मंगलबार, असार १४, २०७९

पार्टीको चुनाव जिते पनि शेरबहादुरको दिमागमा आजीवन डर बसालेको त्यो समय

थानेस्वर सापकोटा२०७८ पुष १ गते ७:२८

यो २०५७ सालको मध्यतिर हुनुपर्दछ । एउटा कार्यक्रमको रिपोर्टिङका लागि हामी बिराटनगर पुगेका थियौं । भारतका पुर्व प्रधानमन्त्री चन्द्र शेखर आएका थिए त्यहाँ । कार्यक्रम राष्ट्रिय स्तरको नभए पनि नेपाली कांग्रेसका सबै राष्ट्रिय नेताहरुले बोल्ने कार्यक्रम भएकाले पनि म कार्यरत समाचार संस्थाको त्यस कार्यक्रमप्रती विशेष रुची थियो । हामीले दिनभरी रिपोर्टिङ गरेर होटलमा फर्किदा गिरिजा प्रशाद, चन्द्र शेखर र शैलजा आचार्यको पत्रकार सम्मेलन सकिनै लागेको थियो । पत्रकार सम्मेलन भने पनि पत्रकारले नै खासै रुची माने जस्तो देखिएन । हामीलाई पनि रुची लागेन ।

पत्रकार बलराम बानिया र मैले केही पेय पदार्थ पाईन्छ कि भनेर सोधखोज गरिरहेका थियौं । त्यही बेला नेपाली कांग्रेसका नेता भिमबहादुर तमाङले हामीलाई सुटुक्क होटलको पछील्तिरको लविमा बोलाए । एक जना अर्को को थियो कुन्नी नाम बिर्सें । तर तिनको अनुहार मेरो दिमागमा अझै घुम्छ । तिनको अनुहार सम्झिरहने कारण छ म पछी भनुँला ।

हामी अली अबेरसम्म बस्यौं । नेता तमाङसँग भेटघाटहरु बाक्लै भएपनि यस्तो खालको बसाइ पहिलो थियो । ति मान्छे राजनीतिज्ञ भन्दा पनि दार्शनिक बढी थिए । तमाङसँग अद्भुत ज्ञानको भण्डार थियो । विराटनगरको ओरालो लाग्दै गरेको गरेको गर्मी, भिमबहादुर तमाङका उत्पातका समाजबादी दर्शन र पेय पदार्थका मसिना सिसी- गज्जप नै थियो । म भोली बिहानै काठमाडौं फर्किदै थिएँ । भिमबहादुर तमाङहरु केही नेता माथि धनकुटा तर्फ लाग्दै थिए । “जाउँ न त धनकुटा”- भिम बहादुर तमाङले भने । मलाई शायद काठमाडौं फर्किनु पर्ने छ छिट्टै नै । सोच्नै सकिन ।

बलराम बानियाले पनि थपे “जाउँ न दुई दिन त हो ।” एक्कैछिन पछी थाहा भो रामचन्द्र पौडेल रहेछन धनकुटा यात्राका मुली । नेताहरुले आफुहरु दौडाहमा जाँदा पत्रकार लैजाने चलन जोडतोडमा चलेको थियो । यस्ता दौडाहमा म माधव नेपाल देखी नेपाली कांग्रेसका बडा बडा नेताहरुको अघिपछी हिंडेको छु कैयनपटक । भोली पल्ट बिहान रामचन्द्र पौडेलले पनि जाने आग्रह गरे- “जाउँ न तिमीहरुलाई पनि केही समाचार हुन्छ ।”

मैले अफिसमा खबर गरें- ‘रामचन्द्र पौडेलले सँगै जाउँ भनेर हत्ते गरेका छन, जाने हो भने केही अनौपचारिक समाचार हुन्छन के गरौं ?’ योगेश दाईले नाईँ भनेनन् ।

हामी बिहानै रामचन्द्र पौडेल सहित भिमबहादुर तमाङ, बलराम बानिया म र हाम्रो क्यामेरामेन अनी मैले नाम विर्सेका ति मान्छे धनकुटा उकालीयौं । ति मान्छे जसको नाम मैले विर्से तिनले रातभरी सिरक ओढेर छादेका थिए र रामचन्द्र पौडेललाई तथानाम गाली गरेका थिए । तर तिनै थिए पौडेलका नजिकका । बिहान पौडेलले तिनकै बढी खातिरदारी गरे ।

धरानमा बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान निरिक्षण गर्ने कार्यक्रम थियो । यिनै अहिलेका डा। शेखर कोइराला प्रतिष्ठानका मुखिया थिए । बडो आदर पुर्वक घुमाए, हरेक नयाँँ कुरालाई व्याख्या सहित बुझाए । भात पनि त्यही खायौं शायद । एक घण्टाको बसाइ पछी हामी फेरी हिंड्यौ । मैले शेखर कोइरालालाई पहिलो पटक त्यहीं भेटे । कुराकानी गर्ने कुनै प्रसंग थिएन, भएन । यदी उनी राजनीतिमा नआएको भए अहिले पनि कुनै प्रसंग निस्किने थिएन । उमेर छिप्पिनै लाग्दा राजनीतिमा पसेका यिनले नेपाली कांग्रेस भित्र बनाएको पकड चौधौं महाधिवेशनले देखियो । शेरबहादुर देउवालाई जिन्दगीमा पहिलो पटक यिनैले डराउन दिए । देउवाको दिमागमा शेखर कोइरालाको डर मरणोपरान्त रहिरहने छ ।

कोइराला आफ्नै पेशामा मस्त थिए । गिरिजा प्रसाद कोइरालाले जोर जुलुम नगरेको भए शायद यिनले अहिले अवकाश प्राप्त जागिरेको जिन्दगी बिताइरहेका हुन्थे । गिरिजा प्रसादले नै यिनलाई राजनीतिमा उकाले । त्यसका कारण थिए- आफ्नै छोरी सुजाताले कोइराला परिवारको राजनीतिक विरासत थाम्ने कुरामा उनी ढुक्क थिएनन । शशांकसँग विश्वास थिएन । गिरिजा प्रसादका नजिककाहरुको भनाइलाई मान्ने हो भने उनले शशांकलाई दोगला छ भन्थे । त्यसैले शेखर कोइराला मात्र सबैमा एक मात्र विकल्प थिए ।

त्यसो त राजनीतिमा नभए पनि गिरिजा प्रसादका भित्रिया सल्लाहकार शेखर थिए । भारत, माओवादी, दरवार वा विपक्षी पार्टीहरु सँगका छलफल र वार्ताका मुख्य योजनाकार पनि यिनै थिए । तर समयले यिनलाई निकै ढिलो गरेर राजनीतिमा ल्यायो । “भाईहरुलाई चिया ख्वाउनु पर्‍यो”- भेडेटार पुग्नै लाग्दा भिमबहादुर तमाङले भने । बुढाले मनको कुरा बुझ्छन । चिया खानेको सिया खाने- तमाङले फेरी सोधे । हामी खिस्स हाँस्यौ मात्र ।

भेडेटारबाट उकालीदा घाम ढल्किनै लागेका थिए । साँझ पर्नु भन्दा पहिल्यै पुगिन्छ धनकुटा- हामी आफ्नै शुरमा थियौं । दुइजना बुढाहरुका राजनीतिक गफ थिए, देश विदेशका राजनीतिक गफमा तमाङ ओजिला थिए । मन्त्री हुँँदा बेलायत भ्रमणमा पुगेका तमाङका संस्मरण कम्ता रोचक थिएनन् । उनी भित्र ज्ञानको गहिरो महासागर नै थियो। अझ त्यो भन्दा पनि बढी त्यो ज्ञानलाई प्रस्तुत गर्ने कला अद्भुत थियो । अर्को कुरा हरेक पुस्ता सँग गाँसिन सक्ने गतिलो क्षेमता पनि उनी सँग थियो । हामी तमाङका कुरामा मस्त थियौं ।

“अघी मैले भन्दै थिएँ रामचन्द्रजीलाई कस्तो लाग्छ कुन्नी ! शेखर कोइरालालाई राजनीतिमा ल्याउनु पर्‍यो”- तमाङले भने । पौडेल केही बोलेनन् । शेखर जत्तिको मान्छे चाहिएको छ भन्या कांग्रेसलाई- तमाङले आफ्नो कुरा अगाडि बढाइ रहे ।

हामीलाई खास मतलब थिएन । जुनसुकै कोइराला आए पनि देशमा खासै केही परिवर्तन होला भन्ने हाम्रो विश्वास थिएन । उतिबेलै पार्टीहरुले देशलाई सम्हाल्न नसक्ने अवस्था आइसकेको थियो । देशलाई एउटा खास्साको मान्छे चाहिएको थियो । को होला र त्यो ? “कांग्रेसमा फेरी अर्को कोइराला कसरी थेग्ने”? – रामचन्द्र पौडेलले भने । भिमबहादुर तमाङको सम्पूर्ण चाहनालाई एकै पटक बिट मारिदिए पौडेलले ।

त्यतिबेला हामीलाई न त पौडेलका कुराले झस्कायो न तमाङका कुराले छोयो । समय त बित्यो, शेखर कोइराला जसरी आए राजनीतिमा आए । रामचन्द्र पौडेलले दोस्रो पटक भने- “कांग्रेसमा फेरी अर्को कोइरालालाई कसरी थेग्ने” ? त्यही दिन शेखर कोइरालाले नयाँँ मुकाम पाए । पार्टीको चुनाव हारे पनि उनले शेरबहादुरको दिमागमा आजीवन डर बसाले । रामचन्द्र र शशांकलाई पराजित गरे ।

हुन त पौडेल र शशांकको साथ सहयोग पाएका भए शायद शेखरले सभापतिको चुनाव जित्दथे पनि होला । तर पछाडिबाट प्रहार गर्न तम्सने शशांक र पौडेललाई जित्न सक्ने थिएनन । यिनले ति दुबैलाइ जिते, ४१ प्रतिशत कार्यकर्ताले यिनको विचारलाई लाहछप लगाए । तीन महिना अघी मात्र शेखर कोइरालाले एउटा कुराकानीका सन्दर्भमा भनेका थिए- “कोइराला परिवार कार्यकर्ताले थाहा पाउने गरी एक हुन्छ । तपाईँहरु सबैले थाहा पाउनु हुनेछ ? त्यो त देखिएन । तर परिवार भित्र मौलाइरहेको गम्भिर षडयन्त्र भने कार्यकर्ताले मात्र होइन दुनियाँले थाह पायो । नेपाली कांग्रेसकै ईतिहासमा छोटो समयमै यती धेरै ओजन बनाएको नेता सम्भवत शेखर मात्रै हुन । शेरबहादुर, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी सहितको अजङ्गको चक्रब्युह फुटेन र अब ? शेखर कोइरालालाई अभिमन्यु बनाउन आफन्तले नै खोजेका थिए, सकेनन ।

नेपाली कांग्रेस भित्र सधैंभरी दुइवटा समुह थिए र छन । कोइराला समुह पुरानो र लामो समय अस्तित्वमा रहेको समुह हो । सुशिल कोइरालाको अवशान पछीका ५७ महिना कोइराला समुहको शक्ती अधिकारिक रुपमा रामचन्द्र पौडेल सँग आइपुगेको थियो । यही सन्ताउन्न महिना सम्म मात्र चल्यो पौडेल समुह । अहिलेको अधिवेशनले नेपाली कांग्रेसको राजनीतिमा फेरी कोइराला समुहको जगलाई मजबुत बनाएको छ । पौडेलसँग कुनै समुह छैन, उनी अब देउवा समुहका एकजना सदस्य मात्र हुन ।

म २० वर्ष अघी भिमबहादुर तमाङले रामचन्द्र पौडेललाई भनेको कुरा सम्झन्छु- शेखर कोइराला लाई राजनीतिमा ल्याउनु पर्‍यो ! इगो थियो नाम सँग, रामचन्द्र पौडेलले ल्याउने पहल गरेनन । समयले ल्यायो तर ढिलो ल्यायो ।

तपाइँको प्रतिक्रिया

फेसबुक