सोमबार, माघ १०, २०७८

एजेण्डाबिहिन कांग्रेस महाधिवेशन चुनावी नारामै सिमित

ददि सापकोटा२०७८ पुष ३ गते १:४३

‘हामीले हाम्रा एजेण्डा स्थापित गरायौं ।’ महाधिवेशनपछि नेतृत्वमा पराजित कांग्रेस नेताहरु यहि भनिरहेका छन् । झिनामसिना नेता, कार्यकर्ताका कुरा छोडौं । बिचारमा अडिग, कांग्रेस नितिमा अटल, आर्थिक मामिलामा कहिंकतै दाग नलागेका भनिएका सभापतिका उमेदवार शेखर कोइरालाले समेत निर्वाचनमा पराजय भएको भोलिपल्टै आफ्नो धन्यावाद कार्यक्रममा भने ‘नेतृत्व कसले गर्छ भन्ने मूल कुरो होइन । मुल कुरो निति र एजेण्डाको हो । हामीले हाम्रा एजेण्डा स्थापित गर्‍यौं ।’

साँच्चै शेखर कोइरालाले नबुझि बोले कि जानेरपनि कार्यकर्तालाई अल्मल्याउन त्यसो भने ? उनले हुँदै नभएको एजेण्डा कसरि स्थापित गरे ? के थिए त एजेण्डा कांग्रेसका ? कांग्रेसको महाधिवेशनमा सबैभन्दा चर्कोसित उठेको विषय भनेकै ‘युवा नेतृत्व’  थियो । युवा नेत्रित्व के कांग्रेसको एजेण्डा हो ? युवा नेतृत्वको चाहना र माग कुनै पार्टीको एजेण्डा बन्ने कुरै होइन । कसरि नेपाली कांग्रेसको मात्रै एजेण्डा बन्न सक्छ ?

बरु स्पष्ठ के हो भने कांग्रेस महाधिवेशनमा कहिंकतै कसैलेपनि एजेण्डा पेशनै गरेन । कांग्रेसमा तिन गुटको भिडन्त भएकाले कम्तिमा यि तिन गुटले आफ्ना आफ्ना एजेण्डा पेश गर्नुपर्थ्यो । मूलत संस्थापन पक्ष शेर बहादुर देउवाले त झनै पेश गर्नुपर्थ्यो । आफ्नो जित सुनिस्चित हुनेमा लगभग ढुक्क देखिएका शेर बहादुर देउवालेपनि संस्थापन पक्षका तर्फबाट भाबि एजेण्डा पेश गर्नुपर्थ्यो । गरेनन् । उनलाई त्यसको लेठो गर्नै परेन ।

संस्थापन पक्षले बिना एजेण्डा देशको सबैभन्दा पुरानो, ठूलो पार्टीको महाधिवेशन सम्पन्न गर्न खोज्दा एजेण्डा के हुन् भनेर अन्य पक्षले सोधखोज गर्नुपर्थ्यो । त्यो न प्रकाशमान श्रेष्ठले गरे । न निति र आदर्शमा अब्बल मानिएका शेखर कोइराला पक्षलेनै गर्‍यो ।

कांग्रेस महाधिवेशनमा चुनावी नारा फाट्ट फुट्ट आए । आएका चुनावी नारापनि सरकार बदल्न आम जनतासमक्ष दिईने नारा जत्तिकापनि थिएनन् ।

कांग्रेसमा देउवालाई आलोचना गर्नेहरुले भ्रस्टाचार बढेको, देशका तिन वटै निकाय निकम्मा जस्तै देखिएको, संसद अवरुद्द बनेको, कांग्रेसले वामपन्थिका नारा बोकेको, आफ्ना मान्छेलाई ठाउँठाउँमै सेटिङ मिलाएर पद बाँडेको, भ्रस्टाचार बढेको लगायत पार्टीभित्रका बेथितिहरुमा चर्चा गरे । तिनले पार्टीका बेथितिलाई पार्टीको एजेण्डा भनेर आम कार्यकर्तामा भ्रम छरे ।

चुनावी नारापनि कस्ता थिए कांग्रेसका भने कार्यकर्तालाई आफू, आफ्नो गुटतिर तान्नैकालागि केन्द्रित थिए । तिनै नारापनि संसदिय निर्वाचनमा मतदाताको ध्यान तान्ने  नारा जत्तिकापनि थिएनन् । संस्थापन पक्षको एजेण्डा र नारा ‘मलाई भोट दिनुस्, नत्र ओली शासन आउँछ । सभापतीमा हारेमा हारेको मान्न्छे प्रधनाम्न्त्री बन्न पाइन्न भनेर बखेडा झिक्छन् र हटाउँछन् ।’ देउवा पक्षबाट त सामान्य नारापनि आएनन् । वास्तवमा सर्वाधिक ठूलो पार्टीका सभापतिले पेश गरेका भनिएका एजेण्डा सुन्दापनि लज्जास्पद थिए ।

शेखर कोइरालाको पक्षबाट ‘युवा नेत्रित्व’ थियो । यो कुनै एजेण्डा थिएन । बरु कांग्रेस महाधिवेशनमा खालि आफ्नो पक्षमा मत तान्ने क्षणिक नारा थियो ।

नेपाली कांग्रेसको मूल सिद्दान्त, राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ भन्ने छ । कांग्रेसले आफ्ना यि मूलभूत नितिमा बहस गर्नुपर्थ्यो । राष्ट्रियताको अवस्था के छ । नेताहरु राष्ट्रियता कमजोर बनेको आफैं बताउँछन् । किन कमजोर भयो राष्ट्रियता ? यो बलियो नबन्नुमा कांग्रेसका के के कमजोरि रहे ? अब कसरि बलियो बनाउने ? अन्य पार्टीसित कस्तो संवन्ध बनाउने र कस्ता विषयमा राष्ट्रिय सहमति गरेर राष्ट्रियता बलियो बनाउन सकिन्छ भन्ने कांग्रेस महाधिवेशनमा कतै बहसनै भएन ।

लोकतन्त्रको अवस्था के छ ? लोकतन्त्र स्थापित भएपछिपनि पटक पटक यो किन हरण भयो ? अझैपनि लोकतन्त्रमाथि खतरा उत्पन्न भैरहेको नेताहरुनै बताइरहेका छन् । त्यसको कारण के हो ? त्यसलाई कसरि निराकरण गर्ने ? कांग्रेस कहाँ चुक्यो ? कांग्रेसले के के सुधार गर्नुपर्ने हो ? भावि रणनिति कस्तो हुनुपर्ने ? यस विषयमापनि कांग्रेस महाधिवेशनमा कतै बहस भएन ।

कांग्रेसको समाजवादको मूल मर्म के हो ? बिपी कोइरालाले रोपेको कांग्रेस समाजवादको नारा अहिलेसम्म स्थापित हुँदै जानुपर्नेमा किन झन झन संकटमा छ ? बिपी कालको समाजवादको मोडलमा परिमार्जन हुनु जरुरि छ कि छैन ? भए किन छ ? नभए किन छैन ? कहिले सम्म पुग्ने लक्ष्य हो समाजवादमा ? कसरि पुग्ने हो ? त्यसकालागि पार्टीको धारणा के ? कुन कार्यदिशा अँगाल्नुपर्ने हो ? यसमा कहाँ कहाँ चुक्यो पार्टी ? अहँ कांग्रेसले यसमापनि कतै बहस चलाएन ।

हरेक दिन नेपालबाट १५ सय युवा रोजि रोटीको खोजि गर्दै बिदेशिन्छन् भनिन्छ । देशका शासक, सरकार श्रम संझौता गराएर दंग छन् । देशको पाँच भागको एक भाग जनसंख्या बिदेशका गल्लीतिर पुगिसके । त्यो होनाहार युवा शक्तिलाई कसरि फिर्ता ल्याएर देश निर्माणमा लगाउने ? त्यति गर्न नसकेपनि अब कसरि रोक्ने ? बहस भयो कतै कांग्रेसको ?

देश प्रत्येक महिना बिदेशी उत्पादनमा निर्भर हुँदै गएको छ । कृषी क्षेत्र घट्दो छ । कागजमा नेपाल कृषीप्रधान मुलुक भनिन्छ । तर खाध्यान्न आयात गर्नुपरिरहेको छ । देशको कृषीलाई कसरि आधुनिकिकरण गर्ने ? कृषी क्षेत्रको घट्दो अवस्थालाई कसरि सुधार्ने ? कांग्रेस महाधिवेशनमा यिनको कहिंकतै चर्चासम्म हुन सकेन ।

बाढी, पहिलो, भूक्षयले हरेक वर्ष जनताको उठिबास हुने क्रम बढीरहेको छ । वन बिनास र जथाभाबि बन्ने बिकासे योजनाको मार जनताले हरेक वर्ष भोग्दै गएका छन् । देशको कति प्रतिशत भूभाग वन जंगल क्षेत्र हुनुपर्छ । कति प्रतिशत भूमी कृषीयोग्य रहनै पर्छ ? यस्ता कुनैपनि विषय कांग्रेसले ध्यान दिनुपर्नेमा समेत परेनन् ।

हाम्रो सिमा समस्या वर्षौं देखि अल्झिरहेको छ । जति सिमा समस्या बल्झिन्छन् उति छिमेकिसितको सवन्ध गिजोलिने गरेको छ । पटक पटक सरकारमा गएको यो पार्टीले सरकारमै रहेकै बेला यस्तो विषयलाई कहिंकतै स्थान दिन, छलफल र बहस गर्न आवस्यक देखेन ।

कुनै पार्टीको एजेण्डा भनेको के हो ? उसका निति, आदर्श र मुलत उसको गन्तब्यसम्म पुग्ने मार्ग कोर्नु हो । के कांग्रेसले यो महाधिवेशनमा राष्ट्रियता, लोकतन्त्र र समाजवादको आफ्नो उद्देश्यमा कसरि पुग्ने भनेर कहिं छलफल गरायो ? कांग्रेस महाधिवेशनमा गुटगुटका भेला भए । भोट कसरि सोहोर्ने भन्नेमै महाधिवेशन केन्द्रित रहन पुग्यो ।

तिन दिनसम्म चलेको महाधिवेशनमा कुनैपनि गूटले एजेण्डा अगाडि ल्याउन सकेन । एजेण्डामा ध्याननै कसैको गएन । कार्यकर्ता, स्थानिय नेतामापनि कांग्रेस पार्टीको एजेण्डामा ध्यान गएन । आम कार्यकर्तामापनि पार्टीलाई सुद्दिकरण गर्न ठोस एजेण्डामा बहस गर्नुपर्ने खाँचो देखिएन । कांग्रेसका आम कार्यकर्तापनि गुटका कुनै न कुनै नारामै अल्झिए । तिनले आफ्ना गुटलाई च्याप्दा पार्टीको एजेण्डालाई दबाए ।

पार्टीमा बैचारिक हिसाबले अब्बल मानिएको भनिएको शेखर-गगन पक्षको मूल एजेण्डा ‘युवा नेत्रित्व’ दाबि गरियो । विश्वमा कुन पार्टी, कुन देशमा युवा नेत्रित्वको माग उठ्दैन ? नेपालमैपनि हरेक पार्टीले उठाएका आवाज हुन् यि । भलै ति देखाउनैकालागि मात्रै किन नहोस् । देशको भरोसायोग्य पार्टी बनाउँछौं भन्दै भाषण दिनेको मूल एजेण्डा ‘युवा नेतृत्व’ ? यस्तो फितलो नारापनि कहिं यत्रो विशाल पार्टीको एजेण्डा बन्न सक्छ ?

कुन देशको पार्टीले बुढाहरुले नेतृत्व गर्नुपर्छ र युवाहरुलाई नेतृत्वबाट बाहिर, अलग राख्नुपर्छ भनेको छ? यो त पार्टीको चुनावी कार्यदिशा मात्रै बन्नुपर्ने थियो । निर्वाचनमा युवाहरुलाई सरकार सन्चालनको मूल नेतृत्वमा ल्याउनुपर्छ भनेर आम पार्टीहरुले उचाल्ने सामान्य नारालाईनै नेपाली कांग्रेसको परिवर्तनगामी भनिएको गुटलेपनि अल्मल्याइदियो ।

देशको पुरानो, लोकतन्त्रवादी पार्टीको महाधिवेशन कुनैपनि एजेण्डामा छलफलनै नगरि यसरि टुंगिएला भनेर कमैले सोचेका थिए । तर कांग्रेसमा हुनुपर्ने छलफल भएन । नहुनुपर्ने छलफल बढी भए ।

कांग्रेसको महाधिवेशनले के संकेत गरेको छ भने यो पार्टी निरन्तर बगिरहने नदी जस्तो चलायमान छैन । यो कुनै सुक्दै गरेको खहरे खोला जस्तो देखिएको छ जसको भविष्य कहाँ गएर टुंगिने हो कुनै टुंगो हुँदैन । कांग्रेस पार्टीको मूल भविष्यको जरामा यसका नेता, नेत्रित्वकर्ता र कार्यकर्ताको ध्याननै छैन । पार्टीलाई भरोसायोग्य बनाउने बारे दिर्घाकालिन सोचनै देखिएन ।

कुनैपनि पार्टी चलायमान, निति, आदर्श र यसले बोकेका मार्गनिर्देशनमा सफल हुन उसको मूल एजेण्डा सहि हुनुपर्छ । तर कांग्रेस त एजेण्डाबिहिन पार्टी जस्तो देखियो । पार्टीका मूल एजेण्डामा केन्द्रित रहेर गाउँदेखि केन्द्रसम्मका कार्यकर्तामा बहस, छलफल, सुधार र परिमार्जन गर्नुपर्ने हो । कांग्रेस महाधिवेशनमा त्यो हुन सकेन ।

झण्डै ६ वर्षपछि महाधिवेशन गर्दापनि गगन थापाले भनेजस्तो, ‘कांग्रेस देखिने, सुनिने, भोगिने, जनताले आफ्नो महसुस गर्ने, लोभलाग्दो पार्टी बन्ने’ छनक दिन सकेन । कांग्रेस नितिगतरुपमा यथास्थितिमै रुमल्लिने, नेतृत्वकैलागि मात्रै हानथाप गर्ने नितिहिन पार्टी जस्तो देखियो । यसले नेपाली कांग्रेसलाई दुरगामी असर पार्ने मार्गहरु सबै खुला छोडेको छ । फेरिपनि नेतृत्वकै लागि हानथापमा प्रतिस्पर्धाको बाटो खोलिदिएको छ । महाधिवेशनबाट कांग्रेसले ति बाटाहरु खोलिदिएर झनै फराकिलो पारिदिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक