शुक्रबार, चैत १६, २०८०

जर्मनीमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

नेपालप्लस संवाददाता / जर्मनी२०७८ मंसिर ९ गते २०:१९

फोटो स्रोत- डा सरोज चुडालको फेसबूक

जर्मनीमा महामारी सुरु भएदेखि कोरोनाबाट एक लाखभन्दा बढी मानिसको मृत्यु भएको जनस्वास्थ्य निकायले बिहीवार घोषणा गरेको छ ।

रोबर्ट कोच इन्स्टिच्युटको तथ्याङ्क अनुसार युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीले कोरोना भाइरस संक्रमणको नयाँ वृद्धिसँग लडिरहेको छ । गत २४ घण्टामा कोरोनाबाट ३५१ जनाको मृत्यु भएको छ । यसबाट कुल मृत्युको संख्या एक लाख एक सय १९ पुगेको छ ।

हाल जर्मनीमा संक्रमणको रेकर्ड उच्च भएको छ । गम्भिर रोगको उपचार गर्ने एकाइहरू अस्पतालमा भरिभराउ भएका छन् । यो स्वास्थ्य संकटले एन्जेला मर्केलको मन्त्रिपरिषद्दको कार्यभार सम्हाल्ने नयाँ गठबन्धन सरकारलाई तत्काल चुनौती खडा गरिरहेको छ ।

जर्मनीमा वुधवार मात्रै तिन दलहरुले नयाँ सरकार गठनमा सहमति गरेका छन् ।

केही अस्पतालहरूले केहि दिन अघिनै “तीव्र ओभरलोड” को सामना गरिरहेका छन् जसले कोविड बिरामीहरूलाई विदेशमा स्थानान्तरण गर्न आवश्यक बनाएको छ । जबकि पहिलो, दोस्रो र तेस्रो कोरोनाको लहरका बेला जर्मनीले फ्रान्स, ईटाली, स्विजरल्याण्ड लगायत देशका कोरोना बिरामीहरुलाई आफ्नो देशमा उपचार गरेको थियो ।

सघन हेरचाह र आपतकालीन चिकित्साका लागि जर्मन इन्टरडिसिप्लिनरी एसोसिएसनका प्रमुख जेर्नोट मार्क्सले जर्मनीमा कोरोनाका विरामी धेरै बढेको र छिमेकि देशमा उपचारका लागि लैजानुपर्ने अवस्था स्रिजना भएको बताएका छन् ।

जर्मनीले गत हप्ता कोरोना भाईरससित लड्न नयाँ नियमहरु घोषणा गर्‍यो । त्यसमा मानिसहरूले सार्वजनिक यातायातमा यात्रा गर्न वा कार्यस्थलमा जानु अघि उनीहरूलाई खोप लगाएको, कोरोना लागेरपनि निको भएको वा कोरोना भाइरसको पछिल्लो परिक्षण नकारात्मक भएको प्रमाणित गर्न आवश्यक छ ।

कोरोना संक्रमण धेरै भएका केहि प्रान्त, क्षेत्रले लकडाउनसमेत घोषणा गरिसकेका छन् ।

कोरोना संक्रमण अत्यधिक बढेपछि अस्ट्रियाको उदाहरण पछ्याउने अर्थात् लकडाउन गरेर सबै नागरिकलाई कोरोना खोप अनिवार्य गर्ने कि भन्ने चर्को बहस शुरु गरेको छ ।

आगामी चान्सलर ओलाफ स्कोल्जले अनिवार्य खोपको पक्षमा समर्थन व्यक्त गरेका छन् र उनको नयाँ सरकारले महामारीको अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीहरूको लागि बोनस दिने घोषणा गरेका छन् । त्यसकोलागि एक अर्ब युरो लगानी गर्ने बताएका छन् ।

जर्मनीले आफ्नो देशमा कोरोनाको चौथो लहर आइसकेको बताएको छ । तुलनात्मक रूपमा कम खोप दर भएकाले कोरोना संक्रमण अत्यधिक बढेको बताइएको छ ।
जर्मनीमा लगभग ६९ प्रतिशतले मात्रै कोरोनाको खोप लगाएकाले हाल कोरोना फैलिनुमा यसैलाई दोष लगाइएको छ । फ्रान्स जस्ता अन्य युरोपेली देशहरूमा खोप लगाउनेको संख्या ७५ प्रतिशत छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक