शुक्रबार, वैशाख ७, २०८१

चेक गणतन्त्रमा कोरोना संक्रमण उच्च, दैनिक १०० को मृत्यु

नेपालप्लस संवाददाता२०७८ मंसिर ५ गते ०:०७

फोटो स्रोत-डोरिन ड्रोबो, फेसबुक

चेक गणतन्त्रमा कोरोना भाइरस संक्रमण दरले यो हप्ता दोस्रो पटक नयाँ रेकर्ड बनाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको छ ।

मन्त्रालयले दैनिक संक्रमित संख्या शुक्रवार २२ हजार नौ सय ३६ पुगेको उल्लेख गरेको छ । मङ्गलबार सार्वजनिक गरिएको अघिल्लो रेकर्ड भन्दा लगभग ५०० जनाले बढी हो ।

युरो न्युजका अनुसार देशको संक्रमण दर विगत सात दिनमा प्रति एक लाख बासिन्दामा ९२९ जना नयाँ संक्रमित भएको छ ।

बिहीवार ११० जनाको मृत्यु भएको र चिन्ताजनक संकेत भएको मन्त्रालयले जनाएको छ । अप्रिल पछि पहिलो पटक दैनिक मृत्यु हुनेको संख्या १०० नाघेको छ ।

युरोपेली संघको औसत भन्दा कम रहेको खोप दर बढाउने प्रयासमा खोप नपाएकाहरूलाई लक्षित गर्दै सरकारले नयाँ प्रतिबन्धहरूलाई अनुमोदन गरेको छ ।

सोमवारदेखि, खोप नलगाएका अधिकांश मानिसहरूलाई सार्वजनिक कार्यक्रममा उपस्थित हुन, बार र रेष्टुरेन्टहरूमा पस्न, हजामकहाँ जान, संग्रहालय र यस्तै सुविधाहरूको भ्रमण गर्न वा होटेलहरू प्रयोग गर्नको लागि अनुमति दिइने छैन ।

कोरोना भाइरस परीक्षणको नकारात्मक रिपोर्ट देखाएपनि अनुमति हुने छैन ।
खोप लगाएका वा कोरोनाबाट निको भएका व्यक्तिहरू मात्र ति ठाउँहरुमा जान प्रवेशयोग्य हुने छन् ।

कुल एक करोड सात लाख जनसंख्या भएको चेक गणतन्त्रले ३२ हजार पाँच जनाको मृत्यु भोगिसकेको छ । लगभग २० लाख संक्रमितहरु दर्ता गरेको छ ।

चिसो मौसमले भाइरसको फैलावटलाई प्रभावित बनाएपछि युरोपका विभिन्न भागमा कोभिड–१९ का घटनाहरू फेरि बढिरहेका छन् ।

पश्चिमी युरोपका करिब ६० प्रतिशत मानिसहरूले कोरोना भाईरस विरुद्ध पूर्ण रूपमा खोप लगाएका छन् । तर पूर्वी युरोपमा करिब आधालाई मात्रै खोप लगाइएको छ ।

विश्व स्वास्थ्य संगठनले मंगलबार (नोभेम्बर १६) मा युरोपमा कोरोना भाइरसको मृत्यु अघिल्लो हप्ता भन्दा ५ प्रतिशतले बढेको रिपोर्ट गरेको छ । यो विश्वको एक मात्र यस्तो क्षेत्र हो जहाँ कोरोनाबाट मृत्यु बढेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक