मंगलबार, वैशाख ११, २०८१

स्विजरल्याण्डमा कोरोना संक्रमित बढेको बढ्यै, अस्पताल क्षमता बाहिर

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ मंसिर ८ गते १४:४९

स्विजरल्याण्डमा कोरोना भाइरस संक्रमण फेरि उच्च स्तरमा बढेपछि अस्पतालहरु क्षमताबाहिर पुग्नथालेका छन् ।

स्वास्थ्य विज्ञहरूले मानिसलाई स्वच्छता र सफाईको नियमहरु पालना गर्न र कोरोना संक्रमणमा निरन्तर वृद्धिको कारण स्विस अस्पतालहरूलाई ओभरलोडबाट बचाउन खोप लगाउन आग्रह गरेका छन् ।

सार्वजनिक स्वास्थ्य विभागको संघिय कार्यालयका प्याट्रिक म्याथिसले स्विजरल्याण्डमा हालको महामारीको अवस्था गम्भीर रहेको र आगामी हप्ताहरूमा कोरोना भाईरस संक्रमितहरुको संख्यामा थप वृद्धि हुने अपेक्षा गरिएको बताएका छन् ।

उनका अनुसार १० देखि १९ वर्षको उमेर समूहमा संक्रमण उल्लेखनीय रूपमा बढेको छ । तर अस्पतालमा भर्ना भएका अधिकांश कोरोनाका बिरामीहरू ८० वर्ष वा त्यो भन्दा माथिका छन् ।

अक्टोबरको मध्यदेखि देशमा संक्रमणको नयाँ लहर आएको छ । मंगलबार दर्ता गरिएका नयाँ संक्रमित सहित सात दिनको औसत हेर्दा प्रतिदिन संख्या ५,५८७ पुगेको छ।

स्विजरल्याण्डको जनसंख्याको लगभग ६५ प्रतिशतलाई पूर्ण रूपमा खोप लगाइएको छ । हालसम्म दुई लाख भन्दा बढी मानिसहरू विशेष गरी ६५ वर्ष माथि उमेर समूहका मानिसहरूले बूस्टर खोप प्राप्त गरेका छन् ।

उनले सरकारद्वारा दिएका स्वास्थ्यका नियम पालना गर्न, स्वच्छता र सफाईका नियम आदर गर्न, विशेष गरी मास्क लगाउन, एक अर्काबिच सामाजिक दूरी कायम राख्न र सम्पर्कहरू कम गर्न आह्वान गरेका छन् ।

अस्ट्रिया जस्तै

सरकारको कोविड साइन्स टास्क फोर्सकी अध्यक्ष तान्जा स्ट्याडलरले स्विजरल्याण्डमा अस्पताल भर्नाहरू आगामी केही हप्तामा बढ्ने अपेक्षा गरेकि छन् । र स्विजरल्याण्डको अवस्था तीन हप्ता अघि अस्ट्रियाको जस्तै छ ।

“स्विट्जरल्याण्डमा महामारी विज्ञानको दृष्टिकोणले संक्रमणको अवस्थामा तुरुन्तै सुस्तता आउनु आवश्यक छ” उनले भनिन् ।”

स्ट्याडलरले वृद्ध जनसंख्याका लागि बूस्टर ज्याब र एन्टि-कोविड खोपहरू दिने हो भने अस्पताल भर्नाको संख्या आधा घटाउन मद्दत गर्न सक्ने बताएकि छन् ।

तपाइँको प्रतिक्रिया