बिहीबार, वैशाख १३, २०८१

कोरोनाको नयाँ रुप ओमिक्रोन : महामारी पुस्तकको अर्को अध्याय

मानुयला कानारी२०७८ मंसिर १५ गते १८:५९

ओमिक्रोन यस्तो पुस्तक हो जबसम्म विश्वले खोपको असमानता मेटाउँदैन, सबैलाई समान तरिकाले खोप लगाउँदैन महामारीको पाना एक पछि अर्को पल्टिरहने छ ।

संसार पुन: खुला हुन थालेको थियो । मानिसहरूले क्रिसमसको यात्रा र क्रिसमस पर्वको तामझम गर्न शुरु गरेका थिए । यसलाई बाधा पुर्‍याउन फेरि बि १-१-५२९ (ओमिक्रोन) भेरियन्टको उदय भयो । पहिलो पटक ११ नोभेम्बरमा बोत्सवानामा पत्ता लाग्यो । तर यो अचम्म भने होइन ।

भाइरसलाई जति लामो समयसम्म विश्वको कुनैपनि भागमा फैलिन दिईन्छ नयाँ रूपका थप खतरनाक भेरियन्टहरू देखापर्ने सम्भावना त्यति नै बढी हुन्छ भनेर महिनौंदेखि विज्ञहरूले चेतावनी दिंदै आएका छन् ।

तर खोपको बितरणमा ढिलाई तथा असमानता र विश्वव्यापी योजनाको अभावको अर्थ अष्ट्रेलियालगायतका धनी देशहरूले तेस्रो डोज लगाइरहेका छन् । यस्तो बेला खोपको दर अत्यन्तै न्यून रहेको छ । विश्वका अन्य भागहरूमा भाइरसको फैलावट अनियन्त्रित छ ।

बोत्स्वानाको स्थिति

दक्षिण अफ्रिकाको भूपरिवेष्ठित देश बोत्सवानामा जनसंख्याको २० प्रतिशतले मात्र पूर्ण रूपमा खोप लगाएका छन् । देशमा डेल्टा लहरको पुच्छर झुण्डिएको छ । अन्य दक्षिणी अफ्रिकी देशहरू जस्तै बोत्सवानामा एचआईभी संक्रमणको दरपनि उच्च छ जसलाई वैज्ञानिकहरूले सार्स कोभिड-२ उत्परिवर्तन गर्नसक्ने चेतावनी दिएका छन् ।
कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरू जस्तै एचआईभी भएका व्यक्तिहरू धेरै हप्तासम्म कोरोना भाइरसबाट संक्रमित रहने सम्भावना बढी हुन्छ भन्ने राम्रो प्रमाण छ । लामो समयसम्म संक्रमण भैरहनु भनेको नयाँ नयाँ स्वरुपमा उत्परिवर्तन हुनकोलागि संयन्त्र बन्नु हो ।

गत जुनमा प्रकाशित गरिएको एक अध्ययनले २१६ दिनसम्म सार्स कोभिड-२ बोकेकि एचआईभी ग्रस्त ३६ वर्षीया महिलाको घटना बाहिर आएको थियो जसमा भाइरसले ३० भन्दा बढी उत्परिवर्तनहरू गर्यो ।

विश्वभर एचआईभीसँग बाँचिरहेका तिन करोड ७७ लाख मानिसहरू मध्ये ६५ प्रतिशत भन्दा बढी अफ्रिकाको उपसहारा क्षेत्रमा बस्छन् । र तिनीहरूमध्ये लगभग ८० लाखले प्रभावकारी एन्टिरेट्रोभाइरल थेरापी प्राप्त गर्दैनन् । त्यसैले यो क्षेत्र ओमिक्रोन संस्करणको लागि उत्तम प्रजनन स्थल मानिएको छ ।

ओमिक्रोन नामाकरण

शुक्रबार नोभेम्बर २६ मा, डब्ल्यूएचओले नयाँ संस्करणको नाम ग्रीक नाम ओमिक्रोन राख्यो । यसलाई चिन्ताजनक स्वरुपमा वर्गीकृत गर्‍यो ।

डब्ल्यूएचओका चिन्ताहरू मध्ये प्रमुख भनेको भाइरसले हाम्रा कोशिकाहरूलाई जोड्न प्रयोग गर्ने अंग (पातलो धातु जस्तो अंग) मा उत्परिवर्तनहरूको ठूलो संख्या हुन्छ जसमध्ये केही बढि संक्रमणसँग जोडिएका छन् ।

ओमिक्रोन एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ वा अन्य प्रकारहरू भन्दा बढी गम्भीर रोग निम्त्याउँछ भन्ने गत आइतवार जारी गरिएको अपडेटमा डब्ल्यूएचओले अझै स्पष्ट गर्न सकेको थिएन । वैज्ञानिकहरूलाई यसबारे बलियो प्रमाण सङ्कलन गर्न अझै एक हप्ता लाग्न सक्ने बताइएको छ ।

अनुसन्धानकर्ताहरूले अनुमान गरे अनुसार प्रत्येक संक्रमणको कारण नयाँ घटनाहरूको औसत संख्या दक्षिण अफ्रिकामा एक दशमलव सात थियो ।

ओमिक्रोन बढी संक्रमित हुन सक्छ । तर रोग भने हल्का खालको निम्त्याउन सक्ने प्रारम्भिक तथ्याङ्कले सुझाव दिएको छ । तर अफ्रिकामा रिपोर्ट गरिएअनुसार संक्रमण कम उमेरका विद्यार्थीहरूमा देखिएको छ र तिनमा रोग हल्का देखिएको छ । ति गम्भिर देखिएका छैनन् ।

हालका खोपहरू ओमिक्रोन विरुद्ध प्रभावकारी छन् कि छैनन् भन्ने अझै स्पष्ठ छैन । मोडेर्नाले पहिले नै उत्परिवर्तनहरू अनुमान गर्न डिजाइन गरिएको क्लिनिकमा दुई बूस्टर खोपहरूको परीक्षण गरिरहेको छ । खोपका ति दुई उमेद्वारहरू मध्ये एकले ओमिक्रोन संस्करणका अन्य धेरै उत्परिवर्तनहरूलाइ समावेश गर्ने उल्लेख छ । कम्पनीले ओमिक्रोन विशिष्ट बूस्टर खोप दुई वा तीन महिनामा क्लिनिकल परीक्षणको लागि तयार हुने अपेक्षा गरिरहेको छ ।

अहिलेसम्म कोरोनाका मूल स्वरुप विरुद्ध डिजाइन गरिएका खोपहरूले गम्भीर रोग लाग्नबाट जोगाएका छन् । संक्रमणलाई कम प्रभावकारि बनाइदिएका छन्, नयाँ भेरियन्टहरू विरुद्ध राम्रोसँग काम गरिरहेका छन् ।

अन्यत्र के भइरहेछ ?

ओमिक्रोन कसरी अगाडि बढ्छ भन्ने बारे थप बुझ्नको लागि विश्वले पर्खिरहेको बेला अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, युरोप, हङकङ र जापानलगायत धेरै देशहरूले दक्षिणी अफ्रिकी राष्ट्रहरूबाट लगभग तत्काल यात्रा प्रतिबन्धको घोषणा गरेका छन् ।

‘तर ओमिक्रोन डेल्टा भन्दा बढी संक्रमकजन्य भएकालेपनि यात्रा प्रतिबन्ध लगाउँदा रोकिने भन्दापनि फैलावटमा मात्र ढिलो गर्नेछ । यो फैलिने क्रमलाई रोक्दैन’ लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका संक्रामक रोग, महामारीविद एसोसिएट प्रोफेसर एडम कुचार्स्कीले ट्वीट गरेका छन् ।

अफ्रिका बाहेक अन्य धेरै देशहरूमा ओमिक्रोन भेरियन्ट पहिले नै रिपोर्ट गरिएको छ जसमध्ये अस्ट्रेलियामा पाँच वटा घटना फेला परेका छन् । बेलायतमा मंगलवार दुई वटा फेला परेका छन् ।

बीबीसी अन्तर्वार्तामा अफ्रिकी भ्याक्सिन डेलिभरी एलायन्सका उपाध्यक्ष डा अयोडे अलाकिजाले नयाँ संस्करणको उदय बिल्कुल अपरिहार्य बताएकी छन् । किनभने उनको बनाईमा विश्वले देशहरूलाई समान रूपमा खोप दिन असफल भएको छ । उनले भनिन् “धनी देशहरू जसले खोपहरू जम्मा गरेका छन् अब अफ्रिकीहरूलाई त्यो खोपबाट बाहिर राख्न चाहन्छन् ।”

“यो समतामूलक, अत्यावश्यक र द्रुत रूपमा खोप दिन विश्वको असफलताको परिणाम हो” अलाकिजा भन्छिन् “यो विश्वका उच्च आय भएका देशहरूको भण्डारणको परिणाम हो । यी यात्रा प्रतिबन्धहरू राजनीतिमा आधारित छन् विज्ञानमा होइन । यो गलत हो ।”

“जबसम्म सबैलाई खोप दिइँदैन, तबसम्म कोही पनि सुरक्षित हुँदैनन् । तर वास्तवमा यो विश्वव्यापी योजना के हो ? हामीले के गर्ने योजना बनाएका छौं ? कसरि अफ्रिकी देशहरुमा खोपलाई बन्चित राखेर कोरोना भाईरस नियन्त्रण हुन सक्छ ? तिनलाई बाहिरै राखेर धनी देशका आफ्नै नागरिकलाई सन्तुष्ट पार्न सक्छौं ? अफ्रिकीहरू किन खोप लिएका छैनन् ?” उनले भनिन् ।

ओमिक्रोन एउटा महाद्वीपमा देखा परेको छ जहाँ एक अर्व २० करोड कुल जनसंख्याको १० प्रतिशतले मात्र कोरोना खोपको एक डोज पाएका छन् । मलेशियाको मोनाश युनिभर्सिटीको जेफ्री चेह स्कूल अफ मेडिसिन एण्ड हेल्थ साइन्सेजका भाइरोलोजिस्ट डाक्टर विनोद बालसुब्रमण्यमले प्रत्येक पटक भाइरस कसैको शरीरमा दोहोरिएर आउँदा नयाँ संस्करणको उत्परिवर्तनको सम्भावना हुने बताएका छन् । “यो संख्याको खेल हो” उनी भन्छन् “यदि हामीले खोपको असमानतालाई छिट्टै सम्बोधन गरेनौं भने महामारीबाट हाम्रो निस्कने सम्भावना सम्भवतः यो महिना वा वर्षको अन्त्यमा असम्भव देखिने छ ।”

(कसमस डट कम म्यागाजिनमा प्रकाशित आलेखलाई नेपालप्लसद्वारा भावानुवाद गरिएको-संपादक)

तपाइँको प्रतिक्रिया