बिहीबार, वैशाख १३, २०८१

ओलाफ स्कोल्जद्वारा जर्मनीको नयाँ चान्सलरको रूपमा सपथग्रहण, मर्केलको स्थानमा ‘नयाँ सुरुवात’ गर्ने वाचा

नेपालप्लस संवाददाता / जर्मनी२०७८ मंसिर २२ गते २०:३६

सोशल डेमोक्र्याट पार्टीका ओलाफ स्कोल्जले बुधवार जर्मनीको चान्सलरका रुपमा सपथग्रहण गरेका छन् । उनले दोस्रो विश्वयुद्ध पछिको जर्मनीको नवौं चान्सलरको रूपमा सपथ लिएका हुन् ।

एन्जेला मर्केलको १६ वर्षे शासनको अन्त्य गर्दै उनी सरकारको प्रमुख पदमा चुनिएका हुन् । र युरोपेली समर्थक गठबन्धन सरकारको लागि मार्ग प्रशस्त गरेका उनले हरित लगानीलाई बढावा दिने वाचा गरेका छन् ।

उनको गठबन्धनमा ग्रीन पार्टी (हरियाली पार्टी) समेत रहेकाले उनले वातावणमैत्री योजनामा साथ दिनुपर्ने छ ।

“यो हाम्रो देशको लागि एक नयाँ सुरुवात हुनेछ । कुनै पनि अवस्थामा म त्यसतर्फ काम गर्न सबै प्रयत्न गर्नेछु” ६३ वर्षीय ओलाफ स्कोल्जले बर्लिनको संसदमा औपचारिक हस्तान्तरण समारोहमा आफ्नो पदको शपथ ग्रहण गर्दै भने ।

गोप्य मतदानपछि स्कोल्ज चान्सलरमा निर्वाचित भएका थिए जसमा उनले ७०७ जर्मन सांसदको मतमध्ये ३९५ मत ल्याएका थिए । स्कोल्जले जर्मनीको पहिलो संघीय गठबन्धनको नेतृत्व गर्ने छन् जुन एसपिडी, पर्यावरणवादी ग्रीन र लिबरल फ्री डेमोक्र्याट्स (एफडिपी) मिलेर बनेको छ ।

जर्मनीको नयाँ कुलपतिको रूपमा स्कोल्जले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको नेतृत्व गर्नेछन् जुन देशले हाल कोरोना भाइरस संक्रमणको क्रूर चौथो लहरको सामना गरिरहेको छ।

एसपीडी-ग्रीन-एफडीपी गठबन्धनले गत महिना “डेयर फर मोर प्रोग्रेस” शीर्षकको एउटा सम्झौतामा छाप लगाएको छ जसले “जर्मनीका लागि नयाँ सुरुवात” गर्ने वाचा गरेको थियो ।

यो गठबन्धनले कार्बन उत्सर्जन घटाउने, जीर्ण डिजिटल पूर्वाधारलाई सुधार गर्ने, नागरिकता कानूनको आधुनिकीकरण गर्ने, न्यूनतम पारिश्रमिक बढाउने र गाँजालाई वैध बनाएर जर्मनीलाई विश्वभरका मुट्ठीभर देशहरूसित सामेल गराउने लक्ष्य राखेको छ ।

“मलाई थाहा छ तपाईं अत्यधिक उत्प्रेरणा, हौशलाका साथ काम सुरु गर्दै हुनुहुन्छ” मर्केलले बर्लिनमा नयाँ चान्सलरका रुपमा स्कोल्जलाई भनिन् “यो कार्यालय लिनुहोस् र हाम्रो देशको हितमा काम गर्नुहोस् । त्यो मेरो इच्छा हो ।”

‘अर्को अध्याय सँगै लेख्नेछौं’

स्कोल्जको परिणामलाई स्वागत गर्दै, फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंनले नयाँ कुलपतिलाई बधाई दिंदै आफ्नो जर्मन समकक्षसँग काम गर्ने वाचा गरे ।

“हामी अर्को अध्याय सँगै लेख्नेछौं । फ्रान्सेलीहरूका लागि, जर्मनहरूका लागि, युरोपेलीहरूका लागि” माख्रोले फ्रान्सेली र जर्मन भाषामा ट्वीट गर्दै भने । उनले मर्केलले दिएको देनलाई इतिहासको पाठ भन्दै कहिल्यै नबिर्सन आग्रह गरेका छन् ।

“हाम्रो लागि, हामीसँग रहेर युरोपलाई अगाडि बढाउनको लागि धेरै गरेकोमा मर्केललाई धन्यवाद” माख्रोंले उल्लेख गरेका छन् ।

“बधाई छ, प्रिय ओलाफ स्कोल्ज । तपाईको चुनाव र संघीय चान्सलरको रूपमा नियुक्तिको लागि । म तपाईलाई राम्रो सुरुवातको कामना गर्दछु र बलियो युरोपको लागि थप विश्वास गर्ने सहयोगको लागि तत्पर छु” युरोपेली युनियनका अध्यक्ष उर्सुला भान डर लेनले आफ्नो ड्विटरमा जर्मन भाषामा उल्लेख गरेकि छन् ।

ईयु प्रमुख मर्केलको सेन्टर राईट क्रिस्चियन डेमोक्र्याट पार्टीकी सदस्य हुन् र ब्रसेल्स जानु अघि मर्केलको मन्त्रिपरिषदमा थिईन् ।

लैङ्गिक सन्तुलित

स्कोल्जले जर्मनीको मन्त्रीपरिषदमा आठ महिलालाई मन्त्री चुनेर लैङ्गिक समानताको छनक देखाएका छन् ।

“यो हामी बस्ने समाजसँग मेल खान्छ । किनकि आधा शक्ति महिलाको हो” आफूलाई “नारीवादी” भनेर वर्णन गर्ने स्कोल्जले यस हप्ता भनेका थिए ।

तपाइँको प्रतिक्रिया