शनिबार, असोज १५, २०७९

अलबिदा नेपालका प्रिय !

ददि सापकोटा२०७८ मंसिर १७ गते २३:५७

तिन दशक लगातार संसद ? त्योपनि जनताले जिताएर ? के मन्त्र थियो उनीसित तिन दशक सांसद बन्न सक्ने ? के दिए जनतालाई कि एकै ब्यक्तिलाई त्यतिका वर्ष लगातार संसदमा जिताइराख्ने ? कुर्सीमा पुगेपछि बिलासी जिवनका रुखमाथि आँखा लगाउने आफ्ना नेता देखे भोगेको अनुभव । यी त झन यति धनी देशका ३० वर्ष संसदमा मोज गरेका नेता । सम्पत्तीको महासागर पौडेपनि भो । तालझाल देखिने भो भन्ने लाग्यो । आफ्नो परिचय दिएर सम्पर्क गर्दा भेटलाई सहर्ष स्विकार गरे ।

त्यत्रा वर्ष ‘मोज’ गर्दापनि राजधानीमा सानो अपार्ट्मेन्टसमेत जोडेका रहेनछन् । बस्ने रहेछन् रेलमा करिब ३, ४ घन्टाको बाटो, कतै गाउँमा । त्यसदिन उनले पेरिसको होटेलमा बोलाए । ‘कति घण्टा लाग्यो गाडीमा ?’ पक्कै महँगो गाडी चढेर आए होलान् भन्ने पक्कापक्कीले सोध्दा उनले जवाफ दिए’ सार्वजनिक रेल चढेरै आएको ।

सञ्चो बिसञ्चो र हल्का परिचय पछि नेपालको बेलिबिस्तार लगाउन थाले आफैंले । सन् १९७९ मा पहिलो पटक भारत पुगेका रहेछन् एउटा सांस्क्रितिक मिसनमा जँ ब्रियँ। त्यति बेला कसैले उनलाई सुनाएछ ‘लौ है सांसद ज्यू भौगोलिक घेरैमा आइसक्या मान्छे नेपाल घुमिएन भने त पछि थक्क थक्क हुन्छ’ । बिजुली चम्के झैं तिन दिन भापनि घुमौंला भनेर सांसदको आधा दर्जन टोलीसित नेपाल छिरेका उनी नेपालीको हाँसो, काठमाडौंको सौन्दर्यता र बैभवले अँठ्यायो । कल्कलाउँदो उमेरकी परी झैं उनी प्रेममा फसे । फ्रान्समा नेपालबारे सबैभन्दा जान्ने ठानिएका अनुसन्धानकर्मी कोर्नेइ जेस्तको नेपालको बिस्तार सुनेपछि त झन उनी भुतुक्कै भए । त्यति बेलै सोचे ‘यो देश घुम्न त पर्छ नै, केहि सहयोगपनि गर्नुपर्छ’।

संयोगपनि गज्जबकै पर्‍यो, सन् १९९१ मा नेपालमा भएको पहिलो संसदिय निर्वाचनको पर्यबेक्षक बन्ने । प्रजातान्त्रिक स्थानान्तरणमा ओर्लिएको नेपाल त्यो बेला । उनले अवशरको रुपमा लिए । अफ्रिकाका बिभिन्न मूलुकमा त्यस्तै पर्यवेक्षण गरिसकेका उनी अनुभव पनि मनग्गे बटुलेका ।

उनलाई त्यतिबेलै नेपाली जनता प्रजातन्त्र प्रति प्रतिबद्द भए झैं लागेछ । घण्टौं घण्टा लगाएर मतदान गर्न आएका स्थानिय मान्छेहरु । रातो सारी टल्काउँदै बच्चा बोकेर लाममा उभिएका स्थानिय महिला । लौरो टेकेर प्रजातन्त्रको लागि मतदान गर्न आएका बुढाखाडा । ‘ हामी बिकसित भनिने देशकाले पढे लेखेकाले मात्रै प्रजातन्त्रको मह्त्व बुझेका हुन्छन् भन्ने गलत सोच्ने गर्छौं, नेपालका गाउँ गाउँका स्थानिय जनताले उतिबेलै बुझेका रहेछन् । प्रजातन्त्रप्रति उनीहरुको ठूलो आसा रहेछ ‘ सुनाए उनले ।

उनी फ्रान्स नेपाल संसदिय मैत्री संघको अध्यक्ष भएका बेला नेपालको सरकारले घुम्न निमन्त्रणा गर्‍यो सन् २००२ मा । ‘के खोज्छस् काना आँखो’ उनले स्विकार गरे । यस पटक उनलाई जिम्मेवारे महसुस भएछ । मनाङमा हाल रहेको हिमीली स्वास्थ्य चौकी र पनौतीका मठमन्दिर पूनर्निर्माण गर्न उनले फ्रान्सेली संसदमा बजेट मागेर निकासा पनि गराए ।

कुराकानी गर्दै जाँदा सोधें’ तपाइ कति वर्ष सांसद हुनु भो ?’

‘३० वर्ष ।’

‘३० वर्ष ? कि तिन पल्ट ?’ मलाई उनी झुक्किएझैं लाग्यो ।

‘होइन ३० वर्ष’ स्पष्ठ पारे ।

त्यसरि ३० वर्ष सांसद हुन पाइन्छ ? जिज्ञासा राखें ।

‘जनताले रुचाए पाइन्छ’ फ्यास्स ओंठ लस्काए ।

अचम्म लाग्यो । साँच्चै तिस वर्ष लगातार संसद भएछन् ।

पहिलो पटक आंशिक निर्वाचनबाट सांसद बनेका उनलाई जनताले लगातार आठ पटक सांसद बनाएछन् । सांसद होलान जस्तो हाउभाउ केहि छैन । मुखैमा टाँस्नुपर्ने जस्तो लोइरे बोली छ । बोल्दा जनतालाई भुतुक्कै पार्लान् जस्तो दम्भपनि छैन बोलीमा । हेर्दा लाटो मान्छे झैं लाग्छ । के भएर बनाए होलान् टाठा फ्रान्सेलीले यीनलाई यत्रा वर्ष सांसद ?

गज्जब रहेछ उनको जनता प्रतिको जिम्मेवारी । संसद नचल्दा उनी गाउँतिर जाने रहेछन् । घर घरै डुल्यो । नगरपालिका कार्यालय धायो । नगरप्रमुखलाई सहयोग गर्‍यो । जनताका गुनासा सुन्यो । आफ्नो नगरमा के के छन् नगरि नहुने सकभर स्थानिय तवरबाटै सुल्झायो । नसके ति सब टिपोट गर्ने रहेछन् उनले । लेखन्दास बाजे जस्ता कलम र नोट कापी नछुट्ने उनको साथबाट । जनताका सबै कुरा सुन्दै गयो, उतार्दै गयो । नगरपालिका कार्यालयमा छिटो छरितो र जनताले कसरि बुझ्छन् भनेर सबै खुलस्त लेखेर राखिदियो ।

संसद चल्ने बेला भयो । संसदमापनि सानो नोट बोकेरै लुसुक्क छिर्‍यो । संसदमा भएका सारा गतिबिधी टिपेर राख्ने रहेछन् । संसद लामो समयसम्म चले बिच बिचमा उनले संसदमा भएका सारा गतिबिधीको बेलिबिस्तार लेखेर नगरप्रमुखलाई पठाउने रहेछन् । अर्को एक प्रति आफ्नो आफ्ना पार्टीका स्थानिय स्तरका नेतालाई । आफूले कुन विषयमा के भनें, के बोले ? आफ्नो कुरामा के जवाफ दिए । के के माग राखें ? सबै खुलाएर मेयरलाई भनेर रहेछन् ‘यी कुराहरु जनताले देख्ने गरि नगरपालिका कार्यालयमा टाँसिदिनु’।

सांसद सकिएपछि अँहँ उनी राजधानीमा बस्थेनन् । राजधानीमा मोजमस्तिमा उनको दिलचस्बी जान्थेन । गोस्ठी र तालिम भन्दै भत्ताको लोभमा पनि उनी फस्थेनन् । उनी हान्निँदै लाग्थे गाउँ । गाउँमा के के भयो आफ्नो अनुपस्थितिमा सबै बुझ्थे पहिले । अनि फेरी संसद चल्दाको बेलिबिस्तार र आफूले बोलेका कुरा सुनाउँथे । संसदमा अरु दलका कुन नेताले के भने भन्नेपनि सुनाउने गर्थे । ‘जनतालाई कुन नेता कस्तो भनेर चिनाउन म सधैं सबै कुरा नबिराइ सुनाउँथें । जनतालाई कुनैपनि कुरा ढाँट्न हुन्न’ उनले भने ।

उनको त्यो जुक्ति, इमान्दारिता र लगन कतिसम्म प्रशंसनिय बन्यो भने अर्को निर्वाचन आउनु अगाडिनै जनता उनको दैलोमा पुग्थे ‘जँ ब्रियँ तपाइ नै उठ्नुपर्छ फेरी’ भन्दै । फेरी उनी यस्ता नेता थिए, बिरोधी दल, पार्टीकालाई भनेर पन्छाउने गर्दैनथे । ‘म सबै कुरा एक एक नबिराइ सबैलाई सुनाउँथें । पार्टी जुन भएपनि ति मेरै जनता त हुन्, तिनको संसद त मै थिएँ’ होटेलको लबीमा बिहानै कफीको चुस्की मार्दै उनले सुनाए ।

त्यहि ईमान्दारीताले गर्दा उनको ठाउँमा न त आफ्नो पार्टीबाट कोहि उठ्यो, न कोहि बिरोधी पार्टीकै नेताले चुनौति दिन सक्यो । कुनै खेमामा लागेनन् । न राष्ट्रपतीलाई चाकरी गर्न गए । न अन्य कुनै मन्त्रीसित लप्प टाँस्सिन पुगे । तिन चार पटक जितेपछि उनले जनतासित आफैं बिन्ति बिसाए ‘लौ न यतिका वर्ष भो, मलाई बिदा देओ अब’ ।

सधैं जनताका दैला चहार्दैमा उनले घर हेर्ने भ्याएनन् । मेयर कार्यालयका गुनासा सुन्दै उनलाई फूर्सद भएन । आएको तलब उनले त्यसै यता उति जनताको सेवा गर्दै सके । छोराछोरीलाई समय दिन भ्याएनन् । चार पटक जति जितेपछि उनको उद्देश्य घर परिवारमा शान्तिले बिताउने थियो । लागेका ठाउँ यस्सो पुग्ने, ईस्टमित्र भेट्ने । आफ्नालागि शान्त भएर बस्ने । जनताले दिएनन् उनलाई । जनताको ताँतीले उनलाई ‘अँहँ तपाइ नभै हुन्न, बन्दिन भनेर सुख पाउनुहुन्न’ भन्दाभन्दै आठ पटक जिताए ।

नवौं पटकपनि उनलाई जनताले त्यसै गरि कर नगरेका होइनन् । यस पटक उनले अक्किल झिके । मै बुढोलाई सधैं सांसद बनाएर नयाँ पिढीँले कहिले सिक्ने ? प्रजातान्त्रिक परिवर्तनका लागि नयाँ पिँढी आउनुपर्छ । तिनलाई अवशर दिनुपर्छ । नत्र त त्यो प्रजातन्त्र नै हुन्न । बल्ल बल्ल मनाए उनले जनतालाई यस पटक ।

जिवनको सिंगो उर्वर काल उनले जनताका नाममा समर्पित गरे । देशका लागि सुम्पे । गाउँकालागि काम गरे । अहिलेसम्मका सबै राष्ट्रपतीसित उनको उठबस चल्यो । ३० वर्षमा फ्रान्सले जे जति प्रगति गर्‍यो त्यसको सक्षीपनि बने उनी । यत्रो अनुभव, यो अजंगको भोगाइलाई के आफैंमा सिमित राख्ने ? फेरी जनतालेनै उनलाई अक्किल दिए, तपाइले सबै भोगाइलाई समेटेर किताब लेख्नुस् । ‘आ यो बुढेसकालमा बल्ल मुक्ति पाइएको छ संसदबाट फेरी तिनै संसदका कुरा ।’ फेरी आफूले आफ्नै बखान छाँटेर किताब लेख्यो बुढोले भन्ने किन पार्नु बिरोधीलाई ? ‘ जनतालेनै उनलाई भने’ हैन, एक जना स्वतन्त्र पत्रकार लिने । उसले स्वतन्त्र ढंगले सोध्छ, जवाफ दिने, सुनाउने अनि निस्पक्ष ढंगलेनै लेख्न दिने । ‘ उनलाइ चित्त बुझ्यो । त्यसै गरेर लेखेको उनको ३० वर्षे अनुभवलाई यहाँको हेर्माथन् भन्ने लोकप्रिय प्रकाशकले छाप्यो ।

उनले देशबाट केहि लिएनन् भन्न मिल्दैन । संसदिय भत्ता लिए । अहिले सरकारले दिने पूर्व सांसद भत्ता थाप्छन् । त्यो बाहेक केहि लिएनन् । सरकारी धन कतै चाटेनन् । विकासकालागि भनेर लगेको पैसोले कार्यकर्ता पालेनन् । बाटोघाटो बनाउन भनेर बिनियोजित रकममा हात लामो पारेनन् । तिस वर्षमा उनले आफ्नो गाउँलाई प्रशस्त दिए । जनतालाई चलाख मात्रै बनाएनन् जिम्मेवारपनि बनाए । नेता प्रति सम्मान गर्न सिकाए तर आफैंले पहिले देखाएर । तर आर्थिक मामिलामा उनी कञ्चन पानी झैं साबीत भए । र त उनलाई जनताले लाठो लिएर भएपनि सांसद बनाइरहे तिन दशकसम्म ।

यो बुढ्यौलीमा अब उनलाई केहि ठाउँ घुम्न मन छ । पहिले गएका केहि देश पाइला टेकेर अब हक्का चक्का नसहि एक्लै हराएर हेर्न उनका आँखा उत्सुक छन् । नेपाल त्यसमा पहिलो सूचिमा छ । यस अघि सरकारी कामका सिलसिलामा पुगेका उनलाई त्यो सुन्दर मुलुक आफ्नी पत्नीलाई देखाउन नपाएकोमा बिस्मातपनि उत्तिकै छ । अब भने कम्तिमा उनले एक पटक पत्नीसहित घुम्ने रहर बनाएका छन् । आफ्नो अनुकुल अनुसार नेपाल जान र बरु त्यसमा आवश्यक सहयोग गर्न तयार रहेको पटक पटक बिन्ति गर्दा छुट्टिने बेला पनि उनले भनिरहे ‘नेपाल जाने, तर तपाइ जाँदा हामीपनि घुम्ने गरि’।

सिक्ने होइन यीनीहरुबाट साथीहरु !

(जनआस्था साप्ताहिकमा २७ जुलाई ११ बुधवारका दिन ‘सिक्ने होइन यीनीहरुबाट साथीहरु !’ शिर्षकमा प्रकाशित लेख, आज शुक्रवार उहाँको दुख निधन भएको खबर पाएपछि यहाँ प्रकाशित गरिएको हो-सं)

तपाइँको प्रतिक्रिया

फेसबुक