शुक्रबार, चैत १६, २०८०

कोरोना संक्रमणले स्लोभाकियामा आपतकालसँगै लकडाउन घोषणा

नेपालप्लस संवाददाता२०७८ मंसिर ८ गते २३:१०

फोटो स्रोत- कृष्ण थापाको फेसबूक

कोरोना भाईरसको संक्रमण उच्च स्तरमा बढेपछि स्लोभाकियाले ९० दिनको आपतकालिन अवस्था र दुई हप्ताको तालाबन्दी घोषणा गरेको छ । स्लोभेकियामा सात दिनको औसत संक्रमण १० हजार भन्दा माथि बढेको देखिएको छ ।

मध्य युरोपेली यो देश हाल संक्रमणमा विश्वको सबैभन्दा द्रुत बृद्धिको बिचको अवस्थामा छ । यो भन्दा अगाडि जर्मनी रहेको छ जहाँ एकै दिन संक्रमितको संख्या ५० हजारसम्म पुगेको छ । यो संक्रमणलाई रोक्न सबै गैर अत्यावश्यक स्टोरहरू, साथै बार र रेस्टुरेन्टहरू बन्द गर्ने निर्णय स्लोभाकियाले गरेको छ ।

कोरोना बिरुद्द लढ्न अहल यहाँको स्वास्थ्य सेवा प्रणालीले संघर्ष गरिरहेको छ । यसलाई निस्क्रिय बनाउन सरकारले बचाउका उपाय अपनाएको हो ।

राष्ट्रपति जुजाना क्यापुटोभाले मंगलबार राष्ट्रलाई सम्बोधन गरेपछि यो निर्णय आएको हो । “स्लोभाकियाले कोरोना विरुद्धको लडाई हार्दैछ” उनले भनिन् ।

स्वास्थ्य सेवा कर्मचारीहरूले तोकिएभन्दा बढी काम गर्न थालेपनि अस्पतालहरूमा तनाव लगभग धान्न नसकिने अवस्थामा पुगेकाले लकडाउन आवश्यक रहेको उनले बताइन् ।

दुई हप्ता तालाबन्दीको अवधिमा मानिसहरूलाई किराना सामानहरू किन्न, काम र विद्यालयमा आतेजाते गर्न वा खोप लगाउने जस्ता विशेष कारणहरूका लागि मात्र आफ्नो घर छोड्न अनुमति दिइने छ ।

अझै खोप नलगाएकाहरूले काममा जानको लागि कोरोना परिक्षण नकारात्मक भएको प्रमाण वा कोरोना लागेर निको भएको प्रमाणित गर्नुपर्ने छ ।

एउटै घरमा बस्ने बाहेक अन्यलाई कुनैपनि घरमा छ जनाभन्दा बढी व्यक्ति भेला हुनपनि ९० दिने आपतकालीन अवस्थाभरि निषेध गरिएको छ ।

स्लोभाकियाको खोप दर युरोपेली युनियनका देशहरु मध्ये तेस्रो सबैभन्दा कम भएको देशमा छ । स्लोभाकहरू जम्मा ४५ प्रतिशत भन्दा अलिकति बढीले मात्रै पूर्ण रूपमा खोप लगाएका छन् ।

स्लोभाकियामा हाल कोरोना लागेर अस्पताल भर्ना हुनेहरुको संख्या ३,००० भन्दा बढी भैसकेको छ । यो संख्यालाई स्लोभाक स्वास्थ्य मन्त्रालयले गम्भिर मानेको छ ।
अस्पतालमा भर्ना भएकामध्ये झण्डै ८३ प्रतिशतले खोप नदिएको मन्त्रालयले जनाएको छ ।

स्लोभाकियाका छिमेकी देशहरू पनि कोरोना संक्रमणको बढ्दो समस्याबाट गुज्रिरहेका छन् । चेक गणतन्त्र र हंगेरी दुबै देशले कोरोनाको दैनिक वृद्धि बढाईरहेको अवस्था छ ।
अस्ट्रियाले सोमबार नोभेम्बर २२ देखिनै पूर्ण तालाबन्दी घोषणा गरेको छ । र यसले अर्को वर्षको फेब्रुअरी १ बाट खोप अनिवार्य गर्न गइरहेको छ । यस्तो घोषणा गर्ने यो विश्वको पहिलो देश बनेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक