बिहीबार, चैत १५, २०८०

फ्रान्स आप्रवासी संकटमा बेलायतको ‘बन्धक’ नबन्ने

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ मंसिर १२ गते २१:०२

फ्रान्स अवैध आप्रवासन सम्बन्धी मुद्दाहरूमा बेलायतसँग गम्भीर छलफल गर्न तयार रहेको तर उसको घरेलु राजनीतिमा बन्धक नबन्ने फ्रान्सका गृह मन्त्री जेराल्ड डार्मानिनले बताएका छन् ।

यि दुई देश पहिलेनै ब्रेक्सिट पछिको व्यापारिक नियमहरू र माछा मार्ने अधिकारलाई लिएर विवादमा छन् । गत हप्ता फ्रान्स र बेलायतबिचको एटलान्टिक महासागरको च्यानल पार गर्ने प्रयासमा २७ आप्रवाशीको मृत्यु भएपछि सम्बन्ध थप बिग्रिएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राष्ट्रपति एमानुएल माख्रोंलाई पत्र लेखेर आप्रवासीहरूलाई जोखिमपूर्ण यात्राबाट रोक्न दुई देशले चाल्न सक्ने पाँचवटा कदमहरू उल्लेख गरेका थिए । ती मध्ये एक – अवैध आप्रवासीहरूलाई फ्रान्स फिर्ता पठाउने उल्लेख थियो । उक्त पत्र सार्वजनिक भएपछि बेलायतसित फ्रान्स क्रुद्द बनेको छ ।

जोनसनले उक्त बुँदा सहितको पत्र ट्वीटरमा प्रकाशित गरेपछि फ्रान्सले बेलायती गृहमन्त्री प्रिती पटेललाई युरोपेली समकक्षहरूसँग आइतवारको बैठकमा भाग लिन दिएको निमन्त्रणा रद्द गरेर कडा प्रतिक्रिया दियो ।

“बेलायतले युरोप छोड्यो, तर संसार होइन । हामीले यी प्रश्नहरूमा गम्भीरताका साथ काम गर्न आवश्यक छ । बेलायतको घरेलु राजनीतिबाट हामीलाई बन्धक नबनाई, काम गर्नुपर्छ” डार्मानिनले कालेमा बेल्जियम, जर्मन र डच समकक्षहरूलाई भेटेपछि पत्रकारहरूसित भनेका छन् ।

“फ्रान्सले २५ वर्षदेखि बेलायतमा अवैध आप्रवासनको मुद्दालाई सम्हाल्दै आएको थियो र अब लन्डन ब्यूँझने समय आएको छ” डार्मानिनले भने “यदि आप्रवासीहरू काले, डनकिर्क वा उत्तरी फ्रान्समा आउँदैछन् भने तिनीहरू बेलायतद्वारा आकर्षित छन् । विशेष गरी श्रम बजारले गर्दा आकर्षित भएका हुन् । त्यसको मतलब तपाईं कुनैपनि पहिचान बिना इङ्गल्याण्डमा काम गर्न सक्नुहुन्छ ।”

उनले स्पष्ठ पार्न खोजेका छन् “बेलायतले आफ्नो जिम्मेवारी लिनुपर्छ र आफ्नो आर्थिक आकर्षण सीमित गर्नुपर्छ ।”

“युद्ध र गरिबीबाट भागेर आएका र अनेक युरोपेली मुलुक हुँदै बेलायत प्रवेश गर्न खोज्ने आप्रवासीहरूको प्रवाहलाई रोक्न फ्रान्सको सहयोग चाहिन्छ” बेलायती स्वास्थ्य मन्त्री साजिद जाविदले आइतवार जोनसनको पत्रको बचाउ गर्दै भने ।

आइतवारको बैठकमा आफ्ना युरोपेली साझेदारहरूसँग प्रहरीबिचको थप सहयोग लिने बारे थोरै सहमति भएको तर युरोपेली सीमा र तटरक्षक एजेन्सीले फ्रान्सको उत्तरी तटीय रेखाको निगरानी गर्न डिसेम्बर १ देखि एक विमान उपलब्ध गराउन सहमत भएको डार्मानिनले उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक