मंगलबार, वैशाख ११, २०८१

विश्वस्तरकै अब्बल श्रेणीको नेपाली रेफ्री बन्ने सपना

दिपेन्द्र ढकाल२०७८ मंसिर १८ गते ५:१५

विभिन्न देशका रेफ्रीसित दिपेन्द्र ढकाल, सबैभन्दा देब्रे । फोटो- दिपेन्द्रको फेसबूक

पाकिस्तानमा चिफ अफ आर्मी स्टाफको वर्ड च्याम्पियनसित तेक्वान्दो खेल भएको थियो । नोभेम्वरको ४ देखि ९ सम्म । म त्यसैकालागि पाकिस्तान गएको थिएँ । त्यताबाट यता पेरिस आएको हुँ । पेरिस १० नोभेम्वरमा आएँ । १२ देखि इन्टरनेशल वर्ल्ड र्यान्किङ च्याम्पियनशिप थियो, तिन दिनको । विश्वका ४२ राष्ट्रका खेलाडी थिए । तर नेपालका कोहि थिएनन् ।

त्यसमा खेल्न छानिएका नेपाली दुई जना थिए, बिर बहादुर र पार्वती । तर भिसा ढिलो आएकाले आउन पाएनन् । मेरोपनि भिसा ३१ दिनमा आइपुग्यो । छानिएका दुई जनानै साफका गोल्ड मेडालिस्ट थिए । भिसा आबेदन भरिएको थियो, अनलाईन मार्फत् । तर ढिला भयो । एउटा अवशर गुम्यो ।

उनीहरुले पेरिसमा खेल्न पाएको भए राम्रो मौका थियो । किनकि अबको ओलम्पिक खेल यहिं पेरिसमा सन् २०२४ मा हुँदै छ ।

ओलम्पिकको छनौट त होइन अहिले भएको । तर यहाँ खेलेको भए एउटा आधार बन्ने थियो । समर्थन हुने थियो । मुख्य कुरा त अनुभव बटुल्ने थिए ।

ओलम्पिक छनौटमा छानिएभने त फेरि सन् २०२४ मा आउन पाउँछन् । तर अहिलेको खेलमा यहाँ आएको भए अनुभव र अवशर राम्रो हुनेथियो ओलम्पिकको लागि । विश्व र्यान्किङ खेल भएकोले स्तर बढाउन पाउँथे जसले गर्दा ओलम्पिककोलागिपनि अवशरको थप ढोका खुल्ने थियो । आफ्नो श्रेणी बढाउने अवशर गुम्यो ।

दिपेन्द्र ढकाल, फोटो- दिपेन्द्रको फेबू

युरोपेली तेक्वान्दो संघ र विश्व तेक्वान्दो संघले विश्वभरिका लागि रेफ्रीहरु छनौट गर्छ । म त्यसैकोलागि छनौटमा परेको हुँ । छानिएकालाई यस्तो खेलमा रेफ्रीकोलागि बोलाउँछ । उनीहरुले श्रेणी हेर्छन् । कति खेल खेलायो र कति निस्पक्ष तरिकाले खेलायो भन्ने हेरिन्छ । कारवाहिमा परेको वा नपरेको हेर्छ ।

चीनको वुहानमा वर्ल्ड च्याम्पियन्सिप भएकोको थियो । त्यसमापनि मैले जजको भूमिका निर्वाह गरेको थिएँ । अक्टोवर २०१९ मा भएको त्यो गेममा १३८ देशका खेलाडीले भाग लिएका थिए ।

रेफ्री छान्नु अघि विश्व तेक्वान्दो संघको प्रधान कार्यालयको रेफ्री सूची हेर्छन् । त्यसमा राम्रो देखिएपछि युरोपेली तेक्वान्दोले छनौट गर्छ ।

तेक्वान्दोको रेफ्री बन्नकोलागि पहिले त खेलाडीनै हुनुपर्छ । खेल्न छोडेपछि राष्ट्रिय रेफ्रीको परिक्षा पास गर्नुपर्छ । त्यसमा ए बि सी तिन श्रेणी हुन्छन् । पहिले सि, त्यसपछि बि र ए मा श्रेणी उक्लिदै जान सकिन्छ ।

सन् २०१२ मा राष्ट्रिय रेफ्री बनें म । सन् २०१८ मा चीनको उसी शहरमा अन्तर्राष्ट्रिय रेफ्रेको परिक्षा दिन गएँ । नेपालबाट ६ जना गएकोमा म मात्रै उत्तिर्ण भएँ । अन्तर्राष्ट्रिय रेफ्रीको भूमिका त्यहिंबाट शुरु भयो । त्यो पाएपछि त्यहि चीनमा भएको वर्ल्ड मेट्री गेम पहिलो अन्तर्राष्ट्रिय रेफ्री थियो मेरो पहिलो ।

त्यसपछि सन् २०२० को जनवरीमा जर्मनीको हेमवर्ग गएँ रेफ्रीनै बनेर । त्यहाँ युरोपेली मुलुकका सबैजसो देशगरि ३६ वटा जति देशका थिए । त्यसपछि दक्षिण एशियाली खेल सार्कको गेम खलाएँ । तत्कालै कोरोना महामारी शुरु भएर केहि समय रोकियो । कोरोना महामारीपछि पेरिस आएको ।

यहाँ सबै सेन्सरबाट स्कोरिङहरु दिने चलन छ । खेलाडी, रेफ्री सबैलाई इलेक्ट्रोनिक डिभाईस राखेर स्कोरिङ दिने गरिन्छ । त्यो नेपालमा नभएको त होइन । तर पर्याप्त मात्रामा छैन । अन्तर्राष्ट्रिय खेलहरुमा त हुन्छ उतापनि । तर उताको र यताको पद्दतीमा धेरै फरक पर्छ । यताको समय तोकिए अनुसार ठ्याक्कै लागू हुन्छ । उता भनेको समयमा खेल हुन्न । अर्को कुरा, यता जुनियर स्तरबाटै खेल खेलाउन शुरु गरिन्छ । तर नेपालमा अलि उमेर भैसकेपछि खेलाइन्छ ।

यता बच्चैदेखि तेक्वान्दो खेलाउन शुरु गर्छन् । त्यसले गर्दा राम्रो अवशर पाउँछन् । हाम्रो देशको अवस्था त्यस्तो छैन ।

फ्रान्समा २१ वटा खेलको जज गरें । आठ वटा कक्ष थिए । त्यसमा विहान ७ बजेदेखि साँझसम्मै खेल हुन्थ्यो । एउटा खेलको जम्मा ९ मिनेट समय हुन्छ । त्यसमापनि हरेक तिन मिनेटमा एक मिनेट ‘ब्रेक’ हुन्छ ।

ईरान, भारत, अमेरिका, दुबाई, लक्जमवर्ग, बेल्जियम, क्यानडा आदि धेरै देशका रेफ्री आएका थिए । नेपालकोपनि प्रतिनिधित्व हुन पायो । विश्वभरिका रेफ्रीलाई हरेक वर्ष जस्तै पूनर्ताजगी (रिफ्रेसमेन्ट) तालिम दिन्छ । नियम पालना गर्ने सबैले एउटै हो । महामारीका बेला अनलाईनबाट गराए । नत्र शशरिर गराउँथे । हातका संकेत, मौखिक र लिखित सबै गराउँछन् ।

नेपाली सेनाको त्रिभुवन क्ल्ब, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल तिन वटैको अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री म एक जना मात्रै हो । ति सबैको खेलमा म रेफ्री गर्छु ।

अन्तर्राष्ट्रिय रेफ्रीको तेस्रो सर्टिफिकेट लिन पनि ४ डानको प्रमाणपत्र हुनैपर्छ । त्यसमा नेपालको मात्रै भएर हुन्न कि कोरियाकोपनि हुनुपर्छ प्रमाणपत्र । भारतमा खेल खेल्दा खुट्टामा चोट लागेपछि रेफ्रीतिर कोसिस गरेको हो मैले ।

खेलाडी हुँदा नौ मिनेट सम्पूर्ण ध्यान आफ्नै खेलमा हुन्छ । रेफ्री हुँदा सबै नियम थाह हुन्छ, अलि सहज हुन्छ । अधिकार, जिम्मेवारीको कुरापनि हुन्छ । कोच र जजको नियम एकै हुन्छ हुन त । खेलाडीको नंवर गल्तिबस निर्णय गरेर काटियो भने कोचले कार्ड आबेदन गर्न पाउँछ । भिडियो रिप्ले हेर्न पाउँछ । उसले भने अनुसार भए सदर हुन्छ नत्र कोचको कार्ड अस्विक्रित हुन्छ । त्यसपछि त्यो खेलभरि उसले कार्ड देखाउन पाउँदैन ।

‘तेक्वान्दो शेर्पा’ पेरिसको पत्रिकामा दिपेन्द्र ढकाल

पेरिसमा टाढाको रेफ्री आएको भनेर खुशि भएका थिए । नेपालीलाई चिन्न त धेरैलेनै चिन्छन् । विश्व तेक्वान्दो खेलमा भेटिने रेफ्रीहरु प्राय उहि हुन्छन्, अनुहार चिनिएका । किनकि राम्रो जज गर्नेहरु चिनिएका, राम्रो रेकर्ड भएका हुन्छन् र तिनैलाई रेफ्री बनाएको हुन्छ ।

पेरिस पहिलो पटक आएको हुँ । अस्ट्रियामा २६ नोभेम्वरबाट हुने खेल लकडाउनका काराण रद्द भयो । वर्ल्ड श्रेणीको खेलनै थियो । बोस्नियाबाटपनि माग आएको थियो ।

खेलका नयाँ नियमहरु आइरहन्छन् । यता रेफ्री गरेर नेपाल गएपछि ति थाह पाइन्छ । विश्व टेक्वान्दो संघले एशियाली देशहरुलाई बिभिन्न सहयोग गर्छ, तालिम, प्रविधी, उपकरण आदिमा । विश्व स्तरमा नेपालको रेफ्री भनेर नाम आउँछ ।

सन् २०१८ मा रेफ्री गरें । दुई वर्षको समय हुन्छ त्यसमा ८ वटा विश्व स्तरका खेल खेलाएपछि दोस्रो श्रेणीमा उक्लिन पाइन्छ । अहिले म तेस्रोमा छु । दोस्रोबाट फेरि १० खेल खेलाएपछि पहिलो श्रेणीमा आउँछ । स्तर बढ्दै जाँदा उतिनै ठूला महत्वपूर्ण खेलमा रेफ्रीकोलागि छनौट गर्नसक्छ । विश्वका रेफ्रीहरुको कमिटीमा आबद्द हुन सकिन्छ । त्यहाँका प्राविधिक कुरा सिक्न सकिए नेपालका खेलाडीलाई धेरै फाइदा हुनसक्छ । म नेपाली सेनामा आबद्द हुनाले नेपाली सेनाको ख्यातिलाईपनि राम्रो सन्देश छरिदिन्छ ।

नेपालमा फ्रान्सको दुतावास छ । तर भिसा माग्दा दुतावासमा पाइला टेक्नपनि पर्दैन । भिएचएस गरेर भिसा शुल्क भारतीय रुपियाँमा साटेर पठाउनुपर्छ । डकुमेन्ट बुझाउन मितिपनि पाइन गाह्रो छ । हाम्रो पैसापनि भारत पठाइयो । यसो हुँदा फ्रान्सकालागि ज्यादै झन्झटिलो छ । यो समस्या मन्त्रीलाईपनि राखें, पेरिस आएका खेलकुद मन्त्री देवेन्द्र पौडेलसमक्ष । नेपालकै फ्रेन्च दुतावासले भिसा दिने सुविधा बनाइदिए खेलाडी, विध्यार्थीहरुलाई सजिलो हुन्थ्यो ।

नेपालमै दुतावास हुँदापनि झन्झटिलो हुने रैछ । ठमेलमा रहेको भिएचएस भन्ने कम्पनीमार्फत पठाउनुपर्छ । सबै कागजात बुझाउन मिति माग्नुपर्ने । छायाँ कम्प्लेक्स ठमेलमा छ त्यो सम्पर्क कार्यालय। उसले डकुमेन्ट हेरेर बायोमेट्रिक्स गरेपछि कुरियर गरेर भारतस्थित फ्रान्सेली दुतावास पठाउँछ । भिसा लगाएपछि पनि कुरियर गरेर पासपोर्ट आउन ढिलो हुने । खेलको निम्तो १५, २५ दिन अघि आउँछ । कागजात जम्मा गर्दागर्दै ढिलो हुन्छ र त्यसपछि भारत पठाउनाले भिसा कहिलेकाहिं खेल सक्किएपछि आउँछ ।

काभ्रे जिल्ला पनौतिको कुसादेवी हो मेरो घर । ३२ वर्ष भएँ । रेफ्री भएपछि खेलेको छैन तेक्वान्दो । टप स्तरको रेफ्री बन्ने र सन् २०२४ को पेरिस ओलम्पिकमा रेफ्री बन्ने धोको छ । प्रयास जारि छ मेरो । पेरिसमा रेफ्री बनेको यो पटकले गर्दा संभावना धेरै छ । विश्व तेक्वान्दोको रेफ्रीको चेयरमेन, टेक्निकल डेलिगेट्सनै आएको थियो । उनीहरुले राम्रो प्रशंसा गरे ।

पेरिसको फ्रेन्च भाषाको पत्रिकामापनि मेरो प्रशंसा गरेर लेखनै छापेको रहेछ । भाषा फ्रेन्च भएकोले बुझ्न चाहिँ गाह्रो भयो । ‘तेक्वान्दो शेर्पा’ भनेर लेखेको रहेछ । रमाईलो लाग्यो ।

२०२४ को ओलम्पिकमा नेपाली आउने संभावना छ । अवशर पाएमा नेपालीले गर्नसक्ने अवस्थामा छ । कुल बजेटको सुन्य दशमलव ६ प्रतिशत छुट्याइन्छ खेल क्षेत्रकालागि । त्यसले खेल जगतलाई खासै खर्च पुग्दैन । युरोपेली भन्दा खेलमा हामी ५० गुणा पछाडी छौं जस्तो लाग्छ ।

(दिपेन्द्रसित नेपालप्लसले गरेको कुराकानीमा आधारित)

तपाइँको प्रतिक्रिया