शनिबार, वैशाख ८, २०८१

समितिमा छलफलनै नगरि अदालतमा मुद्दा दायर गरेको आरोप

नेपालप्लस संवाददाता / पेरिस२०७८ मंसिर १२ गते २१:२६

गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदकै केही पदाधिकारीहरुले उनीहरुसँग सरसल्लाह नगरिकनै अध्यक्ष कुमार पन्तले नेपाल सरकार विरुद्ध मुद्दा दायर गरेको आरोप लगाएका छन् ।

संघको अध्यक्ष पदका प्रत्यासी कुल आचार्य समर्थकहरुद्वारा आइतवार आयोजित ‘खुला डबली’ मा बोल्दै उपाध्यक्ष सोनाम लामाले नेपाल सरकार विरुद्ध मुद्दामामिला गर्ने काम लज्जाजनक भएको बताए । “जुन थालमा खाना खान्छौं, त्यसैलाई लात हान्नु लाज लाग्ने कुरा हो,“ उनले भने । उनले एनआरएनए फुटेर हैन,  जुटेर जानुपर्ने पनि बताए।

आइसीसीका अर्का उपाध्यक्ष मन केसीले संघका कुनै पनि निकायमा छलफल र निर्णय नगरी नेपाल सरकार विरुद्ध मुद्दा गर्ने काम मान्य नहुने बताए । “हामीलाई अन्धकारमा राखिएको छ । सरकार विरुद्ध मुद्दा हाल्ने कामले गलत नजीर बसालेको छ ।’

युरोप संयोजक नारायण आचार्यले अदालत जाने बारे संस्था भित्र कुनैपनि छलफल नभएको उल्लेख गरे । हालका सीइओ राजेश राणालाई जबर्जस्ती हटाउँदा संघलाई लाखौं घाटा लागेको भन्दै उनले यस पटक पनि सर्वसाधारण एनआरएनले तिरेको शुल्क खर्च गरेर मुद्दा मामिला नगर्न चेतावनी दिए । “यदि त्यसो गरियो भने मुद्दामामिला गर्दा लागेको खर्च आउँदै गरेको कमिटिले सम्बन्धित पदाधिकारीहरुबाट शोध भर्ना गराउनु पर्छ” उनले भने ।

संरक्षकहरुलाई आग्रह

संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले संस्था गम्भीर मोडमा आएकाले संस्था बचाउन उत्तरदायी भूमिका निर्वाह गर्न संरक्षकहरुलाई आग्रह गरे ।

आचार्यले सरकारसँग झगडा गर्ने कुरा आजैदेखि बन्द गर्न र जुनसुकै पार्टीको सरकार भएपनि सम्मान गर्नुपर्ने बताए । ‘के गैर आवासीय नेपालीका समस्यालाई रद्दीको टोकरीमा हालेर हामी अगाडि बढ्न खोजेको हो?’ उनले प्रश्न गरे ।

‘अहिलेका सबै स्टेकहोल्डरले मन्त्रालयसँग सिंगौरी खेल्दै होइन, विधि विधान अनुसार दिएको निर्देशनलाई कार्यान्वयन गर्नुपर्छ । सकिन्छ, मिलेर जाऔं, नसके पारदर्शी ढंगबाट चुनाव लडेर अगाडि जाउँ’ उनले भने ।

‘संसारभरिका नेपालीको टाउको बेच्ने काम भएको छ भने हामी खबरदारी गर्छौं । एउटा नेपालीले अर्कोलाई ठगेको छ भने त्यो सहनसक्ने विषय होइन,’ आचार्यले थपे ।

उनले संस्था नेपालीका दुःखसुखमा साथ दिन, नेपालसँग जोड्नका लागि बनाइएको तर कसैको व्यापारिक हित पुरा गर्न नबनाइएको उल्लेख गरे ।

यसैगरी महासचिव पदका उम्मेदवार डा. केशव पौडेलले गत जनवरीमा विशेष अधिवेशनको नाटक रचिएको र संस्था कब्जा गर्ने खेल जारी रहेको बताए । उनले संस्थाका केही अगुवाहरुले एनआरएनएको नाममा व्यापार गरिरहेको बताउँदै त्यो हतियार उनीहरुले त्याग्न नचाहेको दावी गरे । तर कोकसले ब्यापार गरेको भन्ने चाहिं उनले खुलाएनन् ।

गैर आवासीय नेपाली संघका सल्लाहकार तथा एनआरएन हंगकंगका पूर्व अध्यक्ष त्रिलोक गुरुङले संघमा चरम विवाद र अनियमितता देखिएको भन्दै दुख व्यक्त गरे ।

संस्थापन पक्षले अभिभावकको भूमिका खेलेर प्रतिपक्षलाई बिश्वासमा लिई अघि बढ्नु पर्नेमा आफैं मुद्दामामिला गर्दै हिड्ने काम दुर्भाग्यपूर्ण रहेको उनले बताए । आफ्ना कमिकमजोरी लुकाउन अरुलाई दोष लगाउने काम कामचलाउ अध्यक्षले गरेको भन्दै उनले खेद व्यक्त गरे ।

पन्तले गत शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख संरक्षक डा. शेष घलेको नाम लिएर पटक पटक संस्थाको बेथितिको कारक उनी रहेको भन्दै दोष लगाएका थिए ।

एनआरएनएका केन्द्रिय सल्लाहकार विश्व आदर्श पण्डितले नियमावली र विधान आफूखुशि बदलेको, बिभिन्न बुँदा संस्थापन पक्षले आफूखुशि थपेको आरोप लगाउँदै त्यसका बिरुद्द लड्न आव्हान गरे । उनले भने “अब यसका बिरुद्द एकजुट भएर लड्नुपर्छ । जस्तोसुकै कदम चाल्नपनि तपाईहरु तयार रहनुहोला ।”

तपाइँको प्रतिक्रिया

फेसबुक