शुक्रबार, वैशाख ७, २०८१

लिङदेनलाई टक्कर : पुरै देश ‘चोर’ को पछी दुगुर्ने स्थितिको अन्त्य

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ पुष २ गते १८:०१

Image Credit-Nepali Times

कांग्रेसको चौधौं महाधिवेशन उद्घाटन कार्यक्रममा एउटा फरक खालको भाषण आयो । परम्परागत भाषण भन्दा नितान्त बेग्लै । सबै नेताहरुले थाहा पाएको तर भन्न लाज मानेको । यथार्थवादी मन्तब्य दिए, राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचीत अध्यक्ष राजेन्द्र लिङ्देनले । उनले आफ्नो अभिब्यक्तीका क्रममा यत्ती मात्र भने ‘गाउँमा जुनकुनै पार्टीको नेता जस्तो सुकै कार्यक्रममा गए पनि कुन चोर आएछ’ मान्छेहरुले भन्ने गरेको यथार्थ चित्रण । सत्य कुरो यही हो । सबै दलका नेताहरु यो यथार्थबाट लुक्दै हिंडेका छन् ।

देश बनाउने खोक्रा सपनाका कुरा निकै लामो समयदेखी चलेका छन् । जनताले कहिले सम्म पत्याउने ? राजेन्द्र लिङ्देनका एजेण्डाका कुरा छोडौं । राजतन्त्र पुनर्स्थापना र हिन्दू राष्ट्रका नाराहरुलाई अलिकती पर राख्ने हो भने सयमा अधिकांश नेपाली जनता लिङ्देनका कुरामा सहमत छन् ।

विगत, वर्तमान र भविष्यसम्मै हेर्ने हो भने नेपालमा व्यवस्थाहरु कहिल्यै पनि समस्या होइनन् । देशको मुख्य समस्या भ्रष्टाचार र यसलाई नियन्त्रण गर्ने संयन्त्रहरु स्वतन्त्र र प्रभावहिन हुनु नै हो । राजनितीको माथिल्लो तहमा बस्ने एउटा तप्काले सधैं भन्यो ‘नेपाल र नेपालीको उन्नती हुन नसक्नुमा ब्यवस्था बाधक छ ।’ तर त्यस्तो थिएन । सम्पन्न बन्नका लागि कुनै पनि ब्यवस्थाले कहिल्यै रोकेन । यसको मुख्य जड् भ्रष्टाचार थियो । नेताहरुले यो सत्य जनतालाई कहिल्यै भनेनन् ।

तर राजेन्द्र लिंङ्देनले भने जसले नेपाली कांग्रेसको महाधिवेशन, माधव नेपाल, केपी ओली, पुष्पकमल दाहाल लगायत पुरै देशलाई तरंगित बनायो । राजनीतिमा संघर्ष गरेर सानो नै किन नहोस एउटा पार्टीको माथिल्लो तहमा पुगेको एउटा देहाती राजनीतिज्ञको ठाउँका ठाउँ बिरोध भयो । उपस्थित कांग्रेसका कार्यकर्ताहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाल मुख भरिको जवाफ दिएर पठाए । माधव नेपाल र केपी ओलीले ब्यक्त गरेको लिङ्देन लक्षित अभिब्यक्ती उनिहरुले आफैं प्रती गरेको भयानक अट्टहास थियो । राजेन्द्र लिङ्देनले ‘नेताहरु चोर हुन’ भनेर बोलेको कुरा जनताको आवाज थियो । यदि नेताहरु सुधारिएनन भने यो आवाज सिंहदरवारमा आइपुग्ने छ । जुनबेला यो आवाज सिंहदरवार पस्छ त्यतिबेला शेरबहादुर, प्रचन्ड, ओली, माधव नेपालहरुलाई कसैले पनि बचाउन सक्दैन ।

यसको एउटा मात्र विकल्प छ, नेताहरु आफैं सुधारिने र देश र जनता प्रती इमान्दार बन्ने । तर कसैले पत्याउन सक्ला शेरबहादुर देउवा ‘टाइपको’ नेताहरुको त्यो बडेमानको लर्को कुनै दिन सुध्रिएला ? धेरैलाई विश्वास छैन ।

नेताहरुलाई विश्वास नगर्ने अनगिन्ती कारणहरु छन । अहिले त्यतातिर नजाउँ । राजेन्द्र लिङ्देनले शुभकामना दिएको नेपाली कांग्रेसको महाधिवेशनले शेरबहादुर देउवालाई छोड्ने हो भने पदाधिकारिहरुमा सत प्रतिशत युवाहरुलाई जिताएको छ । यदी राजेन्द्र लिङ्देनले कांग्रेस महाधिवेशनमा छोडेका प्रश्नहरुलाई गलत सावित गर्ने हो भने शेरबहादुर देउवाको वहिर्गनमन अपरिहार्य थियो । किनभने नेताहरुको इज्जत उतारेर चोर बनाउने गिरोहका नाइके देउवा नै हुन । तर महाधिवेशनमा उनले जुन जाल फ्याँके त्यसले फेरी पनि उनैलाई सभापति बनायो ।

तर पनि कांग्रेस महाधिवेशन साकारात्मक गन्तब्य फेलापार्ने संकेत भने दिएको छ । गगन थापाको ‘भयानक’ जितले केही उज्ज्यालो देखिने संकेत गरेको छ । थापा अहिले दुई तिहाइ मत प्राप्त गरेर बिजयी भएका नेता मात्र होइनन् नेपाली कांग्रेसको भावी सभापतिका दावेदार पनि हुन ।

अर्कोतिर हरेक पार्टीका कार्यकर्ता र मतदाताले मात्र होइन सम्पूर्ण नेपाली जनताले विश्वास गर्न खोजेका देशका उदियमा प्रधानमन्त्री पनि हुन् । अहिले गगन महामन्त्री मात्र भए पनि उनको लडाईं देउवाले गिजोलेको कांग्रेसलाई सम्हाल्न मात्र होइन राजेन्द्र लिङ्देनसँग पनि हुने छ ।

हुन त कांग्रेसमा सर्वोपरि भनेको सभापति नै हो । विधान संशोधन भए पनि धेरै अधिकारहरु सभापति मै निहित छन् । उनले अझै पनि पार्टीलाई आफ्नै वरीपरी राख्ने बिभिन्न उपाय खोज्लान पनि । जसले देशलाई र पार्टी स्वयंलाई अझै अन्धकारमा धकेल्ने छ । यसको प्रतिकारको जिम्मा गगनमा आएको छ । पार्टी भित्र अझै केही वर्ष देउवाको ल्याङ् ल्याङ् चलिरहने छ भने बन्दुकबाट गोली चले जसरी राजेन्द्र लिङ्देन आएका छन जसलाई छेक्नका लागि सबै सुधारिन जरुरी छ ।

केपी ओली, प्रचन्ड र माधव नेपालको कुरै छोडौं । यिनिहरु नत आफू सुधारिएलान् भन्ने कसैले सोचेको छ न देश परिवर्तनका संबाहक बन्ने विश्वास नै गरेको छ । शेरबहादुर, रामचन्द्र र कृष्ण सिटौलाको पार्टी मात्र फरक हो सोच र दिमागी स्तर उनै ओलीहरुको जस्तै हो । अहिले राजेन्द्र लिङ्देनलाई गाली गर्नुको कुनै औचित्य छैन । लिङ्देनका तर्कहरु प्रत्यक्ष रुपमा जनतासँग जोडीएका छन् । त्यसैले यसमा असहमत हुन सकिएला, नजरअन्दाज गर्न सकिंदैन । गगनलाई महाधिवेशनका मतदाताहरुले दुई तिहाइ भोट दिएको यसैका लागि हो । सधैंभरी नेताहरु चोर बनिरहनु र पुरै देश चोरको पछी दुगुर्ने स्थितिको अन्त्यका लागि हो ।

गगन थापाले अथवा अहिले महाधिवेशनबाट निर्वाचित सबै युवाहरुको भूमिका नेताहरुलाई साधु बनाउने तर्फ केन्द्रित हुनुपर्दछ । त्यसका लागि सबै भन्दा पहिले शेरबहादुर देउवालाई पखाल्न जरुरी छ । तिनका शरीर भरी टाँसिएका दाग नपखालिएसम्म कांग्रेसले मुक्ती पाउने छैन । जहिलेसम्म देउवा पखालिएर शुद्द पारिने छैनन् तबसम्म जनताले नेताहरुलाई चोर भन्न छोड्ने छैनन् । गगन, विश्व प्रकाश र धनराज गुरुङहरुले देउवालाई राम्रोसँग पखालेर, तिनका बोक्रा छोडाएर र चिल्लो पारेर जनातालाई भन्नुपर्‍यो- अब तपाईंहरुले नेताहरुलाई चोर भन्न पाउनुहुन्न । हामीले हाम्रो नेतालाई पखालेर चिल्लो परेका छौं । शुद्द बनाएका छौं ।

तपाइँको प्रतिक्रिया

फेसबुक