शुक्रबार, चैत १६, २०८०

बद्रि केसी र कुल आचार्य दुबै चुनावमा होमिन तयार ?

नेपालप्लस संवाददाता / बेलायत२०७८ मंसिर ५ गते १२:३६

बिगत डेढ महिनादेखि अन्योलमा रहेको गैर आवाशिय नेपाली संघको निर्वाचनको नयाँ मिती घोषणा भएपछी दुबै पक्षिय उम्मेद्वारहरुले सतहमा देखिएका समस्याहरु समाधान हुने नहुने विषयमा आशंका ब्यक्त गरेका छन् ।

शुक्रबार अध्यक्ष पन्तले चुनावको मिती घोषणा गरेपछी अध्यक्षका प्रत्यासीहरु कुल आचार्य तथा बद्री केसी दुबैले प्रतिकृया ब्यक्त गरेका छन् । आचार्यले सहमति बिना चुनावको मिती घोषणा गर्नु झुक्क्याउने खेल भएको बताए । उनले भने “प्रतिनिधि विवादमा सहमती नभैकन चुनाव घोषणा गर्नु हामीलाई मात्र नभएर संरक्षक परिषद र परराष्ट्र मन्त्रालय समेतलाई झुक्याउने काम भएको छ, यो मान्य हुँदैन ।”

‘त्यसोभए तपाईंहरु निर्वाचनमा सहभागी हुनुहुन्न ?’ भन्ने प्रश्नमा उनले भने- “चुनावमा त हामी भोली पनि जान तयार छौं । तर जे विवाद हो त्यसको समाधान हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो ।’ उनले परराष्ट्र मन्त्रालयले चुनाव गर्नका लागि अनुमती दिएको भन्ने कुरा झुट भएको बताउँदै भने- “मन्त्रालयले जे कुरामा सहमति गर्नका लागि पत्र पठाएको थियो ति विषयहरुमा कुनै प्रकारको सहमति भएको छैन । प्रतिनिधि विवाद सल्टिएको भोलिपल्ट नै हामी चुनावमा जान्छौ ।”

‘त्यसोभए चुनाव हुँदैन ?” अर्को एक प्रश्नमा आचार्यले भने- “म यस बारेमा बोल्न चाहन्न । मेरो सरोकार के हो भने चुनाव हुनु पर्दछ र विवाद मिलाएर हुनु पर्दछ । हामी तयारी अवस्थामा छौं । तर अहिले जुन झुटको खेती भएको छ यसले संस्थालाई दिर्घकालिन असार पुर्‍याउँछ ।”

त्यस्तै अध्यक्षका अर्का प्रत्यासी बद्री केसीले चुनावको नयाँँ मिती तोकिनु स्वागतयोग्य भएको बताए । “चुनावको जित हार भन्दा पनि अहिले क्रमभंग भए जस्तो भयो । यती धेरै नेपालीहरुले विश्वास गर्ने संस्थाको चुनाव रोकिनु हामी सबैको लागि ईज्जतको सवाल पनि थियो” केसीले भने “प्रतिनिधिको विषयमा विधान भित्र रहेर मात्र निर्णय गर्नु पर्दछ भन्ने मेरो धारणा हो । यदी अन्यथा गएर कुनै निर्णय गरिन्छ भने त्यो हाम्रो लागि मान्य हुने छैन ।”

उनले खास गरेर तीन वटा मुलुक बेलायत, अमेरिका र अस्ट्रेलियामा २५ प्रतिशत प्रतिनिधि छनोट प्रकृयामा आफूहरुको असहमती रहेको बताउँदै भने “यस्ता विषयमा अध्यक्षका सबै प्रत्यासीहरुसँग सहमति गरेर अगाडि बढोस् भन्ने हाम्रो माग हो ।”

गत अगस्त १५ देखी आइसीसीले चुनाव गराउने वा यो प्रकृयाको सम्पूर्ण जिम्मा अध्यक्ष पन्तलाई दिएको छ । त्यही अनुरुप नै पन्तले उम्मेद्वारहरु, पुर्वअध्यक्षहरु र चुनावी प्रकृयामा वाधक भनिएका राजनैतिक दलका नेताहरु, परराष्ट्र मन्त्रालयसँग छलफल र वार्ता गर्दै आइरहेका छन् ।

‘आइसीसीले चुनावको सम्पूर्ण जिम्मा अध्यक्षलाई दिएपछी उनको निर्णय त तपाईंहरुले मान्नु पर्‍यो नि होइन र ?’ भन्ने एउटा प्रश्नको जवाफमा केसीले भने “त्यो हामीले मान्नु नै पर्दछ । मान्नुपर्ने हाम्रो वाध्यता पनि छ । तर विधान भन्दा बाहिर गएर सहमतिको नाममा अरु कुनै निर्णय गर्लान कि भन्ने कुरामामा हामी अलिकती चनाखो हुनुपर्ने छ ।”

केसीले स्पष्ट त भनेनन् । तर सहमतीका नाममा अध्यक्ष पन्तले विधान विपरित निर्णय गर्न सक्ने तर्फ संकेत गरे ।

तर कुल आचार्य सहित आफूहरु अध्यक्षपन्त सँग छलफलमा रहेकोपनि उनले जानकारी दिए । उनले भने “अब फेरी पनि चुनाव सार्ने काम गर्नुहुँदैन । विधान भित्र रहेर हाम्रो तर्फबाट अध्यक्षलाई पूर्ण सहयोग हुन्छ ।”

संघका अध्यक्ष कुमार पन्तले मन्त्रालयद्वारा सोधिएका सवालको जवाफ दिंदै सरोकारवालाहरुसँगको छलफलपछी चुनाव र अधिवेशनको मिती घोषणा गरेका हुन ।

प्रतिनिधि विवादका कारण एक महिना यता देखि अधिवेशन रोकिएको थियो । प्रतिनिधि छनौटमा असहमती जनाउँदै परराष्ट्र मन्त्रालयमा डेढ दर्जन बढी उजुरिहरु परेका थिए । विवादहरुको समाधान नगरि अधिवेशन नगर्नु नगराउनु भन्दै मन्त्रालयले आदेशात्मक पत्र पठाएपछी अक्टोवरको तेस्रो साता हुने भनिएको निर्वाचन रोकिएको थियो ।

तपाइँको प्रतिक्रिया