बुधबार, जेठ ११, २०७९

ओलीपथको अधिनायकवादी सी जिनपिङ अभिष्ट

शैलेश श्रेष्ठ / उत्तर अमेरिका२०७८ मंसिर ११ गते २२:१९

फोटो साभार- कान्तिपुर दैनिक

विश्व राजनैतिक ईतिहास र बिरासतहरुको सुक्ष्म लेखाजोखा गर्दा म एउटा सफेद यथार्थ जहिल्यै पनि भेट्दछु । त्यो के हो भने भिडले सधैं न्याय गर्दैन । अनि सत्य र न्याय चाहीं मौन या अल्पमतमा पनि बाँचिरहन्छ । व्यक्ति या पात्र ठूलो विषय होइन । म भिंडलाई आफ्नो राजनैतिक पुँजी ठानेर आफुलाई ‘अपरिहार्य’ बनाउने त्यस्तो भयानक चरित्रको आवधिक पोष्टमार्टम गर्न मन पराउँछु । आज म हाम्रो बहुलवादी लोकतन्त्रमा लोकतान्त्रिक पध्दतीबाटै उदाएका ओली अधिनायक अभिष्टको चिरफार गर्दैछु ।

बिगतहरुलाई घनिभूत रुपमा उभिंदा म खड्ग प्रसाद शर्मा ओलीलाई त्यस्तो भयानक चरित्रकारुपमा देख्दछु जो मदन भण्डारी जनताको बहुदलीय जनवादको बैसाखी टेकेर उनकै परिकल्पनालाई तहसनहस पार्न उद्धत छन । आफूले नरोपको गणतन्त्रको बिउनै नासिंदा, आफूलाई मनै नपरेको संघियतानै मासिंदा या आफुले देखि नसहेको धर्म निरपेक्षता सकिंदा उनी किञ्चित बिस्मात गर्दैनन् । त्यसैले त, उनको प्राथमिकता सधैं जलाहरी बनाउन करोडौं राज्य कोषबाट दान दिने, शिबलिङ्ग निर्माण गर्ने, राम मन्दिर निर्माणको योजना र परियोजनाहरु हुने गर्दछन ।

तात्कालिक एमाले कार्यकर्ता र समर्थकका हैसियतमा पार्टीको पाँचौं अधिबेशन मेरो मानसपटलमा अझै ताजै छन् । एमाले पाँचौं अधिबेशन र जबजले पार्टी भित्र बैचारिक बहस मात्र ल्याएको थिएन, पार्टीलाई पारदर्शी, उदार र लोकतान्त्रिक समेत बनाउने आँट गरेको थियो । एमालेमा अब राजनैतिक जीवनको गतिशीलता सकियो ।

ओलीको जयजयकार गर्न नारायणी कुम्भ भेलामा पुगेका कार्यकर्ताहरुको बिबेकहिन दुई हातहरु ओलीको भाषणमा ताली बजाउन मात्र प्रयोग भए भने त्यो नेकपा एमालेको मात्र दुर्भाग्य हुने छैन कि त्यो नेपालको बहुलवादी लोकतान्त्रिक पद्धतीमा गरिएका स्वार्थपरक लज्जाजनक अभ्यास र दृश्यहरु पनि हुनेछन् ।

अहिले दशौँ अधिबेशनमा आईपुग्दा ओलीको सर्वाधिकार, अग्राधिकार र एकाधिकार समेत रहेको एमाले विचारका दृष्टिले निस्प्राण, अराजक, व्यक्तिकेन्द्रित र भुत्ते हुँदै गएको प्रष्टै देखिन्छ । जबजको सौन्दर्य आलोचनात्मक चेत थियो त्यो अब पुरापुर सकियो । खड्ग प्रसाद शर्मा ओलीलाई खुसी पार्नेहरु टिक्छन । बाँकी ढिलोचाँडो आफ्नो बाटो लाग्छन । सत्ता, शक्ति र पदका लागि बगावत गरिरहेका दस भाइलाई ओलीले राम्ररी छामेका छन् । पार्टीको उमेर हदबन्दीका कारण ओलीको यो अन्तिम कार्यकाल हुनेछ । र हुनुपर्ने हो । तर खड्ग प्रसाद शर्मा ओली सी जिनपिङ, भ्लादिमिर पुटिन या किम जोङ्ग उन नहोला भन्न सकिने अवस्था अब रहेन । ‘आई लब यु केपी ओली’ बाट ‘उई लब यु केपी ओली’ मा रुपान्तरिक भएको एमाले स्वार्थ केन्द्रित जत्थाको मनोविज्ञान बादशाह बन्ने सपना बोकेका ओलीले राम्ररी बुझेका छन् ।

सर्वहारा गरिव किसान र मजदुरले बोक्ने तथाकथित मुक्तिकामी हँसिया हतौडाको झण्डालाई ओलीले जनताको हातबाट खोसेर राईनोको हातमा सुम्पिदिएका छन । उनी सामान्य जीवन र राजनैतिक बाटोबाट असामान्य गन्तब्य रोज्दैछन । त्यो भनेको उनको केन्द्रिकृत अधिनायकबादको सपना नै हो । हिजो आज हरेक सभा समारोहमा उनले प्रयोग गर्ने गरेको सिंहाशनले उनको दुरगामी चाहना, अभिष्ट र अन्तर्यलाई पुष्टी गर्दैन र ? सर्वहारावर्गको उत्थान गर्ने भनिएको पार्टीको अध्यक्षलाई किन चाहियो बादशाह राजा महाराजाहरु बस्ने कुर्ची?

विचार, चरित्र र पार्टी संचालनका हिसाबले खड्ग प्रसाद शर्मा ओली ‘अधिनायकबादी’ नै हुन् । त्यसो हुनुमा उनको नश्लबादी चिन्तन कारक हो नै । त्योसँगै स्वार्थका लागि दासत्व स्विकार्न राजी भएका तथाकथित बिद्रोही दस भाइ र झर्ला र खाउँलाको निरिह आशे राजनैतिक जीवन जिउन बाध्य भएका पूर्व माओबादी पाँच भाइहरु पनि त्यत्तिकै जिम्मेदार छन् । ओलीको रगतमा त्यस्तो अधिनायकबादी रक्त तिब्रतर गतिमा संचार गर्नमा ‘आई लब यु केपी ओली’ बाट ‘उई लब यु केपी ओली’ मा रुपान्तरिक भएको एमाले व्यक्तिकेन्द्रित स्वार्थपरक जत्थाको पनि ठुलो भूमिका रहने गरेको छ । त्यस्तो भिड उनले बालुवाटारको ‘कल्ट’ मा मात्र होइन बालकोटको ‘बार्दली’ बाटपनि देखे।

ओलीले अभ्यास गर्न खोजेको पुरानो चिनिया र रुसी मोडलबाट प्रतिष्पर्धात्मक लोकतान्त्रिक शैलीमा पार्टीलाई लाने सवालनै जबजको मुलभूत मानक र प्राण थियो । पार्टीको त्यो परिमार्जित स्वरुपलाई क्षतविक्षत र ध्वस्त पारेर ओली सी जिनपिङ बन्ने यात्रामा निरन्तर अघि बढेका छन् ।

त्यो यथार्थ र सत्यलाई उनी आफैंले पुनः पुष्टी गरिदिएका छन् । नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्द सत्रमा नेतृत्व चयनको सम्पूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओली आफैंले लिएका छन् । त्यही नै उनको ‘ग्रान्ड डिजाईन’ हो । राजतन्त्र र पंचायतले लामोकाल ‘फुटाउ र शासन गर’ को रणनीति लिएको थियो भने ओलीले ‘पहिले थर्काउ अनि पछि फकाउ’ को रणनीति लिएका छन् । ठूलो कुरो गरेर बगावत गरिरहेका दस भाइलाई उनले थर्काएर निहुरिन बाध्य बनाए भने अहिले लोकतान्त्रिक प्रतिष्पर्धामा जान चाहने भिम रावल, सुबासचन्द्र नेम्बाङ्ग र अष्टलक्ष्मी शाक्यहरुलाई थरिथरीका ललीपप देखाएर फकाउँदैछन् ।

लोकतन्त्र, लोकतान्त्रिक मुलुक र पार्टीको चुनावी प्रक्रियामा दुनियाँमा कहीं पनि कुनै पनि पदका आकांक्षी आफैंले त्यस्तो ‘डिक्टेटोरियल पावर’ लिंदैनन । आवरणमा मात्र सिमित लोकतन्त्र भएको मुलुक र त्यहाँका नेताहरुले मात्र त्यस्तो शैली र आचरण प्रस्तुत गर्ने गर्दछन् । अध्यक्ष पदकै आकांक्षी भीम रावलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने निर्णय नमान्ने बताएका छन् ।

अहिले ओलीले अभ्यास गर्न खोजेको पुरानो चिनिया र रुसी मोडलबाट प्रतिष्पर्धात्मक लोकतान्त्रिक शैलीमा पार्टीलाई लाने सवालनै जबजको मुलभूत मानक र प्राण थियो । पार्टीको त्यो परिमार्जित स्वरुपलाई क्षतविक्षत र ध्वस्त पारेर ओली सी जिनपिङ बन्ने यात्रामा निरन्तर अघि बढेका छन् । उनलाई थाहा छ, पार्टीलाई ‘पोलिटिकल कल्ट’ मा रुपान्तरण नगर्ने हो भने सडकमा ‘उई लब यु केपी ओली’ भन्नेहरुको भिड जम्मा गर्न गाह्रो हुन्छ ।

ओलीको अधिनायकबादी प्रबृत्ति र सर्वसत्ताबादी शैलीकै बाबजुद पनि एमालेसँग बलियो संगठनिक जनवर्गीय संजाल छ । तर शक्ति र स्वार्थपरक माथिको त्यो बिकराल रोग तलतलसम्म पनि फैलँदो छ । मदन भण्डारीको राजनैतिक स्वैरकल्पना जबजलाई हठात् मृत्युजन्य बनाउन र घोषित गर्न खड्ग प्रसाद शर्मा ओली उत्साहित रुपमा उद्धत देखिएका छन् । ओलीको जयजयकार गर्न नारायणी कुम्भ भेलामा पुगेका कार्यकर्ताहरुको बिबेकहिन दुई हातहरु ओलीको भाषणमा ताली बजाउन मात्र प्रयोग भए भने त्यो नेकपा एमालेको मात्र दुर्भाग्य हुने छैन कि त्यो नेपालको बहुलवादी लोकतान्त्रिक पद्धतीमा गरिएका स्वार्थपरक लज्जाजनक अभ्यास र दृश्यहरु पनि हुनेछन् । तथापी खचाखच भिड, तामसी उत्सव र जयजयकारहरु मात्र अन्तिम सत्यहरु होइनन् । बहुलवादी लोकतन्त्र यस्तै घटना परिघटनाहरुलाई सामना गरेर आफैंलाई परिष्कृत गरेर निरन्तर अघि बढ्दछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक