शुक्रबार, जेठ १३, २०७९

बिदेशमा कांग्रेस अधिवेशन : सदस्य बनाउँदा बिधानको खिल्ली, अधिवेशन गर्दासम्म बिधानमाथि बलात्कार

रायन सुवेदी / नर्वे२०७८ मंसिर १८ गते १:५७

आजभोली प्राय नेपालीहरुले चिया गफमापनि देशको कुरा गरेको सुनिन्छ । राजनैतिक बहशको नाममा तर्क बितर्कहरू नसुनेका हामी सायदै कोही हौँला । कोही संबृद्धीको कुरा गर्दछन । कोही सामाजिक बिकास र परिवर्तनका । समाजिक संजालको त झन् के कुरा गरिसाध्य भयो र ? कतै देश स्विजरल्याण्ड बनेको छ त कतै रुवाण्डा । कतै शासनसत्ता बिदेशबाट चलेको देखिन्छ त कतै देश स्वाधिन र स्वतन्त्र रुपमा चलेको भेटिन्छ । एउटा पक्षले अर्को पक्षलाई मात्र हैन यहाँ व्यक्ति व्यक्तिले पनि मनपर्नेलाई देवता नै मानेको देख्न पाईन्छ त मन नपर्नेलाई सत्तो सराप गरेको।

अजभोली सामाजिक संजालका भित्ताहरूमा प्राय राजनितिक पार्टीका नेता कार्यकर्ताहरूलाई बधाई र शुभकामना लेखिएको सन्देशहरूले भरिएका हुन्छन् । यतिबेला नेपालमा प्राय सबै राजनितीक दलहरूको राष्ट्रिय अधिवेसनको लहर चलेकोले पनि सामान्य समयमा भन्दा बढी तरङ्ग उठ्नु स्वभाविकनै हो । गैर राजनैतिक र प्रवाशी नेपालीहरूको छाता संगठन भनिने गैर आवासीय नेपाली संघमा त राजनितीको बाढी पसेर बितण्डा मच्चाएको छ भने अरू त के नौलो कुरा भयो र ?

देशमा परिवर्तन हुन, बिकासमा फड्को मारेर संबृद्धी ल्याउनका लागि व्यवस्थाको भन्दा शासनको कार्यकारी भूमिकामा रहेका व्यक्ति र राजनैतीक पार्टीहरूको प्रबृत्तीको ठूलो हात हुन्छ भन्ने कुरा संसारका बिभिन्न देशको उदाहारणले देखाउँछ ।

देशमा परिवर्तन त्यसै आउँदैन । परिवर्तन ल्याउनको लागि सर्वप्रथम व्यक्ति व्यक्तिको सोचमा परिवर्तन आउन जरुरी छ । ब्यक्तिको सोचमा परिवर्तन ल्याउन राजनैतिक पार्टीहरूको ठूलो भूमिका हुन्छ । शैक्षिक चेतनाको साथै व्यक्त्तिमा राजनैतिक चेतनाको बिकास गर्नसक्ने आधारस्तम्भ देशका राजनैतिक पार्टीहरू बन्न सक्नुपर्दछ । हरेक राजनितिक पार्टीका नेता तथा कार्यकर्ताहरूले राजनितीलाई आफ्नो स्वार्थ केन्द्रित हैन कि समाज केन्द्रित गराउन सक्नुपर्दछ । यस अर्थमा नेपालका हरेक राजनितिक पार्टीका नेता तथा कार्यकर्ताहरूले पहिले आफूलाई परिवर्तन गर्न जरूरी छ ।

देश, जनता, प्रजातन्त्र, गणतन्त्र आदि ईत्यादी भट्याईरहने, तर आफू सत्ता र कुर्चीमा पुग्नकालागि जनताको त परैको कुरा भयो आफ्नै कार्यकर्ताहरूको समेत प्रजातान्त्रिक अधिकारको उछित्तो काढ्न बाँकी नछाड्ने प्रबृत्ती बोकेकाहरूबाट देश र जनाताले परिवर्तनको अपेक्षा गर्न कदापी सक्दैनन् ।

आफूलाई सगर्व नेपालको पुरानो लोकतान्त्रिक पार्टी भनेर नथाक्ने नेपाली कांग्रेसको आसन्न चौधौँ महाअधिवेशनको तयारीको शिलशिलामा अहिले देशको तिनै तहमा अधिवेशनहरू धमाधम भैरहेका छन् । यद्यपी कती ठाउँमा व्यक्त्तिगत तथा गुटगत स्वार्थ नमिल्दा गोली समेत चलेको छ । चौधौँ महाअधिवेशनको तयारीको शिलशिलामा संसारका बिभिन्न देशहरूमा नेपाली कांग्रेस भातृ संगठन जनसम्पर्क समितीहरूको पनि अहिले अधिवेशनहरू भईरहेका छन् ।

नेपली कांग्रेसको बिधानले पार्टीको साधारण सदस्य देखि सकृय सदस्यसम्म के कस्ता ब्यक्तिहरूलाई दिन सकिन्छ भन्ने प्रष्ट व्यवस्था गरेको छ । जनसम्पर्क समितीको सभापती र महाअधिवेशन प्रतिनिधी को हुनसक्ने को हुननसक्ने भन्ने व्यवस्था पनि छर्लङ्ग पारेको छ ।

हुनत नेपालमै हुनेहरूको सकृय सदस्यताको विवाद नमिलेका बेला बिदेशबाट गएको सुची जाँचबुझ गर्ने फूर्सद कसलाई होला र? जे गयो त्यो भयो । कतिपय देशमा सदस्य बनाउँदानै बिधानको खिल्ली उडाउनेहरूले अधिवेशन गर्दासम्म बिधानको बलात्कार नै गरेको पाईयो । सकृय सदस्य बनाउनको लागि घर घर गएर आवेदनपत्र भराउनेहरूले आवेदकलाई सकृय सदस्यता प्राप्त गरे नगरेको जानकारी समेत नगरएको पाईयो । स्वार्थ मिल्ने सिमित व्यक्तिहरू एउटा कोठामा गोप्य बैठक गरेर त्यसैलाई अधिबेशनको नाम दिंदै बिधानले साधारणा र सकृय सदस्यहरूलाई सुनिश्चित गरेको आफ्नो नेतृत्व छान्न पाउने अधिकारको हनन् गरेको देखियो ।

नेपाली कांग्रेस मात्र हैन, कुनैपनि सँस्थाका सकृय सदस्यहरूले समेत थाहै नपाऊने गरी गरिएको अधिवेशन र त्यसरी अधिवेशन गर्न सहमती जनाउने सँस्थाका पदाधिकारीहरूले सँस्था र समाजको हित सोच्लान् कि आफ्नै दुनो सोझ्याउलान् ? यिनले रोजेको प्रतिनिधी पात्रले देश कसरी चलाउलान् ? आफूलाई देशकै पुरानो प्रजातान्त्रिक र लोकतान्त्रिक पार्टी भन्नेहरूले त यस्तो घिनलाग्दो खेल खेल्छन् भने अन्य पार्टीहरूको हालत के होला?

त्यसैले, परिवर्तन ल्याउनको लागी सर्वप्रथम व्यक्ति व्यक्तिको सोचमा परिवर्तन आउन जरुरी छ । तल्ला कमिटीका सदस्यदेखि माथी बस्ने सबैले । विशेष गरी परदेशमा बस्ने नेपालीहरूले आफ्नो सोच बदल्न सक्नुपर्छ तब मात्र परिवर्तन संभव छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक