बुधबार, वैशाख १२, २०८१

पौडेलको द्वैध चरित्र देशकै लागि घातक

तिर्थनाथ कँडेल२०७८ मंसिर २८ गते १२:२२

लेखक तिर्थनाथ कँडेल

कांग्रेस महाधिवेशनको रापतापले मुलुक मात्रै होइन प्रवाशी नेपाली समुदायलाईपनि तताएको छ । यो बेला कांग्रेसले सहि नेतृत्व खोजिरहेको छ । कांग्रेसले सहि नेतृत्व स्व. गिरिजा प्रसाद कोइरालाकै पालादेखि खोजेको हो । पार्टी र सरकार दुबैमा कोइरालाको एकछत्र रजाईपछि नेपाली कांग्रेस सुधारिने आशा गरेका थिए । त्यहि आशामा शेर बहादुर देउवालाई पार्टी सभापति रोजे । देउवाले पटक पटक सरकार र पार्टीको नेत्रित्व गरे । तर कांग्रेस झन झन अधोगति लागिरह्यो । कांग्रेस सँगै देशको अधोगति भैराख्यो । कांग्रेस बिग्रिंदा नेपालका अन्य प्रमुख दलहरुलाईपनि हाईसन्चो भयो । कांग्रेस बिग्रिएको देखेर वामपन्थिहरुलाई सुध्रिनुपर्ने जमर्कोपनि भएन ।

देशमा पटक पटक संसद अवरुद्द भयो । कांग्रेसमा बैचारिक हस्तक्षेप गर्न सक्ने गगन थापाबाहेक अरु पात्र खासै देखिएनन् । अध्यादेशबाट देश चलाए केपी शर्मा ओलीले । कांग्रेस धिपधिपे उज्यालोपनि बन्न सकेन । कांग्रेसको नेत्रित्व ओलीसितै लम्पसार पर्‍यो । बरु देउवाले ओलीसितै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीका वरिष्ठ अधिकृत, राजदूत नियुक्ति, अदालतमा भागवण्डामा मोलमोलाई गरेर कांग्रेसलाई एमालेको बन्धक बनाए । बोल्ने, रचनात्मक प्रहार गर्ने, कांग्रेस पार्टीलाई ति सबै बेथितिका बिरुद्द जगाउने काम गगन थापा र केहि हदसम्म रामचन्द्र पौडेलले मात्रै गरे । नितिगत रुपमा पछाडि बसेर डा. शेखर कोइरालाले साथ दिए । समग्रमा देउवा नेतृत्वमा आएदेखि कांग्रेसको न साख रह्यो न बिचार रह्यो । न कांग्रेस पार्टी भन्न लायकको संगठन रह्यो ।

यो सारा दृष्टान्त कांग्रेस पार्टी पार्टीका रुपमा नरहेकैले हो । जहिलेपनि कांग्रेस सत्ता भागबण्डाको साक्षी रह्यो । सरकारको पेलाईमा समग्र पार्टी पर्‍यो । पार्टी मुली र सरकार गौण हुनुपर्नेमा उल्टो भैदियो । पार्टी सधैं सरकारको छायाँमा पर्‍यो । देउवा र उनको गुटले कांग्रेस पार्टीलाई सरकारसँगै बदनाम गरायो । कांग्रेस भनेकै सरकार, सरकार भनेकै कांग्रेस, कांग्रेस भनेकै देउवा जस्तो बन्यो । नेपाली कांग्रेस कहिंकतै नितिमा अडिन सकेन । देउवाले हाकाहाकि ‘माओवादीलाई भोट देउ’ भनेर कम्युनिस्ट एजेण्डा बोकेर हिंडे । आफ्ना पार्टीका नेतालाई दशैंको खसी झैं बलिमा चढाएर माओवादीका एजेण्डा बोक्दै हिंडे ।

कांग्रेस देख्दा, सुन्दा, हेर्दा, बुझ्दा कहिंकतै कांग्रेस पार्टी जस्तो रहेन । यसको नेत्रित्व फेर्नुपर्ने माग चौतर्फि उठ्यो । यो सबै बिकृतीका बिरुद्द आवाज उठाउँदै आएका बुढा नेता रामचन्द्र पौडेललाई केहि कांग्रेसीले नेतृत्वकालागि आँखा लगाए । बिगतमा गिरिजा पसाद कोइरालाकै अघिपछि समर्थन गर्न पुग्ने गरेका रामचन्द्र पौडेललाई सर्वसम्मत कांग्रेस सभापति बनाउने आशा धेरै कांग्रेसी जनमा थियो । तर बिचार, दृष्टिकोण, नेतृत्व र अरुलाई मिलाएर लैजान सक्ने क्षमताका हिसाबले डा. शेखर कोइरालापनि थिए । नितिगतरुपमा शेखर कोइरालालाई नेपाली कांग्रेसको नेतृत्व सुम्पनुपर्नेमा कांग्रेस पार्टी सुधार्न चाहनेको अभिलासा रामचन्द्रले बुझेनन् । नत उनले सभापतीका प्रत्यासीहरुलाई आफ्ना पक्षमा मनाउन सके । न शेखर कोइरलासित सहमति बनाउन सके । देउवा इतरका अधिकांश कार्यकर्ताको मन आफ्ना पक्षमा तान्नपनि सकेनन् ।

यस्तो अवस्थामा राम्र चन्द्र पौडेलको भूमिका अझै हस्तक्षेपकारी, अझै प्रभावकारि र अझै पाको निर्णय अपेक्षित थियो । किनभने सरकार, पार्टी, निर्वाचन आयोग सबै ठाउँमा दाम, साम दण्डभेदले सुसज्जित शेर बहादुर देउवाको एकछत्र रजाई तोड्न शेखर कोइरालाकै पक्षमा रामचन्द्र पौडेल लाग्नुपर्ने थियो । तर रामचन्द्र पौडेल उमेरले पाका भएपनि राजनितिक मैदानमा केटाकेटी देखिए ।

पहिलो त जनमतको कदर गर्नुपर्छ, प्रजातन्त्रमा मतको कदर हुनुपर्छ भन्ने पार्टीकै वरिष्ठ नेता पौडेल आफैंले मतदानमा भाग लिएनन् । जनमतमा विश्वाश गर्ने भनिएको पार्टीको नेताले जनमतमै अविश्वाश गरेर मतदान बहिस्कार गर्नु जनमतको खिलाफ, आफ्नै बोलीको खिलाफ र कांग्रेस निति बिरुद्द हो । पौडेल आफ्नै बोली, कांग्रेस निति र कार्यकर्ताको खिलाफमा देखिए । जनमतलाई कदर नगर्ने नेताले आफ्ना कार्यकर्तालाई जनमतको कदर गर्ने शिक्षा दिन अब नैतिक रुपमा सुहाउन्न । आफैंले मतदानमा विश्वाश नगरेपछि कार्यकर्तासित मत माग्ने नैतिक धरातल पनि कसरि रहला ? पौडेलसित अब जनमतको शंख फुक्ने नैतिक आधार समाप्त भएको छ ।

अर्को कुरा, दुखमा आफन्त चाहिने हो । सुखका बेला आफ्नो, आफू निकटको, साखुल्ले बन्न जोपनि आउँछ । कांग्रेस पार्टी यतिखेर दुखमा छ । नितिगत अप्ठेरोमा छ । यो दुख, अप्ठेरो, पीडा र कठिनाईका बेला नेताले साथ दिनैपर्छ । नेता भनेकै अप्ठेरोमा चुनौतिको सामना गर्न सक्नु हो । चुनौतिपूर्ण अवस्थामा निकास दिनसक्नु हो । कार्यकर्ता भन्दा दुई कदम अगाडि बढेर निर्णय लिन नसक्ने, जोखिम मोल्न नसक्ने ब्यक्ति कार्यकर्ताको सर्वमान्य नेता बन्न सक्दैन । कार्यकर्तालाई नेतृत्व दिन नसक्ने ब्यक्ति तिनको नेता बन्न सक्दैन । यो अप्ठेरोमापनि पौडेल देखिएनन् । उनी मतदानबाट बाहिरिएर हिंडे ।

उनले भन्न सक्नुपर्थ्यो ‘म कांग्रेस पार्टीलाई नितिमा हिंडाउन, सहि दिशा दिन, बैचारिक मूल्य र मान्यतामा डोहोर्‍याउन उपयुक्त पात्र थिएँ । मेरा पक्षमा सहमति नजुटेपछि शेर बहादुर देउवा बिरुद्द एकजुट हुनुपर्छ । कांग्रेस पार्टीको बिधिबिधान, निति, आदर्श अनुरुप हिंडाउन अब शेर बहादुर देउवा बिरुद्द एकजुट हुनुस्, देउवाको नेत्रित्व बिरुद्द लाग्नुस्, मेरो आव्हान देउवा बिरुद्द छ’ भनेर भन्न सक्नुपर्ने थियो । तर रामचन्द्र पौडेलले त्यसमा भूमिका खेल्न सकेनन् ।

पौडेलले मतदाननै नगर्नु, देउवाको पार्टी र सरकार दुबैमा एक छत्र रजाई गर्ने प्रवृत्तिको बिरुद्द नलागेर मतदान समेत नगरि तटस्थ भूमिकामा रहनु भनेको शेर बहादुर देउवालाई घुमाउरो पाराले समर्थन र साथ दिनु हो । रामचन्द्र पौडेल घुमाउरो पाराले अन्तत आफ्नै आदर्श, आफ्नै निति, बिगतमा आफैंले बोलेका भनाई बिरुद्द लागेका छन् । पौडेलले द्वैध चरित्र देखाएका छन् । देउवालाईनै फाईदा पुग्ने निर्णय गरेका छन् ।

रामचन्द्र पौडेलको तटस्थ भूमिकाले नेपाली कांग्रेस पार्टीलाई फेरिपनि बेथिति, नितिहिन, एजेण्डाबिहिन अवस्थामा पुर्‍याउने छ । कांग्रेस फेरिपनि पुरानै दलदलमा फस्ने अवस्थामा पुगेको छ । त्यसको सारथी रामचन्द्र पौडेल समेत देखिनु दुखद पक्ष हो । कांग्रेस बिग्रिनुको अपजस रामचन्द्र पौडेलले आजन्म बोकिरहनुपर्ने छ । उनको गैरराजनितिक सुझबुझको कमजोरीले फेरिपनि कांग्रेसलाई दिशाहिन, नितिहिन बनाउने छ । त्यसको अपजस, दाग रामचन्द्र पौडेलले बोकिरहनुपर्ने छ । उनीमाथि ‘म सर्वमान्य नेता’ भनेर दाबि गर्ने एक त्यान्द्रोपनि बाँकि रहने छैन । यो नेपाली कांग्रेस र समग्ररुपमा देशकै लागि निकै ठूलो घाटा हो ।

तिर्थनाथ कँडेलको अघिल्लो लेखपनि हेर्नुस्

वामपन्थीका उमेदवार शेखर र गगन

तपाइँको प्रतिक्रिया