मंगलबार, वैशाख ११, २०८१

एनआरएनए निर्वाचन आयुक्त पौडेलद्वारा राजिनामा, स्विकृत

नेपालप्लस संवाददाता२०७८ मंसिर २४ गते १८:०६

गैर आवाशीय नेपाली संघको आगामी निर्वाचनकालागि निर्वाचन आयुक्त लिला मणी पौडेलले आफ्नो पदबाट राजिनामा दिए लगत्तै अध्यक्ष कुमार पन्तले स्विकृत गरिदिएका छन् ।

निर्वाचन आयुक्तमा नेपाल बार एसोसिएसनका महासचिव अधिवक्ता लिलामणी पौडेल थिए ।

पौडेलले आज नेपाल बार एसोसिएसनले सर्बोच्च अदालतका प्रमुख न्यायधिश चोलेन्द्र शमशेर राणाबिरुद्दको आन्दोलन चर्काउनुपर्ने र अत्यन्त ब्यस्तताका कारण एनआरएनए निर्वाचन आयुक्तकारुपमा समय दिन नसकेको कारण देखाउँदै राजिनामा दिएको एनआरएनए अध्यक्ष कुमार पन्तले नेपालप्लसलाई बताए ।

उनले भने “पौडेलजीले नेपाल बार एसोसिएसनको आन्दोलनमा धेरै समय दिनुपर्ने भयो । मैले एकातिरबाट हट्नुपर्ने भयो । दुइतिर समय दिन नसक्ने भएँ। त्यसैले एनआरएनए निर्वाचन आयुक्तबाट छोड्नुपर्ने भयो भनेपछि स्विकार गरेका हौं । उहाँको राजिनामा स्विकृत भएको छ ।”

पौडेलले राजिनामा दिएलगत्तै कार्यवाहक निर्वाचन आयुक्तकारुप्मा राम प्रताप थापालाई जिम्मेवारी दिईएको छ । थापालेनै अर्को आयुक्त नियुक्त नभएसम्मका लागि कार्यवाहक निर्वाचन आयुक्तको भूमिका निर्वाह गर्ने छन् ।

तर स्रोतले नेपालप्लसलाई बताएअनुसार निर्वाचन आयुक्त लिलामणी पौडेललाई सरकारका तर्फबाट कुल आचार्य पक्ष वा नेपाली कांग्रेसको पक्षका तर्फबाट आयुक्तमा नरहन दबाब थियो । केहि समय दबाब झेलेका पौडेलले दबाब धान्नै नसक्ने अवस्था आएपछि राजिनामा दिएका हुन् ।

तपाइँको प्रतिक्रिया