शुक्रबार, वैशाख १४, २०८१

रेडक्रसमा पहिलो महिला अध्यक्ष निर्वाचित

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ मंसिर १० गते १०:५४

स्वीसद्वारा सञ्चालित रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले मिरजाना स्पोलजारिक एगरलाई आफ्नो नयाँ अध्यक्षमा चयन गरेको छ ।

आईसीआरसी परिचालन गर्ने निकाय (जसलाई एसेम्बली भनेर चिनिन्छ) ले बिहीवार पिटर मौररले पद छोडेपछि उनको पदभार ग्रहण गर्न स्पोलजारिक एगरलाई चयन गरेको घोषणा गरेको हो । पिटर मौररले दश वर्षको कार्यालय सकेर सेप्टेम्बर २०२२ बाट राजीनामा गर्दै छन् ।

लगभग १६० वर्ष पहिले आइसिआरसिको स्थापना पछि यो पद सम्हाल्ने उनी पहिलो महिला हुन् ।

स्पोलजारिक एगरले द्वन्द्व र हिंसाबाट प्रभावित समुदायहरूलाई मद्दत गर्न संस्थाले निर्माण गरेको मानवीय मूल्यहरूलाई मूर्त रूप दिन कडा मेहनत गर्ने बताएकि छन् ।

एगरले संगठनमा रणनीतिक दृष्टिकोण, बलियो अन्तर्राष्ट्रिय अनुभव र व्यापक कूटनीतिक पृष्ठभूमि ल्याउनेसमेत बताएकि छन् ।

“उनी एक कुशल नेता हुन् र म विश्वस्त छु कि उनले सशस्त्र द्वन्द्व र हिंसाबाट प्रभावित मानिसहरूको लागि शक्तिशाली र दयालु वकिल बनेर कार्य गर्नेछिन्” पिटर मौररले भनेका छन् ।

स्पोलजारिक एगर हाल संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) को सहायक महासचिव र सहायक प्रशासक छन् । उनी युरोप र कमनवेल्थ अफ इन्डिपेन्डेन्ट राज्यहरूको लागि युएनडिपी क्षेत्रीय ब्यूरोको प्रमुख हुन् ।

उनले पहिले स्विजरल्याण्डको राजधानी बर्नस्थित परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय संगठन विभागको प्रमुखको रूपमा काम गरेकि छन् । त्यहाँ कार्य गर्दा उनले स्विस संयुक्त राष्ट्र नीतिहरू र प्राथमिकताहरूलाई आकार दिन मद्दत गरेको स्विस इन्फोले जनाएको छ ।

तपाइँको प्रतिक्रिया