शनिबार, वैशाख ८, २०८१

“जिवननै तिलान्जली दिनुभन्दा घुमघाम रद्द गरेको जाति” डब्ल्यु एच ओ

नेपालप्लस संवाददाता२०७८ पुष ६ गते १४:०५

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले मानिसहरूलाई जनस्वास्थ्यको सुरक्षाको लागि आफ्ना केही छुट्टीका योजनाहरू रद्द गर्न आग्रह गर्दै भनेको छ “जिवनलाईनै तिलान्जली दिनुभन्दा छुट्टीलाई तिलान्जली दिनु राम्रो हो ।”

कोरोना भाईरसको ओमिक्रोन संस्करण विश्वव्यापी रूपमा फैलिएर जनस्वास्थ्यमा ठूलो क्षती गर्ने देखेपछि डब्ल्युएचओले यस्तो चेतावनी दिएको हो ।

“कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट डेल्टा भेरियन्ट भन्दा छिटो फैलिरहेको छ । पहिले नै खोप लगाएका वा कोभिड-१९ रोगबाट निको भइसकेका मानिसहरूमा समेत संक्रमण फैलिरहेको छ” डब्ल्युएचओले सोमबार चेतावनी दिएको छ ।

“संख्या बढ्दै जाँदा सबै स्वास्थ्य प्रणालीहरू तनावमा पर्दैछन्” डब्ल्यूएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले जेनेभामा पत्रकारहरूलाई भनिन् । ओमिक्रोन अघिल्लो भन्दा केहि हल्का खालको संस्करण हो भन्ने प्रारम्भिक प्रमाणबाट निष्कर्ष निकाल्नु मूर्खतापूर्ण हुने कुरामा उनले जोड दिईन् ।

यो भेरियन्टले सफलतापूर्वक केही प्रतिरक्षा उपायहरुलाई बेवास्ता गरिरहेको उनले बताईन् । यसको मतलब धेरै देशहरूमा जारि भइरहेका बूस्टर कार्यक्रमहरू कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूलाई लक्षित गरिनुपर्ने उनले बताएकि छन् ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले पत्रकार सम्मेलनमा भने “ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा धेरै छिटो फैलिरहेको छ भन्ने प्रशस्त प्रमाणहरु छन् ।”

“कोविड-१९ बिरुद्दको खोप लगाएका वा कोरोना लागेर निको भएका व्यक्तिहरू संक्रमित हुने वा पुन: संक्रमित हुने सम्भावना बढी हुन्छ” टेड्रोसले भने ।

उनीहरूको टिप्पणीले इम्पेरियल कलेज लन्डनको अध्ययनलाई संकेत गरिदिएको छ । कलेजले गत हप्ता पुन: संक्रमणको जोखिम पाँच गुणा बढी हुने औंल्याएको थियो । उक्त अध्ययनले डेल्टा भन्दा हल्का हुने कुनै संकेत देखाएको थिएन ।

गत महिना मात्र पत्ता लागेको नयाँ भेरियन्टलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा थोरै थाहा भएको भन्दै डब्ल्युएचओका प्रमुख विशेषज्ञ सुम्या स्वामीनाथनले भनिन्: “अवश्य चुनौती धेरै छन्, धेरै मोनोक्लोनलहरूले ओमिक्रोनसँग लड्न काम गर्दैनन् ।”

उनले कुनै विवरण भने दिईनन् । किनकि उनले संक्रमणसँग लड्न प्राकृतिक एन्टिबडीहरूको नक्कल गर्ने उपचारलाई उल्लेख गरिन् । कतिपय औषधि उत्पादकले पनि यस्तै सुझाव दिएका छन् ।

‘महामारीको अन्त्य गरौं’

टेड्रोसले छोटो अवधिको मोज मस्ति गर्न खोज्दा धेरै दुख पाइने हुनाले छुट्टी मनाउने, घुमघाम गर्ने र उत्सवहरूले धेरै ठाउँमा संक्रमण बढाउने बताएका छन् । त्यसले स्वास्थ्य प्रणालीलाई अनावस्यक भार पर्ने र थप मृत्यु निम्त्याउने बताउँदै मानिसहरूलाई भेलाहरू स्थगित गर्न आग्रह गरेका छन् ।

“घुमघाम, भेला, उत्सव रद्द गर्नु जिवननै रद्द गर्नुभन्दा राम्रो हुन्छ” उनले भने ।

‘समन्वयात्मक रणनीति बिना विश्वले कोबिड-१९ का भेरियन्टहरुलाई पछ्याइरहनेपनि उनले बताएका छन् ।

तर डब्ल्यूएचओ टोलीले नयाँ लहरको सामना गरेर थाकेको विश्वलाई सन् २०२२ महामारीको अन्त्यको वर्ष हुने आशापनि दिलाएको छ । हालसम्म कोरोनाले विश्वभर करिब ५६ लाख ब्यक्तिको ज्यान लिईसकेको छ ।

“हामी यो रोगलाई तुलनात्मक रूपमा हल्का रोगमा परिणत गर्ने आशा गर्दछौं जुन सजिलैसँग रोक्न सकिन्छ । सजिलै उपचार गरिन्छ” डब्ल्यूएचओका उच्च आपतकालीन विशेषज्ञ माइक रायनले पत्रकार सम्मेलनमा भने “यदि हामीले भाइरस प्रसारणलाई न्यून स्तरमा राख्न सक्यौं भने हामीले महामारीलाई अन्त्यमा ल्याउन सक्छौं ।”

टेड्रोसले चीनमा सार्स-कोबिड-२ कोरोनाभाइरस पहिलो पटक सन् २०१९ को अन्त्यमा पत्ता लगाइएको बताउँदै भाईरसको प्रतिक्रियालाई बुझ्न आवश्यक रहेको उल्लेख गरेका छन् । उनले त्यो प्रक्रियालाई अगाडि बढाउन मद्दत गर्न यसको उत्पत्तिसँग सम्बन्धित तथ्यांक र जानकारी आउनैपर्ने बताएका छन् ।

“हामीलाई उत्पत्ति थाहा नभएसम्म खोजी जारी राख्नु आवश्यक छ । हामीले अझ कडा धक्का दिनु आवश्यक छ किनभने हामीले भविष्यमा अझ राम्रो गर्नको लागि यस पटक के भयो भनेर सिक्नुपर्छ” टेड्रोसले भने ।

(नेपालप्लससहित एएफपी, रोटर्स र फ्रंस २४ न्युज)

तपाइँको प्रतिक्रिया

फेसबुक