शनिबार, वैशाख ८, २०८१

ओमिक्रोन भेरियन्टको फैलावट रोक्न बेलायतमा नयाँ प्रतिबन्ध लगाउने तयारि

नेपालप्लस संवाददाता२०७८ मंसिर २४ गते १:१७

 

पछिल्ला केहि दिनदेखि बेलायतमा कोरोना भाईरसको ओमिक्रोन भेरियन्ट संक्रमणमा बृद्धिका कारण बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरस प्रतिबन्धहरू कडा गरिरहेको घोषणा गरेका छन् ।

“हामी यस भाइरसको सामना गर्न नम्र र संवेदनशिल हुनै पर्छ, किनभने यो हामीले नसोचेको गरि बिभिन्न ठाउँमा द्रुतरुपमा सरिरहेको छ” जोनसनले एक ब्रीफिंगमा भने ।

कोरोना महामारीको सुरुवात भएदेखि बेलायतमा एक करोड भन्दाबढी संक्रमित भएका छन् । लगभग एक लाख ४६ हजारको मृत्यु भैसकेको छ । युरोपमा कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुने मध्ये बेलायतपनि हो ।

बेलायती स्वास्थ्य सचिव साजिद जाविदले बुधबार बेलायतमा ५६८ ओमिक्रोन भेरियन्टका संक्रमित पुष्टि भएको बताएका छन् । “तर वास्तविक संख्या सम्भवत: १० हजारको नजिक छ” उनले भनेका छन् ।

प्रधानमन्त्री जोनसनले ओमिक्रोनको संक्रमण बढ्दै गएको स्पष्ट हुँदै गइरहेको र ओमिक्रोन पहिलेको प्रभावशाली डेल्टा भेरियन्ट भन्दा धेरै छिटो बढ्दै गएको बताएका छन् । “हामीले ओमिक्रोन अघिल्लो भेरियन्ट भन्दा कम गम्भीर छ भनेर मान्ने अवस्था छैन” उनले भने ।

“हामीले आज जुन अवस्थामा जसरि बसेका छौं त्यसरीनै प्रतिक्रिया दिनैपर्छ” उनले भने “नयाँ उपायहरूमा तालाबन्दी गर्ने भन्ने पर्दैन । मानिसहरूले क्रिसमस पार्टी मनाउन सक्छन् । बच्चाहरूले जन्मदिन मनाउने र खेल खेल्ने काम जारिराख्न सक्छन् । तर महत्वपूर्ण के भने उनीहरुले सार्वधानी, सुरक्षा र सतर्कताका उपायहरु अपनाउनुपर्छ” जोनसनले भनेका छन् ।

‘सक्नुहुन्छ भने घरबाटै काम गर्नुहोस्’

नयाँ सतर्कताका उपायहरूको एक भागको रूपमा सरकारले बेलायतमा कार्यालयको काम घरबाटै गर्न पुन सल्लाह दिँदै छ ।

“सोमबारबाट तपाईंले सक्नुहुन्छ भने घरबाट काम गर्नुपर्छ । नगईहुन्न भने मात्रै कार्यालय जानुहोस्” प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री जोनसनले सरकारले एक हप्तामा बेलायतमा पहिलो पटक कोभिड भ्याक्सिन प्रमाणपत्र देखाउन अनिवार्य बनाउने उल्लेख गरेका छन् । स्कटल्याण्ड र वेल्सका प्रशासकहरूले पहिले नै यस्ता उपायहरू लागु गरिसकेका छन् ।

“नाइटक्लब र अन्य भिड हुने ठाउँमा प्रवेश गर्नका लागि पास आवश्यक हुनेछ” जोनसनले भने “यसको मतलब इनडोर ठाउँहरूकोलागि हुनेछ जहाँ ५०० भन्दा बढी मानिसहरू भेला हुन्छन् तर ति उभिएको अवस्थामा हुनुपर्ने छ ।”

खेलकुद रंगशाला जस्ता १० हजार भन्दा बढी मानिस उपस्थित हुने कुनैपनि स्थानका लागि पास आवश्यक हुनेछ ।

पास अनिवार्य गरिएका ठाउँमा जान मानिसहरूले खोपको दुई डोज लिएको वा कोरोना परिक्षण नकारात्मक भएको प्रमाण देखाउनुपर्ने छ ।

“सरकारले थिएटर र सिनेमाघरहरू लगायत अधिकांश सार्वजनिक इनडोर स्थानहरूमा मास्क लगाउन अनिवार्य कानुनी आवश्यकता बनाइरहेको छ” जोनसनले भने ।

बेलायतमा सार्वजनिक यातायात र पसलहरूमा मास्क लगाउनु कानुनी रूपमा आवश्यक छ ।

प्रधानमन्त्री जोनसनले खोप लिन र अहिले दिइने बुस्टर डोजको महत्त्वमा जोड दिए । हालसम्म बेलायतमा लगभग दुई करोड १० लाख मानिसहरूले बूस्टरहरू प्राप्त गरेका छन् ।

“हामी मध्ये सबैले गर्नसक्ने सबैभन्दा ठूलो कुरा भनेको तेस्रो खोप (ज्याब, बुस्टर) लगाउनु हो । आफ्नो पालो आउने बित्तिकै त्यो बूस्टर लगाउनु महत्त्वपूर्ण छ” उनले भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक