बिहीबार, वैशाख १३, २०८१

कोरोना भाईरस नियन्त्रण उपाय र प्रतिबन्धबिरुद्द युरोपभरि विरोध बढ्दै

अनुराधा पौडेल, पेरिस / शोभा कँडेल, लण्डन२०७८ पुष ५ गते १७:१०

Photo- The national

नयाँ खोप पास, अनिवार्य खोप र सरकारी प्रतिबन्धहरूको बिरुद्द युरोपभरि प्रदर्शन हुन थालेको छ ।

यस हप्ता हजारौं प्रदर्शनकारीहरूले युरोपभर जुलुस निकालेका छन् । फ्रान्स, जर्मनी, अष्ट्रिया, बेल्जियम, नेदरल्याण्ड्स, डेनमार्क, ईटाली, स्विजरल्याण्ड लगायतका राष्ट्रहरूले अत्यधिक संक्रामकजन्य ओमिक्रोन भेरियन्टको संक्रमणलाई रोक्न कडा उपायहरू लागू गरेपछि त्यसका बिरुद्द युरोपभरि बिरोध शुरु भएको हो ।

आइतवार बेल्जियमको राजधानी ब्रसेल्समा बिरोध प्रदर्शन गरिएको थियो । तिनले “लिभ फ्री जोन”, “मैले मेरो उचित खोप लिएको छु”, “अब अति भो”, “खोप लगाएपछि पर्याप्त हुन्छ” लेखिएको प्लेकार्डसहित तेस्रो खोप लगाउन सरकारले दिएको कडा सल्लाहको विरोध गरेका थिए ।

बिरोध जुलुसमा भेला भएमध्ये बेल्जियमका स्वास्थ्य सेवाकर्मीहरूसमेत थिए । जनवरी १ देखि कोरोना भाइरस विरुद्ध खोप लगाउन वा आफ्नो जागिर गुमाउनुपर्ने चेतावनी सरकारले दिएपछि स्वास्थ्यकर्मीहरुले त्यसकाबिरुद्द नाराजुलुस गरेका हुन् ।

यसअघि भएका प्रदर्शनहरू हिंसात्मक भएकाले त्यसलाई ध्यानमा राख्दै सडकमा कडा प्रहरी परिचालन गरिएको थियो ।

गत महिना ब्रसेल्समा भएको प्रदर्शनमा सयौं मानिसहरूले प्रहरीलाई ढुङ्गा मुढा गर्ने, कारहरू तोडफोड गर्ने र फोहोर फाल्ने डब्बाहरू जलाउन थालेपछि हिंसात्मक रुप लिएको थियो । प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर भिडलाई तितरबितर पारेको थियो ।

शनिवार स्विजरल्याण्डको राजधानी बर्नमा त्यसैगरि सरकारी स्वास्थ्य नियम र अनिवार्य खोपको बिरोधमा प्रदर्शनी भएको थियो ।

शनिबार प्रदर्शनकारीहरूले पेरिस र फ्रान्सका अन्य शहरहरूमा सरकारले लगाएको नयाँ प्रतिबन्धको विरोध गर्न सडकमा जुलुस निकालेका थिए ।

अघिल्ला बिरोधभन्दा ठूलो मानिएको भीडले सरकारले योजना बनाइरहेको खोप पासको बिरूद्ध नारा लगाएको थियो । केहीले ‘हाम्रो स्वतन्त्र नखोस, कोरोना सरकारको मागि खाने भाँडो भो, अब अति भयो, हामीलाई स्वतन्त्रता चाहिन्छ’ जस्ता नारा बोकेर कोरोना नियन्त्रणका उपायहरूलाई “तानाशाही” भन्दै बिरोध गरेका थिए ।

फ्रान्सेली सरकारले रेस्टुरेन्ट, क्याफे र अन्य सार्वजनिक स्थलहरूमा प्रवेश गर्नेहरूलाई खोपको प्रमाण आवश्यक पर्ने प्रस्ताव गरेपछि फ्रान्समा बिरोध बढेको छ ।

बुधवारबाट ५ देखि ११ वर्ष सम्मका बालबालिकाको खोप सुरु गर्ने सरकारको निर्णयले आन्दोलनकारीहरूलाई थप आक्रोशित बन्न उर्जा थलेको छ ।

फ्रान्समा हाल कोभिड-१९ बाट संक्रमित करीव ३,००० मानिस सघन उपचारमा कक्षमा रहेकाले स्वास्थ्य नियमहरु कडा बनाउनुपर्ने सुझाव स्वास्थ सेवा बिभागको छ ।

लन्डनमा शनिबार प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीहरू बीच झडप भयो ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले घोषणा गरेको कोरोना भाइरस प्रतिबन्धका आलोचकहरूले लन्डनको लोकप्रिय किनमेल क्षेत्र अक्सफोर्ड स्ट्रीटमा ठूलो प्रदर्शनी गरे ।

ट्राफिक अवरुद्ध गर्दै उनीहरूले “भ्याक्सिन पासपोर्टहरूले हाम्रो स्वतन्त्रताको हनन् गर्छ” र “यसलाई लागु गर्न पाइन्न” जस्ता नाराहरू बोकेर जुलुस निकालेका थिए ।
प्रधानमन्त्री जोनसन, बेलायतका स्वास्थ्य सचिव साजिद जाविदको अनुहार अंकित “उनीहरूलाई बुटले हान्नुस्” लेखिएको प्लेकार्डहरु बोकेका थिए ।

संसद स्क्वायर र त्यसपछि प्रधानमन्त्रीको सरकारी निवास डाउनिङ स्ट्रिट बाहिर प्रदर्शनकारीसँग प्रहरीको झडप भको थियो ।

लन्डनमा ओमिक्रोन प्रभावशाली भेरियन्टको रूपमा पुष्टि भएपछि मेयरले गम्भिर घटना घोषणा गर्दै स्वास्थ्य नियम कडा पारेपछि त्यसबिरुद्दका प्रदर्शनीमा झडपहरु बढेका छन् ।

शनिवार साँझ बार्सिलोनामा क्याटलान क्षेत्रमा सार्वजनिक स्थानहरूमा प्रवेश गर्दा स्वास्थ्य पासपोर्टको नियम घोषणा गरेपछि त्यसका बिरूद्ध प्रदर्शन भड्किएको थियो ।

शनिवारको विरोध लगातार तेस्रो हप्ताको थियो । आयोजकहरूले वर्तमान प्रतिबन्धहरू कायम रहेसम्म बिरोध जारी रहने बताएका छन् ।

होटल सन्चालकहरुले अनिवार्य कोभिड पास र अन्य नियमहरू तानाशाही भएकाले नाजीवादको सम्झना गराउने भन्दै आलोचना गरेको स्पेनको आलपाईस पत्रीकाले उल्लेख गरेको छ ।

सरकारले लगाएका बिभिन्न स्वास्थ्य प्रतिबन्ध, अनिवार्य खोप, स्वास्थ्य प्रमाणपत्र लगायतका नियमहरुको विरोध गर्दै ईटालीको तुरिन, नेदरल्याण्ड्सको हेग, अस्ट्रियाको भियना, स्विजरल्याण्डको जेनेभा र बर्न, जर्मनीको बर्लिन र फ्र्यांकफर्ट लगायत करिब एक दर्जन शहर, ग्रिसको एथेन्स, पोल्याण्ड, बुल्गेरिया, रोमानिया लगायतका देशहरुमा बिरोध प्रदर्शनीहरु भएका छन् ।

यस्ता प्रदर्शनीहरुलाई सरकारको आलोचनाको मौका छोपेर अति दक्षिणपन्थीले जनताको डरको शोषण गरेको आरोप लाग्ने गरेको छ ।

कठिन समयमा जनताको असुरक्षा र सरकारप्रतिको आक्रोशको फाइदा उठाउँदै तिनले आन्दोलन चर्काउने मौका पाएको आलोचकहरुको भनाई छ ।

“कोविड-१९ ले कट्टरपन्थीको लागि उत्प्रेरकको रूपमा काम गरेको छ” लन्डनस्थित रणनीतिक संवादका लागि संस्थानका विश्लेषक सियारन ओ’कनरले युरोन्युजसित भनेका छन् “यसले षडयन्त्र सिद्धान्तवादी वा चरमपन्थीहरूलाई सरल कथाहरू सिर्जना गर्न अनुमति दिएको छ । यसलाई सरकारको बदनाम गर्ने अवशर दिएको छ, राम्रो कुरालाईपनि नराम्रो बनाएर खराबको रूपमा फ्रेम गर्ने अवशर दिएको छ ।”

उदाहरणका लागि, नाजी जर्मनीको दोस्रो विश्वयुद्ध शासनसँग तुलना गर्नु अतिवादीहरुकालागि सामान्य हुँदै गएको छ ।

सरकारका बिरोधी र स्वास्थ नियम तथा खोपका आलोचकहरुलाई स्विजरल्याण्डदेखि क्रोयशिया र पेरिस देखि लण्डनसम्म चौतर्फी बिरोधको अवशर जुरेको छ ।

स्पेन र नेदरल्यान्ड्स जस्ता ठाउँहरूमा भएका प्रदर्शनहरूमा स्वस्तिक र खोपका सुईहरुलाई सँगै राखेर ब्यानरहरू देख्न सकिन्छ । स्वस्तिक नाजीको झण्डाको चिन्ह हो ।

यस्तो भीडले यो महामारी “यहूदी षड्यन्त्र” हो भनेर दाबी गर्दै मानिसहरूलाई देखाउने गरेकोपनि मेडियाहरुले उल्लेख गरेका छन् ।

विज्ञहरूका अनुसार महिला, फरक वर्णका मानिस र आप्रवाशी मुलका नागरिक तथा समलिंगीहरु विरुद्ध हिंसाको खतरा पनि बढेको छ ।

विभिन्न गुनासो, स्वार्थ, आक्रोश र जातीय घृणालाई कोरोना भाईरस महामारीले बढाएको र हाल क्रोधलाई झनै गहिरो बनाएको भनाई बिज्ञहरुको छ ।

“कोविड-१९ ले आक्रोश र घ्रिणा फैलाउनेकालागि उर्वर मैदान सिर्जना गरेको छ । किनभने विश्वभरका धेरै व्यक्तिहरूले कोरोनाको महामारीमा अस्तव्यस्त महसुस गरेका छन्” अनुसन्धानदाता मिलर-इड्रिस भन्छन् ।

तपाइँको प्रतिक्रिया