शुक्रबार, वैशाख ७, २०८१

“देशमा दुर्घटना निम्त्याउन कांग्रेस र एमालेका केही मान्छे चोलेन्द्रसँग मिलेका छन्” कृष्ण पहाडी

नेपालप्लस संवाददाता२०७८ मंसिर ७ गते १६:५८

कृष्ण पहाडी नेपालका उपल्लो स्तरका मानवअधिकारवादी नेता हुन । लगभग चार दशक मानवअधिकार आन्दोलनमा बिताइसकेका पहाडीले एम्नेस्टी इन्टरनेशनलको नेपाल शाखा गठन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । देशमा भएका मानवअधिकार लगायतका विषयमा चर्को आवाज उठाउँदै आएका पहाडी आवद्ध संस्था मानवअधिकार तथा शान्ती समाज यतिबेला प्रधान न्यायधिश चोलेन्द्र शम्शेर राणाको वहिर्गमनको माग सहित आन्दोलनमा छ । पहाडीलाई नेपालप्लसले ‘तपाईंहरु हरेक विषयमा किन आन्दोलन शुरु गर्नुहुन्छ ?’ भनेर सोधेको थियो । उनले स्पष्ट भने- देशको सर्वोच्च निकाय त्यो पनि न्यायलयमा यस्ता भ्रष्ट मान्छे बसिरहँदा कसरी नागरिकले न्याय पाउन सक्दछन ? प्रस्तुत छ अहिले अदालतमा देखिएको प्रधानन्यायधीश प्रकारणका बारेमा पहाडीसँग गरिएको कुराकानीको सार-

मानवअधिकारको क्षेत्रमा लामो समय काम गरेको हिसावमा अहिले सर्वोच्चमा देखिएको तस्वीरलाई कसरी हेर्नु भएको छ ?

धेरै अगाडि देखि न्यायलयमा राजनीतिकरण भयो । यसमा विचौलियाहरु हावी भए । त्यहाँभित्र भ्रष्टाचारले सिमा नाघ्यो र बिचौलियाहरुको पकड तिब्र भयो । अहिले असामान्य अवस्था उत्पन्न भयो । यसलाई सामान्य बनाउन प्रधानन्यायधिशले यथाशिघ्र आफ्नो पदबाट रजिनामा दिनुपर्दछ । यदि रजिनामा दिनु भएन भने दलहरुले महाअभियोग लगाएर उनको बहिर्गमनलाई टुङ्ग्याउनु पर्दछ । न्यायधिश वा प्रधानन्यायधिशले सरकारमा भागवण्डा मागेको प्रमाणित भैसकेपछि एक सेकेण्ड पनि पदमा बस्ने अधिकार हुँदैन । अहिले वकीलहरुको आन्दोलन चलिरहेको छ । कतिपय मान्छेहरुले यसलाई बारको मात्र आन्दोलन ठानेका छन् । तर यो आन्दोलन बारको मात्र होइन समग्र नेपालको आन्दोलन हो । केपी ओली जी प्रधानमन्त्री हुँदा संबैधानिक निकायको नियुक्तिमा लगभग एक दर्जन मान्छे चोलेन्द्र शम्शेरजीले भागवण्डामा आफ्ना मान्छे राखेको भन्ने कुरा आएको छ । शेरबहादुरजीको मन्त्रीमण्डलमा पनि उहाँले भाग खोज्नु भयो । यसरी ब्यक्तिगत फाईदाका लागि मुछिइसकेपछी त उहाँ अनैतीक प्रधानन्यायधिश हुनु भो । अनैतीक मान्छे देशको सर्वोच्च निकायमा कसरी रहनसक्छ ? त्यसकारण यतिका दिनसम्म पनि उहाँको रजिनामा नआएपछी दलहरुले तत्काल महाअभियोग लगाउनुपर्ने थियो ।

किन लगाउँदैनन त दलहरुले महाअभियोग ?

किनभने त्यो भागवण्डामा शेरबहादुर देउवा पनि संलग्न हुनुहुन्छ । केपी ओली पनि संलग्न हुनुहुन्छ । प्रधानन्यायधिशको भ्रष्टाचारको कुरा छ । उनी र उनको परिवारले यती धेरै भ्रष्टाचार गरेका छन कि आम नागरिकले जिब्रो टोक्छन् । तर पनि दलहरुले महाअभियोग लगाउँदैनन् किनभने दलका नेताहरु आफैं भ्रष्ट छन्। अब यो आन्दोलन बढ्दै गयो भने यसले लोकतन्त्रलाई खान सक्दछ ।

चोलेन्द्र शम्शेरले रजिनामा दिने बित्तिकै वा महाअभियोग लगाउने बित्तिकै न्यायलयमा शुद्धिकरण हुन्छ त ?

यसले मात्र हुँदैन । न्यायलयको शुद्धिकरणका लागि अहिले चलेको आन्दोलन रोकिनु हुँदैन । विश्राम लिनु हुँदैन । उदाहरणको लागि म केही कुराहरु भन्छु- तल्लो तहका न्यायधिशहरुलाई खुट्टै टेक्न दिंदैनन् ढाड भाँचिदिन्छन् । प्रमोशन नगरेर र अरु सुविधा रोकेर । त्यसैले तल्लै तह देखिको सेटिङ् छ । यसको अन्त्यका लागि न्यायलयको राजनीतिकरण बन्द हुनुपर्दछ । भागवण्डामा हुने नियुक्ति रोकिनु पर्छ अथवा बढुवा गर्दा न्यायधिशको ट्र्याक रेकर्ड हेरिनुपर्दछ । यसले कुन न्यायधिशले बदमासि गरेको छ भन्ने थाहा हुन्छ । त्यो भनेको ‘करियर जज’ हरुको भविष्यलाई सुनिष्चित गर्नुपर्दछ र यस्तो एउटा न्यायालयको निर्माण गर्नु पर्दछ जहाँँ जाँदा सबैले गर्व अनुभव गर्न सकुन ।

चोलेन्द्र शम्शेरले रजिनामा पनि नदिने अनी दलहरुले महाअभियोग पनि नलगाउने भएपछी अब के हुन्छ त ?

वर्तमान प्रधानन्यायधिशले केही राम्रा न्यायधिशहरुलाई पनि गलत फैसलामा संलग्न गराएर तिनिहरुको भविष्यलाई पनि निमोठ्ने प्रयत्न गरेका छन् । १६ करोड देखि एक अर्वसम्म भ्रष्टाचार गरेको कुरा छरपष्ट भएका छन् । अझै पनि दलहरुले महाअभियोग लगाउने तर्फ पहल गरेनन् भने सडकमा देख्नु भएको होला नि चोलेन्द्रको पक्षमा जुलुस निकाल्नेहरुले राजा आउ देश बचाउ भनेर नारा लगाएको । महाअभियोग लगाउनुको साटो चोलेन्द्रलाई बोकेर शेरबहादुरजी र ओलीजीहरुले लोकतन्त्रको भविष्यलाई नै दाउमा लगाइरहेका छन् । देशमा दुर्घटना निम्त्याउनका लागि कांग्रेस र एमालेका केही मान्छेहरु चोलेन्द्र सँग मिलेका छन् ।

ति राजा आउ देश बचाउ भन्ने जुन जुलुस चोलेन्द्र शमशेरको पक्षमा निस्किने गरेको छ त्यो जुलुस लोकतन्त्रको घाँटीसम्म पुग्ने सम्भावना छ र ?

सडकमा शान्तिपूर्ण प्रदर्शन गर्ने सबैको अधिकार छ । म त्यसको सम्मान गर्दछु । कुन राजावादीले चोलेन्द्रलाई जोगाउनुपर्छ भन्यो मेरो आपत्तिको कुरा होइन । तर राजा आउ देश बचाउ भन्नेहरुले चोलेन्द्रबाट मुख मिठ्याएका छन् कुरा त्यहि हो । अहिलेको राजनीतिक अवस्थाले लोकतन्त्रको घाँटीलाई कमजोर पारेको छ । त्यसैले केही पनि नहोला भन्न सकिंदैन । चोलेन्द्रलाई यहाँँसम्म ल्याउनु नै दलहरुको नालायकिपन हो । यि दल र दलका नेताहरु विकाउ छन् । यिनिहरुले चोलेन्द्रलाई नियुक्ती गर्दा पनि पैसा बुझेका छन् । यस्ता बिकाउ नेता भए पछी जे पनि हुन सक्दछ ।

तपाईंले भने जस्तै यात्रो सेटिङ, भागवण्डा र न्यायिक भ्रष्टाचारमा चोलेन्द्र मात्रै एक्लै होलान र ?

चोलेन्द्र शम्शेरजी एक्लै छैनन् । उनका पछाडि बिचौलिया, ब्यापारिक आवरणमा तस्कर, राज्यको कर छल्नेहरुको ठूलो जमात छ । चोलेन्द्रले ब्ल्याकमेल गरेका छन् । उनले कतिपय न्यायधिशहरुलाई ‘म फसें भने तिमी पनि फस्छौ’ भनेर ईशारामा काम गर्न लगाएका छन् । सामान्य रुपमा हेर्नु न सर्वोच्चका १९ जना न्यायधिशले एक एक पटक त वहिस्कार गरेका थिए नि चोलेन्द्रजीलाई । उनिहरुले किन विद्रोह गरे त भन्दा कतिपयको भित्रको इमान जाग्यो । किनभने उनिहरुलाई लाग्यो हामी त न्यायमुर्ती नै हौं, तर हामीलाई त यि मान्छेले दलालको नाइके नै बनाउन थाले भनेर विद्रोह गरे । बार एशोसिएशन आन्दोलनमा छ । तर यतिले मात्र पुग्दैन । न्यायधिश र बार पछी राजनीतिक दलहरु हुनुपर्ने थियो । तर भएन । दलहरु भ्रष्ट छन्, दलाल, तस्कर र राज्यको कर छल्ने अनैतीक समुहहरु सँग दलहरु पनि मिलेका छन् । चोलेन्द्र आफू एक्लैले खाएका छैनन् । यदी दलहरु जिम्मेवार भएको भए र सर्बोच्चका न्यायधिशहरु एकापट्टी भएको बेला महाअभियोग ल्याएको भए चोलेन्द्र शम्शेर राजिनामा दिएर भाग्थे । यदी कांग्रेस एमालेलाई चोलेन्द्र शमशेर राम्रा छन् भन्ने लागेको भए महाअभियोगको विपक्षमा भोट गरे हुन्थ्यो नि । तर यिनिहरुले गर्दैनन्, कचल्ट्याएका छन् ।

यहाँँनेर चोलेन्द्र शमशेरलाई मात्र दोषी बनाइएको छ, भागवण्डाका लागि सहमति गर्ने शेरबहादुर देउवा र केपी ओलीको किन कुरा हुँदैन ?

हेर्नुस् लोकतन्त्रमा के हुन्छ भने आन्तरिक निर्वाचन र राष्ट्रिय निर्वाचन प्रणालीबाट फोहर बढारेर शुद्धीकरणको अपेक्षा गरिन्छ । उदाहरणको लागि अहिले कांग्रेस एमालेको आन्तरिक निर्वाचन हुँदैछ । फोहर बढार्ने भनेको यस्तै बेला हो । ब्यक्तिगत फाईदाका लागि आफ्ना नेताहरुले के के अनैतीक काम गरे भन्ने कार्यकर्ताहरुले बुझेर त्यस्ता अनैतीक र भ्रष्ट ब्यक्तिहरुलाई बढार्न सक्नुपर्दछ । यसरी बढार्ने प्रकृया सबै तहको निर्वाचनमा हुनुपर्दछ । यदी यस्तो हुन सकेन भने लोकतन्त्र माथि नै खतरा उत्पन्न हुन्छ । अहिलेको मुल कुरा भनेको चोलेन्द्र शम्शेर जबरा हुन् र उनलाई हटाउनु देशको पहिलो आवश्यकता हो । यदी न्यायपालिका स्वच्छ र इमान्दार भयो भने भ्रष्ट नेताहरुले सजायँ पाउने ढोका खुल्छ । अहिले उनिहरुलाई कसले सजायँ दिने जबकि सर्वोच्चको प्रधानन्यायधिश नै भ्रष्ट छ । त्यसैले देउवा र ओलीहरुलाई सजायँ दिने भनेको आन्तरिक र राष्ट्रिय निर्वाचनबाट नै हो ।

अब के हुन्छ त ?

हेर्नुस चोलेन्द्र शम्शेर हट्ने बित्तिकै यो विकृतीको अन्त्य हुँदैन । उनलाई हटाउनु मात्रै यो आन्दोलनको लक्ष्य होइन । यो समग्र न्यायपालिकाको शुद्धीकरणका लागि प्र्यास हो । म चोलेन्द्र शम्शेरलाई आमन्त्रण गर्छु, अरु न्यायधिशहरु पनि भ्रष्ट छन भने सार्वजनीक गर्नुस् । वकीलहरुले बदमासि गरेका छन् भनेपनि भन्नुस त्यो लोकतन्त्र हो । यसले लोकतन्त्रलाई फाईदा गर्छ । फोहरहरु जती पनि छन् बढारिनु पर्छ । पहिले फोहरको थुप्रो बढारिनुपर्‍यो । त्यो भनेको चोलेन्द्र शम्शेर हट्नु पर्‍यो । उहाँ न्यायलयको मालिक होइन नि !

तपाइँको प्रतिक्रिया

फेसबुक