बुधबार, वैशाख १२, २०८१

युरोपमा ओमिक्रोन भेरियन्टको संक्रमण कहाँ कहाँ कति फेला परे ?

नेपालप्लस टिम२०७८ मंसिर २९ गते १:०६

दक्षिण अफ्रिकामा पहिलो पटक पत्ता लगाइएको सम्भावित रूपमा बढी संक्रामक ओमिक्रोन कोभिड-१९ संस्करण अहिले विश्वभर फैलिरहेको छ । नोभेम्बरको अन्त्यमा यो पत्ता लागेपछि युरोपेली सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल (ईसिडिसी) का अनुसार डिसेम्वर १३ सम्ममा ७० देशमा भेरियन्टका कम्तीमा ६,४३० घटना पुष्टि भएका छन् ।

लक्षणहरूको गम्भीरताको रूपमा भने तथ्यांक अझै सङ्कलन भइरहेको छ । बेलायत सरकारका अनुसार अहिलेसम्म ओमिक्रोनबाट कम्तिमा एक जनाको मृत्यु भैसकेको छ।

युरोपेली देशमा ओमिक्रोन घटना फेला पर्ने बेलायत पहिलो थियो । तर यो संस्करण अझै युरोप महाद्वीपमा जताततै पत्ता लगाउन सकेको छैन । कुन कुन देशहरूमा नयाँ संस्करणको शंकास्पद वा पुष्टि भएका घटना छन् भन्ने खुलदुली भने चौतर्फी छ ।

अस्ट्रियाली सरकारले नोभेम्बर २९ मा हालसालै दक्षिण अफ्रिकाको यात्रा गरेका टायरोल क्षेत्रका एक व्यक्तिबाट आइपुगेको पुष्टि भएको घोषणा गर्‍यो । रोग रोकथाम र नियन्त्रणका लागि युरोपेली केन्द्र (ईसिडिसी) का अनुसार डिसेम्वर १३ सम्ममा यो देशमा थप १७ जनामा पुष्टि भएको छ ।

बेल्जियममा नोभेम्बर २६ मा युरोपेली (ईयु सेन्जेन) भूमिमा ओमिक्रोन भेरियन्टको पहिलो घटना पहिचान गर्‍यो । बेल्जियमको सार्वजनिक प्रसारक आरटीबीएफका अनुसार संक्रमित एक युवती थिईन । उनी ईजिप्टमा थिइन् र ११ दिनदेखि लक्षणहरू देखिएका थिए । त्यसबेलादेखि कुल चौध संक्रमितका घटना आधिकारिक रूपमा पुष्टी भएको छ जसमा दक्षिण अफ्रिकाको यात्रासँग जोडिएको छैन ।

क्रोएसियाले सोमवार भेरियन्ट पहिलो पटक रेकर्ड गरेको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन् । संक्रमणको स्रोत निर्धारण गरिएको छैन । तर दुई जना एक व्यापारिक बैठकमा संक्रमित भएका थिए । सरकारी स्वास्थ्य संस्थानका महामारी विशेषज्ञ बर्नार्ड काइकका अनुसार क्रोएसियामा डिसेम्बर ८ सम्म तीनवटा संक्रमण पुष्टि भएको छ ।

साइप्रसमापनि कोरोनाको ओमिक्रोन संस्करणका घटना पहिलो पटक पत्ता लगाएको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ । यसले साइप्रसको न्यूरोलोजी र आनुवंशिकी संस्थान द्वारा विशेष परीक्षण पछि दक्षिणी शहर लिमासोलमा तीन जनालाई आइसोलेसनमा राखेको बताएको छ।

भेरियन्टको लागि सकारात्मक परीक्षण गर्नेहरू मध्ये कुनै पनि ब्यक्तिलाई अस्पताल भर्ना आवश्यक नपरेको स्वास्थ्य मन्त्रालयले बताएको छ । ती व्यक्तिहरू भर्खरै विदेशबाट साईप्रस गएका थिए ।

चेक गणतन्त्रको उत्तरी भाग स्थित लिबेरेकको एक क्षेत्रीय अस्पतालले नोभेम्बर २७ मा कोरोना भएका बिरामीमा ओमिक्रोन भेरियन्ट पत्ता लागेको घोषणा गर्‍यो ।

खोप लगाइएकी र हल्का लक्षण देखिएकी ती महिला दक्षिण अफ्रिका र दुबई हुँदै चेक गणतन्त्र फर्किनुअघि नामिबिया गएकी थिइन् । डिसेम्बर १३ सम्ममा त्यहाँ ९ वटा घटना फेला परेका छन् ।

डिसेम्बर १३ सम्म डेनमार्कमा कोरोना संक्रमितको संख्या २,७४१ पुष्टी भएको देशका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । ओमिक्रोन केसहरू भेरियन्ट पीसीआर र होल-जीनोम सिक्वेन्सिङ (डब्ल्यु जि एस) मार्फत पहिचान गरिएको छ ।

सार्वजनिक जनस्वास्थ्य विभागले पहिलो पटक नोभेम्बर २८ मा दुई व्यक्तिमा ओमिक्रोन पुष्टि गरेको थियो । एक विद्यार्थीमा कोभिड-१९ को शङ्कास्पद रुप फेला परेपछि त्यसको रिपोर्ट आ उनु अघिनै विद्यालय भोलिपल्ट देखि बन्द गरिएको थियो ।

इस्टोनियामा कोरोनाको ओमिक्रोन भेरियन्टका कुल २६ घटना पहिचान गरिएको छ । धेरैजसो संक्रमण दक्षिण अफ्रिकाबाट यात्रा गर्नेहरुबाट भएको हो ।

फिनल्याण्डमा पहिचान भएका केसहरूको संख्या डिसेम्बर १३ मा २० पुगेको छ । फिनिस इन्स्टिच्युट फर हेल्थ एन्ड वेलफेयर (टि एच एल) का अनुसार अधिकांश संक्रमण यात्रासँग सम्बन्धित छन् ।

डिसेम्बर १३ सम्म फ्रान्सले ओमिक्रोन संस्करणको ५९ घटनाहरू पहिचान गरेको छ । ५९ पुष्टि भएका घटनाहरू मध्ये २१ दक्षिणी अफ्रिकाबाट फर्केका मानिसहरूमा पत्ता लगाइएको थियो । र चार जना स्थानीयरुपमा संक्रमण भएको फ्रान्सेली स्वास्थ्य मन्त्री ओलिभर भेरँले बताएका छन् ।

पहिलो घटना रेयुनियोंमा फेला परेको थियो । फ्रान्सको विदेशी विभागहरू मध्ये यो क्षेत्रमा मोजाम्बिकको यात्रा पछि मौरिससबाट फर्केका यात्रीले सारेका थिए ।

जर्मनीमा सुरुमा दक्षिणी जर्मन राज्य बाभेरियाका स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरियन्ट संक्रमणको दुईवटा घटनाहरू पुष्टि गरेका थिए । दक्षिण अफ्रिकाबाट फर्किएका दुवै यात्रु म्युनिख विमानस्थलमा आइपुगेका थिए ।

स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांक अनुसार जर्मनीमा ८२ घटना पुष्टी भएका छन् । नयाँ प्रतिबन्ध लगाउनुको साथसाथै जर्मनी भाइरस विरुद्ध खोप अनिवार्य बनाउनेतर्फ अघि बढिरहेको छ ।

ग्रीसले डिसेम्बर ८ सम्म ओमिक्रोन भेरियन्टका तीनवटा सकारात्मक घटनाहरू पहिचान गरेको छ। ग्रीसको ख्रेत टापुमा एक व्यक्तिले कोरोना परिक्षण गर्दा पहिलो ओमिक्रोन संस्करण भएको शंका गरिएको थियो । उनी हालै दक्षिण अफ्रिकाबाट फर्किएका थिए ।

आइसल्याण्डमा ओमिक्रोन भेरियन्ट पत्ता लागेपछि सीमामा प्रतिबन्ध लगाए पनि आइसल्याण्डका स्वास्थ्य अधिकारीहरूले डिसेम्बर १ मा कतै यात्रा नगरेका ब्यक्तिमा ओमिक्रोन भेरियन्टको केस पत्ता लगाएका थिए । तिनीहरूको निष्कर्ष अनुसार यो स्थानीय रूपमा प्रसारित भएको थियो । त्यसैले यो संस्करण आइसल्याण्डको समाजमा पहिले नै केही समयदेखि थियो । पुष्टि भएका केसहरूको संख्या डिसेम्बर १३ सम्म २० पुगेको छ ।

इटालीको ईटालियन हायर इन्स्टिच्युट अफ हेल्थ (आईएसएस) ले मोजाम्बिकबाट फर्केका नाप्लेस क्षेत्रका एक व्यक्तिमा ओमिक्रोन केस पुष्टि भएको नोभेम्बर २७ मा घोषणा गरेको थियो । आईएसएसले बिरामी र उनको परिवारको स्वास्थ्य राम्रो रहेको बताएको थियो । भर्खरको ईसिडिसी तथ्यांक अनुसार इटालीमा १३ केसहरू पुष्टि गरेको छ ।

यसैबीच देशले नयाँ आधारभूत स्वास्थ्य पास सहित नयाँ प्रतिबन्धहरू लगाएको छ जसमा सार्वजनिक यातायात र होटलहरू प्रयोग गर्न कोरोनाको नकारात्मक परीक्षण आवश्यक पर्दछ ।

आयरल्याण्डमा तीन ओमिक्रोन केसहरू पुष्टि भएका छन् । दुईवटा ग्रेटर बेलफास्ट क्षेत्रको एउटै घरमा र तेस्रो दक्षिण पूर्वी ट्रस्ट क्षेत्रमा ।

“सामान्य यात्रा क्षेत्रमा अन्यत्र ओमिक्रोनको सामुदायिक प्रसारणको प्रमाणलाई ध्यानमा राख्दै, हामी मानिसहरूलाई इङ्गल्याण्ड, स्कटल्याण्ड, वेल्स वा रिपब्लिक अफ आयरल्यान्डबाट उत्तरी आयरल्यान्डको यात्रा गर्नु अघि कोरोना परीक्षण गर्न सल्लाह दिन्छौं” प्रमुख मेडिकल अफिसर प्रोफेसर सर माइकल म्याकब्राइडले भनेका छन् ।

लातभियामा डिसेम्बर ५ मा पहिलो दुई ओमिक्रोन केसहरू पुष्टि भएका थिए । डिसेम्बर ४ मा रिगा अन्तर्राष्ट्रिय विमानस्थलमा लिइएको र्‍यालको नमूनाहरू परीक्षण गरेपछि भाइरसको भिन्नता पत्ता लगाइएको थियो ।

नेदरल्यान्ड्सको एम्स्टर्डमस्थित शिपोल एयरपोर्टमा गरिएको परीक्षणमा दक्षिण अफ्रिकाबाट हालै आएका ६०० यात्रुमध्ये ६१ जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । डच अधिकारीहरूले डिसेम्बर ४ मा तिनीहरूमध्ये १८ मा नयाँ संस्करण पुष्टि गरे।

संक्रमित यात्रुहरू नयाँ यात्रा प्रतिबन्ध घोषणा गरिएलगत्तै नोभेम्बर २६ मा दक्षिण अफ्रिकाबाट उडेको दुईवटा उडानद्वारा आएका थिए ।

नर्वेमा दक्षिण अफ्रिका बाहिर सबैभन्दा ठूलो एकल प्रकोपको रूपमा वर्णन गरिएको छ । ओस्लोमा आयोजना गरिएको एक कार्यालयको क्रिसमस पार्टी पछि १९ ओमिक्रोन केसहरू पुष्टि भएका थिए। “सुपरस्प्रेडर इभेन्ट” नाम दीइएको उक्त कार्यक्रममा अन्य ६० जना जतिले कोरोना परिक्षण गर्दा सकारात्मक देखिएको थियो । खोप लगाएकाहरुमापनि यो भेरियन्ट देखिएको थियो ।

डिसेम्बर १३ सम्म नर्वेमा कुल ९५८ संक्रमित पुष्टि भएका थिए ।

पोर्चुगलमा ओमिक्रोन बेलेनेन्सेस एसएडी फुटबल क्लबका १३ खेलाडीमा उनीहरूको टोलीको सदस्यद्वारा दक्षिण अफ्रिकाको यात्रा पछि पत्ता लागेको थियो ।

नोभेम्बर २९ मा एक प्रेस विज्ञप्तिमा नेशनल हेल्थ इन्स्टिच्युट (इन्सा) ले खुलासा गर्‍यो “प्रारम्भिक परीक्षणहरूले दृढताका साथ सुझाव दिन्छ कि सबै तेह्र केसहरू चिन्तापूर्ण मानिएको ओमिक्रोनसँग जोडिएका छन् ।”

ईसिडिसीका अनुसार डिसेम्बर १३ सम्म देशमा ४९ जनामा पुष्टि भएको थियो ।

रोमानियामा नोभेम्बर ३० मा दक्षिण अफ्रिकाबाट फर्केका यात्रुहरूमा दुईवटा घटनाहरू फेला परेका थिए । देशका स्वास्थ्य अधिकारीहरूले डिसेम्बर ४ मा पुष्टि गरेका थिए । डिसेम्बर १३ सम्म त्यो संख्या बढेर ८ पुग्यो ।

स्लोभाकियाको ब्राटिस्लाभास्थित चार्ल्स युनिभर्सिटीको साइन्स पार्कसँगको सहकार्यमा सार्वजनिक स्वास्थ्य कार्यालयको प्रयोगशालाहरूले शुक्रबार साँझ स्लोभाक गणतन्त्रको क्षेत्रमा ओमिक्रोन भेरियन्टको घटना पुष्टि गरे। तिन जनामा पुष्टि भएका सबैलाई कोरोनाको दुई डोज लगाइसकिएको थियो ।

स्पेनमा ओमिक्रोन भेरियन्टको पहिलो पुष्टि नोभेम्बर २९ मा म्याड्रिडको एक अस्पतालमा भएको थियो।

“म्याड्रिडको ग्रेगोरियो मारोन अस्पतालको माइक्रोबायोलोजी विभागले स्पेनमा ओमिक्रोन भेरियन्टको पहिलो पुष्टिको घोषणा गरेको छ” सार्वजनिक संस्थाले ट्वीटरमा भनेको थियो ” यो ल्याउने दक्षिण अफ्रिकाको यात्री थियो र उसको स्वास्थ्य राम्रो थियो ।”

स्पेनमा हालसम्म पुष्टि भएका घटनाको संख्या बढेर ३६ पुगेको छ । स्पेन युरोपमा उच्च खोप दरहरू भएको मुलुक मध्ये एक हो।

स्वीडेनको राष्ट्रिय जनस्वास्थ्य एजेन्सीले नोभेम्बर २९ मा पहिलो संक्रमित पुष्टि गरेको थियो । ती व्यक्ति दक्षिण अफ्रिकाबाट आएका थिए । ईसिडिसीले अब स्वीडेनमा २३ जनामा पुष्टि भएको जनाएको छ ।

स्विस स्वास्थ्य अधिकारीहरूले नोभेम्बर २८ मा दक्षिण अफ्रिकाबाट फर्केका एक व्यक्तिमा “पहिलो सम्भावित केस” पत्ता लागेको घोषणा गरेका थिए । जिसेड स्वास्थ्य अनुगमन संस्थाका अनुसार त्यसबेलादेखि स्विट्जरल्याण्डमा पुष्टि भएका ओमिक्रोन केसहरूको संख्या बढेर ३२ पुगेको छ।

करिब २,००० मानिसहरूलाई डिसेम्बर ३ मा जेनेभा र भो प्रान्तमा १० दिनको क्वारेन्टाइनमा राखिएको थियो । ति मध्ये अधिकांश वालवालिका थिए । एक अन्तर्राष्ट्रिय विद्यालयमा दुईवटा केसहरू फेला परेपछि तिनलाई क्वारेन्टाईनमा राखिएको थियो ।

डिसेम्बर, १३ सम्म यूकेमा पत्ता लागेको मूल ओमिक्रोन भेरियन्टका केसहरूको संख्या १,५७६ ले बढ्यो । हाल यूकेमा कुल ४,७१३ पुष्टि भएका छन् ।

“कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको फैलावट प्रत्येक दुई देखि तीन दिनमा दोब्बर भएको देखिन्छ ” बेलायत सरकारको आपतकालिन वैज्ञानिक सल्लाहकार समूह (सेज) का सदस्य र इम्पेरियल कलेज लन्डनमा रोग प्रकोप मोडलिङ समूहका प्रमुख प्रोफेसर नील फर्ग्युसनले गत हप्ता बिबीसी रेडियोसित भनेका थिए ।

स्कटल्याण्डमा रिपोर्ट गरिएका केसहरूको कुल संख्या २७ छन् । वेल्समा पुष्टि गरिएको ओमिक्रोन संक्रमितको कुल संख्या थप १५ छन्।

प्रधानमन्त्री बोरिस जोनसनले सोमबार कम्तिमा एक व्यक्तिको बेलायतमा ओमिक्रोन भेरियन्टबाट ज्यान गएको बताएका थिए ।

“दुःखको कुरा ओमिक्रोनले अस्पतालमा भर्नाहरू अत्यधिक बढीरहेको छ । अर्को दुखको कुरा, ओमिक्रोनबाट कम्तिमा एक बिरामीको मृत्यु भएको पुष्टि भएको छ” उनले लन्डनस्थित खोप क्लिनिकको भ्रमणका क्रममा भने।

तपाइँको प्रतिक्रिया