बिहीबार, वैशाख १३, २०८१

“कांग्रेसको जनसंपर्क समितिहरुका संरचना बदल्नुपर्ने समय आएको छ” गगन थापा

नेपालप्लस संवाददाता / बेल्जियम२०७८ मंसिर १३ गते १८:०४

युवा नेता गगन थापा

नेपाली कांग्रेसका चर्चित युवा नेता गगन कुमार थापाले नेपाली कांग्रेस आवद्द जनसंपर्क समितिहरुको संरचना बदल्नुपर्ने समय आएको बताएका छन् ।

जनसंपर्क समिति बेल्जियमको पाँचौ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै थापाले उक्त कुरा बताएका हुन् ।

नेपाली कांग्रेसको चौधौं महाधिवेशनको ब्यस्त समयबाट फुर्सद निकालेर नेता थापा जनसंपर्क समितिको अधिवेशनमा शुभकामना दिन आएका थिए । जनसंपर्क समितीहरुका समस्या र विदेशमा रहेका कांग्रेस कार्यकर्ताहरुलाई मुल पार्टीसँग जोड्न निरन्तर सकृय रहेका थापाले जनसंपर्क समितीका कतिपय समाचारहरुले आफू निरास भएको बताए ।

उनले भने “अस्तिको केन्द्रिय समितिको बैठकमा करिव डेढ घण्टा संपर्क समितिहरुको बारेमै छलफल भयो । म यो त्यो भन्दिन । तर फलानो देश, अर्को देश, यो देशको कृयाशिल सदस्य यहाँँ बाँडिएन त्यहाँ झगडा भयो, अर्को देशमा विवाद देखियो भनेर धेरै बेर हामीले छलफल गर्नुपर्‍यो । नेपालको विवाद भएको जिल्लाहरुमा भन्दा जनसंपर्क समितीका विवादका बारेमा बढी छलफल गरिरहेका छौं ।”

उनले थपे “यो अवस्था आउँला भनेर मैले कहिल्यै सोचेको थिइन । मलाई यस्तो होला भन्ने अनुमान नै थिएन । यि र यस्ता समस्याहरुमा अधिवेशन सकिए पछी आमुल रुपमा सोच्नपर्ने भएको छ । हामीले जनसंपर्क समिती कस्तो बनाउन खोजेको हो ? किन यस्तो भएको छ ? हामीले अलिकती फर्म्याट बदल्न पर्ने हो कि ! कहीं न कहीं त केही समस्या जरुर भएको छ । के गर्‍यो भने हामी यो अप्ठ्यारो बाट बाहिर निस्किन सकिन्छ होला ?”

सन २००२ पछी तेस्रो मुलुकहरुमा सकृया बन्दै गैरहेका प्राय: जनसंपर्क समितिहरुमा विगत एक दशक यता ब्यापक विवाद देखिएका छन् । अमेरिका, जर्मनी, बेल्जियम, डेनमार्क लगायत अधिकांश देशहरुमा प्राय दुई गुटहरु संचालनमा छन् । ति गुटहरुले आफ्ना केन्द्रिय नेताहरुको चाहना अनुरुप काम गर्ने गर्दछन ।

नेता थापाले यस्ता कृयाकलापले अन्तत पार्टीलाई नै कमजोर बनाउने धारणा राखे । उनले भने “जनसंपर्क समिती भनेको पार्टीको निकाय हो । तर गुटगत झगडा र विवादले मलाई निरास बनाउने गर्दछ ।”

कार्यक्रममा बोल्दै थापाले चौधौं अधिवेशनको मिती तय भएको भए पनि पार्टीका साथीहरुलाई त्यो मितिमा अधिवेशन हुन्छ भन्ने रत्तिभर पनि विश्वास नबहेको उल्लेख गरे । “त्यो सर्ने मिती हो भन्ने थियो । त्यो सम्मको हाम्रो अवस्था भएको थियो । तर अब हामी सबै कुरा सम्हाल्दै अधिवेशनको यात्रामा अगाडि बढीसकेका छौं । अब कुनै फेरबदल हुँदैन” उनले भने ।

थापाले अहिलेका गाउँ, जिल्ला र प्रदेश तहका अधिवेशनहरु नयाँँ उर्जा थपिएको बताउँदै सुनाए “तर यसरी उर्जाका साथ आएका नयाँँ साथीहरुलाई नेतृत्व समेट्न सक्छ कि सक्दैन, संयोजन गर्न सक्छ कि सक्दैन ? आगामी चौधौं महाधिवेशमा थापा आफैं महामन्त्रीका उम्मेद्वार छन ।

जनसंपर्क समिति बेल्जियमकी सभापती सिता सापकोटा

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेल्जियम जनसंपर्क समिती युरोपको राजाधानीमा रहेको हुनाले पनि यो समितिको निकै ठुलो महत्व रहेको बताए । देउवा छोटो शुभकामना मन्तब्य दिएर बाहिरिएका थिए ।

कार्यक्रममा नेता गोविन्द भट्टराइ तथा सुरेन्द्र पाण्डेको पनि सहभागिता रहेको थियो ।

कार्यक्रम अघि बेल्जियम संपर्क समितिका सभापति सिता सापकोटाले पाँचौ अधिवेशन ब्यापक एकताको अधिवेशन भएको बताइन् ।

उनले भनिन् “हामीबिच भएका सबै खाले विवादहरुमा सहमति भएको छ । अब कुनै समस्या छैन ।”

जनसंपर्क समिती बेल्जियम सबैभन्दा बढी बिवाद रहेको समिती थियो । सपकोटाको कार्यकालमा एउटा पक्षले निरन्तर असहयोग गरेको थियो । तर अब सबै समस्या सुल्झिएको सापकोटाले बताइन् ।

तपाइँको प्रतिक्रिया