बुधबार, वैशाख ५, २०८१

टोपी र जुत्ता लगाएको एउटा नांगो मान्छे

सन्जय घिमिरे२०७८ मंसिर २० गते १२:३०

एकछिन कल्पना गर्नुस र चित्र उतार्नुस – एउटा यस्तो मान्छेको जसले शिरमा टोपी र खुट्टामा बकाइदा जुत्ता र घाँटीमा बकाइदा टाई पनि लगाएको छ । बाँकी शरीर सब नांगो छ ।

उतार्नु भयो ? कस्तो लाग्यो ?
एकछिन झस्किनु भयो होला । झस्काइ र आश्चर्यसँगै मनमा अनेक प्रश्नहरुपनि उब्जे होलान ।

त्यत्ती ठाँटसँग जुत्ता, टोपी र टाइ समेत लगाएको मान्छेले अन्त कतै किन केही नलगाएको होला ?

ठान्दै हुनुहोला, मान्छे खुस्कड हो । अहँ, हुँदै होइन । खासमा मान्छे सम्मानित हो । खासमा मान्छे गुरु हो । खासमा मान्छे प्रतिष्ठीत हो । उसले नबुझेर या दिमाग खुश्किएर त्यस्तो रुप धारण गरेको हुँदै होइन ।

मान्छे हुन मुल्लाह नसरुद्धिन । कथा भनेका हुन आचार्य रजनीशले । रजनीशले सुनाएको कथाले भन्छ– एकदिन उनै मुल्लाह नसरुद्धिनसँग एउटा सल्लाह माग्न गएका थिए एकजोडी श्रीमान श्रीमती । त्यस्ता रुपका नसरुद्धिनलाइ देखेर श्रीमती एकछिन हच्किइन । अगाडी बढन संकोच मानिन् । स्वाभाविक हो । तर उनको मनमा प्रश्न उब्जियो र सोध्न चाहिन । बडो अन्यमन्यश्क भावमा सोधिन– मुल्लाह, तपाइ किन यस्तो रुपमा ?

मुल्लाहले भने – म जब ध्यानमस्थ अवस्थामा आफनो कुटीमा एक्लै हुन्छु, प्रकृतीको माझमा हुन्छु । र आफु प्रकृती जस्तै बन्न चाहन्छु । तब म नाँगै बस्न रुचाउँछु ।

मुल्लाहका यती कुरा सुनेपछि फेरि श्रीमतीले भनिन् – यती त बुझें । तर टोपी, टाइ र जुत्ता लगाएको चाही बुझिन ।

मुल्लाहले हाँसेर भने – खासमा यतीबेला मलाइ कोही भेटन आउँदैन । आउँदैनथ्यो । तै, कोही कहिलेकाहिं भटकिएर तिमीहरु जस्तै कोहो आइहाल्छ कि भनेर यत्ती चाहिं आज लगाएर बसेको हुँ । संयोगले तिमीहरु आइपुग्यौ ।

आचार्य रजनीशले भनेको यो कथा सुनेको दिनदेखि म सोचीरहेको छु – नेपालमा यतिबेला मुल्लाह नसुरुद्धिन को हुन ? प्रधानन्यायधिश चोलेन्द्र शमशेर राणा कतै मुल्लाह नसुरुद्धिन त होइनन ? ऊनी होइनन भने अरु को हुन त ?

अरु कुरा छाडेर नांगीने शैलीका तरिकाले मलाइ लाग्छ– शायद ऊनै हुन ।

सोचीरहेको छु – नांगै बसिरहेका मुल्लाह नसुरुद्धिनलाइ बेला न कुबेला भेटन जाने श्रीमान-श्रीमती शेरबहादुर देउवा हुन कि खढगप्रसाद ओली ? वा अहिलेको बार एशोसियशन ?

हुनत, नेपालको अहिलेको राजनीतीक परिदृश्यमा अक्सर सबैजसो पात्रहरु मलाइ नांगा लाग्छन् । खास मुल्लाह नसुरुद्धिन त बरु एउटा साधु सन्त जस्ता पात्र हुन् ।
उनको कोटीमा त को होला र ?

मैले नेपालमा देखिरहेका नांगा रुपहरु त न साधु, न सन्त । तीनमा अरु एउटा पनि केही साधुका जस्ता गुण छैनन, नांगीनु शिवाय ।

के चोलेन्द्र शमशेर अरु बाँकी सबै गुण गुमाएका मुल्लाह नसुरुद्धिन हुन जसले टोपी, टाइ र जुत्तामात्र लगाएका छन, बाँकी सर्वागं !

चोलेन्द्र मात्र के भनुँ ? मलाइ त देउवा, ओली, नेपाल र प्रचण्ड पनि अरु गुण गुमाएका मुल्लाह नसुरुद्धिन जस्ता लाग्न थालेका छन, जो हिजोआज छोप्नुपर्ने चीज छोप्न छोडेर नछोपेपनि हुने चीज छोप्न तल्लिन छन ।

तीनले लाज केमा हुन्छ भन्ने चेत पनि क्रमश गुमाउँदै गएका छन । यीनलाइ न कानुनको चेत छ न राष्ट्रको स्वार्थ चेत । यी लहडी जस्ता छन । यस्तो लाग्छ – लहडै लहडमा यीनले राजनीती वा पेशा व्यबशाय गरे ।

यी लहडीहरुले कुनबेला रामदेवलाइ अँगालो हाल्छन वा कुनबेला उस्तै अरु कुनै देवलाइ अँगालो हाल्छन पत्तै हुँदैन । यी लहडीहरुले कहिले मोदीलाइ अँगालो हाल्छन वा सिजिन पिंगको शरण खोज्छन, पत्तै हुँदैन ।

केहि दिन अघि एउटा गफमा नेपालका पत्रकार मोहन मैनालीले नेपालको बिकास र खासगरी कर्णालीका सन्दर्भमा भनेका थिए – यहाँको भूगोल वा जमिन बस्न मिल्ने गरी अझै ‘सेटल’ भैसकेको छैन । कतै पहिरो गएको छ । कतै बाढी आएको छ । कतै सुख्खा छ ।

ठिक यस्तै लाग्छ– प्रशासनीक र राजनीतीक रुपमा पनि नेपाल अझै ‘सेटल’ हुन बाँकी नै छ । लाग्छ, भर्खर राजनीतीक र प्रशासनीक नेतृत्वले अझै पनि कपडा लगाउन सिक्दै छ । उसले लाज केमा हुन्छ अझै ठम्याइसकेको छैन ।

सन्तहरुले प्रकृतीमा समाहित हुन आफूलाइ नांगो राख्थ्ये । तर यी त यसै पो नांगीन थाले । यस्तो लाग्छ– बिना सोच समझ नांगीने होड चलेको छ नेपालमा । यस्तो लाग्छ– हिजोआज नक्कली मुल्लाह नसुरुद्धिनहरुको बिगबिगी छ नेपालमा ।

कृपया मलाइ गाली नगर्नु होला, मलाइ टाढाबाट यसो भन्न पटक्कै मन थिएन र छैन ।
के गर्नु म टाढाबाट नेपालमा टोपी, टाइ र कोट लागाएका नांगा मान्छेहरु हिजोआज बढी देखिरहेको छु ।

एकथरी मान्छेहरु ठान्छन, यतिबेला चोलेन्द्र शमशेर मात्र नक्कली मुल्लाह नसुरुद्धिन हुन् । होइन, बारको प्रांगणमा त झन म बढी बिचीत्रका नक्कली मुल्लाह नसुरुद्धिनहरु देखिरहेको छु । जसरी चोलेन्द्र नांगा छन्, उसैगरी उनीहरु पनि नांगा छन् । जब म नेपालको राजनीती देखी प्रशासन र कानुनसम्ममा दृष्टि डुलाउँछु, तब मलाइ खै किन हो, ती उही टोपी, टाइ र जुत्ता लगाएका तर लिंग उदागं पारेका मुल्लाह नसुरुद्धिन जस्तै लागिरहेको छ । यो मेरो दृष्टिदोष होस, म कामना गर्छु ।

तपाइँको प्रतिक्रिया