामा सहि गर्न पार्टीले निर्णय गर्नुपर्ने रहेछ । तर मैले ‘यसमा गर्नै पर्छ, तपाईलाई मात्रै लगाएको छैन, सबैकोलागि हो’ भनेर मैले जबर्जस्ति दस्तखत गराएँ । चारै जना नेता, छ जना गुरु र मैले दस्तखत गर्‍यौं । त्यसको दुई हप्तामै झलनाथ खनालको प्रधानमन्त्रित्वमा मन्त्रीमण्डल गठन भयो ।

धर्म गुरुहरुको सामुन्ने नेताहरुले गरेको प्रतिबद्दता

प्रतिबद्दता पत्रमा यस्तो उल्लेख छ

नेपाली जनताले हामीलाई सुम्पेको विश्वाशको उच्च मूल्यांकन र सम्मान गर्दै, राष्ट्र र जनताप्रति ईमान्दार रहने प्रतिज्ञा गर्दै, दलिय मतभिन्नतालाई पन्छाएर राष्ट्रको उन्नती र प्रगतिको एजेण्डालाई सबैभन्दा अगाडि राख्ने प्रण गर्दै, आज मिति २०६७ साल पौष २२ गते एनआरएनएका अध्यक्ष देवमान हिराचनको संयोजन र नेपालका लव्धप्रतिष्ठित “स्प्रिचुअल गुरु” हरुको समुस्पथितिमा नेपाली जनतामाझ यो प्रण गर्दछौं कि-

१- राष्ट्रको गयवरोधलाई अन्त्य गर्नकोलागि छिट्टै नयाँ सरकार गठन गर्ने छौं ।
२- नयाँ संविधान निर्माण प्रक्रियालाई हामीले तोकेको समयसिमा भित्रनै पुरा गरी आगामी जेठ १४ मा नेपाली जनताका नामँमा संविधान घोषणा गर्ने छौं ।

त्यो बेला टिभीमा प्रत्यक्ष प्रशारणसमेत भएको थियो । पत्रकारहरुको भिड थियो । नेताहरुलाई त गाह्रो भयो । दबाबमा परे । जेहोस, त्यसपछि ढिलो भएपनि संविधान आयो ।

पछि मलाई प्रशण्डजीले ‘हिराचनजी, तपाईले यस्तो कुरा कसरि सोचेको ?’ भनेर सोध्नुभयो । मैले उहाँलाई जवाफ दिएको थिएँ “तपाईहरुले कसैलेपनि भनेको कुरा सुन्नुहुन्न । गुरुहरुको कुरा त सुन्नुहोला’ भनेर यस्तो आयोजना गरेको हुँ” भनेपछि उहाँले मलाई भन्नुभयो ‘ओहो तपाईले त भब्य सोच्नुभएछ।’

हामीले एनआरएनएमा यस्तो काम गर्नुपर्छ । नेपालमा झैझगडा भयो, गाह्रोसाह्रो पर्‍यो भने कसरि सहयोग गर्न सकिन्छ भनेर सोच्ने हो । उदाहरणिय काम गर्ने हो । एनआरएनएले त नेताहरुलाई ‘तपाईहरु झगडा गरेर नजनौस् है ? हामीले बरु सहयोग गर्छौं । एनआरएन जस्तो मिलेर जानुपर्छ’ भनेर देखाउने हो नी ! हामीनै लातका लात मारेर झगडा गर्दै हिँडेर हुन्छ ?

(गैर आवाशीय नेपाली संघका केन्द्रिय अध्यक्ष देवमान हिराचनसितको कुराकानीमा तयार पारिएको आलेख-संपादक)।

तपाइँको प्रतिक्रिया

फेसबुक