शनिबार, वैशाख १५, २०८१

युरोप र मध्य एसियामा मार्च १ सम्ममा कोरोनाबाट थप ७ लाखको मृत्यु हुनसक्ने डब्लुएचओको चेतावनी

नेपालप्लस संवाददाता२०७८ मंसिर ७ गते १८:३९

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोप र मध्य एसियामा मार्च १ सम्ममा कोरोना भाईरसबाट थप ७ लाखको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।

डब्ल्युएचओले गत हप्ता कोरोनाबाट हुने मृत्यु हुनेको प्रति दिन लगभग ४,२०० पुगेको बताएको छ । सेप्टेम्बरको अन्त्यमा रेकर्ड गरिएको स्तरको तुलनामा हाल दोब्बर पुगेको छ । युरोप र मध्य एसियाका ५३ देशलाई समेट्ने डब्लुएचओको युरोपेली क्षेत्रमा मृत्यु १५ लाख पुगेको छ।

डब्ल्युएचओले एक विज्ञप्ति मार्फत् भनेको छ “कोरोना भाईरस बढीरहेको हालको प्रवृत्तिका आधारमा अर्को वर्षको वसन्तसम्ममा मृत्यु हुनेको संख्या २२ लाख पुग्ने अनुमान गरिएको छ ।”

“आज युरोप र मध्य एसियामा कोरोना भाईरसको अवस्था निकै गम्भीर छ । हामीले आगामी केहि समय चुनौतीपूर्ण जाडोको सामना गरिरहेका छौं । तर हामी आशाविहीन हुनु हुँदैन । किनकि हामी सबै-सरकार, स्वास्थ्य अधिकारी, व्यक्ति मिलेर महामारीलाई स्थिर गर्न निर्णायक कदम चाल्न सक्छौं “डब्लुएचओ युरोपका क्षेत्रीय निर्देशक डा हान्स क्लुगेले भनेका छन् ।

डब्ल्यूएचओ युरोपले पनि खोप लगाएकाले संक्रमण र हल्का रोगहरू विरुद्ध नियन्त्रण भएको प्रमाण प्राप्त भएको उल्लेख गरेको छ । “बूस्टर डोज सबैभन्दा कमजोर नागरिक, कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिका साथै अधिक मानिसहरूलाई प्राथमिकताको रूपमा दिइनु पर्छ । यो उमेर ६० भैसकेका र स्वास्थ्य सेवा कर्मचारीहरूलाइ दिनुपर्छ” डब्ल्युएचओले भनेको छ ।

तर संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सीले वर्षको अन्त्यसम्ममा बूस्टरहरूको प्रयोगमा रोक लगाउन बारम्बार आह्वान गरेको छ ताकि धनी देशहरुको तुलनामा कोरोना खोपहरूको गम्भीर अभावको सामना गर्ने धेरै विकासशील देशहरूका लागि डोजहरू उपलब्ध गराउन सकियोस ।

डब्ल्यूएचओले युरोपभरिका मानिसहरूलाई खोप लगाउन, उचित स्वच्छता र सरसफाईको सम्मान गर्न र भाइरसको फैलावट रोक्नकालागि महत्वपूर्ण उपाय सामाजिक दूरी पालना गर्न आह्वान गरेको छ ।

“खोप नलगाएकालाई खोप लगाउनु, स्वच्छता र सरसफाईमा ध्यान दिनु र सामाजिक दूरि कायम गर्नु हाल उच्च संक्रामक रहेको डेल्टाको उत्परिवर्तित रुप (डेल्टा भेरियन्ट) लाई रोक्ने उत्तम उपाय हो” डब्ल्युएचओले भनेको छ ।

“अहिलेदेखि मार्च २२ भित्रमा २५ देशका अस्पतालको बेडहरूमा उच्च वा चरम तनाव हुनेछ । ५३ मध्ये ४९ देशहरूमा सघन उपचार कक्षहरू (आइसियु) मा उच्च तनाव हुनेछ” डब्ल्युएचओ युरोपको विज्ञप्तिमा भनिएको छ ।

तपाइँको प्रतिक्रिया