शुक्रबार, वैशाख ७, २०८१

स्विस राष्ट्रपतिद्वारा कोरोनाको पाँचौं लहरकालागि तयार रहन प्रान्तिय अस्पतालहरूलाई निर्देशन

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ मंसिर १३ गते १८:३०

स्विस राष्ट्रपति गी परमेलिनले कोरोना संक्रमणको पाँचौं लहरसित लड्नुपर्ने चेतावनी दिंदै अस्पतालहरुलाई तयार रहन निर्देशन दिएका छन् ।

“नयाँ कोविड १९ का घटनाहरूमा सम्भावित बृद्धिको लागि अस्पतालहरू तयार हुनुपर्छ । गम्भीर महामारीको अवस्थालाई नियन्त्रणमा राखिएको सुनिश्चित गर्न कदम चाल्नु पर्छ” उनले भनेका छन् ।

नोभेम्बर २४ मा प्रान्तिय कार्यालयहरूलाई पठाइएको चार पृष्ठको पत्र सोमवार सार्वजनिक भएको हो । पत्रमा पर्मेलिनले चेतावनी दिएका छन् ” प्रान्तहरूले नयाँ कार्यभारको लागि अस्पतालहरू तयार पार्नुपर्छ किनकि अस्पतालमा भर्ना हुने विरामीहरु छिटो बढ्न सक्छन् ।”

पत्रमा उनले प्रान्तहरूलाई मास्कको व्यापक प्रयोग गराउन, काम गर्दा एक अर्काबिच कम सम्पर्कमा रहन, थप नियमित कोभिड परीक्षण गराउन र ठूला जमघटहरूमा प्रतिबन्ध लगाउने सहित छिटो भन्दा छिटो स्वास्थ्यका काम गर्न, गराउन निर्देशन दिएका छन् ।

स्वीजरल्याण्डमा कोभिड-१९ का बिरामीको संख्या मध्य अक्टोबरदेखि उल्लेखनीय रूपमा बढिरहेको छ । शुक्रबार ८,०३२ नयाँ संक्रमित रिपोर्ट गरिएको थियो जुन गत हप्ताको सुरुको स्तर भन्दा ५० प्रतिशतले बढी हो । संक्रमितहरुको संख्या प्रत्येक दुई हप्तामा दोब्बर हुँदै गएको अधिकारीहरुले बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक