बिहीबार, वैशाख १३, २०८१

ठूलो भेंडाको पछी लागेर भिरबाट हामफाल्दै कांग्रेस

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ मंसिर २८ गते १५:१०

राजनीतिमा धेरै कुरा यस्ता हुन्छन् जसलाई कोसिस गरेपनि सम्झिन सकिन्न । अझ दलिय राजनीतिमा पुराना कुराहरु सम्झेर साध्य हुँदैन । कुनै राजनीतिक घटनामा बन्ने दलिय समिकरणहरुलाई कुनै पार्टी वा ब्यक्तिले सधैं सम्झिरहने हो भने राजनीति अगाडि बढ्न सक्दैन । त्यसकारण विषयगत अवधारणाको आधारमा समिकरण बन्नु अस्वाभाविक पटक्कै होइन । पार्टी भित्रका समिकरणहरु भने धेरै वर्षसम्म बिर्सिन सकिंदैन । बिर्सिनु पनि हुँदैन । दलिय राजनीतिमा पार्टी मात्र यस्ता संयन्त्र हुन जसले देशलाई हिंडाउने बाटोको निर्धारण गर्न सक्दछन ।

तर कांग्रेस भित्र भर्खरै देखिएको समिकरण भने उदेक लाग्दो छ । धेरै कार्यकर्ताले बिर्सिन सक्दैनन् । अहिलेको महाधिवेशनले त्यस्तै बिर्सिन नसक्ने गरी छाप छोडेको छ । सम्भवत: कांग्रेसका समर्थकहरुले यो महाधिवेशन कहिल्यै बिर्सिने छैनन् । नेपाली कांग्रेस परित्याग गर्नुभन्दा अलिकती अघि गणेशमान सिंहले भनेका थिए- ‘मैले धेरै प्रयास गरें । तर यो पार्टी कसैगरी सुध्रिन्न ।’

गणेशमानले बुझेर नै भनेका थिए । हार खाएर उनी पार्टीबाट विस्थापन बाटो लागेका थिए । पार्टी सुध्रिन नेता र कार्यकर्ता सुध्रिन जरुरी हुन्छ । तर नेपाली कांग्रेसको ईतिहासमा यस्तो कहिल्यै देखिएन । चौधौं महाधिवेशनले यसलाई झन पक्का बनायो । नेपाली कांग्रेसका कार्यकर्ताहरु भेंडाहरुको त्यस्तो हुल हो जो कुनै एउटा सनकी भेंडाको पछि लागेर सधैं भिरबाट हामफाल्न तयार हुन्छ । सालाखाला गणेशमान र कृष्ण प्रसाद भट्टराईले बुझेको यही हो ।

गणेशमान अलग्गिएको तीन दशक पछी यो पार्टीमा सभापतिका उम्मेद्वार शेरबहादुर देउवा भेंडाहरुको बडेमानको हुल पछी राखेर त्यही भिरमा उभिएका छन् जहाँ गणेशमानले खतराको संकेत गरेका थिए । यो महाधिवेशनमा काठमाडौंमा उत्रिएका अलिकती प्रतिनिधिको झुण्डलाई छोड्ने हो भने अधिकांश समर्थक र कार्यकर्ताहरुको चाहना शेरबहादुर देउवाको वहिर्गमन नै हो । देउवाको वहिर्गमन बिना न त नेपाली कांग्रेसले एकरुपता पाउन सक्दछ न देशलाई गती दिन सक्ने गरी पार्टीले कुनै निर्णय गर्न सक्दछ ।

यो किनपनि भने २०४८ साल पछी देउवा लगातार शक्तिमा छन् । उनको अक्षमता त्यसैगरि लगातार देखिएको छ । चौधौं महाधिवेशन पछी देउवा पुन: सभापति बन्ने पक्का जस्तै देखिएको छ । पार्टीको लगाम अबको पाँच वर्ष उनकै हातमा रहने छ । नितिगत र विधिका कुरामा कांग्रेसले फेरी पनि पार्टीलाई बन्धक बनाउने निष्चित छ । बितेका पाँच वर्ष देउवा जसरी चले अब पनि कुनै तात्विक अन्तर देखिने छैन । उनी त्यसरी नै चल्ने छन् । नेपाली कांग्रेस झन संकुचित हुने छ । पार्टीहरु संकुचन भइरहँदा देशलाई कस्तो असर पर्छ भन्ने हेक्का ति महाधिवेशन प्रतिनिधिलाई पक्कैपनि हुँदो हो । तर पनि तिनले देउवाको नेतृत्वका लागि मोहर लगाएका छन् ।

कांग्रेसको माथिल्लो तहका नेताहरु मात्र होइन कार्यकर्ताहरु समेत खासमा कुनै परिवर्तन चाहँदैनन । बरु तिनिहरु गुलामीलाई मलजल गर्ने पुस्तान्तरण गराउँदै छन् । अहिले नेतृत्व परिवर्तनका लागि स्वभाविक रुपमा शेखर कोइराला बलिया उम्मेद्वार थिए । कोइरालासँग देश र पार्टीको भविष्यका लागि सोच छ ।

उनले भनेकै छन- “पदको लागि मात्रै मलाई नेपाली कांग्रेसको सभापति हुनु छैन । हामीले पार्टीलाई नविकरण गर्नु जरुरी छ । अर्को कुरा, म सभापति बनें भने अन्य कुनै पनि पदमा बस्दिन । नेपाली कांग्रेसको सबैभन्दा ठुलो समस्या भनेको पदका लागि दोहोरो खुड्किलो हो । शक्तीमा रहनेले सधैं यो सुविधा प्रयोग गरेका छन ।”

शेखरसँग यसको दिर्घकालीन उपचार थियो । पक्कै पनि शेखरले चुनाव जित्दा देशब्यापी रुपमा यसको संचार हुने थियो । अन्तिम अवस्थासम्म टिम बनाउने र साझा उम्मेद्वार बन्ने कसरतमा लागेपनि कोइराला सफल हुन सकेका थिएनन् । रामचन्द्र पौडेल आफैं सभापतिका आकांक्षी थिए । आफू नबन्ने भएपछी उनको रोजाइमा प्रकाशमान सिंह थिए । तर शेखर कोइराला र उनी निकटको गलत बुझाई के हो भने पौडेलको उम्मेद्वार नबन्ने घोषणा भनेको आफूलाई समर्थन गरेको घोषणा हो । कुरो यस्तो थिएन । पौडेलले चाहेको भए प्रकाशमानले उम्मेद्बारी दिने थिएनन् । खेल रामचन्द्रले खेले । पत्यारिलो बन्ने मोडमा पुगेको नेपाली कांग्रेस बिचमा नै रोकियो ।

गगन थापाले भनेका छन- “पुस्तौँसम्म पछुताउनुपर्ने गल्ती नगर्न प्रतिनिधिहरूलाई अनुरोध गर्दछु ।”

तर गल्ती त भयो । प्रतिनिधिहरुले मात्र गल्ती गरेनन् । पार्टी विसर्जन गर्ने दौडमा रामचन्द्र पौडेल पनि थपिए । यदी उनलाई देउवाले पार्टीको भविष्यलाई गतिदिन सक्दैनन् भन्ने लाग्दथ्यो भने आफू सभापतिको उम्मेद्वार नबने पनि उनले कोइरालाका पक्षमा बोल्ने थिए । तर बोलेनन् । शेखर हराउने मोल मोलाई कोठामै बसेर टुङ्गियो । पार्टीमा पौडेलको तुलनामा कृष्ण प्रसाद सिटौला थोरै इमान्दार देखिए । उनले खुलेरै भने मेरो समर्थन देउवालाई छ । पौडेलले खुलेर देउवालाई समर्थन गरेनन् । तर पनि समर्थन गरे भित्रभित्रै ।

६ महिना अघी पौडेलले नेपालप्लससँगको कुराकानीमा भनेका थिए- “यदि फेरी पनि नेपाली कांग्रेसको नेतृत्व शेरबहादुर देउवाको हातमा पुग्यो भने सम्झिनु पार्टीको अवशान भयो ।” पौडेलले भने जस्तै सबैले नेपाली कांग्रेसको अवशान भएको देख्ने छन् अब । तर यो अवशानका सहयात्री पौडेल पनि हुने छन् । उनैले नै पढ्ने छन् अन्त्यष्टिका श्लोक । कांग्रेसका कार्यकर्ताहरुले रामचन्द्र पौडेलको बैचारिक अन्त्यष्टी कहिल्यै बिर्सिने छैनन् । पौडेलमा देखिएको यो बैचारिक स्खलन त्यस्तो अवस्थामा भएको छ जुन बेला नेपाली कांग्रेसले साँच्चिकै महाधिवेशनमा उनलाई खोजिरहेको थियो । अब शेरबहादुर देउवाको आलोचना गर्ने अधिकार पौडेलले मात्र होइन सिटौला, प्रकाशमान, सशांक सबैले गुमाएका छन् । भविष्यमा कसले कती ठूलो भाग पाउने छ त्यो देखिने नै छ ।

तर स्पष्ठ केछ भने पौडेल, सिटौला र प्रकाशमानहरुले जतिनै ठूलो भाग पाए पनि पार्टी सधैं भोको रहने छ । ईतिहास कहिल्यै पनि तरंगित हुने छैन ।

भेंडाहरुको स्वभाव हुन्छ- ठूलो भेंडाको पछी लागेर भिरबाट हामफाल्ने । त्यसको मन्चन सकिएको छ । रामचन्द्र पौडेल राष्ट्रपती नै बनाइए भनेपनि त्यो सट्टाबाजी निकै महँगो पर्ने छ । पौडेलले आफू प्रजातन्त्रबादी हुँँ भन्ने विल्ला गुमाएका छन् । सिटौलाहरुले हरेक पटक हार्ने छन् ।

तपाइँको प्रतिक्रिया